सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

उटपटाङ काम

केही विकासवादीहरूले एक हूल बाँदरलाई थुप्रै टाइपराइटरहरू दिएको खण्डमा तिनीहरूले सेक्सपियरका सबै कृतिहरू टाइप गरिदिनेछन्‌ भन्‍ने विचार अघि सारेका छन्‌। त्यसैले इंग्ल्याण्ड स्थित प्लाइमथ युनिभर्सिटीका अनुसन्धाताहरूले एक महिनाको लागि छवटा बाँदरलाई एउटा कम्प्युटर दिए। बाँदरहरूले “शब्दको नाउँमा एक शब्द पनि टाइप गरेनन्‌” भनी द न्यु योर्क टाइम्स रिपोर्ट गर्छ। इंग्ल्याण्डको दक्षिण-पश्‍चिममा रहेको पेनटन चिडियाखानाका छवटा बाँदरले प्रायः एउटै अक्षर मात्र दोहोऱ्‍याएर पाँच पाना टाइप गरे। डकुमेण्टको अन्तमा बाँदरहरूले अरू केही अक्षरहरू पनि टाइप गरे। तिनीहरूले किबोर्डलाई सार्वजनिक शौचालयको रूपमा पनि प्रयोग गरे। (g04 01/22)

अण्डाबाट सर्पको विष विरुद्ध लड्‌ने प्रतिविष

द टाइम्स अफ इन्डिया (अंग्रेजी) यसो भन्छ, “कुखुराको अण्डा सर्पको टोकाइको उपचार गर्नको लागि चाहिने अणुहरूको स्रोत हुन सक्ने कुरा भारतका वैज्ञानिकहरूले पत्ता लगाएका छन्‌।” लगभग १२ हप्ता पुगेका कुखुराको मांसपेशीमा अहानिकारक भेनमको इन्जेक्सन दिइन्छ र पहिले दिइएको इन्जेक्सनको असरलाई कायमै राख्न दुईदेखि तीन हप्तापछि ‘बुस्टर डोज’ अर्थात्‌ अर्को इन्जेक्सन दिइन्छ। तिनीहरूले २१ हप्तापछि ‘एन्टिभेनम’ अर्थात्‌ सर्पको विष विरुद्ध लड्‌ने प्रतिविष क्षमता भएको अण्डा पार्न थाल्छन्‌। प्रतिविषको क्षमता भएका अण्डाहरूले पहिले-पहिले “एकदमै पीडादायी ढङ्‌गमा” घोडाहरूबाट निकालिने प्रतिविषलाई प्रतिस्थापन गर्ने आशा अनुसन्धाताहरूले राखेका छन्‌ भनी द टाइम्स बताउँछ। अष्ट्रेलियाका वैज्ञानिकहरूले यो नयाँ प्रविधिले पशुसम्बन्धी परीक्षणहरूमा सफलता प्राप्त गरेको दाबी गरिसकेका छन्‌। प्रतिविषको क्षमता भएको अण्डा मानिसहरूका लागि प्रभावकारी भएमा भारतको लागि यो वरदान साबित हुन सक्छ जहाँ हरेक वर्ष ३,००,००० मानिसहरूलाई सर्पले टोक्ने गरेको रेकर्ड छ। यीमध्ये १० प्रतिशत मर्ने गर्छन्‌। (g04 01/08)

