बादलभन्दा माथिको जीवन
बादलभन्दा माथिको जीवन
बोलिभियाका ब्यूँझनुहोस्! लेखकद्वारा
एकलासको ठाउँ, भव्य दृश्य अनि पैदल यात्रा गरेर, उकालो चढेर तथा स्की खेलेर आनन्द उठाउन सक्ने मौकाले गर्दा थुप्रै मानिसहरू छुट्टी मनाउन हिमालहरूतिर जान आकर्षित हुन्छन्। साथै, करोडौं मानिसहरू बादल बन्ने उचाइभन्दा पनि अझ अग्लो ठाउँका उपत्यका तथा पठारहरूमा स्थायी रूपमा बसोबास गर्छन्। तथापि, यति अग्लो ठाउँमा बस्दा यसले मानिसको स्वास्थ्यमा वा तिनीहरूको मोटर गाडीहरूका साथै खाना पकाउँदा पनि अनौठो खालका प्रभावहरू पार्न सक्छ। यस्ता समस्याहरूको स्रोत के हो र यिनको सामना कसरी गर्न सकिन्छ? पहिला त हिमालका अग्ला भू-भागहरूमा के साँच्चै नै धेरै मानिसहरू बसोबास गर्छन् त?
थुप्रै उच्च भू-भागहरू आर्थिक वृद्धिका क्षेत्रहरू भएका छन्। मेक्सिको सिटीका लाखौं व्यक्तिहरू समुद्री सतहभन्दा २,००० मिटर माथिको उचाइमा बस्छन्। संयुक्त राज्य अमेरिकाको कोलोराडोको डेन्भर; केन्याको नाइरोबी अनि दक्षिण अफ्रिकाको जोहानेसबर्ग समुद्री सतहदेखि १,५०० मिटरभन्दा माथिको उचाइमा छन्। हिमालयका लाखौं मानिसहरू ३,००० मिटरभन्दा माथिको उचाइमा
बस्छन्। एण्डीज पर्वतमा थुप्रै ठूल्ठूला सहरहरू ३,३०० मिटरभन्दा माथिको उचाइमा छन् र त्यहाँका मानिसहरू ६,००० मिटरभन्दा माथिको उचाइका खानीहरूमा काम गर्छन्। उच्च भू-भागहरूमा यति धेरै मानिसहरू बस्ने भएकोले मानव शरीरले कसरी आफूलाई त्यहाँको वातावरण अनुकूल बनाउँछ भन्ने अध्ययनले निकै चासो जगाएको छ। अहिलेसम्म पत्ता लागेका कुराहरूले आफ्नो शरीरको अचम्मलाग्दो रचनाप्रति तपाईंको मूल्याङ्कन अझ बढाउन सक्छ।कुन कुरा आशा गर्न सकिन्छ
एण्डीजको उचाइमा पुग्दा डगले महसुस गरेको कुरा सामान्यतया सबैले महसुस गर्छन्। तिनी यसो भन्छन्: “विमानस्थलमा हाम्रा सुटकेसहरू यताउता सार्दा मलाई एक्कासी रिंगटा लागेको जस्तो भयो र झन्डै-झन्डै बेहोस भएँ। एकछिनपछि यो ठिक भए तापनि सुरुको एक-दुई हप्तासम्म मलाई टाउको दुखिरह्यो र राम्ररी निदाउन पनि सकिनँ। निसासिएको जस्तो भएर झसङ्ग ब्यूँझन्थें। त्यसपछि, महिनौंसम्म मलाई खाना त्यति रुचेन, एकैछिनमा थकाइ लाग्थ्यो र निद्रा लागिरहन्थ्यो।” क्याटी अझ थप्छिन्: “मलाई धेरै उचाइमा जाँदा हुने समस्याहरूबारे गरिने जति पनि कुराकानी मानिसहरूका कल्पना मात्र होलान् जस्तो लाग्थ्यो। यो कल्पना मात्र होइन रहेछ भन्ने कुरा अब मैले थाह पाएँ।”
डगलाई भएजस्तै निद्रा खलबलिनुलाई डाक्टरहरू पिरियोडिक ब्रिथिङ्ग अर्थात् बेलाबेलामा सास रोकिनु भन्छन्। भर्खर-भर्खरै अग्लो उचाइमा पुगेका मानिसहरूलाई यस्तो हुनु एकदमै सामान्य हो। तर यस्तो भयो भने तपाईंलाई एकदमै डर लाग्न सक्छ। निदाएको समयमा, केही सेकेण्डको लागि तपाईंको सास बेलाबेलामा साँच्चै रोकिन सक्छ। यसको कारण कहिलेकहीं तपाईं स्वाँस्वाँ गर्दै झसङ्ग ब्यूँझन सक्नुहुन्छ।
कसै-कसैलाई भने अग्लो उचाइमा पुग्दा पनि कुनै समस्या हुँदैन। कसै-कसैले २,००० मिटरमा प्रतिकूल असरहरू महसुस गर्छन् भने ३,००० मिटरको उचाइमा पुग्ने लगभग आधाजसो नयाँ व्यक्तिहरूले यस्तो महसुस गर्छन्। चाखलाग्दो कुरा, अग्लो उचाइमा बसोबास गर्ने व्यक्तिहरू दुई-चार हप्ता होचो ठाउँमा बसेर फेरि अग्लो ठाउँमा फर्के भने तिनीहरूले पनि यस्तै लक्षणहरू महसुस गर्छन्। किन?
