सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आमाट—मेक्सिकोको पपाइरस

आमाट—मेक्सिकोको पपाइरस

आमाट—मेक्सिकोको पपाइरस

मेक्सिकोका ब्यूँझनुहोस्‌! लेखकद्वारा

मेक्सिकोवासीहरूले संवृद्ध र गौरवशाली इतिहास बोकेका छन्‌। विगतका समयबाट बचाइएका मूल्यवान्‌ साँस्कृतिक सम्पदाहरूमध्ये “साक्षीहरू” अर्थात्‌ चित्र भएका पाण्डुलिपि वा कोडेक्सहरू पनि हुन्‌। यी कोडेक्सहरूको मदतद्वारा—इतिहास, विज्ञान, धर्म र कालक्रमजस्ता—ज्ञानका थुप्रै क्षेत्रहरूका साथै एजटेक तथा माया आदिवासीहरू लगायत मेसोअमेरिकाको विकसित सभ्यताको दैनिक जीवनबारे थाह पाउन सकिन्छ। अचम्मलाग्दो क्षमता भएका ट्‌लाक्वीलोस वा शास्त्रज्ञहरूले तिनीहरूको इतिहास विभिन्‍न प्रकारका सामग्रीहरूमा लिपिबद्ध गरे।

कुनै-कुनै कोडेक्सहरू तयार पार्न कपडाको टुक्रा, मृगको छाला वा मागुवे भनिने बिरुवाबाट बनेको कागज प्रयोग गरिए तापनि प्रमुख सामग्री भने आमाट नै थियो। आमाट नाउँ, कागज भन्‍ने अर्थ बुझाउने नाह्वाटल शब्द आमाटल-बाट आएको हो। आमाट मोरासिया परिवारको अन्जीरको बोटको बोक्राबाट बनाइन्थ्यो। इन्साइक्लोपीडिया डि मेक्सिको-अनुसार “डाँठ, पातहरू, फूलहरू र फलको विस्तृत परीक्षण नगरीकन फिकस [ अन्जीर]-का विभिन्‍न प्रजातिहरू छुट्याउन गाह्रो छ।” अन्जीर सेतो आमाट, सेतो काठे आमाट वा गाढा खैरो आमाट हुन सक्छ।

यसको उत्पादन

स्पेनीहरूले १६ औं शताब्दीमा विजय हासिल गरेपछि आमाटको उत्पादन क्रियाकलाप बन्द गराउने प्रयास गरियो। किन? ती विजेताहरूले आमाटलाई स्पेनीहरूले विजय हासिल गर्नुभन्दा अघिको मूर्तिपूजक प्रचलनहरूसित प्रत्यक्ष सम्बन्धित वस्तुको रूपमा हेरे जसलाई क्याथोलिक चर्चहरूले निषेध गरेको थियो। स्पेनी भिक्षु डिएगो डुरानले आफ्नो पुस्तक इस्टोरिया डि लास इन्डियाज्‌ डि न्युभा इस्पान्या इस्लास डि ला टाइरआ फर्म-मा (न्यु स्पेन इन्डिज तथा टेर्‌आ फर्मा टापुहरूको इतिहास) बताएअनुसार यी आदिवासीहरूले “आफ्नो पुर्खाको एकदमै विस्तृत इतिहासहरू तयार पारे। नचाहिंदो जोसको कारण ती नष्ट नगरिएका भए यसबाट हामीले थुप्रै जानकारीहरू पाउने थियौं। किनभने कोही-कोही अबुझ मानिसहरूले यसलाई मूर्तिहरू ठानेर आगोमा जलाइदिए तर वास्तवमा ती सम्झन योग्य इतिहासहरू थिए।”

तथापि, आमाट कागत बनाउने परम्परा निर्मूल गर्ने प्रयत्नहरू सफल भएनन्‌ र खुसीको कुरा यो हाम्रो दिनसम्म अस्तित्वमा छ। प्वेब्ला राज्यको उत्तरी सियरा पर्वतमा, पावाट्‌लान नगरपालिकाको सान पाब्लिटोजस्ता ठाउँहरूमा अझै पनि कागज बनाइन्छ। राजा फिलिप द्वितीयका शाही चिकित्सक, फ्रान्सिस्को हर्नान्डिजले लिपिबद्ध गरेको जानकारी उद्धरण गर्दै आर्काओलोकिआ मेहिकाना (मेक्सिकाली पुरातत्त्वशास्त्र) नाउँ गरेको पत्रिका यसो भन्छ: “कागज बनाउनेहरूले कलिला पालुवाहरू होइन तर ठूल्ठूला हाँगाहरू मात्र काट्‌थे। त्यसपछि ती हाँगाहरूलाई नरम बनाउनको लागि रातभरि नजिकैको नदी वा खोल्सामा छोडिन्थ्यो। अर्को दिन हाँगाबाट बोक्रा ताछिन्थ्यो र बोक्राको भित्री तथा बाहिरी भाग छुट्याएर भित्री भाग मात्र जोगाएर राखिन्थ्यो।” बोक्रा सफा गरिसकेपछि त्यसको रेसाका टुक्राहरूलाई सम्म परेको सतहमा फैलाएर ढुङ्‌गाको लोहोरोले कुटिन्थ्यो।

