सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

टेलिफोन सेक्स्‌मा त्यस्तो के खराबी छ र?

टेलिफोन सेक्स्‌मा त्यस्तो के खराबी छ र?

युवा जनहरू सोध्छन्‌ . . .

टेलिफोन सेक्स्‌मा त्यस्तो के खराबी छ र?

एउटा चिरपरिचित अमेरिकी पत्रिकाअनुसार “फोन सेक्स्‌ले एक-अर्कादेखि टाढा हुनुपरेका जोडीहरूको लागि रोमान्टिक कुराकानी आदानप्रदान गर्ने अत्युत्तम माध्यमको रूपमा प्रेम पत्रको ठाउँ लिएको छ।”

फोन सेक्स्‌ भनेको के हो? यसमा, फोनमा एकदमै छाडा कुराहरू गर्नु वा सुन्‍नु समावेश छ। a यस्तो आचरणमा लिप्त भएका व्यक्‍तिहरू आफ्नो यौन उत्तेजनालाई शान्त पार्न अक्सर हस्तमैथुन गर्ने गर्छन्‌। अश्‍लील कुराकानी चाहे विवाहपूर्व भेटघाट गरिरहेका जोडीहरूबीच होस्‌ वा अपरिचित व्यक्‍तिहरूबीच, अचेल फोन सेक्स्‌ अत्यन्तै लोकप्रिय भएको छ। साँच्चै भन्‍ने हो भने, कसै-कसैले त यसको खुलेआम प्रवर्धन गरिरहेका छन्‌।

“यो सबैभन्दा सुरक्षित यौन सम्पर्क हो” भनेर एउटी महिला दाबी गर्छिन्‌। स्पष्टतया, थुप्रै मानिसहरू तिनको कुरामा सहमत छन्‌। उदाहरणका लागि, एच आइ भी संक्रमणमा भएको वृद्धिबारे प्रतिक्रिया जनाउँदै, अक्टोबर २००० मा रूसी स्वास्थ्य विशेषज्ञहरूको एउटा टोलीले टेलिफोन सेक्स्‌को प्रवर्धन गर्न अखबारमा विज्ञापनहरू दिन थाल्यो।

तथापि, अन्य कतिपय मानिसहरूले भने नाफा कमाउनको लागि मात्रै टेलिफोन सेक्स्‌को प्रवर्धन गरिरहेका छन्‌। अश्‍लील शब्दहरू सुन्‍न पैसा तिरिने फोन सेक्स्‌ सेवा, संयुक्‍त राज्य अमेरिकामा मात्रै अरबौं डलर कमाउने एउटा उद्योग बनेको छ।

यो चलन किन यत्तिबिघ्न लोकप्रिय भएको होला? यस विषयमा द फ्यान्टासी फ्याक्ट्री (अंग्रेजी) भन्‍ने पुस्तक यसो भन्छ: “घनिष्ठ शारीरिक तथा मानसिक सम्पर्क खतरनाक हुन्छ। यौनजन्य रोगको शारीरिक जोखिम, व्यक्‍तिगत/व्यावसायिक इज्जतमा धक्का पुग्न सक्ने खतरा, समाजमा नाक काटिने डर र ‘अस्वाभाविक’ यौन चाहनाको सिकार हुने डर हुन्छ। फोन सेक्स्‌ले यी सबै जोखिमलाई कम गर्छ।”

हुन त हो, फोन सेक्स्‌मा अर्को व्यक्‍तिसित शारीरिक सम्पर्क राख्नुपर्दैन। तर के त्यसो भन्दैमा यसो गर्नुमा कुनै खराबी छैन वा यसो गर्दा कुनै खतरा वा जोखिम आइपर्दैन भन्‍नु मिल्छ?

के टेलिफोन सेक्स्‌ अहानिकारक छ?