उचाइले तपाईंको शरीरलाई किन असर गर्छ
अधिकांश समस्याहरू अक्सिजनको कमीले गर्दा हुन्छ। तपाईं जतिजति माथि जानुहुन्छ, वायुमण्डलीय चाप त्यति नै कम हुने भएकोले तपाईंले सास फेर्ने हावामा समुद्री सतहभन्दा २,००० मिटरमा २० प्रतिशत र ४,००० मिटरमा ४० प्रतिशत कम अक्सिजन हुन्छ। अक्सिजनको कमीले तपाईंको शरीरले गर्ने अधिकांश कामहरूमा असर गर्छ। तपाईंको मांसपेशीले थोरै मात्र काम गर्न सक्छ, तपाईंको स्नायुप्रणालीले थोरै मात्र मानसिक चिन्ता सहन सक्छ अनि तपाईंको पाचनप्रणालीले बोसो पचाउन सक्दैन। तपाईंको शरीरलाई बढी अक्सिजनको आवश्यकता पर्दा, सामान्यतया तपाईंले आफसेआफ छिटछिटो सास फेर्नुहुन्छ र यो आवश्यकता पूर्ति गर्नुहुन्छ। त्यसोभए, तपाईं अग्लो उचाइमा पुग्नुहुँदा किन यस्तो हुँदैन?
तपाईंको शरीरले तपाईंको सास फेर्ने गतिलाई कसरी नियन्त्रण गर्छ भन्ने कुरा अचम्मलाग्दो छ र यसलाई राम्ररी बुझ्न सकिएको छैन। तर जब तपाईं परिश्रम गर्नुहुन्छ, अक्सिजनको कमी हुँदैमा छिटछिटो सास फेर्न सुरु हुँदैन। बरु, तपाईंलाई छिटछिटो सास फेर्न लगाउने मुख्य तत्त्व मांसपेशीको क्रियाकलापको कारण रगतमा जम्मा हुने कार्बन-डाइअक्साइड हो जस्तो देखिन्छ। अग्लो उचाइमा हुँदा तपाईंले छिटछिटो सास त फेर्नु हुन्छ तर झन्झन् अक्सिजनको कमी हुँदै गएको बेला यसले क्षतिपूर्ति गर्न सक्दैन।
टाउको दुख्नुको कारण के हो? बोलिभियाको ला पाजमा भएको उच्च भू-भागीय उपचार तथा शरीरक्रिया-विज्ञानसम्बन्धी पहिलो विश्व सम्मेलनका एक जना वक्ताले बताएअनुसार मस्तिष्कमा एक प्रकारको तरल पदार्थ जम्मा हुँदा लेक लाग्दा देखिने प्रायजसो लक्षणहरू देखापर्छन्। कसै-कसैमा यसले टाउकोभित्र दबाब पैदा गर्छ। खप्परको आकारले गर्दा कसै-कसैले यस्ता असरहरू महसुस गर्दैनन् जस्तो देखिन्छ। यद्यपि, आकलझुकल जीवनै खतरामा पार्ने अवस्था आउन सक्छ। मासंपेशीलाई नियन्त्रणमा राख्न नसक्नु, धमिलो देख्नु, दृष्टिभ्रम र मानसिक तवरमा अलमल्लमा पर्नुजस्ता लक्षणहरूले तपाईंलाई तुरुन्तै औषधोपचार गरिहाल्न र कम उचाइ भएको ठाउँमा झर्न चेतावनी दिन्छ।
बुद्धिमानी सतर्कताहरू
अग्लो उचाइका असरहरू दोस्रो वा तेस्रो दिनमा चरम सीमामा पुग्छन्, त्यसैले त्यहाँ जानुभन्दा केही दिन अघिदेखि र पुगेको केही दिनसम्म, विशेष गरी बेलुकी, हल्का खाना खानु राम्रो हुन्छ। त्यहाँ पुगेपछि बोसो भएको खानेकुरा खानुको सट्टा तपाईंले भात, जौ र आलुजस्ता कार्बोहाइड्रेट भएका खानेकुराहरू खानुपर्छ। तपाईंले यस्तो सल्लाह पालन गर्नु राम्रो हुन सक्छ: “बिहानको खाजा राजाको जस्तो खानू, बेलुकीको खाना भिखारीको जस्तो खानू।” साथै, शारीरिक
