आणविक युद्ध—के यो अझै एउटा खतरा हो?
आणविक युद्ध—के यो अझै एउटा खतरा हो?
जापानका ब्यूँझनुहोस्! लेखकद्वारा
“हरेक सचेत व्यक्ति आणविक युद्धदेखि डराउँछ, अनि प्राविधिक उन्नति गरेका हरेक राष्ट्रले यसको लागि योजना बनाउँछन्। सबैलाई थाह छ, यो एउटा घोर मूर्खतापूर्ण काम हो तर हरेक राष्ट्रसित एउटा न एउटा बहाना हुन्छ।”—कार्ल सागन, खगोलशास्त्री।
अगस्त ६, १९४५ मा एक अमेरिकी लडाकू विमानले जापानको हिरोसिमामा एउटा परमाणु बम खसाल्यो र लाखौं मानिस अनि धनजन छिनभरमै स्वाहा भयो। युद्धमा प्रयोग गरिएको सबैभन्दा पहिलो परमाणु बम यही नै थियो। विस्फोटनले सहरको १३ वर्ग किलोमिटर भित्रको क्षेत्रलाई ध्वस्त पाऱ्यो जहाँ ३,४३,००० मानिसहरू बसोबास गर्थे। कम्तीमा पनि ७०,००० को ज्यान गयो अनि ६९,००० घाइते भए र सहरको दुई तिहाइ भाग ध्वस्त भयो। तीन दिन पछि नागासाकी सहरमा दोस्रो परमाणु बम खसालियो अनि ३९,००० मरे र २५,००० घाइते भए। सहरका करिब आधा जति संरचना ध्वस्त अनि क्षतिग्रस्त भए। मानव इतिहासमा पहिला कहिल्यै यत्तिको शक्तिशाली अस्त्र प्रयोग गरिएको थिएन। त्यो क्षण विश्वले अर्कै मोड लिइसकेको थियो। विश्व, आणविक युगमा प्रवेश गरेको थियो। केही वर्ष नबित्दै संयुक्त राज्य अमेरिका, भूतपूर्व सोभियत संघ, बेलाइत, फ्रान्स र चीनले त्यो भन्दा पनि अझै विध्वंशकारी हाइड्रोजन बमको विकास गरे।
शीतयुद्ध अर्थात् कम्युनिष्ट अनि गैर-कम्युनिष्ट राष्ट्रहरूबीचको होडबाजीले उत्कृष्ट आणविक हातहतियार अनि प्रक्षेपण प्रणालीको विकासलाई उक्सायो। एक घण्टा पनि होइन, मिनेट भरमै ५,६०० किलोमिटर भन्दा टाढा रहेको देशलाई निसाना बनाई प्रहार गर्न सक्ने आइ सी बि एम अर्थात् अन्तरमहाद्वीपीय क्षेप्यास्त्र प्रक्षेपण प्रणालीको विकासले सारा विश्वलाई भयभीत तुल्यायो। बेग्लाबेग्लै १९२ वटा निसानालाई ध्वस्त पार्न सक्ने गरी पनडुब्बीहरू पर्याप्त आणविक क्षेप्यास्त्रहरूद्वारा सुसज्जित थिए। एकताका आणविक अस्त्रभण्डारमा ५०,००० जति आणविक अस्त्रहरू सञ्चित रहेको अनुमान थियो! शीतयुद्धको दौडान कसै-कसैले भन्ने गरेको आणविक आरमागेडोनको सँघारमै विश्व पुगिसकेको थियो—एउटा यस्तो युद्ध जसमा कुनै विजेता हुने थिएन।
शीतयुद्धको अन्त्य
दी इनसाइक्लोपीडिया ब्रिटानिका-ले बताएअनुसार १९७० दशकको दौडान “साल्ट अर्थात् सामरिक महत्त्वका हातहतियार कटौतीसम्बन्धी वार्ताको प्रथम तथा दोस्रो सम्झौतामा दुई अतिशक्ति राष्ट्रहरूले आफ्ना प्रतिप्रक्षेपक क्षेप्यास्त्र तथा आणविक हातहतियार बोक्ने क्षमताका सामरिक महत्त्वका क्षेप्यास्त्रहरूमा कटौती गर्नुपर्ने कुरा स्पष्ट पारिएपछि” शीतयुद्धको तनाव मत्थर भयो। त्यसपछि १९८० दशकको अन्ततिर शीतयुद्ध सेलाउँदै गयो र अन्ततः यसको अन्त्य भयो।
कारनिजि इन्डोवमेन्ट फर इन्टरनेसनल पिस अर्थात् अन्तरराष्ट्रिय शान्तिको लागि कारनिजि गुठीले दिएको रिपोर्टले यसो भन्छ: “शीतयुद्धको अन्त्यले संयुक्त राज्य अमेरिका तथा रुसबीचको आणविक हातहतियारको होडबाजी तथा मुठभेडको अवस्था समाप्त हुन लागेको आशा पलाउन थालेको थियो।” आणविक निःशस्त्रीकरण प्रयासको फलस्वरूप हालैका वर्षहरूमा सयौं आणविक अस्त्रभण्डारहरू भत्काइएका छन्। सन् १९९१ मा सोभियत संघ तथा संयुक्त राज्य अमेरिकाले सामरिक महत्त्वका आक्रामक हातहतियारहरूमा कमी ल्याउने तथा कटौती गर्ने सन्धिमा हस्ताक्षर गरे र यस सन्धिअनुसार यी दुई आणविक अतिशक्तिहरूले आणविक हातहतियारमा कटौती गर्नुको अलावा इतिहासमै पहिलो पटक आक्रमण गर्न तयारी अवस्थामा रहेका हातहतियारहरूलाई प्रत्येकले ६,००० मा सीमित राख्नुपर्ने थियो। दुवै पक्षले २००१ को अन्तसम्ममा सम्झौताअनुसारै सन्धिलाई कार्यान्वयन गर्दै आफ्ना सामरिक महत्त्वका आणविक हातहतियारमा कटौती गरेको घोषणा गरे। यसको अतिरिक्त, हातहतियारमा अझै कटौती गरेर अगामी दश
वर्ष भित्रमा हातहतियारलाई १,७०० देखि २,२०० को बीचमा सीमित राख्नुपर्ने मस्को-सन्धिमा पनि हस्ताक्षर गरियो।यी सबै उपलब्धिहरूको बावजुद “जब आणविक युद्धको खतराको कुरा आउँछ, ढुक्क हुने समय त आइपुगेकै छैन,” संयुक्त राष्ट्र संघका महासचिव कोफी अन्नान बताउँछन्। उनले अझ यसो भने: “२१ औं शताब्दीको सुरुमै आणविक मुठभेड अझै वास्तविक अनि एकदमै भयावह सम्भाव्यता बनेको छ।” दुःखको कुरा, आज हाम्रो समयमा हिरोसिमा र नागासाकीमा घटेको भन्दा कैयौं गुणा चर्को आणविक विपत्ति अझै एउटा खतरा बनेर रहेको छ। सम्भाव्य आणविक खतराको पछाडि कसको हात छ? मुख्य कुरा, के यसबाट जोगिन सकिएला? (g04 3/8)