सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

युथ डान्स क्लबहरूमा जाने कि नजाने?

युथ डान्स क्लबहरूमा जाने कि नजाने?

युवा जनहरू सोध्छन्‌ . . .

युथ डान्स क्लबहरूमा जाने कि नजाने?

“म त्यहाँ जानुको एउटा उद्देश्‍य थियो—साँच्चै रमाइलो गर्न।”—शन।

“म कुरा नलुकाई भन्छु, रमाइलो हुन्थ्यो—एकदमै रमाइलो हुन्थ्यो! नाचेको नाच्यै, रातभरि नाच्ने।”—अर्नेस्ट।

युथ डान्स क्लबहरू हालैका वर्षहरूमा निकै लोकप्रिय भएका छन्‌। रमाइलोको खोजीमा लागेका थुप्रै युवाहरू त्यस्ता क्लबहरूमा नियमित धाउने गर्छन्‌।

निस्सन्देह, हामी सबै रमाइलो गर्न चाहन्छौं। अनि बाइबलले “हाँस्ने एउटा समय छ” अनि “नाच्ने एउटा समय” छ भनेर बताउँछ। (उपदेशक ३:४) तथापि, के युथ डान्स क्लबहरूले स्वास्थ्यकर मनोरञ्जन दिने गर्छन्‌? अथवा के त्यस्तो ठाउँमा जानुअघि गम्भीरतापूर्वक सोच्नुपर्ने ठोस कारण छ?

“अनियन्त्रित भोज”

बाइबलले सन्तुलित सामाजिक जमघटहरूलाई गलत ठहराउँदैन तर “भोजको मोजमज्जा” वा “अनियन्त्रित भोजहरू” विरुद्ध भने चेतावनी दिन्छ। (गलाती ५:१९-२१; बाइङ्‌ग्टन) बाइबलकालमा भोजको मोजमज्जाले गर्दा अक्सर अनियन्त्रित व्यवहार हुन्थ्यो। अगमवक्‍ता यशैयाले यसो भने: “धिक्कार तिनीहरूलाई जो मद्य पिउन बिहानै उठ्‌छन्‌, जो मद्यले चूर हुन राती अबेरसम्म बस्छन्‌! तिनीहरूको भोजहरूमा वीणा, सारङ्‌गी, ढोलक, बाँसुरी र मद्य हुन्छन्‌, तर तिनीहरू परमप्रभुको कामको वास्ता गर्दैनन्‌।”—यशैया ५:११, १२.

यी जमघटहरूमा ‘चूर पार्ने मद्य’ र अनियन्त्रित सङ्‌गीत हुन्थ्यो। एकाबिहानै सुरु गरेर राती अबेरसम्म यस्ता कामकुरा चल्थे। यो कुरा पनि विचार गर्नुहोस्‌, यी मोजमस्तीहरूमा परमेश्‍वर नै नभएजस्तो व्यवहार गरिन्थ्यो! त्यसैकारण परमेश्‍वरले त्यस्ता जमघटहरूलाई गलत ठहराउनु कुनै अचम्मको कुरा होइन। तर आजकालका थुप्रै युथ डान्स क्लबहरूमा हुने कुराबारे परमेश्‍वर कस्तो दृष्टिकोण राख्नुहुन्छ?

निम्न तथ्यहरू विचार गर्नुहोस्‌। एउटा कुरा, कुनै-कुनै क्लबहरूमा “क्राउड सर्फिङ” र मसिङजस्ता उन्मत्त हिंस्रक नाचहरू हुने गर्छ। एउटा स्रोतले बताएअनुसार मसिङ भनिने एक प्रकारको नाच “सं.रा.अ.-मा पंकहरूको अभियानपछि १९८० दशकको बीचतिर विकास भएको हो। यो . . . ‘स्लाम-डान्सिङ’ अर्थात्‌ एकअर्कालाई धक्का दिएर गरिने नाचबाट उत्पन्‍न भयो।” मसिङ भन्‍ने नाचमा अक्सर बेस्सरी उफ्रने, जथाभावी टाउको हल्लाउने र एकअर्काको टाउको ठोक्काएको स्वाङ गर्ने अनि एकअर्कालाई ठक्कर दिने गरिन्छ। हातखुट्टा भाँचिनु र चोटपटक लाग्नु त सामान्य कुरा हो अनि कहिलेकाहीं डँडाल्नु तथा टाउकोमा पनि चोटपटक लागेको छ। मृत्युसमेत भएको छ।” क्राउड सर्फिङ गर्दा एउटा हुलले एक जनालाई माथि उचाल्छ अनि सबैले हात-हातमै उचाल्छन्‌। यसो गर्दा त्यसरी उचालिने व्यक्‍ति धेरै चोटि भुइँमा खस्न पुगेको छ जसले गर्दा चोटपटक लागेको छ। केटीहरूको शरीरका अङ्‌गहरू अनुचित ढङ्‌गले खेलाउने अनि समाउने कामहरू पनि सामान्यतया हुने गर्छन्‌।