विशेष गरी युवावस्थामा यौन इच्छा प्रबल हुन्छ। बाइबलले यस समयलाई यौन इच्छाहरू चरम बिन्दुमा पुग्ने समय अर्थात्‌ “बैंस” भन्छ। (१ कोरिन्थी ७:३६) जीवनको यस महत्त्वपूर्ण समयमा, एक जना मसीही युवा वा युवतीले “आफ्ना आफ्ना पात्रलाई पवित्रता र इज्जतमा कसरी आफैले ग्रहण गर्नुपर्छ, सो” सिक्नुपर्छ। (१ थिस्सलोनिकी ४:४) अर्थात्‌, तपाईंले आफ्ना यौन भावनाहरूको सामना गर्न र त्यसलाई काबूमा राख्न सिक्नै पर्छ। यौनबारे स्वस्थ अनि सन्तुलित दृष्टिकोण राख्न यसो गर्नु नितान्त जरुरी छ।

तथापि, टेलिफोन सेक्स्‌ले यौन उत्तेजनालाई वशमा राख्न होइन, तृप्त पार्न सिकाउँछ। त्यति मात्र होइन, यसले विपरीत लिंगको व्यक्‍तिप्रति नीच, विकृत दृष्टिकोण राख्न लगाउँछ। बाइबलले वैवाहिक बन्धनभित्र मात्र यौन सम्पर्क राख्नु उचित हो भनेर सिकाउँछ। (हिब्रू १३:४) तर फोन सेक्स्‌ले जवानहरूलाई विवाहित जोडीबाहेक अरूसित पनि यौन आनन्द उठाउन प्रोत्साहित गर्छ। साँचो आनन्द लिएर होइन तर दिएर प्राप्त गर्न सकिन्छ भनी बाइबलले सिकाउँछ। (प्रेरित २०:३५) तर फोन सेक्स्‌ले मानिसलाई आफ्नो शारीरिक इच्छा पूरा गर्न अरू कसैलाई माध्यम बनाएर प्रयोग गर्न सिकाउँछ। बाइबलले विवाहित दम्पतीहरूलाई पारस्परिक प्रेम र भरोसा खेती गरेर साँचो आत्मीयता विकास गर्न प्रोत्साहन दिन्छ। (एफिसी ५:२२, २३) तथापि, टेलिफोन सेक्स्‌ले आत्मीयता तथा आफ्नोपनलाई बढाउँदैन।

एउटा हानिकारक लत

प्राचीन कोरिन्थ, अनैतिक कुराहरूले भरिएको सहरको रूपमा प्रख्यात थियो। त्यसकारण, प्रेरित पावलले त्यहाँका मसीहीहरूलाई यस्तो लेख्नुको पछाडि ठोस कारण थियो: “जसरी सर्पले आफ्नो छलले हव्वालाई छकायो, त्यसरी ख्रीष्टतर्फका तिमीहरूका सीधापना र पवित्रताबाट तिमीहरूका विचारहरू भ्रष्ट होलान्‌ कि भन्‍ने मलाई डर लागेको छ।” (२ कोरिन्थी ११:३) आज जवानहरूलाई भ्रष्ट पार्न शैतान अर्थात्‌ दियाबलले प्रयोग गरिरहेका माध्यमहरूमध्ये टेलिफोन सेक्स्‌ एउटा हो।

कोही-कोही युवाहरूका लागि टेलिफोन सेक्स्‌ लाइनमा कुरा गर्नु एउटा अनियन्त्रित लत नै भइसकेको छ। मानिलिऊँ, यसप्रति कुनै पनि व्यक्‍ति कत्तिको “आसक्‍त” हुन सक्छ भन्‍ने कुरा जिम नाउँको एक जना जवान व्यक्‍ति हामीलाई बताउँछन्‌। जिमले विज्ञापन पाटीमा टेलिफोन सेक्स्‌ लाइनको नम्बर देखे। तिनले नम्बर याद गरे र पछि कौतूहलता मेट्‌न त्यस नम्बरमा फोन गरे। पछि त्यस लाइनमा फोन गर्ने क्रम झन्‌-झन्‌ बढ्‌दै गयो। थाहै नपाई तिनको फोनको बिलमा रू. २८,००० चढिसकेको थियो!

अविवाहित छँदा यौन इच्छाहरूलाई उत्तेजित हुन दिनु भनेको परमेश्‍वरको वचनको सल्लाह विपरीत हो। बाइबल यस्तो आग्रह गर्छ: “यसकारण पृथ्वीमा भएका तिमीहरूका अङ्‌गहरूलाई आत्मसंयमद्वारा वशमा पार, व्यभिचार, अशुद्धपना उद्वेग।”—कलस्सी ३:५.

