हामीलाई आशा किन चाहिन्छ?
हामीलाई आशा किन चाहिन्छ?
अघिल्लो लेखको सुरुमा उल्लिखित कलिलो उमेरमै क्यान्सरको सिकार भएका डानिएलले यदि आफ्ना बलिया आशाहरूलाई जीवितै राखेका भए के हुन्थ्यो होला? के उनले क्यान्सरलाई जित्न सक्थे? के उनी आज जीवितै हुन्थे? आशाका कट्टर पक्षधरहरूले समेत यस्तो दाबी गर्ने छैनन्। यहाँ एउटा महत्त्वपूर्ण बुँदा लुकेको छ। आशालाई चाहिनेभन्दा बढी महत्त्व दिनु हुँदैन। यो रोगको अचूक औषधी होइन।
सी बी एस न्युजलाई अन्तरवार्ता दिंदा डा. नेथन चर्नीले बिरामीहरूसित व्यवहार गर्दा आशाको प्रभावलाई बढाइचढाइ गर्नुका खतराबारे चेतावनी दिंदै यसो भने: “यहाँ यस्ता परिस्थितिहरू छन्, जहाँ पतिहरूले आफ्ना पत्नीहरूलाई पर्याप्त मनन नगरेको अनि पर्याप्त सकारात्मक सोच नराखेको भनी हप्काएका छन्।” डा. चर्नीले अझ यसो भने, “यस्तो सोचाइले रोगलाई नियन्त्रण गर्नेसम्बन्धमा भ्रम सृजना गर्छ, यसो गर्नु भनेको स्वास्थ्यस्थिति खस्कँदा ट्युमर राम्ररी नियन्त्रण नहुनुको दोष रोगीलाई दिए जस्तै हो, यो त न्याय भएन नि।”
वास्तवमा भन्ने हो भने, प्राणघातक रोगसित सङ्घर्ष गरिरहेकाहरूले एकदमै थकाइलाग्दो अनि कठिन युद्ध लडिरहेका हुन्छन्। तिनीहरूका प्रियजनहरू, तिनीहरूमाथि पहिले नै लादिएको गह्रौं बोझमाथि थप दोषी भावनाको बोझ थुपार्न त पक्कै पनि चाहँदैनन्। त्यसोभए आशाको कुनै महत्त्व छैन भनी हामी भन्न सक्छौं त?
अवश्य सक्दैनौं। उदाहरणका लागि, माथि उल्लिखित डाक्टर, प्यालिएटिभ केयरका विशेषज्ञ पनि हुन् र प्यलिएटिभ केयर भनेको रोगसित प्रत्यक्ष लड्न अथवा जीवनलाई लम्ब्याउन नभई बिरामी बाँचुन्जेल आराम र सुबिस्तासित राख्ने उपचार हो। यस्ता डाक्टरहरू एकदमै सिकिस्त अवस्थामा समेत बिरामीको मनलाई खुसी राख्ने खालका उपचारको महत्त्वमाथि बलियो विश्वास राख्छन्। आशाले बिरामीको मनलाई खुसी राख्नुका साथै अन्य धेरै कुराहरू गर्न सक्छ भन्ने उल्लेखनीय प्रमाणहरू छन्।
आशाको महत्त्व
चिकित्सासम्बन्धी पत्रकार डा. डब्लु. गिफर्ड-जोन्स यसो भन्छन्, “आशा एउटा प्रभावकारी उपचार हो।” उनले प्राणघातक रोग लागेका बिरामीहरूलाई दिइने भावनात्मक सहयोगको महत्त्व कत्तिको छ भनी थाह पाउन गरिएका विभिन्न अध्ययनहरूको पुनरावलोकन गरे। भावनात्मक
