मोल्डोभाको मदिराखानी पत्ता लगाउनुहोस्
मोल्डोभाको मदिराखानी पत्ता लगाउनुहोस्
मोल्डोभाका ब्यूँझनुहोस्! लेखकद्वारा
मोल्डोभाको राजधानी सहर किसिनाउको उपनगर क्रिकोभामा ८० मिटरको गहिराइमा मानिस नै हराउने १२० किलोमिटर लामो मानव-निर्मित सुरुङ छ। यो अँध्यारो ओडारबाट कुनै बेला चूनढुङ्गा निकाल्ने गरिन्थ्यो।
यद्यपि, विगत ५० वर्षदेखि चिसो भूमिगत यो तहखाना, युरोपमा पाइने उच्चकोटीका मदिराहरू भण्डार गर्ने उपयुक्त ठाउँ भएको छ। एकमाथि अर्को गर्दै लहरै राखिएका घ्याम्पा र बोतलहरूले यो पुरानो खानीभित्र रहेको ६० किलोमिटर लामो सुरुङ भरिभराउ छ। जम्मा ३५,००,००,००० लिटर मदिरा भण्डार गर्ने क्षमता रहेको यस सुरुङलाई दक्षिणपूर्वी युरोपको सबैभन्दा विशाल मदिरा तहखाना भनिन्छ।
पुरातन परम्परालाई कायम राख्दै
मोल्डोभा दाख उत्पादनको लागि अति उपयुक्त भनी चिनिएको देश हो। फ्रान्समा रहेको मदिरा उत्पादन गर्ने प्रसिद्ध प्रान्त बर्गन्डीकै समानान्तर रेखामा यो देश रहेको छ अनि यहाँको मौसम शीतल प्रकृतिको छ जसले यहाँको उर्वर माटोलाई सुक्खा हुन दिंदैन। मोल्डोभामा सा.यु.पू. ३०० मा युनानी व्यापारीहरूले पहिलो पटक दाखको बोट भित्र्याएदेखि नै यहाँ मदिराको उत्पादन सुरु भयो। शताब्दीयौंको दौडान यस मुलुकमा गोथ, हुन र अन्य विभिन्न सामन्तवादी शासकहरूले आधिपत्य जमाए तापनि मदिरा उत्पादन गर्ने परम्परा भने कायमै रह्यो।
ओटोमन साम्राज्यले १६ औं र १८ औं शताब्दीको बीचतिर यो मुलुकलाई आफ्नो कब्जामा लियो अनि धार्मिक कारणले गर्दा मदिराको उत्पादनलाई निरुत्साहित गरियो। यद्यपि, १९ औं शताब्दीमा रूसी जारहरूले यो भूमि आफ्नो भएको दाबी गरे र मदिरा उद्योगहरूलाई जोडदार ढङ्गमा प्रवर्धन गरे। तिनीहरूले फ्रान्सबाट विभिन्न किसिमका दाखहरू निर्यात गरे अनि यहाँ दाखका बोटहरू राम्ररी सप्रिए। दोस्रो विश्वयुद्ध पछि मोल्डोभाको नयाँ शासक सोभियत संघले मदिरा उद्योगलाई व्यवस्थित तरिकाले आधुनिकीकरण गऱ्यो। वास्तवमा यो कामले मोल्डोभालाई पूरा सोभियत संघकै मदिरा तथा फलफूल उत्पादनको केन्द्र बनायो। यी सुरुङहरू मदिरा भण्डारको लागि उपयुक्त स्थल हुन् भनेर सबैभन्दा पहिले ठम्याउने सोभियत संघ नै थियो। यो बेजोड ओडारको भ्रमणमा हामीसितै आउनुहोस् अनि यसका केही रहस्यहरू थाह पाइराख्नुहोस्।
गाडीबाट भूमिगत सहरतर्फ जाँदै
गाडीबाट मदिराशालातर्फ जाँदा हामी अग्लो प्रवेशद्वार देख्छौं जुन चूनढुङ्गाको ओडारसित टाँसिएर रहेको भवनको एउटा भाग हो। यो भवन फ्रान्सेली ग्रामीण इलाकामा हुने सानो घरजस्तै देखिन्छ। यद्यपि, यसको बनौटले जमिनभित्र यत्तिको विशाल संरचना छ भन्ने छनकसमेत दिंदैन। मुख्य द्वारबाट अलि पर गएपछि हामी सुरुङको ठूलो मुखसामु आइपुग्छौं अनि यत्ति फराकिलो आकार देखेर हामी छक्कै पर्छौं। दुईवटा ट्रक त आरामले सजिलै वारपार गर्न सक्छन्।
कारबाट हामी यो भूमिगत जन्जालभित्र पस्छौं अनि केही पर गइसकेपछि हाम्रो टुर गाइड पनि हामीसँगै गाडीमा आउँछिन्। टुर गाइडविना त भूलभुलैयाहरू भएको यो घुमाउरो बाटोमा हामी सजिलै हराउन सक्छौं।
हामीमध्ये एक जनाले यस्तो प्रश्न सोध्छौं, “कुनै बेला यहाँ खानी रहेको त्यत्तिका चूनढुङ्गाहरू चाहिं कहाँ गए नि?”
