सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वासको जाँच

विश्‍वासको जाँच

विश्‍वासको जाँच

बेलाइतका ब्यूँझनुहोस्‌! लेखकद्वारा

एउटा सुन्दर सहर रिचमण्ड, इंग्ल्याण्डको नर्थयोर्कशायरमा रहेको छ। यस सहरमा रहेको किल्ला १०६६ मा नर्मन विजय लगत्तै निर्माण गरियो जहाँबाट उपत्यकापारि योर्कशायर डेल्स राष्ट्रिय निकुञ्जतिर बग्ने स्वाल नदीको चित्ताकर्षक दृश्‍य देखिन्छ।

द रिचमण्ड सिक्स्‌टिन नामक एउटा टेलिभिजन वृत्तचित्रले यस किल्लाको आधुनिक इतिहासको महत्त्वपूर्ण पक्ष अर्थात्‌ प्रथम विश्‍वयुद्धको दौडान धार्मिक विश्‍वासको खातिर युद्धमा भाग नलिएकोले यस किल्लामा कैद गरिएका १६ जना व्यक्‍तिले भोगेका कुराहरूलाई देखाइदिएको छ। तिनीहरूलाई के भएको थियो?

अनिवार्य भर्ती

सन्‌ १९१४ मा बेलाइतले युद्धको घोषणा भएपछि देशभक्‍तिले करिब २५ लाख पुरुषहरूलाई बेलाइतको सशस्त्र फौजमा भर्ती हुन बाध्य तुल्यायो। यद्यपि, धेरैभन्दा धेरै सेनाहरू मर्न थालेपछि राजनीतिज्ञहरूले प्रतिज्ञा गरेअनुसार युद्ध त्यति छिटो नसकिने जस्तो लागेको कारण “भर्ती आग्रहभन्दा बढी दबाब बन्यो” भनी युद्धसम्बन्धी इतिहासकार एलेन लोइड टिप्पणी गर्छन्‌। त्यसैले बेलाइती इतिहासमा पहिलो पल्ट मार्च १९१६ मा अविवाहित पुरुषहरूलाई सशस्त्र फौजमा अनिवार्य रूपमा भर्ती गरियो।

अर्जी सुन्‍नको लागि दुई हजार अदालतहरू खडा गरिए तर अन्तस्करणको कारण युद्धमा भाग लिन इन्कार गर्नेहरू थोरैलाई मात्र सैन्य सेवामा भर्ती हुनबाट पूर्णतया छुट दिइयो। धार्मिक विश्‍वासको कारण युद्धमा भाग नलिएका अधिकांश व्यक्‍तिहरूलाई युद्धलाई सघाउने गैर लडाकू दलमा भर्ती हुने आदेश दिइयो। गैर लडाकू दलमा भर्ती हुन इन्कार गर्नेहरूलाई समेत भर्ती भएकै रूपमा लिइन्थ्यो र कोर्ट-मार्सल गरिन्थ्यो। तिनीहरूमाथि कठोर व्यवहार गरिन्थ्यो र अक्सर निकै डरलाग्दो अनि साघुँरो जेलमा राखिन्थ्यो।

रिचमन्ड सिक्स्‌टिन

रिचमन्ड सिक्स्‌टिनमा पाँच जना अन्तरराष्ट्रिय बाइबल स्टुडेन्टस्‌ पनि थिए जो पछि गएर यहोवाका साक्षीको नाउँले चिनिए। सन्‌ १९०५ मा १५ वर्षको उमेरमा बाइबल स्टुडेन्ट बनेका हर्बट सिनियरले ५० वर्षपछि यस्तो लेखे: “हामीलाई राखिएको जेलको कोठा कालकोठरी जस्तो थियो। सम्भवतः वर्षौंसम्म त्यसलाई प्रयोगमा ल्याइएको थिएन किनभने भुँइमा दुई देखि तीन इन्च बाक्लो धुलो जमेको थियो।” कैदीहरूले आ-आफ्नो जेलको सेतो रङ्‌ग पोतिएको भित्तामा कोरेका चित्र तथा शब्दहरू धमिलो र कतै-कतै पढ्‌न नसकिने भएका छन्‌, जसलाई हालै सार्वजनिक गरिएको छ। यसमा नाम, सन्देश तथा प्रियजनहरूका चित्रका साथै विश्‍वासका वक्‍तव्यहरू पनि कोरिएका छन्‌।

एक जना कैदीले यस्तो लेखे: “बित्थैमा मर्नुभन्दा आफ्नो सिद्धान्तलाई अँगालेर मर्नु उचित हो।” धेरैजसो सन्देशहरूले येशू ख्रीष्ट तथा उहाँका शिक्षाहरूलाई समेटेको छ अनि एकदमै राम्ररी क्रुस तथा मुकुटका प्रतीकहरूको नक्कल पनि उतारिएका छन्‌ जसलाई त्यतिबेलाका इन्टरनेशनल बाइबल स्टुडेन्टस्‌ एसोसिएसनले (आइ बि एस ए) प्रयोग गर्थे। बाइबल अध्ययन सहायक द डिभाइन प्लान अफ द एजेज-बाट आफ्नो जेलको भित्तामा “चार्ट अफ द एजेज” नामक चित्र कोरेको कुरा हर्बट सिनियर सम्झन्छन्‌ तर त्यो फेलापरेको छैन। मुख्य एकल बन्दीगृह परिसर अथवा अन्यत्र कतै कोरिएका अरू चित्रहरूसँगै यो चित्र पनि मेटिएको हुन सक्छ। भित्तामा यस्ता कुराहरू पनि लेखिएका छन्‌: ‘क्लारेन्स हल, लिड्‌स, आइ.बि.एस.ए. मे २९, १९१६। फ्रान्स लगियो।’