परिश्रम पर्ने काम नगर्नुहोस् किनभने यसो गर्दा तुरुन्तै लेक लाग्न सक्छ। युवाहरूमा यो सल्लाह बेवास्ता गर्ने झुकाव बढी हुने भएकोले होला अक्सर तिनीहरूलाई यस्तो हुन्छ।यहाँ तपाईंलाई सूर्यका हानिकारक किरणहरूबाट जोगाउने वायुमण्डल पातलो हुने भएकोले “टोपी लगाउनुहोस् अनि घामको किरणलाई रोक्ने क्रिम मजाले दल्नुहोस्” भन्ने सल्लाह यहाँ पनि उपयुक्त हुन्छ। यी किरणहरूले गर्दा तपाईंको आँखा बिझाउन वा बिग्रन समेत सक्छ, त्यसैले राम्रो खालको चस्मा प्रयोग गर्नुहोस्। हिमालको पातलो हावाले तपाईंको आँसु सुकाउने हुनाले आँखा अझ बढी चिलाउन सक्छ। प्रशस्त झोल कुराहरू पिउने सल्लाह दिइन्छ।
डाक्टरहरूले अत्यन्तै धेरै तौल भएका, उच्च रक्तचाप, रक्तअल्पता वा मुटु वा फोक्सोको बिमारी भएका व्यक्तिहरू बादलभन्दा माथिको यात्रामा निस्कनुअघि राम्ररी स्वास्थ्य परीक्षण गराउने सल्लाह दिएका छन्। a तपाईंलाई रुघाले ग्रस्त पारेको छ, ब्रोनकाइटीस वा निमोनिया भएको छ भने तपाईंको यात्रा केही समयको लागि स्थगित गर्नु राम्रो हुन्छ किनभने श्वास-प्रश्वाससम्बन्धी बिमारी भएको बेला अग्लो उचाइमा जाँदा वा त्यहाँ बढ्ता शारीरिक परिश्रम गर्दा कहिलेकाहीं फोक्सोमा तरल पदार्थ बढ्दै जाने खतरा हुन सक्छ। जीवनभर उच्च भू-भागमा बसेका मानिसहरूलाई समेत श्वास-प्रश्वाससम्बन्धी रोगले अक्सिजनको कमी तथा गम्भीर स्वास्थ्य समस्याहरू उत्पन्न गराउन सक्छ। अर्को तर्फ, दमका रोगीहरूलाई अक्सर अग्लो ठाउँ फाप्छ। वास्तवमा, उच्च भू-भागीय उपचार तथा शरीरक्रिया-विज्ञानसम्बन्धी पहिलो विश्व सम्मेलनमा रसियन डाक्टरहरूको एउटा समूहले रिपोर्ट गरेअनुसार केही खास रोग भएका बिमारीहरूलाई तिनीहरूले उपचारको लागि अग्लो उचाइमा भएको क्लिनिकमा लैजान्छन्।
उचाइमा बसोबास गर्ने
अग्लो उचाइमा बस्न डराउनु पर्दैन। वास्तवमा, ककेसस पर्वतजस्ता केही उच्च इलाकाहरू त्यहाँका कतिपय आदिवासीहरूको लामो आयुको लागि प्रख्यात छन्। अनि कतिपय मानिसहरू वर्षौंदेखि असाध्यै अग्लो उचाइमा जीवन धानिरहेका छन्। एण्डीजमा बसोबास गर्ने ब्यूँझनुहोस्!-का एक जना पाठक यसो भन्छन्: “मैले ६,००० मिटरको [१९,५०० फिट] उचाइमा बसेर ज्वालामुखीको मुख नजिकै रहेको खानीमा १३ वर्षसम्म काम गरें। घनले हिर्काएर सल्फरका ढिकाहरू फोर्नु सजिलो काम थिएन। तैपनि, हामी काम सकिएपछि फुटबल खेल्ने गर्थ्यौं!” मानव शरीरलाई नयाँ अवस्थासित घुलमिल हुने यस्तो उल्लेखनीय क्षमता दिइएको छ कि सृष्टिकर्ताको बुद्धि देखेर हामी तीन छक पर्छौं। अग्लो उचाइमा अक्सिजनको कमी हुँदा तपाईंको शरीरले कसरी यसको सामना गर्छ?
