सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

“केश फुलिसकेका” अपराधीहरू

“पेन्सन पाकिसकेका व्यक्‍तिहरू आपराधिक गतिविधिमा संलग्न हुने क्रम तीव्र भएको कारण बेलाइतको जेलको मुख्य परिसरको एउटा भाग विशेष गरी पाका कैदीहरूको आवश्‍यकताअनुसार छाँटकाँट गरिएको छ” भनी लण्डनको द सन्डे टाइम्स रिपोर्ट गर्छ। पोर्टस्माउथ जेलको एउटा कक्षमा मेच भएको लिफ्ट, विशेष व्यायाम उपकरण र नर्सिङ काममा तालिमप्राप्त कर्मचारीहरू राखिएका छन्‌। पेन्सन पाकिसकेका १,००,००० भन्दा बढी व्यक्‍तिहरू राज्यद्वारा पाइने सुविधा र पेन्सनले अझ नपुगेर “आपराधिक गतिविधिमा मुछिएका वा संलग्न हुने मनस्थितिमा भएको कुरा” अनुसन्धानले देखायो। कसै-कसैले लागू औषधको व्यापार, पसलमा चोर्ने, चुरोट तथा मादकपदार्थ अवैध रूपमा बेलाइत भित्र्याउने र बैंक लुट्‌नेसमेत गरेका छन्‌। सन्‌ १९९० मा पेन्सन पाकिसकेका ३५५ जनालाई जेल सजाय दिइयो तर त्यो संख्या बढेर २००० मा १,१३८ पुग्यो। थुप्रैको त्यसअघि कुनै आपराधिक गतिविधिमा संलग्न भएको रेकर्ड छैन तर “आफ्नो जीवनस्तर कायम राख्न ठूलो दबाबमा छन्‌” भनी अपराधशास्त्री बिल ट्युपम्यान बताउँछन्‌। “अनि त्यस्तो गतिविधिमा संलग्न हुनेहरू गरिब अवकाशप्राप्त व्यक्‍तिहरू पनि होइनन्‌ तर मध्यम वर्गका हुन्‌, जो परिश्रमी र आफ्नो जिन्दगीभर समाजका कानुन-पालक सदस्य थिए।” (g04 2/8)

साबुनले जीवन बचाउँछ

साबुनले हात धुँदा मात्र वर्षेनी दस लाख मानिसहरूको जीवन बच्न सक्छ किनभने यसले मानिसहरूलाई पखालासम्बन्धी रोगहरूबाट बच्न मदत गर्न सक्छ भनी सरसफाइ तथा उष्ण कटिबन्धीय क्षेत्रको उपचारसम्बन्धी लन्डन स्कूलकी प्राध्यापक भाल कर्टिस बताउँछिन्‌। जापानको क्योटोमा आयोजित थर्ड वर्ल्ड वाटर फोरममा कर्टिसले मान्छेको दिसामा हुने प्याथोजिन “सर्वसाधारणको १ नम्बरको शत्रु” भनी चिनाएको कुरा जापानी अखबार डेलि योमुरी रिपोर्ट गर्छ। उक्‍त अखबारअनुसार “कुनै-कुनै समुदायमा महिलाहरूले बच्चाले दिसा बसिसकेपछि पानीले धोइदिने चलन छ। त्यसपछि, ती महिलाहरू आफ्नो हात नधोईकन भान्छामा खाना पकाउन जान्छन्‌।” आफ्नो हात साबुन पानीले धुँदा प्राणघातक किटाणु तथा ब्याक्टेरियाहरू फैलिनदेखि रोकिन सक्छ। कर्टिसका अनुसार विकासोन्मुख देशहरूमा साबुनले हात धुनु भनेको, पखालासम्बन्धी रोगहरूलाई कम गर्न पानीको गुणस्तरमा उन्‍नति गर्नुभन्दा तीन गुणा कम खर्चिलो हुनेछ। (g04 2/22)

अगेनुको सुरक्षा

“अगेनु वा चुल्होमा आगो, भित्री र बाह्‍य प्रदूषणको स्रोतका साथै आगलागी हुने सम्भाव्य खतरा हुन सक्छ” भनी यु सी बर्क्ली वेल्नेस लेटर बताउँछ। मानिसहरूलाई आगोको खतरालगायत अगेनु प्रदूषकसित सम्बन्धित स्वास्थ्य समस्याबाट बच्ने मदत दिनको लागि वेल्नेस लेटर यी सुझावहरू दिन्छन्‌:

• “चिम्नीलाई राम्ररी काम गर्ने अवस्थामा राख्नुहोस्‌ . . . सफा अनि मर्मत गर्नुहोस्‌।”

• “खास गरी तपाईंको घरमा हावा छिर्ने प्वालहरू छैनन्‌ भने . . . कार्बन मोनोअक्साइड सूचक जडान गर्ने विचार गर्नुहोस्‌।”