विवाहपूर्व भेटघाटका खतराहरू

साँच्चै विवाह गर्ने उद्देश्‍यले विवाहपूर्व भेटघाट गर्ने वयस्कहरूको विषयमा के भन्‍न सकिन्छ? हो, मायाको डोरीमा बाँधिएका व्यक्‍तिहरूका लागि एक-आपसमा आफ्नो मनका भावनाहरू साटासाट गर्नु स्वाभाविकै हो। बाइबलकालीन समयमा एउटी जवान महिलाले आफ्नो मंगेतरको विषयमा यसो भनिन्‌: “म मेरो प्रियको हुँ, उहाँको सबै तिर्सना मेरै निम्ति छ।” (श्रेष्ठगीत ७:१०) विवाह गर्ने दिन नजिकिंदै जाँदा, मगनी भइसकेका जोडीले कुनै-कुनै अति निजी कुराहरूबारे छलफल गर्नु सही र उचित हो। तथापि, के फोन सेक्स्‌ रोमान्टिक भावनाहरू व्यक्‍त गर्ने सुरक्षित तरिका हो?

होइन। मगनी भइसकेका जोडीहरूले समेत प्रेरित पावलको यो सल्लाह पालन गर्नु अनिवार्य छ: “तर व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत पनि तिमीहरूबाट नलिइओस्‌, जस्तो कि पवित्र जनहरूलाई उचित हुन्छ। औ न अशिष्टता, न बेमतलबका कुरा अथवा ठट्टा, यी उचित होइनन्‌, तर बरु धन्यवाद दिने काम होस्‌। किनभने यो ता तिमीहरू निश्‍चय जान्दछौ, कि कुनै व्यभिचारी, कि अशुद्ध मानिस, अथवा लोभी मानिसले, जो मूर्तिपूजक हो, ख्रीष्ट र परमेश्‍वरको राज्यमा कुनै अधिकार पाउनेछैन।”—एफिसी ५:३-५; कलस्सी ३:८.

जानाजानी अनैतिक विचार जगाउने वा हस्तमैथुन गर्न उक्साउने निजी कुराकानी पनि यहोवाको नजरमा अपवित्र कुरा हुन्‌। अनि यसले ईश्‍वरीय सिद्धान्तहरूको अझ घोर उल्लङ्‌घन गर्न लगाउन सक्छ। उदाहरणका लागि, एउटा जोडीले लामो दूरीको भेटघाटबाट आनन्द उठाइरहेका थिए। सुरुमा त उनीहरूले टेलिफोनमा घरी-घरी कुरा गरेर एक-अर्कालाई नजिकबाट चिन्‍ने कोसिस गरिरहेका थिए। तथापि, धेरै समय नबित्दै उनीहरूले अनैतिक विषयहरूमा कुरा गर्न थाले। उनीहरूको कुराकानी पूरै छाडा हुन थाल्यो। त्यसपछि त के चाहियो र, परिस्थितिले उनीहरूलाई सँगै भेट्‌न अनुकूल बनाउनसाथ उनीहरू तत्कालै अशुद्ध आचरणमा फसिहाले।

साँच्चै, हामीमध्ये जो परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन चाहन्छौं, टेलिफोन सेक्स्‌को पासोमा पर्नदेखि जोगिन यथासक्दो कोसिस गर्नेछौं। यसो गर्न हामी कसरी सफल हुन सक्छौं?

‘आफ्नो शरीरलाई कुट्‌नुहोस्‌’

टेलिफोन सेक्स्‌ लत बन्‍न सक्छ। यहोवाको अनुमोदन प्राप्त गर्नको लागि हामीले ‘आफ्नो शरीरलाई कुट्‌नु र वशमा ल्याउनु’ आवश्‍यक छ। (१ कोरिन्थी ९:२७) यदि तपाईं अहिले टेलिफोन सेक्स्‌मा लाग्नुभएको छ भने, मदतको लागि गुहार माग्नुभए कसो होला? आफ्ना मसीही आमाबुबासित यसबारे कुरा गर्नु मदतकारी हुन सक्छ। हो, उहाँहरू तपाईंसित निराश त हुनुहोला। तर तपाईंलाई पुरानै बानीमा फर्किन नदिन मदतको लागि तपाईमाथि निरीक्षण गर्ने उपयुक्‍त व्यक्‍तिहरू पनि उहाँहरू नै हुन सक्नुहुन्छ। यहोवाका साक्षीहरूको स्थानीय मण्डलीका प्राचीनहरू पनि तपाईंलाई मदत गर्न इच्छुक तथा सक्षम हुनेछन्‌।

