सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

समुद्रमा पाइने छेपारोजस्तो एउटा छट्टू जीव

समुद्रमा पाइने छेपारोजस्तो एउटा छट्टू जीव

समुद्रमा पाइने छेपारोजस्तो एउटा छट्टू जीव

“हे अक्टोपस, तिमी कस्तो भयानक छौ! मान्छेलाई सिङ्‌गै निल्छौ मान्छेलाई भित्र च्यापिहाल्छौ; अनि चलहलै गर्न नसक्ने गरी ङ्‌याक्छौ र उसले बिस्तारै-बिस्तारै आफूलाई त्यो भयानक जीव अर्थात्‌ दानवले निलेको महसुस गर्छ।”—भिक्टर ह्‍युगोद्वारा लिखित टोइलर्स अफ द सी।

अक्टोपस निकै गलत प्रचारप्रसारको तारो भएको छ। माथि उल्लिखितजस्तै पुरातन मिथ्या तथा अनौठा कथाहरूले गर्दा अक्टोपसको बदनाम भएको छ। वास्तवमा भन्‍ने हो भने, लगभग ६ मिटर लम्बाइ र ५० किलोग्रामसम्म वजन हुन सक्ने प्रशान्त महासागरीय विशाल अक्टोपसले समेत मानिसहरूलाई साधारणतया कुनै खतरा पुऱ्‍याउँदैन। हालैका वर्षहरूमा यस आठ खुट्टे “दानव” सम्बन्धी अजिबका कथाहरूको बदलामा तथ्यहरू उपलब्ध छन्‌। गोताखोरहरू तथा समुद्री जीवविज्ञानीहरूले विभिन्‍न किसिमका अक्टोपसबारे धेरै कुरा सिकिसकेका छन्‌।

सिकार पक्रने र शत्रुहरूबाट बच्ने

मानिसहरूलाई खानुको साटो अक्टोपसले मुख्यतया क्रस्टेसियन अर्थात्‌ समुद्री जीवहरू खान्छ अनि यसले आफ्नो सिकार पक्रन आठै वटा हात र १,६०० वटा सम्म बलिया चुसकहरू चलाउँछ। यी चुसकहरू चलाएर एउटा सानो अक्टोपसले आफ्नो वजनभन्दा २० गुणा गह्रुङ्‌गो वस्तु घिसार्न सक्छ! कुनै-कुनै अक्टोपसले विषादी पनि छर्छन्‌ जसले सिकारलाई तुरुन्तै निष्क्रिय बनाउँछ। a त्यसपछि अक्टोपसले कडा चुच्चोजस्ता बङ्‌गाराहरूले आफ्नो सिकारलाई लुछ्‌ने गर्छ।

अक्टोपस आफै अर्को प्राणीको सिकार बन्‍न पुग्यो भने नि? यसको एउटा अचम्मको बेफाइदा छ। यसको फिक्का नीलो रगत जुन हेमोग्लोबिनमा नभई हेमोसायनिनमा निर्भर हुन्छ, त्यसमा एकदमै थोरै मात्र अक्सिजन हुन्छ। फलस्वरूप, अक्टोपस छिट्टै थाक्छ। यद्यपि, सील, ह्वेल तथा अन्य सिकारीहरूबाट बच्नको लागि यससित विशेष क्षमताहरू छन्‌।

एउटा त्यस्तो क्षमता, पानीलाई छिचोलेर अगाडि बढ्‌न सक्नु हो। खतरा आइपर्दा अक्टोपसले आफ्नो बाक्लो खोलबाट पानी निकालेर पछिल्तिर जान्छ। यस चतुर प्राणीको बच्ने अर्को एउटा तरिका पनि छ। यसले मसी-वर्षा गर्न सक्छ जसमा पाइने एउटा रङ्‌गीन पदार्थ समुद्री पानीमा घुल्दैन। यसरी अरूले नदेख्ने गरी अक्टोपसले दिशा परिवर्तन गर्न सक्छ अनि मसी-वर्षाले उत्पन्‍न बादल हराउनुअघि नै सुरक्षित स्थानतिर भाग्न सक्छ।