सहयोगले मानिसहरूलाई अझ बढी आशावादी अनि सकारात्मक मनोवृत्ति कायम राख्न मदत गर्छ भन्ने अनुमान गरिन्छ। सन् १९८९ मा गरिएको एउटा अध्ययनले भावनात्मक सहयोग पाएकाहरू लामो समयसम्म बाँच्ने कुरा पत्ता लगाएका छन् तर हालैका अनुसन्धानहरूले यसलाई त्यति तथ्य मानेका छैनन्। यद्यपि, भावनात्मक सहयोग पाएका बिरामीहरूलाई यस्तो सहयोग नपाएकाहरूको तुलनामा डिप्रेशन अर्थात् नैराश्य अनि पीडाले कमै मात्र सताएको कुरा अध्ययनहरूले देखाउँछ।मुटुको धमनीसम्बन्धी रोगमा आशावादी अनि निराशावादी दृष्टिकोणले खेल्ने भूमिकाबारे गरिएको अर्को अध्ययनलाई विचार गर्नुहोस्। जीवनप्रति मानिसहरूले कस्तो दृष्टिकोण राख्छन्, आशावादी या निराशावादी भनी १,३०० जना भन्दा धेरै समावेश भएको एउटा समूहलाई एकदमै होसियारसाथ विश्लेषण गरियो। दस वर्षपछि तिनीहरूमध्ये १२ प्रतिशतभन्दा धेरै मुटुको धमनीसम्बन्धी रोगबाट पीडित भएको कुरा पत्ता लाग्यो। तिनीहरूमध्ये निराशावादीहरूको संख्या आशावादीहरूको भन्दा झन्डै दुई गुणा बढी थियो। हार्डबर्ड स्कूल अफ पब्लिक हेल्थ-मा स्वास्थ्य तथा सामाजिक व्यावहारका सहायक प्राध्यापक लोरा कुबजानस्की यस्तो टिप्पणी गर्छिन्: “ ‘सकारात्मक सोच राख्नु’ स्वास्थ्यको लागि राम्रो हो भन्ने विचारलाई पुष्टि गर्ने प्रायजसो प्रमाणहरू कथाकै रूपमा मात्र सीमित रहेका छन्—तर मुटुसम्बन्धी रोगको क्षेत्रमा गरिएको यो अध्ययनले यस विचारलाई पुष्टि गर्ने तथ्यपरक चिकित्सकीय प्रमाण उपलब्ध गराएको छ।”
आफ्नो स्वास्थ्यप्रति नकारात्मक दृष्टिकोण राख्नेहरू सकारात्मक दृष्टिकोण राख्नेहरूको तुलनामा शल्यक्रिया पश्चात् ढिलो निको हुने तथ्य केही अध्ययनहरूबाट पत्ता लागेको छ। आशावादी दृष्टिकोणको सम्बन्ध दीर्घजीवनसित समेत गाँसिएको छ! वृद्धावस्थाबारे राखिने सकारात्मक तथा नकारात्मक दृष्टिकोणबाट वृद्धहरू कसरी प्रभावित हुन्छन् भन्नेबारे एउटा अनुसन्धान गरियो। वृद्धहरूलाई, वृद्धावस्थासित गाँसिएको पाको बुद्धि र अनुभवी जस्ता सन्देशहरूलाई समय-समयमा प्रवाहित गरिदिंदा तिनीहरू बढी तागतिलो अनि फूर्तिलो भएर हिंडेको पाइयो। वास्तवमा, तिनीहरूमा आएको यस्तो किसिमको प्रगति १२ हप्ते व्यायाम कार्यक्रमबाट हासिल हुने नतिजा बराबरको थियो।
