सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरले किन हामीलाई दुःखकष्ट भोग्न दिनुहुन्छ?

परमेश्‍वरले किन हामीलाई दुःखकष्ट भोग्न दिनुहुन्छ?

युवा जनहरू सोध्छन्‌ . . .

परमेश्‍वरले किन हामीलाई दुःखकष्ट भोग्न दिनुहुन्छ?

“परमेश्‍वर माथि स्वर्गमा आनन्दसित बसिरहनुभएको छ, हामी भने यहाँ तल दुःखकष्ट भोगिरहेका छौं।”—मेरी। a

आ जका युवाहरू क्रूर संसारमा जन्मिएका छन्‌। हजारौंको ज्यान लिने दुःखदायी भूकम्प तथा प्राकृतिक प्रकोपहरू सामान्य भएजस्ता देखिन्छन्‌। युद्ध र आतङ्‌ककारी आक्रमणहरूले समाचारमा शीर्ष स्थान ओगट्‌छन्‌। बिरामी, रोग, अपराध तथा दुर्घटनाले हाम्रा प्रियजनहरूलाई हामीबाट खोस्छ। माथि उल्लेख गरिएकी मेरीको आफ्नै परिवारमाथि दुःखान्त अवस्था आइपऱ्‍यो। आफ्नो बुबाको मृत्युपछि तिनले ती तीता शब्दहरू व्यक्‍त गरेकी थिइन्‌।

दुःखद घटनाहरूले हामीलाई व्यक्‍तिगत रूपमा असर गर्दा निराश, केही गुमाएजस्तो वा रिस उठेको महसुस हुनु स्वाभाविकै हो। ‘किन यस्तो हुनु परेको होला?’ भनी तपाईं सोच्नुहोला। ‘किन मलाई नै यस्तो भएको?’ वा ‘किन अहिल्यै हुनु परेको?’ यस्ता प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ पाउनु आवश्‍यक छ। तर सही जवाफ पाउने हो भने हामी सही स्रोतसम्म पुग्नै पर्छ। हो, टरेल नाउँ गरेका एक जना युवकले भनेझैं कहिलेकाहीं मानिसहरूले कुनै “कुराबारे राम्ररी विचार गर्न नसक्दा अनावश्‍यक रूपमा आफूलाई दुःखी बनाइरहेका हुन्छन्‌।” त्यसकारण तपाईंले आफ्ना भावनाहरूलाई शान्त बनाउने तरिका भेट्टाउनु पर्ने हुन सक्छ ताकि तपाईंले तार्किक ढङ्‌गमा र ठण्डा दिमागले विचार गर्न सक्नुहुन्छ।

दुःखद वास्तविकताहरूको सामना गर्ने

सोच्दा त दुःख लाग्ला, तर मृत्यु र दुःखकष्ट जीवनका वास्तविकता हुन्‌। यो कुरा अय्यूबले यसरी व्यक्‍त गरे: “स्त्रीबाट जन्मेको मानिस अल्प–आयुका र अशान्तिले भरिएको हुन्छ।”—अय्यूब १४:१.

“धार्मिकताले बास” गर्ने एउटा नयाँ संसारबारे बाइबलले प्रतिज्ञा गर्छ। (२ पत्रुस ३:१३; प्रकाश २१:३, ४) तथापि, यस्तो उत्कृष्ट अवस्था आउनुअघि मानिसजातिले केही समयको लागि पहिला कहिल्यै नभोगेको दुष्टताको सामना गर्नै पर्छ। बाइबल भन्छ, “यो जान, कि आखिरी दिनमा डरलाग्दो समय आउनेछ।”—२ तिमोथी ३:१.

यी कठिन समयहरू कतिन्जेल रहनेछन्‌ त? येशूका चेलाहरूले पनि झन्डै-झन्डै यस्तै खालको प्रश्‍न सोधे। तर जताततै रुवाबासीको चीत्कार सुनिने यो रीतिरिवाज कहिले नष्ट हुनेछ भनेर येशूले खास दिन वा घडी दिनुभएन। बरु, येशूले यसो भन्‍नुभयो: “अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ।” (मत्ती २४:३, १३) येशूका शब्दहरूले हामीलाई दीर्घकालीन सोचाइ राख्न प्रोत्साहन दिन्छ। आखिरमा अन्त आउनअघि थुप्रै दुःखद परिस्थितिहरू सहन हामी तयार हुनै पर्छ।

परमेश्‍वरलाई दोष दिन मिल्छ?