अग्लो उचाइमा जाँदा तपाईंको शरीरको पहिलो प्रतिक्रिया भनेको तपाईंको मुटु र फोक्सोलाई छिटछिटो काम गर्न लगाउनु हो। त्यसपछि तपाईंको रगतले प्लाज्मा उत्पादन गर्छ र अक्सिजन ओसारपसार गर्ने राता रक्त कोषहरूको संख्या अझ बढाउँछ। केही छिन पछि नै सबैभन्दा बढी रगत चाहिने भाग अर्थात् तपाईंको मस्तिष्कमा अतिरिक्त रगत पुगिरहेको हुन्छ। अनि केही घण्टाभित्र नै तपाईंको हड्डीको मासीले अतिरिक्त
राता रक्त कोषहरू उत्पादन गर्न थाल्छ, जसमा अझ बढी अक्सिजन बोक्न सक्ने क्षमता हुन्छ। यसको अर्थ हो, अग्लो उचाइमा घुलमिल हुन महिनौं लाग्न सक्ने भए तापनि तपाईंको मुटुको धड्कन र श्वास-प्रश्वास केही दिनमै सामान्य हुन सक्छ।गाडी चलाउँदा र पकाउँदाका समस्याहरू
तथापि, तपाईंको शरीरलाई मात्र अक्सिजनको कमी हुने होइन। तपाईंको मोटरगाडी पनि थाकेको जस्तो देखिनेछ। स्थानीय मेकानिकले तेलको मात्रा नियन्त्रण गर्ने पेच र स्टार्ट हुन लाग्ने समय मिलाइदिए तापनि तपाईंको गाडीको इन्जिनको शक्ति अझै पनि कमै हुन्छ। तर भान्छामा चाहिं के भइरहेको छ नि?
केक नफुल्ने, रोटी सजिलै टुक्रिने, गेडागुडी नपाक्ने र अण्डा उसिन्दा राम्ररी नजम्ने जस्ता समस्याहरूले गर्दा भान्छेलाई दिक्क लाग्न सक्छ। किन यस्तो हुन्छ र यसको सामना गर्न तपाईं के गर्न सक्नुहुन्छ?
भान्छामा भोग्नुपर्ने प्रायजसो समस्याहरू तपाईंले रोटी वा केक बनाउनुहुँदा स्पष्ट देखिन्छ। हावाको चाप कम हुनेभएकोले रोटी तथा केकलाई फुलाउने ग्याँसहरू समुद्री सतहमा भन्दा बढी फैलन्छ। मुछेको पीठोमा हुने ग्याँसका ससाना फोकाफोकीहरू ठूला हुन्छन् र रोटी सजिलै टुक्रने हुन्छ वा त्योभन्दा पनि नराम्रो कुरा त ती फोकाफोकीहरू फुटेर केक स्याप्प हुन सक्छ। तर यो समस्या समाधान गर्न त्यत्ति गाह्रो छैन। केक फुलाउनको लागि अण्डा फिटेर मिसाउँदै हुनुहुन्छ भने धेरै नफिट्नुहोस्। परिकार बनाउने निर्देशनमा सोडा वा अरू फुलाउने चीज प्रयोग गर्न भनिएको छ भने थोरै मात्र प्रयोग गर्नुहोस्। द न्यु हाइ अल्टिच्युड कूकबूक-ले (अंग्रेजी) ६०० मिटरमा २५ प्रतिशत कम र २,००० मिटरमा ७५ प्रतिशत कम फुलाउने चीज प्रयोग गर्ने सल्लाह दिन्छ।