परमेश्‍वरले यस्तो व्यवहारलाई अनुमोदन गर्नुहुन्‍न भन्‍ने कुरामा कुनै शङ्‌का छैन। आखिर उहाँको वचनले मसीहीहरूलाई “भक्‍तिहीनता र सांसारिक तृष्णाहरू त्याग्न र . . . संयमी . . . जीवन यापन” गर्ने आज्ञा दिन्छ।—तीतस २:१२, नयाँ संशोधित संस्करण।

सङ्‌गीत तथा लागूपदार्थ

प्रायजसो डान्स क्लबहरूमा बजाइने सङ्‌गीत पनि विचार गर्नुहोस्‌। कुनै-कुनैले हार्ड रक वा हेभीमेटल मात्र बजाउँछन्‌ र यस्तो सङ्‌गीतमा मुटु थर्काउने ताल र अश्‍लील बोल हुन्छ। तर थुप्रै क्लबहरूमा भने ऱ्‍याप वा हिप-हप सङ्‌गीत लोकप्रिय छन्‌। यो सङ्‌गीत पनि यौन, हिंसा र विद्रोहले भरिएको हुन्छ। के अस्वस्थ्यकर वातावरणमा त्यस्तो सङ्‌गीत सुन्दा तपाईंलाई असर गर्न सक्छ? नाइटक्लबसम्बन्धी विशेषज्ञ डेभिड हलिङवर्थले यसो भने: “सङ्‌गीतले मानिसहरूको मनमा ठूलो असर पार्छ। मानिसहरूको ठूलो संख्या एक साथ भेला हुँदा यसले आक्रामक मनोवृत्ति उक्साउन सक्छ।” त्यसैकारण संयुक्‍त राज्य अमेरिकाका थुप्रै सहरहरूका डान्स क्लबहरूमा हिंसात्मक घटनाहरू हुनु कुनै अचम्मको कुरा होइन। धेरै मानिसहरू यो छाडा क्रियाकलाप र निष्ठुर आचरणको गुणगान गर्ने सङ्‌गीतजगत्‌को प्रत्यक्ष असर हो भन्छन्‌।” a

हालैका वर्षहरूमा, डान्स क्लबहरूमा लागूपदार्थको दुर्व्यसन पनि व्याप्त भएको छ। एक जना अनुसन्धाताले बताएअनुसार “अवैध लागूऔषधको उपलभ्यता, विविधता र प्रयोग, . . . डान्स क्लबहरूको लोकप्रियता सँगसँगै बढेको छ।” सामान्यतया डान्स ड्रग भनिने लागूऔषधहरू पनि छन्‌। डान्स क्लबमा नियमित धाउनेहरूले दुई तीनवटा लागूऔषध मिसाएर सेवन गर्ने समेत गर्छन्‌। सामान्यतया मिसाइने लागूऔषधहरूमध्ये केटामाइन (यसलाई अंग्रेजीमा स्पेसल के पनि भन्‍ने गरिन्छ) पनि हो, जसले गर्दा क्षतविक्षत भावना, होसहवास गुम्नु, श्‍वासप्रश्‍वाससम्बन्धी समस्या र स्नायु आघात हुन सक्छ। मेटाफेटामाइनले सम्झने क्षमतामा ह्रास, आक्रामक व्यवहार, हिंसा अनि हृदय तथा स्नायुविकार समेत गराउन सक्छ। आम्फेटामाइनबाट बनाइएको एक्स्टसी भनिने लागूऔषध विशेष गरी लोकप्रिय छ। यसले गर्दा गोलमाल, चिन्ता, मुटुको धड्‌कन बढ्‌ने, उच्च रक्‍तचाप अनि हाइपरथर्मिया अर्थात्‌ विषमज्वर हुन सक्छ। एक्स्टसी प्रयोग गर्ने कसै-कसैको मृत्युसमेत भएको छ।