• “धुवाँको मुस्लो निस्कने भन्दा साना, तातो आगो भएका अगेनु बनाउनुहोस्‌।”

• “कम्तीमा छ महिना सञ्चय गरेर सुकाइएको दाउरा प्रयोग गर्नुहोस्‌। कडा दाउरा राम्रो हुनुका साथै लामो समयसम्म बल्छ।”

• “हावा आवतजावतको लागि दुई चार इन्चको झ्याल खोल्नुहोस्‌।”

• “काठको चुल्हो राम्ररी जडान गरिएको छ कि छैन पक्का गर्नुहोस्‌, यो प्रज्वलनशील भित्ता र सजावटभन्दा कम्तीमा एक मिटर टाढा हुनुपर्छ।” “भुइँ बचाउनको लागि ताप कवच” प्रयोग गर्नुहोस्‌।

• “कुनै पनि किसिमको प्रशोधन गरिएको काठ, प्लाईउड, काठको धूलोबाट बनाइएको फल्याक, रंगीचंगी कागज वा प्लास्टिक नबाल्नुहोस्‌। यसले विषाक्‍त धुवाँ निकाल्न सक्छ।”

• “खुला आगोको अगाडि सधैं अग्निरोध प्रयोग गर्नुहोस्‌।” (g03 11/8)

सोचाइ, भावना तथा स्वास्थ्य

हामीले सोच्ने कुराले हाम्रो शरीरलाई पहिले-पहिले थाह भएको भन्दा पनि अझ बढी असर गर्न सक्छ भनी पोलिश पत्रिका भप्रोस्ट-को एउटा रिपोर्टले बताउँछ। यसले अझै यसो भन्छ: “सोचाइ तथा भावनाले मानव शरीरका सबै महत्त्वपूर्ण अङ्‌ग तथा स्नायु, प्रतिरक्षा, हर्मोन, रक्‍तसञ्चार र प्रजनन प्रणालीहरूलाई असर गर्छ।” त्यसैले, वार्साको मिलिटरी इन्सटिच्युट अफ हाइजिन एण्ड इपिडेमिओलोजीका प्राध्यापक मारेक कोभाल्झिक यसो भन्छन्‌: “तनावपूर्ण जीवन बिताउनेहरूलाई अरू मानिसहरूलाई भन्दा दुई गुणा बढी रूघा तथा श्‍वासप्रश्‍वाससम्बन्धी रोग लाग्छ।” तिनले अझै भनेअनुसार निराश स्त्री गर्भवती हुने सम्भावना आधा हुन्छ। तनावले क्यान्सर नगराए तापनि यसले “सुषुप्त क्यान्सरको विकासलाई तीव्र बनाउन सक्छ” भनेर पनि भप्रोस्ट रिपोर्ट गर्छ। रिसले स्वास्थ्यलाई पनि हानि गर्न सक्छ किनभने आक्रमक तथा रिसाहा व्यक्‍तिलाई मुटुसम्बन्धी रोग लाग्ने र यसले गर्दा हृदयघात हुने खतरा धेरै हुन्छ भनेर विश्‍वास गरिन्छ। (g04 1/8)

रिसाहा युवाहरूले आफ्नो मुटुलाई खतरामा पार्छन्‌

“शान्त केटाकेटी तथा किशोर-किशोरीहरूलाई भन्दा अरूप्रति असाध्यै द्वेष भाव राख्नेहरूमा मेटाबोलिक सिन्ड्रोम विकास हुने सम्भावना तीन गुणा बढी भएको अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्‌ र त्यो सिन्ड्रोम मुटु रोगको खतरनाक अग्रदूत हो” भनी मोन्ट्रियलको द ग्याजेट-ले रिपोर्ट गर्छ। अमेरिकी तथा फिनिस अनुसन्धानकर्ताहरूले १३४ किशोर-किशोरी तथा केटाकेटीहरूमा रिसको मात्रा जाँच गर्दा रिसाहा युवाहरूमा मुटु रोगको सम्भाव्यता २२ प्रतिशत बढी भएको पाए। “मानिसहरू पचास वर्ष लाग्नेबित्तिकै अचानक मुटुसम्बन्धी रोग हुने होइन” भनी यस अध्ययनका सह-लेखक डा. कर्स्टन सालोमन उल्लेख गर्छन्‌। “मुटुसम्बन्धी रोग सानै उमेरदेखि सुरु हुन्छ।” (g04 2/8)

बेलाइतको सबैभन्दा बूढो चरा?