भेष बदल्न खप्पिस

निस्सन्देह, अक्टोपसले सकेसम्म अरूले नपछ्याएको नै चाहन्छ। यो कसरी सिकारीहरूबाट लुक्छ? पानीमुनि गरेका अन्वेषणहरूको लागि ख्याति कमाएका झाक-इभ कस्टोऊले यस्तो लेखे: “मार्सेलमा हाम्रो समूहले अक्टोपसबारे चलचित्र खिच्न थालेको बेला हाम्रा प्रायजसो गोताखोरहरूले त्यस इलाकामा एउटै अक्टोपस नभएको रिपोर्ट गरे; अथवा कुनै समय त्यहाँ थिए भने पनि अहिले नभेट्टिएको बताए। वास्तवमा, गोताखोरहरू अक्टोपसहरू सँगसँगै पौडी खेलिरहेका थिए तर अक्टोपसहरूले रूप परिवर्तन गरेको हुँदा नदेखिएको थियो।” अक्टोपसले कसरी यसो गर्न सक्यो?

पूरा बढिसकेको अक्टोपसको छालामा २० लाख जति क्रोमाटोफोर अथवा रङ्‌गीन कोषहरू हुन्छन्‌, भन्‍ने हो भने प्रति वर्ग मिलिमिटरमा २०० जति। हरेक रङ्‌गीन कोषमा रातो, पहेंलो र कालो पदार्थ हुन्छ। कोष वरपरका मांसपेशीहरू खुम्चाएर वा फुलाएर अक्टोपसले केही सेकेण्डभित्रै गाढा रङ वा रङ्‌गीन बुट्टाहरू देखाउन सक्छ।

व्यङ्‌ग्यात्मक कुरा के हो भने, अक्टोपसको रङ्‌गीन दृष्टि हुँदैन जस्तो छ। यद्यपि, यसको छालामा हुने विभिन्‍न किसिमका रङहरू भने तीनवटा पदार्थभन्दा बढी हुन्छ। ऐनाको पत्र जस्तो हुने इरिडोसाइट कोषहरूले अक्टोपसको वरपरको रङसित मिल्ने गरी प्रकाश परावर्तन गर्छ। त्यति मात्र होइन। मूगाढिस्कोमा लुक्दा भने अक्टोपसले सामान्यतया चिल्लो छालालाई घोच्ने गिर्खाजस्तो बनाएर मूगाको जस्तै खस्रो सतहको रूपमा देखापर्छ।

कर्तव्यनिष्ठ निर्माता तथा घर सँभाल्ने जीव

अक्टोपसको घर भेटाउन गाह्रो हुनु कुनै छक्कलाग्दो कुरा होइन। तिनीहरूले स्थानीय निर्माण सामग्रीहरू प्रयोग गरेर प्रायजसो खोंच र ठूल्ठूला चट्टानहरूमुनि आफ्नो ओडार बनाउँछन्‌। अक्टोपसले ओडारको छाना र पर्खालहरू निर्माण गर्न ढुङ्‌गा, धातुका टुक्राटाक्री, सिपी अनि दुर्घटनाग्रस्त भएर समुद्री पींधमा थुप्रिएका जहाजहरूको अवशेष तथा फोहरमैला प्रयोग गर्छन्‌।

