सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

फेरि पानी पर्दैछ!

फेरि पानी पर्दैछ!

फेरि पानी पर्दैछ!

आयरल्याण्डका ब्यूँझनुहोस्‌! लेखकद्वारा

“हत्तेरिका! फेरि पानी पर्न लाग्यो!’

के तपाईंले कहिल्यै यसो भन्‍नुभएको छ? उदाहरणका लागि, ग्रीष्मऋतुको बीचतिर आयरल्याण्डको एटलान्टिक तटमा रहेका रमाइला ठाउँहरूतिर घुम्न जाँदा नि? सुन्दर दृश्‍यको आनन्द उठाउन तपाईंले न्यानो, घमाइलो दिनको आशा गर्नुभएको थियो तर ठीक उल्टो जोडसित चलेको हुरी अनि मुसलधारे वर्षाको सामना गर्नुपरेको हुन सक्छ। यस्तो बेला, हामी वर्षाप्रति आभारी हुनुपर्छ भन्‍ने कुरा सजिलै बिर्सन्छौं। वर्षाविना न हाम्रो न त सुन्दर दृश्‍यको नै कुनै अस्तित्व रहने थियो!

वर्षाले जमिनलाई भिजाइसकेपछि फेरि वर्षा त हुन्छ नै, यस्तो लाग्छ, पानी पर्न कहिल्यै रोकिंदैन। यो कसरी सम्भव छ र? अद्‌भुत चक्रीय प्रणालीद्वारा। जीवन-धान्‍न नभैनहुने यो प्रणालीका तीन महत्त्वपूर्ण चरणहरू—वाष्पीकरण, द्रवीकरण, वृष्टिपातलाई छोटकरीमा बुझ्दा मात्र पनि यो कुनै संयोगले भएको हुन सक्दैन भनेर प्रमाणित हुन्छ। एउटा स्रोतले यसो भन्छ, यो “अटल, अपरिवर्तनीय नियमहरूअनुसार काम गर्ने” जटिल तरिकामा रचना गरिएको प्रक्रिया हो।

वाष्पीकरण

पृथ्वीको पानीमध्ये करिब ९७ प्रतिशत महासागरमा हुन्छ। बाँकी अधिकांश पानी हिमनदीहरूमा जमेर अथवा तलाउ अनि जलाशयहरूमा सञ्चित हुन्छ। हो, महासागरको पानी पिउनयोग्य हुँदैन। “प्राचीन नाविकको काव्य” a शीर्षकको कवितामा नाविकको बहलाई यसरी पोखियो, ‘पानी, पानी, जताजतै तर सकिंदैन पिउन एक थोपा पनि।’

महासागरको पानी पिउनयोग्य हुन यसले लामो कठिन यात्रा पूरा गर्नुपर्छ। सबैभन्दा पहिले, वाष्पीकरण हुन्छ, ग्याँस अर्थात्‌ जलवाष्प बन्छ। हरेक वर्ष सूर्यको तापले ४,००,००० क्यूबिक किलोमिटर पानी जमिन तथा समुद्रबाट वायुमण्डलमा तान्छ। पुरातन समयमा एलिहू नाउँ गरेका एक मानिसले यसो भन्दै यस प्रक्रियाको श्रेय परमेश्‍वरलाई दिए: “उहाँले समुद्रबाट पानीको थोपा खिंच्नुहुन्छ, र आफूले बनाउनुभएको मेघबाट झरी वर्षाउनुहुन्छ।”—अय्यूब ३६:२७.

वायुमण्डल आफैं “पत्याउनै गाह्रो जटिल प्रणाली हो” जुन अन्तरिक्षमा ४०० किलोमिटरभन्दा टाढासम्म फैलिएको छ। पृथ्वीको जलचक्र पृथ्वीको सतहबाट १० देखि २० किलोमिटर भित्रमा पूरा हुन्छ। क्षोभमण्डल भनिने यो क्षेत्र आवर फ्रजाइल वाटर प्लानेट (अंग्रेजी) पुस्तकअनुसार, “पृथ्वीको सतह, बादल, वर्षा, हिउँ, आँधीबेहरी अनि भुँवरीहरूको दुनियाँसित मिलन हुने ठाउँ हो।”