त्यसोभए, दुःखकष्ट रहिरहन दिनुभएको हुनाले के परमेश्‍वरसित रिसाउन मिल्छ? परमेश्‍वरले सबै दुःखकष्टको अन्त गर्ने प्रतिज्ञा गर्नुभएको छ भन्‍ने कुरा विचार गर्दा मिल्दैन। न त परमेश्‍वरले खराब कुराहरू गराउनुहुन्छ भनेर सोच्न नै मिल्छ। थुप्रै दुःखद घटनाहरू संयोगवश भएका घटनाहरूका परिणाम मात्र हुन्‌। उदाहरणका लागि, कल्पना गर्नुहोस्‌, हुरीबतासले रूख ढल्छ र कोही घाइते हुन्छ। मानिसले यसलाई ईश्‍वरको लीला भन्लान्‌। तर त्यो रूख परमेश्‍वरले ढाल्नुभएको होइन। यस्ता कुराहरू त “समय र अवसर[का]” दुःखद परिणामहरू मात्र हुन्‌ भनेर बुझ्न बाइबलले हामीलाई मदत दिन्छ।—उपदेशक ९:११.

गलत निर्णयको कारण पनि दुःखकष्ट आइपर्न सक्छ। मानिलिनुहोस्‌, एक हुल युवाहरूले बेसरी रक्सी पिएर गाडी चलाउँछन्‌। फलस्वरूप एउटा गम्भीर दुर्घटना हुन्छ। कसलाई दोष दिने? परमेश्‍वरलाई? होइन, तिनीहरूले आफ्नो गलत निर्णयको परिणाम कटनी गरेका छन्‌।—गलाती ६:७.

‘तर के परमेश्‍वरसित अहिल्यै दुःखकष्ट हटाउने शक्‍ति छैन र?’ भनेर तपाईं सोध्नुहोला। बाइबलकालीन समयका केही विश्‍वासी पुरुषहरूले पनि यसबारे सोचेका थिए। अगमवक्‍ता हबकूकले परमेश्‍वरलाई यसरी सोधे: “छल गर्ने मानिसहरूलाई किन तपाईं हेरिरहनुहुन्छ, औ धर्मी मानिसलाई दुष्टले निल्दा तपाईं किन चूप्प लाग्नुहुन्छ?” तथापि, हबकूक तुरुन्तै निष्कर्षमा पुगेनन्‌। तिनले यसो भने: “म हेर्दै रहन्छु कि उहाँ मलाई के भन्‍नुहुन्छ।” पछि, “ठहराएको समयमा” दुःखकष्ट अन्त गर्नेछु भनी परमेश्‍वरले तिनलाई आश्‍वासन दिनुभयो। (हबकूक १:१३; २:१-३) त्यसकारण, दुष्टताको अन्त गर्न परमेश्‍वले ठहराउनुभएको उहाँको समयलाई पर्खंदै हामी धीरजी हुनै पर्छ।

परमेश्‍वर हामीले कुनै न कुनै तरिकामा दुःख पाएको चाहनुहुन्छ वा उहाँले हामीलाई व्यक्‍तिगत तवरमा परीक्षा गरिरहनुभएको छ भन्‍ने निष्कर्षमा हत्त न पत्त नपुगिहाल्नुहोस्‌। यो कुरा साँचो हो कि दुःखकष्टले हामीमा भएका असल गुणहरू प्रकट गर्छ अनि परमेश्‍वरले अनुमति दिनुहुने जाँचले हाम्रो विश्‍वासलाई खार्न सक्छ भनी बाइबलले बताउँछ। (हिब्रू ५:८; १ पत्रुस १:७) निस्सन्देह, कठिन वा दुःखदायी अनुभवहरू भोग्ने थुप्रै मानिसहरू अझ बढी धीरजी वा अनुकम्पापूर्ण हुन्छन्‌। तर परमेश्‍वरको कारण तिनीहरूले दुःख भोग्नु परेको हो भन्‍ने निष्कर्षमा हामी पुग्नुहुँदैन। यस्तो सोचाइले परमेश्‍वरको प्रेम र बुद्धिको बेवास्ता गर्छ। बाइबलले स्पष्टसित यसो भन्छ: “परीक्षामा पर्दा कुनै मानिसले पनि यसो नभनोस्‌, ‘परमेश्‍वरबाट मेरो परीक्षा भएको छ,’ किनभने कुनै खराब कुराबाट परमेश्‍वरको परीक्षा हुनसक्‍तैन, औ उहाँ आफैले कुनै मानिसको परीक्षा गर्नुहुन्‍न।” यसको विपरीत परमेश्‍वरबाट “हरेक असल दान र हरेक उत्तम वरदान” आउँछ!—याकूब १:१३, १७.