अवैध लागूऔषधको प्रयोग भनेको ‘शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट शुद्ध पार’ भन्‍ने बाइबलको आज्ञा विपरीत छ। (२ कोरिन्थी ७:१) त्यसैले लागूऔषधको व्यापक प्रयोग गरिने वातावरणमा बस्नु बुद्धिमानी होला त?

खराब संगत

अक्सर उद्धरण गरिने यो चेतावनी सम्झनुहोस्‌: “खराब सङ्‌गतले भला चाल-चलनलाई बिगार्दछ।” (१ कोरिन्थी १५:३३) बाइबल समयमा भोजको मोजमस्ती गर्नेहरूझैं डान्स क्लबहरूमा अक्सर जाने अधिकांश युवाहरू परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने कुराबारे चिन्तित नभएजस्तो देखिन्छ। वास्तवमा, तिनीहरूमध्ये प्रायजसो “परमेश्‍वरभन्दा बरु सुख-विलास निको मान्‍ने” मानिसहरू हुन्‌ भन्‍न सकिन्छ। (२ तिमोथी ३:४) के तपाईं त्यस्तो जमातसित साँच्चै घनिष्ठ सम्बन्ध राख्न चाहनुहुन्छ?

कसै-कसैले यस्तो तर्क गर्लान्‌, अरू मसीही युवाहरूसित डान्स क्लबमा जाँदा खतरा कम हुन्छ। तथापि, मसीही युवाहरू जो साँच्चै ‘चाल-चलनमा उदाहरण’ हुन्‌, तिनीहरू त्यहाँ जान चाहनेछैनन्‌। (१ तिमोथी ४:१२) मसीही युवाहरूको समूह डान्स क्लबमा गएर सँगै बसे तापनि त्यहाँको अस्वास्थ्यकर सङ्‌गीत र वातावरण त हुने नै छ। तिनीहरूलाई अरूले नाच्न बोलाउँदा झमेला वा असजिलो परिस्थिति सृजना हुन सक्छ। कोही-कोही युवाहरू झगडामा समेत मुछिन पुगेका छन्‌! यसकारण बाइबलका यी शब्दहरू साँच्चै सत्य छन्‌: “बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान होइन्छ मूर्खहरूसित लागे बरालिन्छ।”—हितोपदेश १३:२०.

उत्तेजक नाच

विचार गर्नुपर्ने अर्को पक्ष नाच पनि हो। “फ्रिक डान्सिङ” अर्थात्‌ अनौठो किसिमको नाच अहिले खास गरी संयुक्‍त राज्य अमेरिकाका किशोर-किशोरीमाझ अत्यन्तै लोकप्रिय भएको छ। सुस्पष्ट यौन बोलीहरू भएको हिप-हप सङ्‌गीतमा प्रायः यो नाच नाचिन्छ। यसबाहेक, यो नाचले यौनसम्बन्ध राखेको हावभाव गर्छ। यस प्रकारको नाचलाई ‘लुगा लगाएर गरिने यौनसम्बन्ध’ भनिएको छ।

के कुनै मसीही युवा यस्तो प्रकारको नाचमा भाग लिन चाहन्छन्‌ र? परमेश्‍वरलाई खुसी पार्ने इच्छा छ भने चाहनेछैनन्‌ किनभने उहाँले हामीलाई “व्यभिचारदेखि अलग रहो” भन्‍ने आज्ञा दिनुभएको छ। (१ कोरिन्थी ६:१८) कसै-कसैले यस्तो तर्क गर्लान्‌, ‘सबैले गरिरहेका छन्‌, त्यसैले त्यति खराब होइन होला।’ तथापि, भीडको व्यवहार गलत हुन सक्छ। (प्रस्थान २३:२) आफ्ना साथीहरूजस्तै हुने दबाब प्रतिरोध गर्न र परमेश्‍वरसामु असल अन्तस्करण कायम राख्न साहसी हुनुहोस्‌!—१ पत्रुस ४:३, ४.