यदि तपाईं विवाहपूर्व भेटघाट गर्दै हुनुहुन्छ भने, फोनमा कुरा गर्दासमेत पवित्र रहने सङ्‌कल्प गर्नुहोस्‌। लेटेसिया नाउँकी मगनी भइसकेकी एउटी मसीही स्त्रीले यसो भनिन्‌: “मेरो मङ्‌गेतर र मैले पवित्र रहने विषयमा बाइबल आधारित लेखहरू सँगै पढेका छौं। सफा अन्तस्करण कायम राख्ने सन्दर्भमा त्यसले हामीलाई जति मदत गरेको छ, त्यसको लागि हामी कृतज्ञ छौं।” यदि तपाईंहरूको कुराकानीले अलि अनुचित मोड लिंदैछ भने, कुराकानीको विषय फेर्ने साहस बटुल्नुहोस्‌। तपाईंहरूको कुराकानीलाई स्वच्छ राख्नुको महत्त्वबारे सँगै छलफल गर्नुहोस्‌।

कुनै-कुनै मुलुकहरूमा, टेलिफोन सेक्स्‌का विज्ञापनहरू टेलिभिजनमा राती अबेर देखाउने गरिन्छ। राती अबेरसम्म टिभी नहेर्नु तपाईंको लागि बेस हुन सक्छ। हस्तमैथुनले अनैतिक विचारहरू वशमा राख्न होइन तर जगाउने भएकोले यस्तो फोहोर बानीलाई हटाउनु अत्यावश्‍यक छ। b जे कुरा चोखा छन्‌, त्यसबारे विचार गरेर तपाईं आफ्नो मनमा भएका फोहोर विचारहरूलाई हटाउन सफल हुन सक्नुहुन्छ। (फिलिप्पी ४:८) आफ्नो सङ्‌कल्पलाई सुदृढ पार्न स्वास्थ्यकर बोलीचाली भएका र दिनहुँ परमेश्‍वरको वचन तथा मसीही प्रकाशनहरू पढ्‌ने साथीहरूसित सरसंगत गर्नुहोस्‌। यस प्रकार तपाईंले अनैतिक कल्पनाहरूलाई आफ्नो मनमा घुस्न र आफ्नो सोचाइलाई भ्रष्ट हुन दिनुहुनेछैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, मदतको लागि परमेश्‍वरलाई प्रार्थना गर्नुहोस्‌। प्रेरित पत्रुसले यस्तो लेखे: “तिमीहरूका सारा फिक्री उहाँमाथि राखिदेओ, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।”—१ पत्रुस ५:६, ७.

“अवैध यौन सम्पर्क राख्न युवा जनहरूले अचाक्ली दबाब सामना गर्नुपर्छ” भनेर ब्राजिलकी एउटी जवान मसीही बहिनी बताउँछिन्‌। तथापि, तपाईंले सामना गर्नुहुने चुनौतीहरूबारे यहोवालाई थाह छ। उहाँको नजरमा स्वच्छ रहन तपाईंलाई चाहिने आवश्‍यक सम्पूर्ण मदत उहाँले प्रदान गर्नुहुनेछ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌।—एफिसी ६:१४-१८. (g04 2/22)

[फुटनोटहरू]

a त्यस्तै एउटा अनैतिक आचरण, जसलाई कहिलेकाहीं साइबरसेक्स्‌ पनि भनिन्छ, त्यसमा इन्टरनेट च्याट रूममार्फत एकदमै छाडा कुराहरू गर्ने गरिन्छ।

b हस्तमैथुनमाथि कसरी विजय हासिल गर्ने भन्‍ने विषयमा सुझावहरूका लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ भन्‍ने पुस्तकका पृष्ठ १९८-२११ हेर्नुहोस्‌।

[पृष्ठ २०, २१-मा भएको चित्र]

टेलिफोन र साइबर सेक्स्‌ले लोकप्रियता कमाइरहेका छन्‌

[पृष्ठ २०, २१-मा भएको चित्र]

विवाहपूर्व भेटघाट गरिरहेका जोडीहरू आफ्ना कुराकानीलाई फोहोर हुन नदिन होसियार रहनै पर्छ

[पृष्ठ २२-मा भएको चित्र]

परमेश्‍वरको वचन तथा मसीही प्रकाशनहरू पढ्‌नाले पवित्र रहने तपाईंको सङ्‌कल्प सुदृढ हुन सक्छ