एक चोटि आफ्नो घर बनाइसकेपछि अक्टोपसले यसलाई एकदमै चिटिक्क राख्छ। यसले भित्रको बलौटे भुइँ मिलाउन पानीको फोहरा पठाउँछ। खाना खाइसकेपछि फोहोर सबै बाहिर फ्याँक्छ। यस जीवको स्याहारसम्भारसम्बन्धी क्षमता जाँच्नको लागि कस्टाऊका गोताखोरहरूको टोलीले अक्टोपसको ओडारको भित्ताबाट केही ढुङ्‌गाहरू झिके। अक्टोपसले के गऱ्‍यो? त्यसले एउटा-एउटा ढुङ्‌गा गर्दै पूरै पर्खालको पुनर्निर्माण बिस्तारै गऱ्‍यो! कस्टाऊले यस्तो लेखे: “पर्खाल पूरै पुनर्निर्माण नहोउन्जेल त्यसले काम गरिरह्‍यो; अनि गोताखोरहरूले भत्काएको ओडार जस्तो थियो, दुरुस्तै बनायो।” आफ्नो घर सफा र चिटिक्क राख्ने प्राणीको रूपमा अक्टोपसले राम्रो नाउँ कमाएको छ। ओडारभित्र बालुवा वा फोहोरको डुङ्‌गुर थुप्रिएको देख्दा गोताखोरहरूलाई त्यहाँ भित्र कोही बस्दैन भनेर थाह हुन्छ।

त्यसको अन्तिम घर

सामान्यतया, पोथी अक्टोपस बस्ने सबैभन्दा अन्तिम तथा महत्त्वपूर्ण घर, त्यसले अण्डा पार्ने ओडार हो। पोथीले भालेबाट प्रशस्त मात्रामा शुक्रकीटहरू पाइसकेपछि अण्डा नपारून्जेल यसलाई आफ्नो शरीरमा जम्मा गर्छे तर त्यतिन्जेल हप्तौं लगाएर एउटा उपयुक्‍त घर भेटाउँछे। त्यसपछि, त्यसले आफ्नो ओडारलाई बलियो बनाउँछे अनि हजारौं अण्डाका झुप्पाहरू बनाएर छानामा टाँस्छे। तथापि, नीलो घेरा भएको अक्टोपसले त्यस्तो ओडार बनाउँदैन। त्यसको चहकिलो रङले सिकारीहरूलाई चेतावनी दिने हुँदा खुला समुद्रमा नै आफ्ना भुराहरूको हेरचाह गर्छे अनि आफू खतरनाक प्राणी हो भनेर अरूलाई जनाउ दिन्छे।

अक्टोपस एउटा कर्तव्यनिष्ठ आमा हो। अण्डा पारिसकेपछि त्यसले सम्भवतः खाना खान इन्कार गर्नेछ। बरु, अण्डाको सुरक्षा गर्छे, सफा गर्छे अनि वरपर चलहल गर्नको लागि पानीको प्रबन्ध मिलाइदिन्छे र सिकारीहरू भगाउनको लागि प्रतिरक्षात्मक आसन ग्रहण गर्छे। सन्तान जन्माइसकेपछि पोथी अक्टोपसको मृत्यु हुने भए तापनि त्यसले अन्तसम्मै भुराहरूको हेरचाह गर्छे। कस्टाऊले यसो भने: “पोथी अक्टोपसले आफ्ना अण्डाहरूलाई कुनै सुरक्षा नदिई बेवारिसे छोडेको रिपोर्ट कतैबाट प्राप्त भएको छैन।”

धेरै किसिमका अक्टोपसहरूमा भर्खरै अण्डाबाट निस्केका भुराहरू प्लाङ्‌टन अर्थात्‌ सूक्ष्म जीवको रूपमा पानीको सतहमा देखापर्छन्‌। थुप्रैलाई अन्य समुद्री जीवहरूले खान्छन्‌। तर केही हप्तापछि, बचेकाहरू समुद्रको पींधमा फर्कन्छन्‌ अनि पूरै हुर्केर तीन वर्षसम्म बाँच्छन्‌।

तिनीहरू कत्तिको चलाख हुन्छन्‌?