फ्रान्समा लगियो—पछि फर्काइयो

फ्रान्स तथा बेल्जियममा युद्धमा मर्नेहरूको संख्या अत्यन्तै बढिरहेको थियो। युद्धमन्त्री होराटियो हर्बट किचिनर तथा ब्रिटिस जर्नल डगलस हेइगलाई थप फौजको टड्‌कारो आवश्‍यकता थियो र मे १९१६ देखि विवाहित पुरुषहरूलाई समेत युद्धमा भाग लिन अनिवार्य भर्ती गराइयो। मानिसहरूलाई लडाइँमा भाग लिन दबाब दिनको लागि अधिकारीहरूले धार्मिक विश्‍वासको कारण युद्धमा भाग नलिएकाहरूलाई उदाहरणस्वरूप प्रस्तुत गर्ने निर्णय गरे। त्यसैले रिचमण्डमा कैद गरिएका ती १६ जना व्यक्‍तिहरूलाई बन्दुक तेर्स्याउँदै गैरकानुनी ढङ्‌गमा रेलमा चढाइयो, तिनीहरूको हातमा हतकडी लगाइएको थियो र तिनीहरूलाई गोप्य ढङ्‌गले घुमाउरो बाटो गरी फ्रान्स लगियो। हेरिटेज (अंग्रेजी) पत्रिकाले बताएअनुसार बोलोङ्‌ग किनारमा “ती मानिसहरूलाई क्रुसमा लट्‌काइएझैं काँढे तारले खम्बामा बाँधिएको थियो” अनि तिनीहरूलाई लडाइँबाट भागेका बेलाइती सेनाहरूलाई सैनिक टुकडीद्वारा गोली हानेर मारेको दृश्‍य हेर्न लगाइएको थियो। यदि आज्ञा पालन गरेनन्‌ भने तिनीहरूको गति पनि त्यस्तै हुनेछ भनी तिनीहरूलाई बताइयो।

सन्‌ १९१६ जून महिनाको बीचतिर ती कैदीहरूलाई मृत्युदण्डको सजाय सुनाउनको लागि ३,००० फौजसामु मार्च गर्न लगाइयो तर यतिबेलासम्म किचिनर मरिसकेका थिए अनि बेलाइती प्रधानमन्त्रीले हस्तक्षेप गरे। विशेष साङ्‌केतिक सन्देशहरू लेखिएको पोस्टकार्ड लण्डनमा रहेका अधिकारीकहाँ पुग्यो र सैन्य आदेश रद्द गरियो। जर्नल डगलस हेइगले सबै मृत्युदण्डको सजाय पाएका सबैलाई दस वर्षको कडा श्रम शिविरको सजायमा बदल्ने आदेश दिए।

एउटा सरकारी रिपोर्टले बताएअनुसार, बेलाइत फर्केपछि “राष्ट्रिय महत्त्वको काम गर्न[को]” लागि ती १६ जनामध्ये केहीलाई थर्काइ-थर्काइ स्कटीस चट्टानखानीमा काम गर्न लगियो। हर्बट सिनियर पनि रहेका बाँकी अरूलाई चाहिं गैरसैनिक जेलमा पठाइयो।

देन

जेलका भित्ताहरूको नाजुक अवस्थालाई ध्यानमा राख्दै हाल इङ्‌गलिस हेरिटेजको संरक्षकत्वमा रहेको रिचमण्ड किल्लालाई कुनै नोक्सान नपुऱ्‍याई जेल तथा त्यहाँ लेखिएका चित्रहरूलाई नजिकबाट नियाल्नको लागि भर्चुएल रियालिटी टच स्क्रीन समावेश भएको विस्तृत प्रदर्शनी आयोजना गरियो। निष्कपट विश्‍वासको खातिर युद्धमा भाग लिन इन्कार गरेका व्यक्‍तिहरू किन सजाय, कैद अनि सम्भाव्य मृत्युसमेत भोग्न तयार भए भन्‍ने कुरा बुझ्न विद्यार्थी समूहहरूलाई प्रोत्साहन दिइयो।

रिचमण्ड सिक्स्‌टिनले सफलतापूर्वक “धार्मिक विश्‍वासको खातिर युद्धमा भाग नलिने कुरालाई सर्वसाधारणको ध्यानमा ल्यायो अनि तिनीहरूले यसको लागि प्रशंसा तथा आदर पनि कमाउन थाले।” यसले गर्दा दोस्रो विश्‍वयुद्धको दौडान धार्मिक विश्‍वासको खातिर युद्धमा भाग नलिएको भनी दर्ता गर्नेहरूसित सरकारी अधिकारीहरूले अझ बढी समझका साथ व्यवहार गर्न थाले।

सन्‌ २००२ मा रिचमण्ड सिक्स्‌टिनको नैतिक अडानको सम्मान गर्दै तिनीहरूको सम्झनामा किल्लाको जमिनमा एउटा सुन्दर बगैंचा तिनीहरूको नाउँमा समर्पित गरियो। (g04 2/22)

[पृष्ठ १३-मा भएको चित्र]

बायाँबाट दायाँ: बाह्रौं शताब्दीको रिचमण्ड महलको धरहरा, एकल बन्दीगृहहरू भएको थुनुवा घर

हर्बट सिनियर, रिचमण्ड सिक्स्‌टिनमध्येका एक

रिचमण्ड सिक्स्‌टिन राखिएको एकल बन्दीगृहमध्ये एक

छेउ-छेउको पृष्ठभूमि: वर्षौंको दौडान जेलका भित्ताहरूमा कुँदिएका अक्षरहरूको अंश