दाउन राखेर रोटी बनाउँदा, पीठो फुलेर यसको सुरुको साइजको दोबरभन्दा बढी नहोस् भनी पक्का गर्नुहोस्। अण्डाले केकका ससाना कोठाहरूको संरचनालाई बलियो बनाउने भएकोले परिकार बनाउने निर्देशन पछ्याउँदा ठूलो खालको अण्डा प्रयोग गर्नुहोस्। अर्को तर्फ, चिनी धेरै भयो भने यसले कोठाहरूको संरचना कमजोर तुल्याउने भएकोले चिनी अलि कम राख्नुहोस् किनभने हावाको कम चापले पनि चाँडै पानी वाष्पिकरण हुन्छ र मुछेको पीठोमा चिनी कडा गराउँछ। वास्तवमा, प्रायजसो परिकारहरूलाई निर्देशनमा दिइएको भन्दा अलि बढी तरल पदार्थ हाल्नुपर्छ किनभने हिमालको पातलो र सुख्खा हावाले खानेकुराको आद्रता कम गराउँछ।
अग्लो उचाइमा प्रायजसो सबै खानेकुराहरू पाक्न धेरै समय लाग्छ। उदाहरणका लागि, अण्डा उसिन्न १,५०० मिटरको उचाइमा सामान्यभन्दा एक मिनेट बढी लाग्छ र ३,००० मिटरको उचाइमा तीन मिनेट बढी समय लाग्छ। तपाईंले प्रेसर कुकर नभई नहुने भाँडो रहेछ भन्ने कुरा थाह पाउनुहुनेछ। वास्तवमा, प्रेसर कुकर नभईकन तपाईंले अग्लो उचाइमा गेडागुडी पकाउनै सक्नुहुन्न।
त्यसैले अग्लो भू-भागको यात्रामा निस्कन नडराउनुहोस्। केही समयको लागि त तपाईं असिनपसिन हुनुहोला, तपाईंले भुक्क फुलाउन खोज्नुभएको रोटी स्याप्प होला र तपाईंले चलाउनुभएको कार पनि बाथ लागेको कछुवाजस्तै होला तर तपाईंको स्वास्थ्य राम्रै छ भने सम्भवतः तपाईंले आनन्ददायी अनुभव बटुल्नुहुनेछ। (g04 3/8)
[फुटनोट]
a अग्लो उचाइमा श्वास-प्रश्वासमा तीव्रता ल्याउन केही डाक्टरहरूले एसिटाजोलामाइड सिफारिस गर्छन्। लेक लागेको उपचारको लागि अरू पनि औषधीहरूको विज्ञापन गरिन्छ तर सबै डाक्टरहरूले ती सिफारिस गर्दैनन्।
[पृष्ठ १२, १३-मा भएको रेखाचित्र/चित्र]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
अग्लो उचाइमा अवस्थित विश्वका केही सहर तथा हिमालहरू
—९,००० मिटर—
सगरमाथा, नेपाल र चीन
८,८५० मिटर
—७,५००मिटर—
—६,००० मिटर—
माउण्ट किलिमन्जारो, तान्जानिया
५,८९५ मिटर
अउकाङ्केल्चा, चिली
५,३४६ मिटर
मो ब्लाँ, फ्रान्स
४,८०७ मिटर
—४,५०० मिटर—
पोटोसी, बोलिभिया
४,१८० मिटर
प्युनो, पेरू
३,८२६ मिटर
माउण्ट फुजी, जापान
३,७७६ मिटर
ला पाज, बोलिभिया
३,६२५ मिटर
—३,००० मिटर—
ट्रोङ्सो जोङ्, भुटान
२,३९८ मिटर
मेक्सिको सिटी, मेक्सिको
२,२३९ मिटर
माउण्ट वासिङ्गटन,
न्यु ह्यामशायर, संयुक्त राज्य अमेरिका
१,९१७ मिटर
नाइरोबी, केन्या
१,६७५ मिटर
डेन्भर, कोलोराडो, संयुक्त राज्य अमेरिका
१,६०९ मिटर
—१,५०० मिटर—
—समुद्री सतह—
[पृष्ठ -मा भएको चित्र]
ला पाज, बोलिभिया ३,६२५ मिटर
[पृष्ठ -मा भएको चित्र]
जोहानेसबर्ग, दक्षिण अफ्रिका १,७५० मिटर