सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

राम्रो देखिन मात्र खोजेका हुन्‌?

राम्रो देखिन मात्र खोजेका हुन्‌?

राम्रो देखिन मात्र खोजेका हुन्‌?

स्पेनका ब्यूँझनुहोस्‌! लेखकद्वारा

चराहरूले आफ्नो प्वाँख सफा गर्न र मिलाउन निकै समय खर्च गरेको के तपाईंले कहिल्यै याद गर्नुभएको छ? तिनीहरू हरेक दिन घण्टौं लगाएर आफ्नो प्वाँख मात्र मिलाइरहेका हुन्छन्‌। चाहे सुगा होस्‌ वा पानीचरा, भँगेरा होस्‌ वा सारस जातको चरा, तिनीहरू सबैले दिनहुँ यसो गर्ने गर्छन्‌। किन? के तिनीहरू राम्रो देखिन मात्र खोजिरहेका हुन्‌?

यसको वास्तविक कारण धेरै गहकिलो छ। चराहरूले आफ्नो प्वाँख मिलाउन समय बिताउनु हवाईजहाजको स्याहारसम्भार गर्नु जत्तिकै महत्त्वपूर्ण छ। वास्तवमा, आफ्ना सबै प्वाँखहरू राम्रो अवस्थामा राख्नु भनेको चराको लागि जीवन र मृत्युको सवाल हो। तिनीहरूका प्वाँखहरू धेरै प्रयोगले गर्दा असाध्यै बिग्रने हुँदा यसरी मिलाएको खण्डमा सफा हुनुका साथै परजीवीहरूबाट मुक्‍त हुने मात्र होइन तर तिनीहरूको एरोडाइनामिक सन्तुलन पनि कायम राख्न मदत गर्छ।

यसरी दिनहुँ गरिने कोरीबाटीमा चराले अलग्गै छुट्टिएका प्वाँखहरू अर्थात्‌ बार्ब्समा “काँटा लगाउने” गर्छन्‌। यसरी प्वाँखहरूमा राम्ररी काँटा लगाउँदा चरालाई माथि-माथि उड्‌न सजिलो हुन्छ। बूक अफ ब्रिटिस बड्‌र्स-अनुसार “दुई प्रकारका प्वाँखहरूको समूहलाई विशेष ध्यान दिनुपर्छ, पखेटामा हुने उडान प्वाँखहरू अनि अर्को पुच्छरमा हुने ‘दिशा परिवर्तन’ गर्ने प्वाँखहरू।”

परजीवीहरूले आफ्नो शरीरमा बास नगरून्‌ भनेर पनि चराहरूले निरन्तर संघर्ष गरिरहनुपर्छ। यी परजीवीहरू चराको स्वास्थ्यको लागि खतरा हुनुको अलावा यिनीहरूले वास्तवमा चराको प्वाँख खाइदिन्छन्‌। चुच्चो बिग्रिएका चराहरूले आफ्ना प्वाँखहरू राम्ररी मिलाउन नसक्ने हुनाले साधारण चराको भन्दा यिनीहरूको शरीरमा बढी परजीवीहरू हुने प्रकृतिविद्‌हरूले याद गरेका छन्‌। परजीवीहरू हटाउने प्रक्रियालाई सजिलो बनाउन कुनै-कुनै किसिमका चराहरू आफ्नो पूरै शरीर कमिलाले ढाक्छन्‌ र यी कमिलाहरूको शरीरबाट निस्कने फर्मिक एसिडले प्रभावकारी कीटनाशकको काम गर्छ।

अन्तमा, चराका प्वाँखहरूमा तेल पनि लगाउनुपर्छ। पानीचराहरूको लागि प्वाँखमा हुने तेलले पानी रोक्ने पत्रको काम गर्छ अनि राम्ररी तेल लगाइएका प्वाँखहरूद्वारा सबै चराहरूले प्रतिकूल मौसमबाट सुरक्षा पाउँछन्‌। यो तेल कहाँबाट आउँछ? अंग्रेजीमा प्रीन ग्ल्याण्ड भनिने विशेष ग्रन्थीबाट र यो ग्रन्थी पुच्छरको ठीक माथि हुन्छ। यसले तेल र मैन निकाल्छ अनि चराले बिस्तारै-बिस्तारै आफ्ना प्वाँखहरूसम्म पुऱ्‍याउँछ। यसो गर्दा पनि उड्‌ने प्वाँखहरूले विशेष ध्यान पाउँछन्‌।

त्यसकारण चराले प्वाँखहरू मिलाउन समय बिताइरहेको देख्दा यत्तिकै समय खेर फालिरहेको जस्तो ठान्‍नु पर्दैन। हुन त हो, यस्तो प्रक्रियाले चरालाई राम्रो देखिन मदत गर्नुको साथै स्वस्थ पनि राख्छ। चराजगत्‌मा यसरी प्वाँख मिलाउनु भनेको जीवन र मृत्युको सवाल हो। (g04 4/22)

[पृष्ठ १४-मा भएको रेखाचित्र/चित्र ]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

शाफ्ट

बार्बिसेल

बार्ब्युल

बार्ब

[चित्र]

प्वाँखहरू मिलाउँदा चराहरूले प्वाँखका ससाना भागहरू काँटा लाएर मिलाउँछन्‌

[पृष्ठ १३-मा भएको चित्रको स्रोत]

Cortesía del Zoo de la Casa de Campo, Madrid

[पृष्ठ १४-मा भएको चित्रको स्रोत]

Pelican: Foto: Loro Parque, Puerto de la Cruz, Tenerife; parrot: Cortesía del Zoo de la Casa de Campo, Madrid