के तपाईंको व्यक्तित्व रक्त समूहले निर्धारण गर्छ?
बाइबलको दृष्टिकोण
के तपाईंको व्यक्तित्व रक्त समूहले निर्धारण गर्छ?
रक्त समूहको आधारमा कसैको व्यक्तित्व निर्धारण गर्ने चलन कुनै-कुनै देशहरूमा एकदमै प्रचलित छ। उदाहरणका लागि, जापानमा कुराकानी सुरु गर्न “तपाईंको रक्त समूह कुन हो?” भनेर कसै-कसैले सोध्नु सामान्य कुरा हो। यस धारणाका समर्थकहरू ए-समूहको रक्त भएका मानिसहरू शान्त, जिम्मेवार र शङ्कालु स्वभावका हुन्छन्; बी-समूहको रक्त भएकाहरू चाहिं खुला मनका, तुरुन्तै मुड परिवर्तन हुने, सजिलै ठगिने आदि खाले हुन्छन् भन्ने दाबी गर्छन्। एउटा रक्त समूहको व्यक्तिलाई अर्को रक्त समूहको व्यक्तिसित घुलमिल हुन गाह्रो वा सजिलो हुन सक्छ भन्ने किटान पनि गरिन्छ।
यस धारणाको आधारमा, कोही-कोही व्यक्तिहरू स्कूलमा विद्यार्थीहरूलाई समूह-समूहमा राख्दा, कम्पनीहरूमा प्रशासकहरू छनौट गर्दा वा जीवन साथी रोज्दासमेत रक्त समूहलाई महत्त्वपूर्ण ठान्ने गर्छन्। हाम्रो रक्त समूहले हाम्रो व्यक्तित्वलाई साँच्चै निर्धारण गर्छ भन्ने के कुनै प्रमाण छ? यस विषयलाई समेट्ने के कुनै बाइबल शिक्षाहरू छन्?
रक्त समूह भनेको के हो?
द वर्ल्ड बूक मल्टिमिडिया इन्साइक्लोपीडिया यस प्रकार वर्णन गर्छ: “रातो रक्तकोषका झिल्लीहरूमा एन्टिजेन्स् भनिने प्रोटिन हुन्छ। तीन सयभन्दा बढी रातो कोष एन्टिजेन्स् पत्ता लागेका छन्।” केही व्यक्तिहरूमा पाइने एन्टिजेन्स् अर्को व्यक्तिमा पाइँदैन र कुनै-कुनै एन्टिजेन्स् त अर्को एन्टिजेन्स्सँगसँगै हुनै सक्दैन। त्यसकारण, उक्त विश्वकोश अझ यसो भन्छ, “कुनै खास एन्टिजेन्स् हुनु वा नहुनुको आधारमा वैज्ञानिकहरूले मानव रक्तलाई विभिन्न समूहहरूमा छुट्टयाएका छन्।”
एकदमै व्यापक तवरमा स्वीकृत रक्त समूह प्रणाली ए बी ओ प्रणाली हो, जसले मानव रक्तलाई चार समूहमा वर्गीकरण गर्छ। ती हुन्—ए, बी, ए बी र ओ। यसबाहेक, साधारणतया आर एच प्रणाली प्रयोग गरिन्छ। वास्तवमा, लगभग २० वटा
रक्त समूह प्रणाली छन्। यसैबाट रगत कत्ति जटिल कुरा रहेछ भन्ने स्पष्ट हुन्छ। इन्साइक्लोपीडिया ब्रिटानिका यसो भन्छ: “विभिन्न प्रकारका रातो कोष एन्टिजेन्स्को ठूलो संख्याको कारण दुरुस्तै देखिने जुम्ल्याहा व्यक्तिहरूमा बाहेक अरूमा एउटै रक्त समूहका तत्त्वहरू हुने सम्भावना अत्यन्तै न्यून हुन्छ।”तोकेरै भन्ने हो भने, यसले प्रत्येक व्यक्तिको बेग्लै “रक्त समूह” हुन्छ भनेर सङ्केत गर्छ। तसर्थ, एउटै रक्त समूह भएका व्यक्तिहरूको व्यक्तित्व उस्ता-उस्तै देखिने हुन्छ भन्ने दाबी निराधार देखिन्छ। प्राप्त प्रमाणअनुसार विभिन्न कारणहरूले हाम्रो व्यक्तित्व निर्धारण गरेको हुन्छ।
कुन कुराले हाम्रो व्यक्तित्व निर्धारण गर्छ?
