सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

होमवर्क गर्न म कसरी समय निकाल्न सक्छु?

होमवर्क गर्न म कसरी समय निकाल्न सक्छु?

युवा जनहरू सोध्छन्‌ . . .

होमवर्क गर्न म कसरी समय निकाल्न सक्छु?

‘म हाइ-स्कूलको सिनियर स्टुडेन्ट हुँ, अत्यधिक तनावले गर्दा म फतक्कै गलिसकें। . . . मैले गर्नु पर्ने तीन थुप्रो प्रोजेक्ट र प्रेजेन्टेसनहरू छन्‌, यो कुनै चानचुने काम होइन। यो सबै गर्न मसित समय छैन।’— १८ वर्षिया एउटी युवती।

हरेक साँझ स्कूलबाट घर फर्किंदा तपाईंले आफूसितै बोकेर ल्याउने तीन थुप्रो होमवर्कहरूको बोझले के तपाईं अत्तालिनुहुन्छ? यदि अत्तालिनुहुन्छ भने यो समस्या तपाईंले मात्र भोगिरहनुभएको छैन। संयुक्‍त राज्य अमेरिकाबाट प्रकाशित प्रेस रिपोर्ट यसो भन्छ, “अमेरिकाका सबै स्कूलहरूले आफ्नो स्तरलाई उकास्न—र प्राप्तांकमा सुधार ल्याउन होमवर्क बढाइरहेका छन्‌। कुनै-कुनै क्षेत्रमा त हाइ-स्कूलका विद्यार्थीहरूले हरेक रात तीन घण्टाभन्दा बढी समय होमवर्क गर्न बिताएको रिपोर्ट दिएका छन्‌। मिसिगनको एउटा विश्‍वविद्यालयले सञ्चालन गरेको अध्ययनअनुसार २० वर्षअघिका बच्चाहरूले भन्दा अहिलेका बच्चाहरूले तीन गुणा बढी होमवर्क गर्नुपर्छ।”

होमवर्कको गह्रौं बोझ बोक्नुपर्ने संयुक्‍त राज्य अमेरिकाका विद्यार्थीहरू मात्र होइनन्‌। उदाहरणको लागि, त्यहाँ १३ वर्षका ३० प्रतिशतले हरेक दिन दुई घण्टाभन्दा धेरै समय होमवर्क गर्न बिताउने गरेको रिपोर्ट गरे भने ताइवान र कोरियामा यो आँकडा ४० प्रतिशत थियो र फ्रान्समा ५० प्रतिशतभन्दा धेरै थियो। संयुक्‍त राज्य अमेरिकाको एक विश्‍वविद्यालयकी छात्रा क्येटी यसरी बिलौना गर्छिन्‌, “होमवर्क थुप्रिंदा कहिलेकाहीं म असाध्यै तनावग्रस्त हुन्छु।” फ्रान्सको मार्से स्थित एउटा स्कूलमा पढ्‌ने मेरिलिन र बेलिन्दाका पनि यस्तै भावनाहरू छन्‌। मेरिलिन यसो भन्छिन्‌, “हामी हरेक राती अक्सर दुइ घण्टा होमवर्क गर्न बिताउँछौं। अन्य जिम्मेवारीहरू पनि छन्‌ भने त समय निकाल्न झनै गाह्रो हुन सक्छ।”

म कसरी समय निकाल्न सक्छु?

आफ्नो होमवर्कका साथै अरू काम गर्नको लागि आफूले चाहेको बेला दिनमा केही घण्टा थप्न पाएको भए साँच्चै कत्ति सजिलो हुन्थ्यो होला? वास्तवमा, यदि तपाईंले एफिसी ५:१५, १६ मा पाइने सिद्धान्तबाट पाठ सिक्नुभएको खण्डमा तपाईं यसो गर्न सक्नुहुन्छ: “कसरी हिंड़छौ ठीकसँग हेर, निर्बुद्धि जस्तो होइन, तर बुद्धिमान मानिसजस्तो, समयको अवसर विचार गरेर सम्झ [अनुकुल समय किन, NW] किनभने समय खराब छ।” बाइबल लेखकले होमवर्कलाई विचार गरेर यी शब्दहरू नलेखेका भए तापनि हाम्रो दैनिक जीवनमा यस सिद्धान्तलाई प्रयोगमा ल्याउन सकिन्छ। तपाईंले कुनै वस्तु किन्‍नुहुँदा त्यसको बदलामा केही गुमाउनुपर्ने हुन्छ। भनाइको तात्पर्य, अध्ययनको लागि समय निकाल्न तपाईंले केही कुरा त्याग्नुपर्नेछ। तर कुन कुरा?

