बढ्ता पिउनु के साँच्चै खराब हो?
बाइबलको दृष्टिकोण
बढ्ता पिउनु के साँच्चै खराब हो?
मानिसहरूलाई हँसाउनको लागि रक्सीले मात्तिएको पात्रलाई नाटक तथा चलचित्रहरूमा देखाउन थालेको वर्षौं भइसक्यो। कलाकारहरूले अभिनय मात्र गरिरहेको भए तापनि उनीहरूको व्यङ्ग्यवाणले बढ्ता पिउनुप्रति धेरैले राख्ने दोधारे दृष्टिकोण अर्थात् यसलाई एउटा कमजोरी पनि मान्ने तर अर्कोतर्फ अहानिकारक पनि ठान्ने मनोवृत्तिलाई सङ्केत गर्छ।
निस्सन्देह, वास्तविकतालाई विचार गर्ने हो भने ठट्टा गर्नुपर्ने कुरा केही छैन। विश्व-स्वास्थ्यसंघले मद्यव्यसनलाई स्वास्थ्यमाथिको विश्वव्यापी खतराहरूमध्ये एक मान्छ। भनिन्छ, सबैभन्दा धेरै मृत्यु वा बिरामी गराउने नशालु पदार्थहरूमा सुर्तीको लतपछि मद्यव्यसनको नाउँ आउँछ र यसको लागि अमेरिकी अर्थव्यवस्थाले मात्र वार्षिक १ खरब ८४ अरब अमेरिकी डलर बेहोर्छ।
यी तथ्यहरूको बावजुद अझै पनि धेरै मानिसहरूले बढ्ता पिउनुलाई त्यत्ति गम्भीरतासाथ लिंदैनन्। लामो समयसम्म दुर्व्यसनी हुँदा यसले हानि गर्छ भनेर त तिनीहरूले स्वीकार्लान् तर कहिलेकाहीं मात्तिने गरी पिउनुमा तिनीहरू कुनै खराबी देख्दैनन्। संसारको कुनै-कुनै भागहरूमा, मात्तिने गरी पिउनुलाई युवाहरू समयको माग ठान्छन्। अनि स्वास्थ्य संगठनहरूले दिएका गम्भीर चेतावनीहरूको बावजुद मद्यभोज गर्ने अर्थात् एक चोटि पिउन बस्दा लगभग ३ बोतल वा त्योभन्दा बढ्ता बियर तन्काउने बानी सबै खाले उमेरका समूहमाझ नाटकीय रूपमा बढ्दैछ। त्यसैले बढ्ता पिउनु साँच्चै खराब हो कि होइन भनेर धेरै मानिसहरूले विचार गर्नुको कारण सजिलै बुझ्न सकिन्छ। बाइबलले के भन्छ?
मद्य तथा अरू कडा पेय पदार्थहरू—परमेश्वरबाट उपहार
बाइबलमा थुप्रै ठाउँमा मद्य तथा अरू कडा पेय पदार्थहरूबारे उल्लेख गरिएको छ। राजा सुलेमानले यस्तो लेखे: “आफ्नो बाटो लाग्, आफ्नो खानेकुरो खा र मोज-मजा उपदेशक ९:७) ‘मानिसको मन खुस गराउने दाखमद्यको’ प्रबन्धकर्ता यहोवा परमेश्वर नै हुनुहुन्छ भनी भजनहारले स्वीकारे। (भजन १०४:१४, १५) यो स्पष्ट हुन्छ कि यहोवाले मानवजातिलाई दिनुभएका आशिष्हरूमध्ये मद्य पनि एउटा हो।
गर्, खुशी मनले आफ्नो दाखमद्य पी, किनभने तैंले गरेको कामलाई परमेश्वरले ग्रहण गर्नुभएको छ।” (मद्य पिउनु येशूको लागि पनि स्वीकार्य थियो। वास्तवमा, उहाँले आफ्नो पहिलो चमत्कारमा एउटा विवाह भोजमा पानीलाई असल दाखमद्यमा परिणत गर्नुभएको थियो। (यूहन्ना २:३-१०) प्रभुको साँझको भोज स्थापना गर्दा उहाँले दाखमद्यलाई आफ्नो रगतको उपयुक्त प्रतीकको रूपमा पनि चलाउनुभयो। (मत्ती २६:२७-२९) बाइबलले ओखतीको रूपमा दाखमद्यको महत्त्वबारे समेत बताउँछ किनभने पावलले तिमोथीलाई तिनको “पेटको खातिर . . . अलि अलि दाखमद्य पिउने” गर्नू भनी प्रोत्साहन दिए।—१ तिमोथी ५:२३; लूका १०:३४.