वायु जति तातो भयो, यसले त्यति नै पानी सोस्न सक्छ। त्यसैले त न्यानो, हावा चलेको दिनमा धोएर सुकाएको लुगा छिट्टो सुक्छ। गर्मी क्षेत्रको वायुमण्डलले धेरै पानी सोस्छ। तपाईं सोध्नुहोला, ‘त्यसो भए कसरी यो पानी आवश्‍यक अरू ठाउँहरूमा पुग्छ त?’ पृथ्वी वरिपरि चक्कर लगाउने विशाल वायु प्रणालीद्वारा। यो वायु प्रणाली पृथ्वी आफ्नो अक्षमा घुम्ने तरिका तथा पृथ्वीको कुनै-कुनै सतह अन्य सतहभन्दा बढी तात्ने कुरालाई ध्यानमा राख्दै रचना गरिएको छ जसले गर्दा वायुमण्डललाई गतिशील अवस्थामा राख्छ।

गतिशील वायुमण्डलमा ठूल्ठूला वायुपिण्ड अर्थात्‌ एकै प्रकारको तापक्रम भएका धेरै वायुहरू हुन्छन्‌। तिनीहरूको आकार कत्रो हुन्छ? तिनीहरूले लाखौं वर्ग किलोमिटर बराबरको इलाकालाई ढाक्न सक्छन्‌। गर्मी ठाउँहरूमा तातो पिण्डहरू बन्छन्‌ भने आर्कटिक अथवा पोलार क्षेत्रहरूमा चिसो पिण्डहरू बन्छन्‌। यी वायुपिण्डहरूले अत्यन्तै धेरै वायुमण्डलीय पानीहरू ओसार-पोसार गर्ने काम गर्छन्‌।

रचनाको अर्को उत्कृष्ट सीप वायुमण्डलमा जलवाष्पको चलहलमा देख्न सक्छौं। जलवाष्पले प्रशस्त ताप हुने गर्मी ठाउँहरूबाट आवश्‍यक पर्ने ठाउँहरूमा ताप ओसार्ने काम गर्छ। अन्यथा, पृथ्वीका कुनै-कुनै भागहरू धेरै तातो हुँदै जाने थिए।

द्रवीकरण

जलवाष्पले वायुमण्डलमा महत्त्वपूर्ण काम गर्ने भए तापनि यदि यो वायुमण्डलमा त्यत्तिकै रहिरहने हो भने पानी वर्षेर जमिन भिज्ने नै थिएन। उदाहरणको लागि, साहारा मरुभूमिमाथिको वायुमण्डलमा आद्रताको मात्रा धेरै छ तैपनि यो क्षेत्र सुक्खै हुन्छ। कसरी वायुमण्डलीय आद्रता फेरि पृथ्वीमै झर्छ? सबैभन्दा पहिले यो द्रवीकरण हुन्छ अर्थात्‌ पानीमै परिणत हुन्छ।

नुहाउने फोहराबाट निस्केको तातो पानीको वाफले चिसो ऐना अथवा झ्यालको सिसामा छुँदा पक्कै पनि बाथरूममा पानीको वाफ द्रवीभूत भएको तपाईंहरूले देख्नुभएको हुनुपर्छ। वायुको केही अंश धेरै माथि चिसो उचाइमा पुगेपछि यसको तापक्रम घट्‌दा कहिलेकाहीं यस्तै हुन्छ। केले गर्दा वायु माथि-माथि जान्छ त? गह्रौं चिसा वायुपिण्डहरूले ताता वायुपिण्डहरूलाई मास्तिर धकेल्दा यस्तो हुन्छ। कहिलेकाहीं पर्वतहरूले पनि वायुलाई माथितिर धकेलिदिन्छन्‌। अरू बेला विशेष गरेर गर्मी क्षेत्रहरूमा संवाहन करेन्टहरूले गर्दा यो माथितिर तानिन सक्छ।

तपाईं सोध्नुहोला, ‘तर यी जलवाष्पहरू द्रवीभूत अर्थात्‌ तरलमा परिणत हुनको लागि वायुमण्डलमा त्यस्तो के छ?’ वायुमण्डलमा प्रशस्त मात्रामा धुँवा, धूलो र समुद्री नुन जस्ता मसिना कणहरू हुन्छन्‌। वायु चिसो हुँदा जलवाष्प यस्ता मसिना कणहरूमा द्रवीभूत हुन्छन्‌। त्यसपछि ससाना जलकणहरू बादलको रूपमा देखापर्छन्‌।