आशा, आशावादी तथा सकारात्मक दृष्टिकोण जस्ता भावनाहरूले स्वास्थ्यलाई लाभ पुऱ्याएजस्तो देखिनुको कारण के हो? यकिनकासाथ यही हो भनेर जवाफ दिन सम्भवतः वैज्ञानिक तथा डाक्टरहरूले मानव मस्तिष्क तथा शरीरलाई पूर्णतया नबुझेका हुन सक्छन्। यद्यपि, यसै विषयमा अध्ययन गर्ने विशेषज्ञहरूले बौद्धिक अनुमान भने गर्न सक्छन्। उदाहरणको लागि स्नायुशास्त्रका एक प्राध्यापक यस्तो सल्लाह दिन्छन्: “आनन्दित अनि आशावादी हुनु साह्रै सुखद कुरा हो। यो एउटा आनन्ददायक अवस्था हो जसले तनाव हुन दिंदैन अनि यस्तो अवस्थामा शरीर फस्टाउँछ। स्वस्थ्य रहनको लागि मानिसले गर्न सक्ने यो एउटा अर्को उपाय हो।”
यस्तो विचार केही डाक्टर, मनोचिकित्सक अनि वैज्ञानिकहरूलाई नयाँ र बिलकुलै सृजनात्मक लागे तापनि बाइबलका विद्यार्थीहरूको लागि भने यो कुनै नौलो कुरा होइन। करिब ३,००० वर्षअघि बुद्धिमान राजा सुलेमान यस्ता भावनाहरू लेख्न प्रेरित भए: “प्रसन्न हृदय असल औषधी हो, तर पेलिएको आत्माले हड्डीहरू सुकाउँछ।” (हितोपदेश १७:२२, नयाँ संशोधित संस्करण) यहाँ दिइएको सन्तुलनलाई विचार गर्नुहोस्। यो शास्त्रपदले प्रसन्न हृदयले जुनसुकै रोग पनि निको पार्नेछ भनी भनेको छैन तर यसले केवल “प्रसन्न हृदय असल औषधी हो” भनी बताउँछ।
वास्तवमा यस्तो प्रश्न सोध्नु जायज छ, यदि आशा साँच्चै औषधी हो भने कुन चाहिं डाक्टरले पो यसलाई सिफारिस गर्दैनन् र? यसको अतिरिक्त, आशाले स्वास्थ्य क्षेत्रबाहेक अन्य धेरै क्षेत्रहरूमा पनि लाभ पुऱ्याएको छ।
आशावादी हुनु, निराशावादी हुनु अनि तपाईंको जीवन
आशावादीहरूले आफ्नो सकारात्मक दृष्टिकोणले धेरै पक्षमा लाभ उठाउँछन् भनी अनुसन्धाताहरूले पत्ता लगाएका छन्। तिनीहरूले स्कूल, काम गर्ने ठाउँ अनि खेलकुदको क्षेत्रमा समेत राम्रो गर्न सक्छन्। उदाहरणका लागि, एउटा महिला एथेलेटिक्स टोलीमाथि अध्ययन गरियो। प्रशिक्षकहरूले महिलाहरूको खेल दक्षताबारे मात्र विस्तृत मूल्याङ्कन प्रस्तुत गरे। त्यति नै बेला, महिलाहरू कत्तिको आशावादी छन् भन्ने थाह पाउन होसियारसाथ सर्वेक्षण गरियो। तिनीहरूको क्षमताबारे प्रशिक्षकहरूद्वारा गरिएको मूल्याङ्कनको तथ्याङ्कभन्दा तिनीहरू कत्तिको आशावादी छन् भनी गरिएको सर्वेक्षण नै तिनीहरूको भावी प्रदर्शन निर्धारण गर्ने प्रमुख तत्त्व बनेको कुरा परिणामबाट पत्ता लाग्यो। आशाको प्रभाव किन यत्तिको सशक्त भएको?