जिलियन नाउँ गरेकी एउटी युवती यस्तो सल्लाह दिन्छिन्‌, “सबैभन्दा पहिला गर्नुपर्ने कामकुराहरूको एउटा सूची बनाउनुहोस्‌।” अर्को शब्दमा भन्‍नु पर्दा, प्राथमिकता निर्धारण गर्नुहोस्‌। तपाईंको त्यो सूचीमा मसीही सभा र आध्यात्मिक कामकुराहरू पहिलो स्थानमा हुनुपर्छ। अनि पारिवारिक जिम्मेवारी, घरको कामकाज र होमवर्कलाई पनि समावेश गर्न नबिर्सनुहोस्‌।

दोस्रो कुरा, तपाईंले आफ्नो समय साँच्चै कसरी बिताइरहनुभएको छ त्यसबारे एक हप्ता जतिको डायरी लेख्ने कोसिस गर्नुहोस्‌। आफूले पत्ता लगाएका कुराबाट तपाईं अचम्म पर्नुहोला। तपाईं कति समय टिभी हेरेर बिताउनुहुन्छ? इन्टरनेट चलाउनुहुन्छ? सिनेमा हेर्न जानुहुन्छ? फोनमा कुरा गर्नुहुन्छ? साथीहरूलाई भेट्‌न जानुहुन्छ? अब तपाईंको डायरी, तपाईंको प्राथमिकताको सूचीसित कत्तिको मेल खाँदो रहेछ त? सायद अझ बढी समय किन्‍न सक्ने क्षेत्रहरू फेलापार्न तपाईंले टिभी हेर्ने, फोनमा कुरा गर्ने अथवा इन्टरनेट चलाउने बानीहरूलाई विश्‍लेषण गर्नु मात्र पनि पर्याप्त हुन सक्छ!

पहिलो कुरा पहिले

यसको मतलब यो होइन कि तपाईंले आफ्नो टिभी नै फ्याँक्नुपर्छ अथवा तपाईं सन्यासी बन्‍नुपर्छ। तपाईंले यस्तो नियम बसाल्नुपर्ने हुन सक्छ, “पहिलो कुरा पहिले।” लागू गर्न सकिने एउटा बाइबल पद हो: “जे उत्तम छ सो तिमीहरू खुट्टयाउन सक।” (फिलिप्पी १:१०, नयाँ संशोधित संस्करण) उदाहरणको लागि, तपाईंको स्कूलको पढाइ महत्त्वपूर्ण भएकोले आफ्नो होमवर्क, घरको कामकाज अनि मसीही सभाहरूको लागि तयारी पूरा नभएसम्म टिभी नखोल्ने नियम तपाईंले बनाउन सक्नुहुन्छ। हो, आफूलाई मनपर्ने टिभी कार्यक्रम छुटाउँदा खल्लो लाग्न सक्छ। तर इमानदारीपूर्वक भन्‍नुपर्दा तपाईं कति पटक आफूलाई मनपर्ने कार्यक्रम मात्र हेर्छु भनेर टिभी अगाडि बसेर पूरै साँझ यत्तिकै समय खेर फाल्नुभएको छ?

अर्कोतिर, मसीही सभाहरूमा उपस्थित हुनुलाई तपाईंले उचित महत्त्व दिनुपर्छ। उदाहरणको लागि, यदि तपाईंको महत्त्वपूर्ण परीक्षा तथा होमवर्क असाइनमेन्ट आउँदै छ भने त्यसले सभाहरूमा बाधा नपुऱ्‍याओस्‌ भनेर तपाईं धेरै अघिदेखि त्यसको लागि खट्‌ने कोसिस गर्न सक्नुहुन्छ। सभाको साँझमा पर्न सक्ने होमवर्क असाइनमेन्टहरूबारे अग्रिम जानकारी दिनुभएमा आफू धेरै आभारी हुने थिएँ भन्दै त्यस्ता परिस्थितिहरूबारे तपाईंले आफ्नो शिक्षकसित अग्रिम कुरा गर्न पनि सक्नुहुन्छ। कुनै-कुनै शिक्षकहरू मदत गर्न इच्छुक हुन सक्छन्‌।