यद्यपि, यो पानी तुरुन्तै पृथ्वीमा झर्दैन। किन? आखिर, पानी वायुभन्दा ८०० गुणा बढी गह्रौं हुन्छ। उत्तर के हो भने, बादलमा भएका प्रत्येक जलकणहरू यति साना र हल्का हुन्छन्‌ कि यी वायुको धारमा तैरिन सक्छन्‌। माथि उल्लेख गरिएका एलिहूले जलचक्रको यस आकर्षक पक्ष देखेर यसो भन्दै चकित भए, कसरी “बादलहरू . . . माथि आकाश–मण्डलमा रहन्छन्‌? यो ता [सृष्टिकर्ताको] निपुणताको अचम्मको काम हो।” (अय्यूब ३७:१६) मास्तिर तैरिरहेको सानो भुवादार बादलमा १०० देखि १,००० टन आद्रता छ भनेर थाह पाउनु के अचम्मलाग्दो छैन र?

वृष्टिपात

थुप्रै बादलले कहिल्यै वर्षा अथवा वृष्टिपात गर्दैन। पानी कसरी वायुमण्डलमा पुग्छ अनि आकाशमा कसरी बादल तैरिन्छ भनेर व्याख्या गर्नु तुलनात्मक रूपमा सजिलो छ। एक जना लेखक यसो भन्छन्‌, “साँच्चै गाह्रो कुरा भनेको त [फेरि] कसरी पानी पर्छ भनेर व्याख्या गर्नु हो।”—द च्यालेन्ज अफ दि एटमोसफियर।

एउटा सानो पानीको थोपा बन्‍न “दस लाख अथवा त्यो भन्दा धेरै बादलका कणहरू” चाहिन सक्छ। यी ससाना तैरिरहेका बादलका जलकणहरूलाई केले पृथ्वीमा हरेक दिन अनि हरेक मिनेट झरिरहने एक अरब टन पानीमा परिणत गर्छ भन्‍ने सन्दर्भमा कसैले पनि चित्तबुझ्दो जवाफ दिन सकेका छैनन्‌। के यी ससाना बादलका जलकणहरू परस्पर टाँसिएर पानीका ठूला थोपा बन्छन्‌? कहिलेकाहीं बन्छन्‌। विशेष गरेर गर्मी ठाउँहरूमा यसरी पानीका थोपाहरू बन्छन्‌। तर यसबाट आयरल्याण्डको एटलान्टिक तट जस्ता ठाउँहरूमा “पानीका थोपाहरू बन्‍ने चमत्कारबारे” बुझ्न सकिंदैन।

यहाँ बादलमा भएका ससाना जलकणहरू परस्पर टाँसिदैनन्‌। पूर्णतया बुझ्न नसकिने पद्धतिद्वारा तिनीहरूले बरफका सुक्ष्म मणिभ अर्थात्‌ सुक्ष्म चुच्चे कणहरू बनाउँछन्‌। “प्रकृतिकै सबैभन्दा अलौकिक नमुना” अर्थात्‌ हिमकण बन्‍न यी बरफका मणिभहरू एक ठाउँमा मिल्छन्‌। हिमकणहरू ठूला र गह्रौं हुँदै जाँदा तिनीहरूले माथिल्लो भागमा रहेको करेन्टसित सामना गर्छन्‌ र तिनीहरू पृथ्वीमा खस्न थाल्छन्‌। यदि चिसो धेरै छ भने तिनीहरू हिउँ अर्थात्‌ अरबौंको संख्यामा हिमपातको रूपमा झर्छन्‌। तिनीहरू तातो हावाको तहलाई छिचोलेर झरेको खण्डमा ती हिमकणहरू पग्लन्छन्‌ र पानीको थोपा बन्छन्‌। त्यसैले हिउँ भनेको जमेको पानी होइन। बरु, शीतोष्ण क्षेत्रहरूमा पर्ने अधिकांश वर्षा सुरुमा हिउँ बन्छ पछि पग्लेर पृथ्वीमा पानीको रूपमा झर्छ।