कसै-कसैलाई जनावरहरूको सन्दर्भमा “बुद्धि” भन्‍ने शब्द प्रयोग गर्दा अनुभवबाट सिक्ने तथा समस्या समाधान गर्ने क्षमताजस्तो लाग्छ। त्यस सन्दर्भमा कस्टाऊको यो टिप्पणीलाई विचार गर्नुहोस्‌: “अक्टोपसको लजालुपन, सोचविचार पुऱ्‍याएर गरेको प्रतिक्रिया हो र यो मुख्यतया सतर्कता र होसियारीपनमा आधारित हुन्छ। . . . गोताखोरले आफू कुनै हानि गर्न आएको होइन भनेर देखाउन सकेको खण्डमा अरू ‘जंगली’ जनावरभन्दा चाँडै नै त्यसले आफ्नो लजालु स्वभाव त्याग्छ।”

डँडाल्नु नभएका प्राणीहरूमध्ये अक्टोपसको सबैभन्दा विकसित दिमाग र आँखाहरू हुन्छन्‌। हाम्रो जस्तै तिनीहरूको आँखा पनि राम्ररी फोकस गर्न अनि प्रकाशको परिवर्तनअनुसार छाँटकाँट गर्न सक्ने हुन्छ। दिमागको एउटा अंश, दृष्टि इकाईले आँखाबाट प्राप्त जानकारीको अर्थ लगाउँछ अनि स्पर्शको तीखो आभाषले गर्दा अक्टोपसले एकदमै चलाख निर्णयहरू गर्न सक्छ।

अक्टोपसले सिसी भित्र भएको क्रस्टेसियन निकाल्न अचम्मसित बिर्को निकालेको देखेको कुरा पनि थुप्रै वैज्ञानिकहरूले रिपोर्ट गरेका छन्‌। अरूले पनि कुनै भाँडोभित्र भएको खानेकुरा निकाल्न अक्टोपसले बिर्को खोलेको रिपोर्ट गरेका छन्‌। क्यानाडाको भ्यानकुभर अक्वेरियमको एउटा अक्टोपस पाइपबाट निस्केर नजिकैको ट्याङ्‌कमा भएको माछा खान हरेक रात हराउने गर्थ्यो।

अक्टोपसको चलाखीपनको सन्दर्भमा एक्सप्लोरिङ द सिक्रेट्‌स अफ नेचर [अंग्रेजी] पुस्तक यस्तो निष्कर्षमा पुग्छ: “हामी प्राइमेटहरूलाई सबैभन्दा बुद्धिमानी प्राणी भन्‍ने श्रेय दिन्छौं तर अक्टोपस पनि बुद्धिमान्‌ प्राणीहरूमध्ये नै पर्छ भन्‍ने प्रमाण पाइन्छ।”

अक्टोपसको चलाखीपनले हामीलाई बाइबलले “साह्रै बुद्धिमानी” भन्‍ने प्राणीहरूबारे स्मरण गराउन सक्छ। (हितोपदेश ३०:२४) ती साँच्चै सृष्टिका चमत्कार हुन्‌। वैज्ञानिक तथा गोताखोरहरूमाझ भिक्टर ह्‍युगोको परिकल्पनामा आधारित “भय” अब छैन। यस प्राणीबारे अध्ययन गर्ने व्यक्‍तिहरू समुद्रको छट्टू छेपारो देखेर मन्त्रमुग्ध हुन्छन्‌। (g04 4/22)

[फुटनोट]

a अस्ट्रेलियामा पाइने नीलो घेरा भएको अक्टोपस मात्र मानिसहरूको लागि घातक मानिन्छ। यसको टोकाइले गर्दा श्‍वासप्रश्‍वासमा आघात पुग्न सक्छ।

[पृष्ठ १५-मा भएको चित्र]

नीलो घेरा भएको अक्टोपस

[स्रोत]

© Jeffrey Rosenfeld

[पृष्ठ १६-मा भएको चित्र]

सिकारी माछाको मुखैनेर आफ्नो रूप पूरै परिवर्तन गरेको प्रशान्त महासागरीय मूगा अक्टोपस। के तपाईं अक्टोपस देख्न सक्नुहुन्छ?

[पृष्ठ १७-मा भएको चित्र]

अक्टोपस विभिन्‍न किसिम तथा रङका हुन्छन्‌

[पृष्ठ १७-मा भएको चित्र]

ससाना भुराहरू सतहमा उत्रन खोज्दै

[स्रोत]

© Fred Bavendam

[पृष्ठ १६-मा भएको चित्रको स्रोत]

Top left: © Roger T. Hanlon; above: © Jeffrey Rosenfeld