सन्तुलित हुनु मुख्य कुरा
याद गर्नुहोस्, पावलले “अलि अलि दाखमद्य पिउने” सल्लाह दिए। बाइबलले रक्सीको सबै प्रकारका अनियन्त्रित प्रयोगहरूको स्पष्ट रूपमा निन्दा गर्छ। मन्दिरमा कुनै जिम्मेवारी नभएको बेलामा यहूदी पूजाहारीहरूले ठिक्क मात्रामा पिउन सक्थे। तथापि, पूजाहारीको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दा तिनीहरूलाई कुनै पनि प्रकारको मद्य पिउन मनाही गरिएको थियो। (लेवी १०:८-११) यसको निकै वर्षपछि, प्रथम शताब्दीका मसीहीहरूलाई मतवालाहरू “परमेश्वरको राज्यको हकदार हुनेछैन” भनी चेतावनी दिइएको थियो।—१ कोरिन्थी ६:९, १०.
अझै, तिमोथीलाई दिएको निर्देशनमा पावलले बताएअनुसार मण्डलीमा नेतृत्व लिनेहरू “मतवाला र रिसाहा” वा “बढ़ी मद्य पिउने” हुनुहुँदैन। a (१ तिमोथी ३:३, ८, नयाँ संशोधित संस्करण) वास्तवमा, अपश्चात्तापी जँड्याहाहरूलाई मसीही मण्डलीबाट बहिष्कार गर्नुपर्छ भनी बाइबलले आज्ञा दिन्छ। (१ कोरिन्थी ५:११-१३) धर्मशास्त्रले यसो भन्नु ठिकै हो: “मद्य घृणित वस्तु हो।” (हितोपदेश २०:१) मद्यमा लग्गू हुँदा यसले मद्य पिउने व्यक्तिको संयमलाई कमजोर बनाउनुका साथै तिनलाई सही निर्णय गर्न नसक्ने बनाउन सक्छ।
बढ्ता पिउनुलाई परमेश्वरको वचनले किन निन्दा गर्छ
‘हाम्रो फाइदाको निम्ति सिकाउनु’ हुने यहोवालाई हामीले कुनै चीजको दुर्व्यसन गर्दा अन्तमा त्यसले हामी आफैलाई र अरूलाई हानि पुऱ्याउँछ भन्ने कुरा थाह छ। (यशैया ४८:१७, १८) मादक पेय पदार्थहरू लिने सन्दर्भमा पनि यो कुरा लागू हुन्छ। परमेश्वरको वचनले यसरी सोध्छ: “कष्ट कसको हो? अनुताप कसको हो? झगड़ा कसको हो? औ फिक्री कसको हो? कारणै विना कसलाई चोट लाग्छ? कसको आँखा राता राता हुन्छन्?” यसले यस्तो जवाफ दिन्छ: “तिनहरूकै, जो अबेरसम्म दाखमद्य पिइरहन्छ, तिनीहरूकै, जो सधैं नयाँ मसाला हालेको दाखमद्य चाखिरहन्छन्।”—हितोपदेश २३:२९, ३०.
अत्यधिक मद्यको प्रभावमा मानिसहरूले थुप्रै अविवेकी तथा खतरनाक कामहरू गरेका छन्: नशामा गाडी चलाएर आफ्नो र अरूको ज्यान खतरामा हाल्ने, अर्काको वैवाहिक जोडीप्रति बढ्तै स्नेह देखाएर अरूसितको सम्बन्ध गम्भीर रूपमा बिगार्ने, मूर्खतापूर्ण वा भ्रष्ट कुरासमेत बोल्ने वा गर्ने। (हितोपदेश २३:३३) त्यसैले त मद्यव्यसनलाई आज मानवजातिलाई पिरोलिरहेको सामाजिक विकृतिहरूमध्ये सबैभन्दा हानिकारक विकृति भन्नु ठिकै हो। परमेश्वरले यस्तो आग्रह गर्नु कुनै अचम्मलाग्दो कुरा होइन: “मतवाला अथवा घिचुवाहरूको सङ्गत नगर्।”—हितोपदेश २३:२०.
पावलले गलाती ५:१९-२१ मा मतवालीपन र भोजको मोजमज्जालाई परमेश्वरको आत्माको फलको विपरीत “शरीरका कामहरू” भनी सूचीबद्ध गर्छन्। मद्यमा लग्गू हुँदा यसले परमेश्वरसितको सम्बन्ध बिगार्नेछ। त्यसैले, कुरा स्पष्ट छ, मसीहीहरू मद्यको कुनै पनि अनियन्त्रित प्रयोगदेखि जोगिनुपर्छ। (g04 3/8)
[फुटनोट]
a यहोवाका उच्च स्तरहरू यथाशक्य झल्काएर निरीक्षक तथा सेवकाई सेवकहरू आफ्नो निर्णय र आचरणको सन्दर्भमा बगालको उदाहरण हुनुपर्ने भए तापनि यो आवश्यकता अरू मसीहीहरूको लागि पनि उत्तिकै लागू हुन्छ।