त्यसैले बुझ्न नसकिने जटिल प्रक्रियाहरू भएको सम्भवतः हजारौं किलोमिटर लामो यात्रा पूरा गरेपछि पानी फेरि पृथ्वीमा झर्छ। हो, यसले समय-समयमा तपाईंको व्यक्‍तिगत योजना तथा कामहरूमा वाधा पुऱ्‍याउन सक्छ। तर यो अद्‌भुत प्रबन्धले हाम्रो पानीको स्रोतलाई कहिल्यै सुक्न दिंदैन। हो, वर्षा साँच्चै एउटा वरदान हो। त्यसैले अर्को पटक वर्षाको थोपा तपाईंको अनुहारमा पर्दा सायद तपाईंले परमेश्‍वरले दिनुभएको यस उपहारको पहिले भन्दा अलि बढी मूल्याङ्‌कन गर्नुहुनेछ। (g04 2/8)

[फुटनोट]

a अंग्रेज कवि स्यामुएल टेलर कोलिरिजद्वारा लिखित।

[पृष्ठ १४-मा भएको पेटी/रेखाचित्र]

असिना कसरी बन्छ

वेदर (अंग्रेजी) नामक पुस्तक यसो भन्छ, “असिना ठूलो, अजङ्‌गको गर्जने बादलको अनौठो उत्पादन हो।” जब गर्जने बादलमा बादलका ससाना कणहरू सूक्ष्म न्युक्लियसहरूमा द्रवीभूत हुन्छन्‌, कहिलेकाहीं तिनीहरूले जोडसित चलेको हावाको सामना गर्नुपर्छ, जसले तिनीहरूलाई बादलको सबैभन्दा माथिल्लो जम्ने ठाउँमा हुत्याइदिन्छ। यस्तो जम्ने तापक्रममा अरू थोपाहरू अविकसित जलकणहरूमा द्रवीभूत हुन्छन्‌ र तुरुन्तै जमिहाल्छन्‌। जमेका जलकणहरू जम्ने तहभन्दा बाहिर गई तलमाथि गर्दै यो प्रक्रिया फेरि-फेरि दोहोरिरहन्छ। हरेक पटक, प्याजको पत्र जस्तै जमेको पानीको थोपामा नयाँ हिउँको तह थपिंदै जान्छ। अन्ततः यो यति गह्रौं हुन्छ कि माथिल्लो हावामा अड्‌न नसकी ठोस अर्थात्‌ हामीले थाह पाएको बरफिलो असिनाको रूपमा पृथ्वीको सतहमा झर्ने गर्छ। एटमोसफियर, वेदर एण्ड क्लाइमेट (अंग्रेजी) यसो भन्छ, “कहिलेकाहीं असिना एकदमै ठूलो ०.७६ किलोग्राम तौलसम्मको पनि हुन्छ।”

[रेखाचित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

असिना

↑ माथिल्लो वायु

जम्ने तह ..................................................

↓ तल्लो वायु

[पृष्ठ १५-मा भएको पेटी/चित्र]

के तपाईंलाई थाह थियो?

औसतन, विश्‍वभरि रहेको वायुमण्डलमा दस दिनको लागि मात्र पानी वर्षाउने क्षमता छ।

दोस्रो विश्‍वयुद्धको दौडान हिरोसिमामा खसालिएको बमभन्दा वर्षायाममा एकचोटि गर्जेको मेघमा बाह्र गुणा बढी शक्‍ति हुन्छ। विश्‍वभर हरेक दिन करिब ४५,००० पटक मेघ गर्जने गर्छ।

वायुमण्डल मुख्यतः सीधै सूर्यको तापबाट तात्ने होइन। अधिकांश तापशक्‍ति वायुमण्डललाई छिचोलेर सीधै पृथ्वीसम्म आइपुग्छ। पृथ्वीको तातो सतहबाट वायुमण्डलमा फ्याँकिएको तापशक्‍तिले वायुमण्डल तात्छ।

पृथ्वीको सबै भागमा समान रूपले ठोस, तरल र ग्याँस गरी तीन विभिन्‍न अवस्थाहरूमा प्रशस्त मात्रामा पाइने एक मात्र तत्त्व पानी हो।

कुहिरो अथवा हुस्सु जमिनको सतहमा बन्‍ने केवल एक प्रकारको बादल हो।

[पृष्ठ १६-मा भएको रेखाचित्र/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

जलवाष्प द्रवीभूत हुन्छ → वृष्टिपातद्वारा बादलले

अनि बादल बन्छ आद्रतालाई छोड्‌छ

↑ ↓ ↓

सूर्यको तापले जलकण अनि हिमकण पानी वाष्पीकरण हुन्छ

पृथ्वीको कुल पानीको ९७ प्रतिशत

पानी महासागरमा रहेको छ