“व्यक्तित्व भनेको जन्मजात र पछि सिकिने मानव स्वभावहरू हुन् र यसले गर्दा प्रत्येक मानिस फरक-फरक हुन्छ” भनी इन्साइक्लोपीडिया ब्रिटानिका बताउँछ। हो, जन्मजात आनीबानीबाहेक अन्य पक्षहरू—जस्तै, राम्रा नराम्रा पारिवारिक वातावरण, शिक्षा, संगति तथा अनुभवहरूले हाम्रो व्यक्तित्व विकासमा असर गर्छ। त्यसकारण हाम्रो आनुवंशिक बनौटले मात्रै हाम्रो व्यक्तित्व निर्धारण गर्ने होइन। एउटै आनुवंशिक बनौट भएका दुरुस्तै देखिने जुम्ल्याहाहरूको समेत अक्सर फरक-फरक व्यक्तित्व हुन्छ।
अर्को महत्त्वपूर्ण तथ्य हो, मानिसको व्यक्तित्व परिवर्तन हुन सक्छ अथवा परिवर्तन गराउन सकिन्छ। प्रेरित पावलले मानिसहरूलाई परिवर्तन गर्ने मसीही शिक्षाहरूको शक्तिलाई जोड दिए। तिनले यस्तो लेखे: “पुरानो मनुष्यत्वलाई त्यसका कामहरूसमेत तिमीहरूले त्यागेका छौ, औ नयाँ चोला धारण गरेर, आफूलाई सृष्टि गर्नेको रूपजस्तै भएर पूरा ज्ञानमा परिवर्त्तन भएका छौ।” (कलस्सी ३:९, १०) मसीहीहरूलाई उनीहरू पापी हुन् र आफूसित पापपूर्ण झुकावहरू छन् भन्ने कुरा थाह थियो। परमेश्वरद्वारा स्वीकार्य हुनका लागि तिनीहरूले आफ्नो व्यक्तित्व परिवर्तन गर्नुपर्थ्यो।
कुन कुराले यस्ता परिवर्तनहरू सम्भव बनाउँछ? परमेश्वरको वचन वा सन्देशको शक्तिले। अहिले बाइबलमा पाउन सकिने परमेश्वरको वचनको गहिरो प्रभावको विषयमा पावलले यस्तो लेखे: “परमेश्वरको वचन जीवित र प्रबल, र कुनै दुइ-धारे तरवारभन्दा पनि धारिलो, औ प्राण र आत्मालाई जोर्नी जोर्नी र हड्डीका मासीलाई भाग भाग पारुञ्जेलसम्म वारपार छेंड़ने, र हृदयको भावना र विचारलाई जाँच्न सक्ने हुन्छ।” (हिब्रू ४:१२) कुनै व्यक्तिले आफूलाई परमेश्वरको आत्माको प्रभावमा पर्न दिनुका साथै बाइबलमा दिइएका नैतिक स्तरहरू अनुरूप चल्ने प्रयास गर्दा, तिनको व्यक्तित्व बिस्तारै परिवर्तन हुन सक्छ। यसरी परिवर्तन भएको मसीही व्यक्तित्वमा “सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता” समावेश छ।—कलस्सी ३:१२.
मसीही व्यावहारिकता
हो, रक्त समूहहरूको अध्ययनलाई निषेध गर्ने त्यस्तो कुनै बाइबल सिद्धान्त छैन। तर मानव आनीबानीसित यसको कुनै सम्बन्ध हुन सक्नु भनेको त अर्कै कुरा हो। जीवनमा गरिने सम्पूर्ण कुराहरूमा जस्तै, हामीले आफ्ना पाइलाहरूलाई परमेश्वरको वचनले डोऱ्याउन दिनै पर्छ। (भजन ११९:१०५) व्यावहारिकता पनि अत्यावश्यक छ।—फिलिप्पी ४:५.
आफ्नो व्यक्तित्वमा भएको त्रुटि सच्याउने प्रयास नगर्नुको कारण रक्त समूहले गर्दा नै त्यस्तो स्वभाव भएको हो भन्नु पक्कै अव्यावहारिक हुनेछ। आफ्नो आनुवंशिक बनौटको बावजुद, मसीहीहरूले सकेसम्म आफ्नो व्यक्तित्वलाई यहोवा र येशूका गुणहरू झल्काउने व्यक्तित्वमा ढाल्ने प्रयास गरिरहनै पर्छ।—एफिसी ५:१.
साथै, यहोवाले अरूलाई जुन दृष्टिकोणले हेर्नुहुन्छ, मसीहीहरूले पनि उनीहरूप्रति त्यस्तै दृष्टिकोण राख्ने प्रयास गर्छन्। “परमेश्वरले मानिसहरूको पक्षपात गर्नुहुन्न।” (प्रेरित १०:३४, ३५) यहोवाले सबै किसिमका मानिसहरूलाई खुसीसाथ स्वीकार्नुहुन्छ। त्यसैकारण रक्त समूहको आधारमा मात्र कसैबाट टाढा रहनु वा उनीहरूसित सरसंगत गर्नै छाड्नु अव्यावहारिक र गैरमसीही हुनेछ। रक्त समूह “मेल खाने” व्यक्तिहरूसित मात्र सरसंगत गर्नु भनेको पनि त्यस्तै हो। बाइबलले यस्तो सल्लाह दिन्छ: “तिमीहरू मानिसको मुख हेरेर काम गर्नपट्टि लाग्यौ भनेता . . . पाप गर्ने भयौ।”—याकूब २:९.
विज्ञान र प्रविधिको प्रगतिसँगसँगै मानव शरीरबारे थुप्रै नयाँ कुरा तथा सिद्धान्तहरू पत्ता लागेका छन्। यी धारणाहरूद्धारा मोहित हुनु स्वाभाविकै हो। यद्यपि, मसीहीहरूले आफ्नो सोचाइलाई मानिसहरूको सिद्धान्तद्वारा नभई बाइबलको डोऱ्याइअनुसार चलाउनु बेस हुन्छ। जीवनको हरेक क्षेत्रमा, मसीहीहरूले ‘सबै कुराको जाँच गर्नु’ र ‘जुन असल छ, त्यसैमा लागिरहनु’ आवश्यक छ।—१ थिस्सलोनिकी ५:२१. (g04 2/8)