निर्णय गर्ने

यसको मतलब सबै किसिमको नाच नराम्रो भन्‍ने होइन। परमप्रभुको सन्दूक यरूशलेममा ल्याएपछि राजा दाऊद अत्यन्तै हर्षित भएर “जोशको साथ नाचे” भनेर बाइबलले बताउँछ। (२ शमूएल ६:१४) येशूले बताउनुभएको उडन्ता पुत्रको दृष्टान्तमा छोरा फर्केपछि गरिएको रमाहटमा “गान-बजान र नाचेको” आवाज थियो।—लूका १५:२५.

कुनै-कुनै किसिमका नाचहरू तपाईंको इलाकाका मसीहीहरूमाझ स्वीकार्य हुन सक्छ। तैपनि सन्तुलन र असल विवेक आवश्‍यक हुन्छ। किशोर-किशोरीको क्लबमा भन्दा उचित नियन्त्रण तथा रेखदेख हुने मसीहीहरूको जमघटमा नाचगानको आनन्द उठाउनु बेस हो। राम्रो निगरानी गरिएका मसीही जमघटहरूमा जवानहरू मात्रै अलग्गै छुट्टिएर समूह बनाउँदैनन्‌ तर सबै उमेरका मसीहीहरूसित स्वास्थ्यकर संगतिको आनन्द उठाउँछन्‌।

हुन त हो, तपाईं बस्नुहुने इलाकाको कुनै-कुनै रेस्टुरेन्टमा सङ्‌गीत र स्वीकार्य नाच हुन सक्छ। तर त्यस्ता ठाउँहरूमा जाने निमन्त्रणा स्वीकार्नुअघि यी प्रश्‍नहरू सोध्नु बुद्धिमानी हुनेछ: यस ठाउँले कस्तो नाउँ कमाएको छ? के यो युवाहरूलाई मात्र ध्यानमा राखेर खोलिएको ठाउँ हो? हो भने, यहाँको वातावरण कत्तिको स्वास्थ्यकर होला? कस्तो प्रकारको सङ्‌गीत बजाइनेछ? त्यहाँ कस्तो किसिमको नाच नाचिन्छ? म त्यहाँ जाने कुरा मेरो आमाबाबुलाई कस्तो लाग्छ? यस्ता प्रश्‍नहरू सोध्दा आफूलाई खतराबाट टाढै राख्न सकिन्छ।

माथि उल्लिखित शन एकदमै सही निष्कर्षमा पुगेका छन्‌। मसीही हुनुअघि तिनी डान्स क्लबहरू धाउने गर्थे। तिनी यसो भन्छन्‌: “नाइटक्लबहरूमा असाध्यै छाडा व्यवहार हुन्छ। सङ्‌गीत अक्सर पतित हुन्छ, नाच पनि एकदमै अनैतिक हुन्छ अनि त्यहाँ जाने अधिकांशको मनसाय एउटै हुन्छ—त्यो हो, यौनसम्बन्ध राख्नको लागि क्लबमा एउटा जोडी भेट्टाउने।” शनले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरेपछि डान्स क्लबहरू जान छोडे। तिनी आफूले भोगेको पीडादायी अनुभवबाट यस्तो टिप्पणी व्यक्‍त गर्छन्‌: “ती क्लबहरू मसीहीहरूका लागि उपयुक्‍त ठाउँ होइनन्‌।” (g04 4/22)

[फुटनोट]

a अक्टोबर ८, १९९९ को अवेक!-मा “सङ्‌गीतले हामीलाई किन असर गर्छ” भन्‍ने लेख हेर्नुहोस्‌।

[पृष्ठ २४-मा भएको चित्र]

कोही-कोही युवाहरू डान्स क्लबमा एकदमै अप्ठ्यारो परिस्थितिमा परेका छन्‌