सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आधुनिक अर्थ बोकेको पुरातन शपथ

आधुनिक अर्थ बोकेको पुरातन शपथ

आधुनिक अर्थ बोकेको पुरातन शपथ

सामान्यतया चिकित्साजगत्‌का पिता भनेर चिनिने युनानी चिकित्सक हिपोक्रेट्‌सले सा.यु.पू ४०० तिर हिपोक्राटिक शपथ लेखे। त्यसका महान्‌ सिद्धान्तहरूले अहिले पनि चिकित्सा पेसालाई डोऱ्‍याइ रहेको छ। के तपाईंलाई पनि त्यही कुरा सिकाइएको छ? छ भने, तपाईं एक्लो हुनुहुन्‍न। तर के त्यो साँच्चै सत्य हो?

तथ्यहरूले देखाएअनुसार हिपोक्रेट्‌सको नाउँले चिनिने त्यो शपथ लेख्ने व्यक्‍ति हिपोक्रेट्‌स नहुन सक्छन्‌। यसबाहेक, सुरुमा त्यो शपथ जसरी लेखिएको थियो, आज चिकित्सा पेसाले त्यसलाई सधैं त्यसरी नै व्यवहारमा उतारेको छैन।

यो पुरानत शपथ वास्तवमा कसले लेख्यो भनेर के हामीलाई थाह छ? अनि हामीलाई थाहै भए तापनि के यस शपथले हामीलाई कुनै अर्थ राख्छ?

के हिपोक्रेट्‌सले त्यो शपथ लेखे?

त्यो शपथ हिपोक्रेट्‌सले नै लेखेका हुन्‌ र भनेर प्रश्‍न उठ्‌न सक्ने थुप्रै कारणहरू छन्‌। एउटा हो, उक्‍त शपथको सुरुमै थुप्रै देवीदेवताहरूलाई पुकारिएको छ। यद्यपि, चिकित्सालाई धर्मबाट छुट्याउने अनि रोगबिमारको लागि अलौकिकभन्दा भौतिक कारणहरूतर्फ हेर्ने पहिलो व्यक्‍तिको रूपमा हिपोक्रेट्‌सलाई लिइन्छ।

यसबाहेक, त्यस शपथमा निषेध गरिएका थुप्रै कुराहरू, हिपोक्रेट्‌सको समयमा जसरी चिकित्साको प्रयोग गरिन्थ्यो, त्यससित टक्कर खाँदैनथ्यो। (पृष्ठ २१ को पेटी हेर्नुहोस्‌।) उदाहरणका लागि, हिपोक्रेट्‌सको समयमा गर्भपात र आत्महत्या विरुद्ध कुनै नियम थिएन वा प्रायजसो धार्मिक स्तरहरूले त्यसलाई गलत ठहराएको थिएन। साथै, त्यस शपथअनुसार शल्यचिकित्सा चाहिं शल्यचिकित्सककै जिम्मामा छोडिदिने बाचा गरिएको छ। यद्यपि, शल्यचिकित्सासम्बन्धी प्रविधिहरू हिपोक्राटिक सँगालोकै भाग हुन्‌ र यी चिकित्सा साहित्यहरूको सँगालोको श्रेय अक्सर हिपोक्रेट्‌स र अन्य पुरातन लेखकहरूलाई दिइन्छ।

त्यसकारण यो प्रश्‍न अझै बौद्धिक वर्गको लागि विवादको विषय भए तापनि हिपोक्राटिक शपथ हिपोक्रेट्‌सले नै लेखेको हुन नसक्ने सम्भावना धेरै छ। यस शपथमा व्यक्‍त गरिएको दर्शन सा.यु.पू. चौथो शताब्दीका पाइथागोरियनहरूसित मिल्दोजुल्दो देखिन्छ जसले जीवनको पवित्रतासम्बन्धी धारणा अँगाल्नुका साथै शल्यक्रियासम्बन्धी प्रक्रियाहरूलाई तिरस्कार गरेका थिए।