परमेश्‍वरले किन खराबी रहन दिनुहुन्छ

त्यसोभए, खराबी कहाँबाट आउँछ त? परमेश्‍वरका विरोधीहरू छन्‌ भन्‍ने कुरा नबिर्नुहोस्‌—त्यो मुख्यतया “दियाबल र शैतान भनिने, सारा संसारलाई ठग्ने” हो। (प्रकाश १२:९) परमेश्‍वरले हाम्रा प्रथम आमाबाबु आदम र हव्वालाई एउटा कष्ट-मुक्‍त संसारमा राख्नुभयो। तर परमेश्‍वरको शासनविना हव्वा अझ बढी सुखी हुनेछिन्‌ भनेर शैतानले तिनलाई विश्‍वस्त तुल्यायो। (उत्पत्ति ३:१-५) दुःखको कुरा, हव्वाले शैतानको झूटमाथि विश्‍वास गरिन्‌ र परमेश्‍वरप्रति अनाज्ञाकारी भइन्‌। यस विद्रोहमा आदमले पनि तिनको साथ दिए। यसको परिणाम? “मृत्यु सबै मानिसमा व्याप्त भयो” भनी बाइबलले बताउँछ।—रोमी ५:१२.

शैतान र त्यसका पछौटेहरूलाई तुरुन्तै नाश गरेर यो विद्रोह दबाउनुको सट्टा परमेश्‍वरले समय बित्न दिनु राम्रो देख्नुभयो। यसले कुन कुरा पूरा गर्ने थियो? एउटा कुरा त यसले शैतान झूट हो भनेर उदाङ्‌ग पार्ने मौका दिने थियो! यसले परमेश्‍वरबाट स्वतन्त्र हुँदा अरू केही होइन, खालि बरबादी आइपर्छ भन्‍ने कुराको प्रमाण जुटाउने मौका दिने थियो। के ठ्याक्कै यस्तै भएको छैन र? “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (१ यूहन्‍ना ५:१९) साथै, “एउटा मानिसले अर्को मानिसलाई दुःख दिने अधिकारको समय” छ। (उपदेशक ८:९) मानवजातिका धर्महरू विवादास्पद शिक्षाहरूको जालो हो। नैतिकता अहिले जति कहिल्यै खस्किएको थिएन। मानव सरकारहरूले सबै प्रकारका शासन-व्यवस्थाहरू चलाउने कोसिस गरिसकेका छन्‌। तिनीहरू सन्धिहरूमा हस्ताक्षर गर्छन्‌ र कानुनहरू पारित गर्छन्‌ तर सर्वसाधारणका आवश्‍यकताहरू भने अझै ज्यूँ का त्यूँ छन्‌। युद्धहरूले दुःखमाथि दुःख थपेका छन्‌।

कुरा सफा छ, हामीलाई परमेश्‍वरको हस्तक्षेप र दुष्टताको अन्त चाहिएको छ! तर यो परमेश्‍वरको तोकिएको समयमा मात्र हुनेछ। त्यतिन्जेल, बाइबलमा पाइने परमेश्‍वरका नियम तथा सिद्धान्तहरू पालन गरेर उहाँको शासनलाई समर्थन गर्नु हाम्रो सुअवसर हो। खराब कुराहरू हुँदा, हामी कष्ट-मुक्‍त संसारमा जीवन पाइने पक्का आशाद्वारा सान्त्वना पाउन सक्छौं।

