सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

किन यति धेरै मानिसहरूलाई परागज्वरो हुन्छ?

किन यति धेरै मानिसहरूलाई परागज्वरो हुन्छ?

किन यति धेरै मानिसहरूलाई परागज्वरो हुन्छ?

स्पेनका ब्यूँझनुहोस्‌! लेखकद्वारा

तपाईंको आँखा चिलाइरहेको छ र आँसु बगिरहेको छ, दिनभरि छिउँ गर्नुहुन्छ, नाकबाट पातलो सिंगान बगिरहेको छ अनि सास फेर्न गाह्रो भइरहेको छ। के भएको होला? तपाईंलाई रुघा लागेको हुन सक्छ। तर तपाईं परागकणको वरपर हुनुभएको बेला यी लक्षणहरू देखापरेका छन्‌ भने चाहिं तपाईंलाई परागज्वरो अर्थात्‌ हे फिभर भएको हुन सक्छ। त्यसो हो भने परागज्वरो हुने तपाईं एक्लो हुनुहुन्‍न। परागज्वरोद्वारा सङ्‌क्रमित हुनेहरूको संख्या वर्षैपिच्छे बढ्‌दैछ।

“परागज्वरो भनेको अरू केही नभई शरीरले खतरा ठानेका वस्तुहरूप्रति यसले चाहिनेभन्दा बढ्‌ता देखाउने प्रतिक्रिया हो” भनी मूहार डि ओइ भन्‍ने पत्रिका रिपोर्ट गर्छ। “एलर्जी हुने व्यक्‍तिहरूको रोग प्रतिरोधात्मक प्रणालीले वास्तवमा हानिकारक नभए तापनि—परागकण लगायत—यसले बाह्‍य वस्तु ठानेका सबै कुराहरूलाई अस्वीकार गर्छ।” रोग प्रतिरोधात्मक प्रणालीले यसरी चाहिनेभन्दा बढ्‌ता प्रतिक्रिया देखाउँदा माथि वर्णन गरिएका लक्षणहरू देखापर्छन्‌।

सन्‌ १८१९ मा अङ्‌ग्रेज चिकित्सक जोन बोस्टकले परागज्वरोको परिभाषा दिए। यसको परिभाषा दिने पहिलो व्यक्‍ति तिनी नै थिए। बोस्टकले परागज्वरो आउने याममा आफैलाई भएको हैरान पार्ने लक्षणहरू लिपिबद्ध गरे। तिनको विचारमा धान काट्‌दा यी लक्षणहरू देखिएका थिए। त्यसैकारण धानको बोट अर्थात्‌ पराललाई अङ्‌ग्रेजीमा हे भनिने भएकोले यसको नाउँ पनि तिनले हे फिभर राखे। तर पछि गएर मात्र थाह लाग्यो कि थुप्रै प्रकारका परागकणहरूले यस्तो प्रतिक्रिया उत्पन्‍न गराउँछन्‌। उन्‍नाइसौं शताब्दीको सुरुमा बोस्टकले इंग्ल्याण्डमा एकदमै कम्ती मानिसहरू मात्र यसबाट प्रभावित भएको पाए।

त्यसोभए, आज किन यति धेरै मानिसहरू परागज्वरोद्वारा पीडित हुन्छन्‌ त? स्पेनको म्याड्रिडमा अवस्थित सेन्टर फर आज्मा एण्ड एलर्जीज्‌का निर्देशक डा. काभियर सुबिसा अनुसन्धाताहरूले अनुसन्धान गरिरहेका दुइटा सिद्धान्त उल्लेख गर्छन्‌। एउटा सिद्धान्तअनुसार यसको एउटा कारक डिजेल इन्जिन हो। डिजेल बल्दा निस्कने कणहरूले एलर्जी गराउने तत्त्वहरूलाई सक्रिय बनाउन सक्छन्‌ भनेर विश्‍वास गरिएको छ। एलर्जी विशेषज्ञ डा. क्वान कोट्‌नी पोमरका अनुसार “औद्योगिक राष्ट्रहरूमा कुल जनसंख्याको बीस प्रतिशतसम्म व्यक्‍तिहरूलाई परागज्वरोले असर गर्छ र यो सहरमा अझ बढी हुन्छ।”

दोस्रो सिद्धान्तअनुसार चाहिं एकदमै सफा-सुग्घर रहँदा यसको सङ्‌क्रमण हुन्छ। ‘हामी जीवाणुरहित अप्रेसन कोठामा जन्मन्छौं, जीवाणुरहित खाना खान्छौं, विभिन्‍न थरीका रोगहरू विरुद्ध खोप लिन्छौं र बिरामी भयौं भने तुरुन्तै एन्टिबायोटिक खाइहाल्छौं। त्यसैले बाल्यकालदेखि नै हाम्रो रोग प्रतिरोधात्मक प्रणाली सजिलै एलर्जी हुने खालको हुन्छ’ भनी डा. सुबिसा बताउँछन्‌।

तपाईं रोग प्रतिरोधात्मक प्रणालीले चाहिनेभन्दा बढ्‌ता देखाउने प्रतिक्रियाको सिकार हुनुहुन्छ भने निराश नहुनुहोस्‌! उपयुक्‍त निदान र उपचारद्वारा परागज्वरोका हैरान पार्ने लक्षणहरूको मात्रा र दोहोरिने क्रम दुवै नियन्त्रण गर्न तथा घटाउन सकिन्छ। (g04 5/22)