केही समयको लागि अलोकप्रिय अनि पुनः लोकप्रिय

यस शपथका लेखक जोसुकै भए तापनि यस शपथले पश्‍चिमी चिकित्सा र विशेषगरी आचारसंहिताको क्षेत्रमा पारेको उल्लेखनीय प्रभावलाई नकार्न सकिंदैन। यस शपथलाई “चिकित्साजगत्‌मा कडा आचारसंहितासम्बन्धी धारणा विकासको चरमोत्कर्ष,” “विकसित संसारमा बिरामी-चिकित्सकबीच सम्बन्धको आधार” र “पेसेवर नैतिकताको शिखर बिन्दु” भनिएको छ। सन्‌ १९१३ तिर एक जना प्रतिष्ठित क्यानेडियाली डाक्टर सर विलियम अस्लरले यसो भने: “यो शपथ हिपोक्रेटको समयदेखि आएको हो कि होइन भन्‍ने कुरा त्यति महत्त्वपूर्ण होइन . . . पच्चीस शताब्दीको लागि यो चिकित्सा पेसाको ‘मूल सिद्धान्त’ भएको छ अनि थुप्रै विश्‍वविद्यालयहरूमा डाक्टरको रूपमा सेवा गर्न थाल्नुअघि यही शपथ लिन लगाइन्छ।”

तथापि, हुनसक्छ २० औं शताब्दीको सुरुतिर भइरहेका वैज्ञानिक प्रगतिहरूले गर्दा यस शपथलाई नकारात्मक दृष्टिकोणले हेर्न थालियो। तर्कलाई प्राथमिकता दिइने वातावरणमा यो शपथ पुरानो र असान्दर्भिक देखिएको हुन सक्छ। तर विज्ञानले प्रगति गर्दै लगे तापनि आचारसंहितासम्बन्धी निर्देशनहरूको खाँचो जस्ताको तस्तै छ। त्यसैले होला, हालैका दशकहरूमा त्यस शपथले पुनः लोकप्रियता कमाएको छ।

चिकित्सा अध्ययन संस्थानमा भर्ना वा त्यसबाट स्नातक हुँदा यो शपथ लिनु डाक्टरहरूको लागि एउटा महत्त्वपूर्ण पक्ष बनेको छ। सं.रा.अ. र क्यानाडाका चिकित्सा अध्ययन संस्थानहरू सम्बन्धी १९९३ मा लिइएको सर्वेक्षणले देखाएअनुसार ९८ प्रतिशत अध्ययन संस्थानहरूले कुनै न कुनै किसिमको शपथ लिन लगाउँथे। सन्‌ १९२८ मा २४ प्रतिशतले मात्र त्यसो गर्थे। संयुक्‍त अधिराज्यमा गरिएको त्यस्तै एउटा सर्वेक्षणले देखाएअनुसार लगभग ५० प्रतिशत जति अध्ययन संस्थानले कुनै शपथ लिने वा औपचारिक घोषणा गर्ने गरेको पाइयो। अस्ट्रेलिया र न्युजील्याण्डमा यो आँकडा ५० प्रतिशत जति छ।

समयअनुसार बदलिने

तर हिपोक्राटिक शपथ अपरिवर्तनीय होइन; शताब्दीयौंको दौडान, यो मसीहीजगत्‌मा व्याप्त विश्‍वासहरू झल्काउन परिवर्तन गरियो। कहिलेकाहीं प्लेगका बिरामीजस्ता अन्य विषयहरू समेट्‌न परिवर्तनहरू गरियो। हालै आएर भने आधुनिक सोचाइसित मिलाउन त्यस्ता परिवर्तनहरू गरिएका छन्‌।