तिनी यस्तो जवाफ दिन्छिन्, “ती सबै किसिनाउको निर्माण आयोजनामा प्रयोग गरियो। चूनढुङ्गाको राम्रो इन्सुलेटिङ्ग तथा ध्वनि कम गर्ने क्षमता भएकोले यसबाट निकै राम्रा-राम्रा निर्माण सामग्रीहरू तयार गरिन्छन्।”
हामी जमिनबाट ७० मिटर तल झर्दा सुरुङको प्रकाश मधुरो हुँदै जान्छ र धिपधिपे उज्यालोको त्रासमय वातावरण छाउन थाल्छ। हामी बीचतिर आइपुग्छौं, जहाँबाट विभिन्न दिशाहरूतिर लैजाने धेरै बाटाहरू देखापर्छन् अनि बाटाको दुवैतिर निकै परसम्म मदिराका घ्याम्पाहरू लहरै राखिएका छन्। हामीले मदिराको किसिमअनुसारै बाटोका नाउँहरू राखिएको पायौं। पिनो, फाटासका, र काबर्ना त केही नाउँहरू हुन् जसले हाम्रो कल्पनाशक्तिलाई अझ उत्तेजित बनाउँछ।
अग्राखका घ्याम्पा मुख्यतः फींज नआउने मदिरा बनाउन प्रयोग गरिन्छन् अनि धातुका अलि साना घ्याम्पाहरू चाहिं फींज आउने मदिरा बनाउन प्रयोग गरिन्छन् भनी गाइडले हामीलाई बताउँछिन्। हामीले निकै कम मात्र कर्मचारीहरू देख्यौं जसले गर्दा जनशक्ति कति छ भनेर सोध्न हामी बाध्य भयौं। तिनी यस्तो जवाफ दिन्छिन्: “हामीकहाँ करिब ३०० मानिसहरू काम गर्छन्। चिसो तापक्रमले गर्दा तिनीहरू बाह्रै महिना न्यानो लुगा लगाउँछन्। चिसो तापक्रम मदिराको लागि मात्र राम्रो नभई यसले मानिसहरूलाई जवान बनाइराख्छ भनेर पनि हाम्रा कर्मचारीहरू विश्वास गर्छन्, त्यसैले चिसो भएकोमा तिनीहरूलाई कुनै आपत्ति छैन।”
हाम्रो भ्रमणको अर्को विशेषता फींज आउने मदिराको उत्पादन हो। हामी सयौं बोतलहरू ३० डिग्रीको कोणमा उल्टाएर राखेको देख्छौं। हामीलाई यसो भनियो: “बोतलहरूलाई यसरी उल्टाएर राखिंदा कसरहरू कर्कमा आएर थेग्रिन्छ। त्यसपछि कर्कलाई चिसोमा जमाइन्छ। अब ती कसरहरू सहितको कर्कलाई सजिलै झिक्न सकिन्छ र सिलबन्द गरिन्छ।”
उच्चकोटीको मदिरा राखिएका बोतलहरू भण्डार गरिएको क्षेत्रमा हामी छिट्टै आइपुग्छौं। यस क्षेत्रको परिचय दिंदै हाम्रो गाइड यसो भन्छिन्: “करिब दस लाखभन्दा धेरै उच्चकोटीका मदिरा राखिएका बोतलहरू यहाँ भण्डार गरिएका छन्। हाम्रो यो भूमिगत मदिरा भण्डारमा, मदिरा उत्पादन गर्ने लगभग सबैजसो युरोपेली मुलुकहरूले आफ्ना अत्युत्तम उत्पादनहरू भण्डार गरेका छन्। सबैभन्दा पुरानो मदिरा यहूदी पासओभर अर्थात् निस्तार चाडमा प्रयोग गर्नको लागि यरूशलेममा तयार पारिएको १९०२ तिरको मदिरा हो। केही वर्ष पहिले एक जना बोलवालाले यो मदिराको लागि १,००,००० अमेरिकी डलरको प्रस्ताव राखे। तर यो प्रस्ताव अस्वीकार गरियो। स्पष्टतः यो मदिरा बहुमूल्य थियो।”
घुम्न आउने व्यक्तिहरूलाई केही समय देखाउनको लागि बाहेक यहाँका मदिराका बोतलहरूलाई अक्सर पूर्ण अन्धकारमै भण्डार गरिन्छ भनेर पनि हामीलाई बताइयो। धूलोले छोपिएका बोतलका लेबलहरू हतार-हतार पढ्दा अधिकांश मदिराहरूको उमेर हाम्रोभन्दा पाको भएको कुरा थाह पाउँछौं।