पुतलीको उडाइ

वैज्ञानिकहरूले धेरै अघिदेखि एकदमै कम गतिमा पनि कसरी पुतलीहरूले उत्कृष्ट ढङ्‌गमा चाल चाल्न सक्छन्‌ अर्थात्‌ सजिलै हावामा अडिन, पछाडिपट्टि अथवा छेउपट्टिबाट उड्‌न सक्छन्‌ भन्‍ने कुरा जान्‍न खोजिरहेका छन्‌,” भनी लण्डनको दि इन्डिपेन्डेन्ट बताउँछ। हाल आएर अन्ततः अक्सफोर्ड विश्‍वविद्यालयका अनुसन्धाताहरूले यी कीराको रहस्य पत्ता लगाएको विश्‍वास गर्छन्‌। हावाको प्रवाह थाह पाउन विशेष तरिकाले डिजाइन गरिएको खोक्रो भाँडो र धुवाँको सानो मुस्लो प्रयोग गरेर तिनीहरूले चहकिलो रातो रंगका पुतलीहरूको उडाइ अवलोकन गरे। ती कीराहरू कृत्रिम फूलबाट खोक्रो भाँडोमा पस्दा र निस्कँदा तिनीहरूको उडाइलगायत पखेटा वरिपरिको हावाको प्रवाह, उच्च गतिमा फोटो खिच्ने डिजिटल क्यामराद्वारा रेकर्ड गरियो। “पुतलीले अनियमित रूपमा जथाभावी पखेटा चलाउने गर्दैनन्‌ तर वायुगतिको नियमअनुसार किसिम-किसिमले पखेटा फट्‌फटाउने गर्छन्‌।” वैज्ञानिकहरूले यस ज्ञानलाई रिमोट कन्ट्रोलद्वारा चल्ने दस सेन्टिमिटर भन्दा सानो पखेटा भएका विमान बनाउनको लागि प्रयोग गर्ने आशा राखेका छन्‌। क्यामरा जडान गरी यस्ता विमानहरूलाई गहिरा तथा साँघुरा ठाउँहरूको दृश्‍य खिच्नको लागि प्रयोग गर्न सकिन्छ। (g04 01/08)

हस्तिहाडको अवैध बिक्री

केवल दस वर्षमा अर्थात्‌ १९७९ देखि १९८९ भित्रमा अफ्रिकाका हात्तीहरूको संख्यामा आधीभन्दा बढीले कमी आयो। यसको एउटा कारण हात्तीको दाँतबाट बनेका सामाग्रीहरूको बढ्‌दो माग थियो। अर्को कारण अवैध सिकारीहरूमा स्वचालित हतियारहरूको बिगबिगी थियो। फलतः १९८९ मा लोप हुन लागेका प्रजातिहरूको अन्तरराष्ट्रिय व्यापारसम्बन्धी सम्मेलनले (CITES) हस्तिहाडको व्यापारमा पूर्णतया रोक लगायो। यद्यपि, हालै उक्‍त सम्मेलनले दक्षिण अफ्रिका, बोत्स्वाना र नामिबियालाई एक चोटिको लागि ६० टन बराबरको हस्तिहाड बिक्री गर्ने अनुमति दिन मञ्जुर गऱ्‍यो भनी अफ्रिकन वाइल्डलाइफ (अंग्रेजी) पत्रिका रिपोर्ट गर्छ। ती हस्तिहाडहरू अवैध सिकारीहरूबाट जफत गरिएका अथवा स्वाभाविक मृत्यु भएका जनावरहरूबाट झिकिएका थिए। अन्य दुई देशहरूलाई हस्तिहाड बिक्री गर्न रोक लगाइयो किनकि ती देशहरूले “हस्तिहाडको तस्करी रोक्न सक्छौं भनी पूर्ण ग्यारेन्टी दिन सकेनन्‌,” भनी उक्‍त लेखले बतायो। (g04 01/08)

संघर्षरत किसानहरू

एउटा रिपोर्टअनुसार “विश्‍वका अधिकांश भागमा उब्जनीमा वृद्धि गराउन सफल हरितक्रान्तिले एउटा मूल्य चुकाउनुपऱ्‍यो: अफ्रिकामा रहेका संसारकै गरिब किसानहरू झनै गरिब भए,” भनी न्यु साइन्टिस्ट (अंग्रेजी) पत्रिका बताउँछ। कसरी? विश्‍वको बढ्‌दो जनसंख्याको कारण हुन सक्ने अनिकाललाई रोक्न १९५० दशकको अन्तदेखि नै बढी फल्ने विविध प्रकारका गहुँ तथा धानहरू प्रयोगमा ल्याइयो। तथापि, बढी फल्ने यी विभिन्‍न बोटहरूले धेरै फलायो जसले गर्दा अन्‍नको मूल्य घट्यो। यस्ता नयाँ प्रकारका बोटहरू किनेर रोप्न सक्ने किसानहरूले घटेको मूल्यलाई बढेको उब्जनीद्वारा क्षतिपूर्ति गर्न त सके तर यस्ता बोटहरू किनेर रोप्न नसक्ने किसानहरूले घाटा बेहोर्नुपऱ्‍यो,” भनी न्यु साइन्टिस्ट बताउँछ। यसको अतिरिक्‍त, ती विविध नयाँ प्रकारका अनाजहरूले अफ्रिकामा राम्रो बाली दिएनन्‌ किनकि यी अनाजहरू एसिया र ल्याटिन अमेरिकामा खेती गर्नको लागि विकास गरिएको थियो। (g04 01/22)