यस शपथका थुप्रै अनुवादहरूमा आधुनिक चिकित्सासित पटक्कै मेल नखाने अंशहरू हटाइएका छन्‌ भने समकालीन समाजको लागि महत्त्वपूर्ण धारणाहरू समावेश गरिएका छन्‌। उदाहरणका लागि, बिरामीको स्वतन्त्र अधिकारको सिद्धान्त अहिले चिकित्साजगत्‌को प्रमुख पक्ष हुन सक्छ तर पुरातन युनानी चिकित्सामा यस्तो केही कुरा थिएन अनि हिपोक्राटिक शपथको भाग पनि थिएन। बिरामीको अधिकारको धारणाले हाल प्रयोग गरिने थुप्रै घोषणाहरूमा महत्त्वपूर्ण भूमिका खेल्छ।

साथै, डाक्टर-बिरामीबीचको सम्बन्ध परिवर्तन भएको छ र सूचित सम्मतिका अधिकारजस्ता धारणाहरू अत्यन्तै महत्त्वपूर्ण हुन थालेका छन्‌। त्यसकारण पुरानै रूपको हिपोक्रेटिक शपथ लिन लगाउने चिकित्सा अध्ययन संस्थानहरूको संख्या थोरै मात्र हुनुको कारण बुझ्न सक्छौं।

यस शपथमा भएका अन्य परिवर्तनहरू अझ अचम्मका छन्‌। सन्‌ १९९३ मा संयुक्‍त राज्य अमेरिका र क्यानाडामा गरिएका ४३ प्रतिशत शपथहरूमा मात्र डाक्टरहरूलाई तिनीहरूका कार्यहरूका लागि जवाफदेही ठहराउने बाचा गराइएको थियो अनि त्यस शपथका प्रायजसो आधुनिक अनुवादहरूमा त्यस्तो शपथ तोडेकोमा कुनै सजाय तोकिएको छैन। युथानेसिया र गर्भपातलाई तिरस्कार गर्ने अनि देवीदेवताहरूलाई पुकार्ने झनै सामान्य थिएन अनि सर्वेक्षण गरिएका अध्ययन संस्थानहरूले देखाएअनुसार बिरामीहरूसित कुनै यौन सम्बन्ध नराख्ने प्रतिबद्धता व्यक्‍त गरेको शपथ त ३ प्रतिशत मात्र पाइयो।

शपथको महत्त्व

हिपोक्राटिक शपथमा भएका थुप्रै परिवर्तनहरूको बावजुद मुख्यतया महान्‌ तथा नैतिक धारणाहरूमा समर्पित पेसाको लागि शपथहरूको प्रयोग एकदमै महत्त्वपूर्ण मानिन्छ। माथि उल्लिखित १९९३ को सर्वेक्षणले पत्ता लगाएअनुसार बिरामीहरूप्रति चिकित्सकहरूको प्रतिबद्धता अनि सम्भाव्य डाक्टरहरूले आफ्नो बिरामीको यथासम्भव हेरचाह गर्ने प्रतिज्ञा समावेश छ। त्यस्तो घोषणा चिकित्साजगत्‌को मूलभूत सिद्धान्तहरूमा केन्द्रित हुन्छ।

द मेडिकल जर्नल अफ अस्ट्रेलिया-मा प्रकाशित सम्पादकीयमा प्राध्यापक एडमन्ड पेलेग्रीनोले यस्तो लेखे: “आज प्रायजसोको लागि चिकित्सा शपथ भनेको भताभुङ्‌ग भइसकेको पुरातन धारणाको सानो अवशेष हुन सक्छ। तर त्यो सानै अवशेष भए तापनि चिकित्सा पेसामा त्यससम्बन्धी सजगता रहिरहेको हुँदा त्यसलाई बिर्सनु भनेको चिकित्सा क्षेत्रलाई आर्थिक, औद्योगिक वा मुनाफादायी व्यापारको रूपमा लिनु हुनेछ।”

हिपोक्राटिक शपथ वा यसैको आधारमा बनाइएका आधुनिक घोषणाहरू अहिले सान्दर्भिक छन्‌ कि छैनन्‌ भन्‍ने विषय सायद बौद्धिकजगत्‌मा विवादको विषय रहिरहनेछ। तर परिणाम जस्तोसुकै भए तापनि बिरामीहरूको हेरचाह गर्न डाक्टरहरूको प्रतिबद्धता निकै प्रशंसनीय छ। (g04 4/22)