आजकल, रेसाहरूलाई नरम बनाउन र केही-केही अनावश्‍यक पदार्थहरू हटाउन त्यसलाई खरानी र चून मिसाएर ठूल्ठूला भाँडामा पकाइन्छ। कहिलेकाहीं यसलाई छ घण्टासम्म पनि पकाइन्छ। त्यसपछि ती रेसाहरूलाई सफा पानीमा पखालेर पानीमा डुबाएर राखिन्छ। कालिगडहरूले रेसाहरूलाई एक-एक गरी चेकर बोर्ड अर्थात्‌ चेस खेल्ने बोर्डको जस्तो बुट्टा बन्‍ने गरी काठको सम्म परेको सतहमा राख्छन्‌। पछि, ती रेसाहरू एक-आपसमा गाँसिएर कागजको पाना नबनुन्जेलसम्म तिनीहरूले ती रेसाहरूलाई ढुङ्‌गाको लोहोरोले कुट्‌छन्‌। अन्तमा, कागजको किनारा बलियो बनाउनको लागि छेउ-छेउको भाग दोबारिन्छ र कागजलाई घाममा सुकाइन्छ।

आमाटहरू विभिन्‍न रङका हुन्छन्‌। पहिलेदेखि चल्दै आएको रङ खैरो हो तर यो सेतो वा घिउ रङमा, खैरो र सेतो मिसिएको छिर्केमिर्के रङमा अनि पहेंलो, नीलो, गुलाबी र हरियो जस्ता रङहरूमा पनि पाइन्छ।

यसको वर्तमान प्रयोग

आमाट प्रयोग गरेर सुन्दर मेक्सिकाली हस्तकलाहरू बनाइन्छ। यो कागजमा बनाइएका कुनै-कुनै चित्रहरूको धार्मिक अर्थ भए तापनि अरूहरूमा भने विभिन्‍न खालका जनावरहरूका साथै मेक्सिकाली जनताहरूको सुखी जीवन झल्काउने चाडपर्व तथा दृश्‍यहरू देखाइएका हुन्छन्‌। थरीथरीका रङहरू चलाएर बनाइएका सुन्दर चित्रहरूको अलावा आमाटको प्रयोग गरेर शुभकामना कार्ड, किताबमा चिह्नको रूपमा राख्ने कागज र अरू हस्तकलाहरू पनि बनाइएका छन्‌। यस्ता हस्तकलाहरूले सजावटको रूपमा ती सामानहरू किन्‍ने मेक्सिकोका बासिन्दाहरू तथा विदेशीहरू दुवैलाई मन्त्रमुग्ध बनाउँछ। यो कला मेक्सिकोको सिमानाभित्र मात्र सीमित नभएर संसारका विभिन्‍न भागहरूमा निर्यात हुन्छ। पुरातन कोडेक्सहरूको नक्कल तयार परिएका छन्‌। यो कला पहिलो पटक देख्दा स्पेनीहरू कति दङ्‌ग परे होलान्‌! वास्तवमा माथि उल्लेख गरिएका भिक्षु डिएगो डुरानले टिप्पणी गरेअनुसार त्यहाँका बासिन्दाहरूले “जे जति घटनाहरू हुन्थे ती सबै वर्ष, महिना र दिन हिसाब गरेर किताबहरूमा र कागजको लामा टुक्राहरूमा लेखेर रङ्‌गाउँथे। तिनीहरूको व्यवस्था तथा नियमहरू, तिनीहरूको जनगणनाको सूची आदि एकदमै क्रम मिलाएर अनि व्यवस्थित ढङ्‌गमा यी चित्रहरूमा लेखिन्थ्यो।”

आमाट बनाउने परम्परा र यो सँगसँगै मेक्सिकाली सम्पदाका सुन्दरताहरू हाम्रो दिनसम्म अस्तित्वमा रहनु कत्ति राम्रो कुरा हो। पुरातन समयका ट्‌लाक्वीलोस वा शास्त्रज्ञहरूले जस्तै वर्तमान समयका साधारण कालिगडहरूले पनि आमाटको आश्‍चर्यबाट आनन्द उठाउँछन्‌ र यसलाई मेक्सिकोको पपाइरस भन्दा कुनै फरक पर्दैन। (g04 3/8)

[पृष्ठ १८-मा भएको चित्र]

रेसाहरू कुट्‌दै