सावधान! निदाउरो चालकहरू

मेडिकल जर्नल अफ अष्ट्रेलिया-मा (एम जे ए) प्रकाशित एउटा अध्ययन रिपोर्टले यसो भन्छ, “हाम्रो समाजमा चालकलाई हुने थकान अथवा निदाउरोपन एउटा व्यापक र गम्भीर समस्या हो।” अनुसन्धाताहरूका अनुसार “अध्ययनहरूले २० प्रतिशतभन्दा धेरै सडक दुर्घटनाहरूको कारण चालक निदाउरो हुनुलाई मानेका छन्‌।” एम जे ए-मा प्रकाशित उक्‍त अध्ययन रिपोर्ट यसो भन्छ: “निद्राले गर्दा हुने अधिकांश दुर्घटनाहरू रातमा एक्लै हाँक्दा अथवा दिउँसो एक छिन ‘झप्की’ मार्ने समयमा हुनेगर्छ जति बेला तुलनात्मक रूपमा गाडीको गति उच्च हुन्छ। अन्य कारणबाट हुने सडक दुर्घटना जस्तै निद्राबाट हुने दुर्घटना प्रायजसो ३० वर्ष मुनिका पुरुषहरूमा बढी हुन्छ।” अब्सट्रकटिभ स्लिप एपनिया (ओ एस ए) भनिने निद्रासम्बन्धी सामान्य गडबडीबाट पीडित व्यक्‍तिहरू गाडी हाँक्दा निदाउने खतरा धेरै हुन्छ। ओ एस ए-ले “करीब २५ प्रतिशत अधबैंसे पुरुषहरूलाई असर गर्छ” भनी उक्‍त पत्रिका बताउँछ। ओ एस ए भएकाहरूलाई आफू निदाउन लागेको पत्तै हुँदैन। (g04 01/22)

पग्लिरहेका हिमशिलाहरू

वर्षाको पानी पर्न ढिला हुँदा भारतस्थित पन्जाबको अन्य क्षेत्रहरूका जलाशयहरूमा पानीको तह कम थियो जब कि त्यति नै बेला सतलज नदीस्थित बक्रा बाँधमा पानीको तह अघिल्लो वर्षभन्दा दोब्बर थियो। किन? सतलज नदीको मुख्य सहायक नदी ८९ हिमशिलाहरू भएको क्षेत्र हुँदै बग्छ, भनी डाउन टु अर्थ (अंग्रेजी) पत्रिका बताउँछ। “ठीक समयमा वर्षा नहुँदा हिमशिलाहरू पग्लन थालेका छन्‌। बादल नलागेको हुनाले हिमशिलाहरूमा साबिकभन्दा बढी घाम पर्छ। यसरी घाम पर्दा अनि उच्च तापक्रमले गर्दा हिमशीलाहरू छिटछिटो पग्लन थालेका हुन्‌,” भनी जवाहारलाल नेहरु विश्‍वविद्यालयका हिमशिला विशेषज्ञ शइद इकबाल हसनइन बताउँछन्‌। विशेषज्ञहरूको विचारमा हिमशीलाहरू यसरी पग्लँदा हिमतालहरूमा पानी बढी भएर पोखिन सक्छ। यसको अतिरिक्‍त, हिमशिलाहरू सानो हुनुको अर्थ भविष्यमा पानीका स्रोतहरूमा कमी आउनेछ जसले उर्जा उत्पादन तथा कृषिमा नकारात्मक असर पार्नेछ। (g04 01/22)