“अहिलेसम्म थाह भएको बेलाइतको सबैभन्दा बूढो चराले ८०,००,००० किलोमिटर यात्रा गरिसकेको छ र ५२ वर्ष भइसके तापनि अझै तन्दुरुस्त छ” भनी लण्डनको अखबार द टाइम्स-ले रिपोर्ट गर्छ। म्यान्क्स सियरवटर नाउँ गरेको कालो र सेतो रङ्‌गको यो सानो चरालाई “पहिलो चोटि यो छ वर्षको हुँदा रिङ लगाइएको थियो।” यसलाई फेरि १९६१, १९७८ र २००२ मा समातियो र यसपछि चरा विशेषज्ञहरूले यसलाई फेरि देख्ने आशा गरेका थिएनन्‌। तर सन्‌ २००३ को सुरुतिर त्यो उत्तर वेल्सको तटमा पुनः देखापऱ्‍यो। द ब्रिटिश ट्रस्ट फर अर्निथोलोजीको अनुमानअनुसार त्यो चराले दक्षिण अमेरिकासम्म बसाइँ सर्दा कम्तीमा पनि ८,००,००० किलोमिटर उडान गरिसकेको छ। अनि आहाराको लागि नियमित रूपमा गर्ने १,००० किलोमिटरको उडानलाई जोड्‌ने हो भने यसले ८०,००,००० किलोमिटरभन्दा बढी यात्रा गरिसकेको छ भनी वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्‌। उत्तर वेल्सका बाड्‌र्से बर्ड अब्जभेटरीका ग्राहम आपल्टन यसो भन्छन्‌: “त्यो बूढो चरालाई चौथो रिङ लगाइयो। यो पनि एउटा नयाँ रेकर्ड हो। अरू रिङहरू त पुराना भइसके।” (g04 2/8)

अफ्रिकामा औलोले गम्भीर असर पारेको छ

औलोको कारण “अफ्रिकी महादेशमा प्रत्येक दिन ३,००० केटाकेटीको मृत्यु हुन्छ” भनी फ्रान्सेली अखबार ले फेगारो-ले उल्लेख गर्छ। विश्‍व-स्वास्थसंघअनुसार (डब्लु एच ओ) वर्षेनी अफ्रिकामा ३० करोडभन्दा बढीलाई घातक औलो संक्रमण हुन्छ र यसले गर्दा कम्तीमा पनि दस लाख मानिसहरूको मृत्यु हुने गर्छ। सन्‌ २००० मा जस्तो खतरनाक औलो आक्रमण बुरूण्डीमा पहिला कहिल्यै भएको थिएन। सात महिनामा यसका आधी जसो जनसंख्या अर्थात्‌ झन्डै ३५ लाख व्यक्‍तिहरू संक्रमित भए। यसको कारण के हो भने, औषधी प्रतिरोधी परजीवीहरूले कुइनाइन उपचारलाई प्रभावहीन बनाएका छन्‌। महँगो होला भन्‍ने डरले थुप्रै अफ्रिकी देशहरूले कुइनाइनको ठाउँमा चिनियाँ वनस्पति आर्टेमिसिया अनुआ-बाट बनाइएको औलो प्रतिरोधी औषधी प्रयोग गर्न मान्दैनन्‌। फलस्वरूप, “अफ्रिकामा औलोले गम्भीर असर पारेको छ” भनी डब्लु एच ओ-का अधिकारी बताउँछन्‌। (g04 2/22)

ल्याटिन भाषालाई जीवित राख्ने

थुप्रैले ल्याटिन भाषा मृत भाषा भइसक्यो भनी सोचे तापनि भ्याटिकनले यसलाई जीवित र नवीनतम राख्न प्रयास गरिरहेको छ। किन? किनभने भ्याटिकनले प्रयोग गर्ने भाषा इटालेली भए तापनि औपचारिक भाषा ल्याटिन नै हो र यो अझै पनि पोपले पादरीहरूलाई लेख्दा र अन्य कागजातहरूमा प्रयोग गरिन्छ। सन्‌ १९७० को दशकमा स्थानीय भाषामा पनि मास चाड मनाउन सकिन्छ भन्‍ने उर्दीपछि ल्याटिनको प्रयोग स्वात्तै घट्यो। त्यसपछि पोप पल छैटौंले यस भाषालाई जीवित राख्न ल्याटिन फाउन्डेसन स्थापना गरे। त्यसको लागि चालिएको एउटा कदम, दुई खण्डमा ल्याटिन-इटालेली शब्दकोश प्रकाशित गरियो जुन सबै बिक्री भयो। अहिले दुइटै खण्डलाई एउटामा मिलाइएको संस्करण निकालिएको छ र यसको मूल्य ११५ अमेरिकी डलर तोकिएको छ। यसमा झन्डै १५,००० आधुनिक ल्याटिन शब्दहरू थपिएका छन्‌ जस्तै, “इस्कारिओरम लाभाटर” (भाँडा माझ्ने मेसिन)। नयाँ खण्ड “दुई वा तीन वर्षभित्र निस्कने आशा गरिएको छ” भनी न्यु योर्क टाइम्स बताउँछ। थपिएका शब्दहरू प्रायजसो “कम्प्युटर र सूचनाको क्षेत्रबाट” लिइनेछन्‌। (g04 2/22)