अर्को मदतकारी सिद्धान्त मार्था नाउँ गरेकी येशूको साथीको बाइबल विवरणमा सिकाइएको छ। तिनी असाध्यै व्यस्त र मेहेनती स्त्री थिइन्‌ तर तिनले आफ्ना प्राथमिकताहरू सही ढङ्‌गमा निर्धारण गरेकी थिइनन्‌। एक पटक तिनी येशूको लागि थरीथरीका भोजन बनाउने कोसिस गर्दै आफैलाई थकित तुल्याउँदै थिइन्‌ जबकि तिनकी बहिनी मरियम तिनलाई मदतको गर्नुको सट्टा येशूका कुरा सुनिरहेकी थिइन्‌। मार्थाले यस विषयमा गुनासो गर्दा येशूले तिनलाई यसो भन्‍नुभयो: “ए मार्था, मार्था, तिमी धेरै कुराको विषयमा चिन्ता र फिक्री गर्दछ, तर जुन कुराको आवश्‍यक छ, त्यो असल भाग मरियमले छानेकी छ, जो त्यसबाट खोसिनेछैन।”—लूका १०:४१, ४२.

यसबाट हामी कस्तो पाठ सिक्न सक्छौं? कामकुरालाई सरल बनाउनुहोस्‌। यो सिद्धान्तलाई तपाईं आफ्नो परिस्थितिमा कसरी लागू गर्न सक्नुहुन्छ? के तपाईं “धेरै कुराको विषयमा चिन्ता र फिक्री” गर्नुहुन्छ—सायद तपाईं होमवर्क र पार्ट-टाइम जागिर एकै चोटि भ्याउने प्रयास गर्दै हुनुहुन्छ होला? यदि तपाईं जागिर खाँदै हुनुहुन्छ भने के तपाईंको परिवारलाई साँच्चै पैसाको जरुरी छ? अथवा आवश्‍यक नभएको तर मन लागेको कुरा मात्र किन्‍न पो तपाईंलाई थप पैसा चाहिएको हो कि?

उदाहरणको लागि, कुनै-कुनै मुलुकमा जवान मानिसहरू आफ्नै कार किन्‍न उत्सुक हुन्छन्‌। हाई-स्कूल सल्लाहकार करेन टर्नर यसो भन्छिन्‌, “आजका जवान मानिसहरूलाई पैसा कमाउन ठूलो दबाब छ किनकि कार हाँक्न महंगो पर्छ” यद्यपि, टर्नर निष्कर्षमा यसो भन्छिन्‌: “अतिरिक्‍त क्रियाकलाप, जागिर र साथै पढाइको गह्रौं बोझ एकै चोटि बोक्ने कोसिस गर्दा धेरै वाधा अड्‌चनहरू आइपर्छ। यसो हुँदा विद्यार्थीहरूलाई आफूले बोक्नै नसक्ने बोझ बोकिरहेको महसुस हुन्छ।” यदि बोक्नु पर्दैन भने किन बित्थामा गह्रौं बोझ आफूमाथि लाद्‌न दिने? यदि तपाईंको स्कूलको पढाइमा नराम्रो असर परिरहेको छ भने सायद तपाईं कम समयको जागिर खान सक्नुहुन्छ अथवा जागिर छोड्‌न पनि सक्नुहुन्छ।

स्कूलमा ‘समय किन्‍ने’

स्कूलपछि अतिरिक्‍त समय खोज्नुको अलावा स्कूलमा छँदा नै कसरी आफ्नो समयको सदुपयोग गर्न सकिन्छ, विचार गर्नुहोस्‌। होसे यसो भन्छन्‌, “म प्रायः स्कूलमा अध्ययनको लागि छुट्टयाइएको समयमै सकेजति होमवर्क सिध्याउने प्रयास गर्छु। यसो गर्दा मैले त्यस दिन कक्षामा नबुझेका कुराहरू तत्कालै शिक्षकलाई सोध्ने मौका पनि पाउँछु।”

विचार गर्न सकिने अर्को कुरा, कोर्समा समावेश नगरिएका तर आफ्नो इच्छाअनुसार रोज्न सकिने अतिरिक्‍त विषयहरूलाई कम गर्न सकिन्छ। साथै, तपाईं आफू संलग्न हुँदै आएको केही अतिरिक्‍त क्रियाकलापहरूमा भाग लिन बन्द गर्न पनि चाहनुहुन्छ होला। यी क्षेत्रहरूमा काँटछाँट गरेर तपाईं अध्ययनको लागि थप समय निकाल्न सक्नुहुन्छ।