मदिरा चाख्ने कोठामा पुगेपछि हाम्रो भ्रमण सकिन्छ। सबैभन्दा ठूलो कोठालाई प्रेसिडेन्टल ब्यानक्वेट हल भनिन्छ। यहाँ लामो अग्राखको डाइनिङ्ग टेबलकै सेटका कुर्सीहरू छन् र ६५ जना मानिसले खान सक्ने क्षमताको डाइनिङ्ग टेबल छ। सोभियत युगमा यस कोठालाई औपचारिक राष्ट्रिय भोजको निम्ति प्रयोग गरिन्थ्यो। आज पनि झिलीमिली बत्तीहरूको राम्रो प्रबन्ध भएको अनि चहकिला रङ्गहरूले सजिएको यो हल औपचारिक राष्ट्रिय समारोहहरूको लागि उपयुक्त स्थल मानिन्छ।
साला कासा मारीमा (अतिथि कोठा) १५ जना बस्न सक्छन् अनि यसलाई परम्परागत मोल्डोभियन शैलीमा सजाइएको छ भने सबैभन्दा तलतिर रहेको सारमाटिक सी ब्यानक्वेट हलको गोलो डाइनिङ्ग टेबलमा १० जना मानिसले चाख्न अनि खान सक्छन्। यस कोठाको सबैभन्दा रोचक पक्ष भनेको सिलिङ्ग हो। पहिला यो कोठा पानीभित्र रहेको गुफा थियो अनि यहाँबाट मरेका शङ्खेमाछा अनि जलप्राणीका अवशेषहरू स्पष्ट देखिन्छन्। वास्तवमा कुनै समय आधुनिक मोल्डोभा “सारमाटिक समुद्रको पींधमा” थियो भनी हाम्रो टुर गाइड हामीलाई सम्झाउँछिन्।”
युरी गागरिन ब्यानक्वेट हललगायत यी कोठाहरूमा भएका फर्निचरहरूको लागि काठको प्रमुख स्रोत स्थानीय तवरमै हुर्काइएका अग्राखका रूखहरू थिए। यस प्रख्यात अन्तरिक्षयात्रीले १९६६ अक्टोबर ८-९ मा क्रिकोभा भ्रमण गरे। ‘मदिराको राम्रो पारखीले समेत आफूलाई मनपर्ने मदिरा’ यहाँ भेट्टाउनेछन् भनी उनले एउटा मूल्याङ्कन पत्रमा लेखे।
हाम्रो गाइड यसो भन्छिन्: “यो तहखाना स्थापना भएको ५० वर्षको अवधिमा सय भन्दा धेरै देशका मानिसहरू यहाँ घुम्न आइसकेका छन्। सोभियतका दिनहरूमा फींज आउने हाम्रा मदिराहरू सोभियत स्याम्पेनको नाउँले चिनिन्थे। यी स्याम्पेनहरू मोल्डोभाबाटै निर्यात हुन्छन् भनेर थोरैलाई मात्र थाह थियो। आज हामी क्रिकोभा नामक व्यापारिक नाउँ राखेर फींज आउने हाम्रा मदिराहरू बेच्ने गर्छौं अनि हामीसित किसिम-किसिमका राता अनि सेता मदिराहरू पनि छन्।” हाम्रो गाइडले हामीलाई बताएको धेरै विवरणहरूको लागि हामी तिनीप्रति आभारी छौं अनि राम्रो भ्रमणको लागि तिनलाई धन्यवाद दिन्छौं।
यो भूमिगत सुरुङको जन्जालबाट बाहिर निस्कँदा हामीलाई अर्कै दुनियाँबाट निस्केर आएको महसुस हुन्छ। बाहिर गर्मी र घमाइलो छ। आकाशमा अलिकता पनि बादल देखिंदैन। गाडीबाट किसिनाउतिर फर्कंदा कटनीको लागि तयार भई लत्रेका लहलहाउँदो दाखका अन्त्यहीन जस्ता देखिने लहरहरूलाई छिचोल्दै अघि लम्किरहेको हामीलाई महसुस हुन्छ। (g04 2/22)
[पृष्ठ २५-मा भएको नक्सा]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
युक्रेन
रोमानिया
मोल्डोभा
किसिनाउ
[पृष्ठ २४-मा भएको चित्र]
क्रिकोभा मदिराशाला, यसको प्रवेशद्वारको रूपमा रहेको अल्गो धरहरा
[पृष्ठ २४-मा भएको चित्र]
भूमिगत सुरुङको १२० किलोमिटर जन्जालका बाटाहरूमध्ये एउटाको नाउँ
[पृष्ठ २४-मा भएको चित्र]
मदिरा तहखानामा कार जाने सुरुङ
[पृष्ठ २४-मा भएको चित्र]
मदिराले भरिएका दस लाखभन्दा धेरै बोतलहरू यहाँ भण्डार गरिन्छन्