आशावादी दृष्टिकोणको ठीक विपरीत निराशावादी दृष्टिकोणलाई अध्ययन गरेर धेरै तथ्यहरू पत्ता लागेका छन्। सन् १९६० को दशकमा गरिएका परीक्षणहरूमा जनावरहरूको स्वभावहरूबारे अप्रत्याशित तथ्यहरू फेलापरे जसले गर्दा अनुसन्धाताहरूले “आफै सिकिने निस्सहायपन” भन्ने टुक्का निकाले। मानवहरू पनि यस्तै प्रकारका लक्षणहरूबाट पीडित हुन सक्ने कुरा तिनीहरूले पत्ता लगाए। उदाहरणको लागि, परीक्षणमा सहभागी व्यक्तिहरूलाई कानै खाने आवाज सुनाइयो अनि लहरै राखिएका बटनहरूलाई थिचेर ती आवाजहरूलाई बन्द गर्न सकिने कुरा बताइयो। तिनीहरू त्यस आवाजलाई बन्द गर्न सफल भए।
दोस्रो समूहलाई पनि त्यसै गर्न लगाइयो—तर बटन थिच्दा कुनै असर देखिएन। तपाईं कल्पना गर्न सक्नुहुन्छ, दोस्रो समूहका धेरैजसो व्यक्तिले निस्सहायपनको भावना विकास गरे। दोस्रो परीक्षणमा तिनीहरूले कुनै पनि कदम चाल्न मानेनन्। जे जस्तो गरे तापनि केही फाइदा हुनेछैन भन्ने कुरामा तिनीहरू विश्वस्त थिए। यद्यपि, त्यस दोस्रो समूहका आशावादी दृष्टिकोण राख्नेहरू भने त्यस्तो निस्सहाय भावना आउँदासमेत हरेस खाएनन्।
पहिले-पहिले गरिएका यस्ता केही परीक्षणहरू तयार गर्न मदत गर्ने डा. मार्टिन सेलिगमेन आशावादी अनि निराशावादी अध्ययनमै आफ्नो जीवन बिताउन उत्प्रेरित भए। आफूले आफैलाई निस्सहाय ठान्ने झुकाव भएका व्यक्तिहरूको सोच्ने तरिकाबारे उनले गहन अनुसन्धान गरे। निराशावादी सोचाइले जीवनका सङ्घर्षहरूमा वाधा पुऱ्याउँछ अनि कुनै पनि काम गर्न दिंदैन भन्ने निष्कर्षमा उनी पुगे। सेलिगमेन निराशावादी सोचाइ तथा यसका असरबारे निचोडमा यसरी बताउँछन्: “कुनै पनि विपत्तिको दोष आफ्नै टाउकोमा थुपार्ने निराशावादी सोचाइ राख्ने हाम्रो बानी परिसकेको छ भने यस्ता सोचाइहरूले जरा गाडेर बस्छ अनि हामीले गर्ने हरेक कामकुरालाई यसले असर गर्छ, त्योभन्दा दुःखलाग्दो कुरा त हामीले चिताउँदै नचिताएको बेला विपत्तिहरू हामीमाथि आइपर्नेछ भन्ने कुरा मेरो पच्चीस वर्षको अध्ययनबाट मैले बुझेको छु।”
माथि पनि उल्लेख गरेझैं, आज कुनै-कुनै व्यक्तिहरूको लागि यस्ता निचोडहरू नौला हुन सक्छन् तर बाइबलका विद्यार्थीहरूको लागि यो कुनै नौलो कुरो होइन। यस हितोपदेशलाई ध्यान दिनुहोस्: “सुदिनमा तेरो बल घट्यो भनेदेखि विपत्को दिनमा तँ झन् कति असहाय हुनेछस्।” (हितोपदेश २४:१०) हो, बाइबलले स्पष्टसित भन्छ, नकारात्मक विचारधारा अनि निरुत्साहले तपाईंको काम गर्ने शक्तिलाई क्षीण बनाइदिन्छ। यद्यपि, तपाईं निराशा विरुद्ध लड्न अनि आफ्नो जीवनमा आशावादी दृष्टिकोण र आशा ल्याउन के गर्न सक्नुहुन्छ? (g04 4/22)
[पृष्ठ ४-मा भएको चित्र]
आशाले धेरै ठूलो फाइदा पुऱ्याउन सक्छ