अझ प्रभावकारी ढङ्‌गमा आफ्नो समयको सदुपयोग गर्ने

ल ठीक छ! तपाईंले त्याग र छाँटकाँट गर्नुभयो र होमवर्कको लागि केही बढी समय निकाल्नुभयो। त्यस समयलाई तपाईंले कत्तिको प्रभावकारी ढङ्‌गमा सदुपयोग गर्नुहुनेछ? यदि तपाईंले त्यस समयमै ५० प्रतिशत बढी होमवर्क गर्न भ्याउनुभयो भने के त्यो ५० प्रतिशत थप समय पाउनु जत्तिकै राम्रो कुरा होइन र? त्यसैले तपाईंको प्रभावकारिता बढाउनको लागि यहाँ केही सुझावहरू दिइएका छन्‌।

योजना बनाउनुहोस्‌। होमवर्क सुरु गर्नुभन्दा पहिला, यस्ता कुराहरूमा विचार पुऱ्‍याउनुहोस्‌: पहिले कुन चाहिं विषयको होमवर्क सिध्याउनुपर्छ? यो असाइनमेन्ट पूरा गर्न कति समय लाग्छ? यो असाइनमेन्ट पूरा गर्न तपाईंलाई पुस्तक, कापी, पेन, क्याल्कुलेटर जस्ता के-कस्ता सामाग्रीहरू आवश्‍यक पर्नेछ?

अध्ययन गर्ने ठाउँ खोज्नुहोस्‌। खासमा भन्‍ने हो भने, उपयुक्‍त ठाउँ भनेको ध्यान नखलबलिने खालको हुनुपर्छ। एलिस नाउँ गरेकी एउटी युवती यसो भन्छिन्‌, “डेस्क छ भने त्यसको प्रयोग गर्नुहोस्‌। ओछ्यानमा लमतन्‍न पर्नुभन्दा मेचमा बसेर होमवर्क गर्दा तपाईंले ध्यान केन्द्रित गर्न मदत पाउनुहुनेछ। यदि तपाईंको व्यक्‍तिगत कोठा छैन भने अध्ययनको समयमा सायद तपाईंका भाइबहिनीहरू तपाईंलाई शान्त वातावरण बनाइदिन र बाहिर गइदिन इच्छुक हुन सक्छन्‌। अथवा तपाईं कुनै पार्क वा सार्वजनिक पुस्तकालय प्रयोग गर्न सक्नुहुन्छ। यदि तपाईंको व्यक्‍तिगत कोठा छैन भने अध्ययन गर्ने कोसिस गर्नुहुँदा टिभी खोलेर अथवा ध्यान खलबल्याउने संगीत बजाएर आफ्नो प्रयत्नमा वाधा नपुऱ्‍याउनुहोस्‌।

विश्राम लिनुहोस्‌। यदि तपाईंले आफ्नो ध्यान केन्द्रित गर्न नसकेको महसुस गर्नुभयो भने छोटो विश्राम लिनाले तपाईंले पुनः ध्यान केन्द्रित गर्न मदत पाउनुहुनेछ।

कामकुरा पछि सार्ने नगर्नुहोस्‌! माथि उल्लिखित क्येटी यसो भन्छिन्‌, “मेरो कामकुरा पछि सार्ने साह्रै नराम्रो बानी बसिसकेको छ। अन्तिम क्षण नआएसम्म मलाई आफ्नो असाइनमेन्ट थाल्ने जाँगर चल्दैन।” होमवर्कको लागि निश्‍चित तालिका बनाउने अनि त्यसलाई पछ्याएर कामकुरा पछि सार्ने बानीलाई त्याग्नुहोस्‌।

स्कूलको काम महत्त्वपूर्ण छ तर येशूले मार्थालाई औंल्याउनुभएझैं पछ्याउनु पर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा अर्थात्‌ ‘असल भाग’ चाहिं आध्यात्मिक कुरा नै हो। बाइबल पढाइ, सेवकाई तथा मसीही सभाहरूमा भाग लिने जस्ता महत्त्वपूर्ण गतिविधिहरूलाई होमवर्कले वाधा नदिन पक्का गर्नुहोस्‌। तपाईंको जीवनलाई अनन्तकालसम्म समृद्ध तुल्याउने कुराहरू यिनै हुन्‌!—भजन १:१, २; हिब्रू १०:२४, २५. (g04 1/22)

[पृष्ठ १५-मा भएको चित्र]

धेरै क्रियाकलापहरूलाई एकै चोटि भ्याउने प्रयास गर्दा तपाईंलाई होमवर्क गर्नको लागि समय निकाल्नै गाह्रो हुन सक्छ

[पृष्ठ १५-मा भएको चित्र]

राम्ररी प्रबन्ध मिलाउँदा तपाईंलाई होमवर्क गर्नको लागि अझ बढी समय निकाल्न मदत गर्न सक्छ