[पृष्ठ २१-मा भएको पेटी]

हिपोक्राटिक शपथ

लुडविग एडेलस्टाइनद्वारा अनुवादित

म अपोलो फिजिसियन र आस्क्लेपियस र हाइजिया र पानाकिया र सबै देवीदेवताहरूको नाउँमा कसम खान्छु अनि तिनीहरूलाई साक्षी बनाउँदै भन्छु कि मेरो क्षमता र विवेकअनुसार म यो शपथ र यो करार पूरा गर्नेछु:

मलाई यो कला सिकाउने व्यक्‍तिलाई मेरो आमाबाबु सरह ठान्‍नेछु, तिनलाई सहयोग गर्दै मेरो जीवन बिताउनेछु, तिनलाई पैसाको खाँचो परेको बेला मेरो केही भाग दिनेछु, तिनका सन्तानलाई मेरो पुरुष वंशका भाइहरू सरह ठान्‍नेछु, तिनीहरू सिक्न चाहन्छन्‌ भने तिनीहरूलाई यो कला सिकाउनेछु, कुनै शुल्क लिनेछैन र करारनामा गर्नेछैन; सबै नियम तथा मौखिक निर्देशनहरू मेरा छोराहरू अनि मलाई सिकाउनेका छोराहरू तथा विद्यार्थीहरूलाई दिनेछु जसले यो करारमा हस्ताक्षर गरेका छन्‌ अनि चिकित्सा नियमअनुसार यो शपथ लिएका छन्‌ तर यसबाहेक अरू कसैलाई दिनेछैन।

मेरो क्षमता र विवेकअनुसार बिरामीहरूको हितको लागि भोजनसम्बन्धी तरिकाहरू अपनाउनेछु; म तिनीहरूलाई हानि र अन्यायबाट जोगाउनेछु।

मसँग कसैले मागेको खण्डमा पनि घातक औषधी दिनेछैन अनि यसो गर्न अरू कसैलाई सुझाव दिनेछैन। त्यसरी नै म कुनै स्त्रीको गर्भपतन गराउने तरिका अपनाउनेछैन। शुद्धता र पवित्रतामा मैले मेरो जीवन र कलाको संरक्षण गर्नेछु।

मैले पत्थरीका रोगीहरूको उपचार गर्नसमेत छुरा प्रयोग गर्नेछैन तर त्यसै काममा लागेका मानिसहरूको खातिर म यो कार्य गर्नदेखि पछि हट्‌नेछु।

म जुनसुकै घरमा गए तापनि बिरामीहरूको हित गर्नेछु, जानाजानी कुनै किसिमको अन्याय गर्नेछैन अनि चाहे तिनीहरू स्वतन्त्र वा दासहरू हुन्‌, पुरुष र स्त्री, तिनीहरूसित कुनै किसिमको बदमासी र खास गरी यौन सम्बन्ध राख्नेछैन।

मैले उपचारको दौडान वा त्यसबाहेक पनि मानिसहरूको जीवनबारे जे देख्छु वा सुन्छु, त्यो कुनै हालतमा बाहिर फैलाउनु उचित हुनेछैन अनि त्यस्ता कुराहरू अरूलाई बताउँदै हिंड्‌नु लज्जास्पद ठान्‍नेछु।

मैले यो शपथ पूरा गरें र यसलाई तोडिनँ भने मलाई जीवन र कलाको आनन्द उठाउने मौका दिइयोस्‌, आगामी सारा दिनहरूमा मानिसहरूमाझ सम्मान पाऊँ; मैले गल्ती गरें र झूटो कसम खाएँ भने यी सबैको ठीक विपरीत विपत्ति मेरो भागमा परोस्‌।

[पृष्ठ २०-मा भएको चित्र]

हिपोक्राटिक सँगालोबाट एउटा पृष्ठ

[पृष्ठ २०-मा भएको चित्रको स्रोत]

Hippocrates and page: Courtesy of the National Library of Medicine