एक्लै छैनौं

तैपनि, दुःखकष्टले हामीलाई व्यक्‍तिगत तवरमा असर गर्दा हामी आफैलाई यस्तो प्रश्‍न सोध्न पुग्छौं: ‘किन मलाई नै यस्तो भएको?’ तथापि, खराब कुरा भोग्ने हामी एक्लै छैनौं भनी प्रेरित पावल हामीलाई सम्झाउँछन्‌। पावल भन्छन्‌: “सारा सृष्टि पनि साथसाथै पीड़ाले सुस्केरा हाल्दै प्रसव वेदनामा अहिलेसम्म परेको छ।” (रोमी ८:२२) यो कुरा थाह पाउँदा यसले तपाईंलाई दुःखकष्टको सामना गर्न मदत गर्न सक्छ। उदाहरणका लागि, सेप्टेम्बर ११, २००१ मा न्यु योर्क सिटी तथा वासिङ्‌गटन डि.सी.-मा भएको आतङ्‌ककारी आक्रमणको कारण निकोललाई भावनात्मक चोट लागेको थियो। “म आत्तिएकी र तर्सिएकी थिएँ” भनेर तिनी स्वीकार्छिन्‌। तर तिनका सँगी मसीहीहरूले यो दुःखद घटनाको सामना कसरी गरे भन्‍ने विवरण पढेपछि तिनको दृष्टिकोण परिवर्तन भयो। b “वास्तवमा म एक्लै छैन भन्‍ने कुरा मैले महसुस गरें। बिस्तारै-बिस्तारै म आफ्नो पीडा र शोकबाट मुक्‍त हुन थालेकी छु।”

कुनै-कुनै अवस्थामा, आफूले कुरा गर्न सक्ने व्यक्‍ति—आमा वा बुबा, परिपक्व साथी, वा एक जना प्राचीनको मदत खोज्नु बुद्धिमानी हुन्छ। तपाईंले भरोसा गर्नुहुने कुनै व्यक्‍तिलाई आफ्ना भावनाहरू पोखाउँदा यसले तपाईंलाई प्रोत्साहनको “दयालु वचन” पाउने मौका दिनेछ। (हितोपदेश १२:२५) ब्राजिलका एक जना मसीही युवक यसरी सम्झन्छन्‌: “नौ वर्षअघि मैले आफ्नो बुबा गुमाएँ र मलाई थाह छ एक दिन यहोवाले उहाँलाई पुनरुत्थान गर्नुहुनेछ। तर आफ्ना भावनाहरू लेख्दा यसले मलाई मदत गऱ्‍यो। साथै, मैले आफ्ना भावनाहरू मेरा मसीही साथीहरूलाई बताएँ।” के तपाईंको भरोसा गर्न सकिने कोही ‘साँचो मित्रहरू’ छन्‌? (हितोपदेश १७:१७) त्यसो हो भने तिनीहरूको मायालु मदतबाट लाभ उठाउनुहोस्‌! रुन वा आफ्ना भावनाहरू व्यक्‍त गर्न नडराउनुहोस्‌। हो, आफ्नो साथीलाई गुमाउनु पर्दा एक पटक येशूसमेत “रुनुभयो”!—यूहन्‍ना ११:३५.

एक दिन हामी सबैले “विनाशको बन्धनबाट छुटकारा” पाउनेछौं र “परमेश्‍वरको सन्तानको महिमाको स्वतन्त्रता[को]” आनन्द उठाउनेछौं भनी बाइबलले हामीलाई आश्‍वासन दिन्छ। (रोमी ८:२१) त्यतिन्जेल थुप्रै असल व्यक्‍तिहरूले दुःख पाउन सक्छन्‌। यस्ता दुःखकष्टहरू किन हुन्छन्‌ र यी धेरै दिन रहनेछैनन्‌ भन्‍ने कुरा थाह पाएर सान्त्वना प्राप्त गर्नुहोस्‌। (g04 3/22)

[फुटनोटहरू]

a फेब्रुअरी ८, २००२ अंकको ब्यूँझनुहोस्‌! मा दिइएको “विपत्तिको घडीमा साहस” भन्‍ने श्रृंखला हेर्नुहोस्‌।

b केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

[पृष्ठ १६-मा भएको चित्र]

आफ्नो शोक व्यक्‍त गर्नु मदतकारी हुन सक्छ