सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जनसांख्यिकी, बाइबल र भविष्य

जनसांख्यिकी, बाइबल र भविष्य

जनसांख्यिकी, बाइबल र भविष्य

स्वीडेनका ब्यूँझनुहोस्‌! लेखकद्वारा

बीसौं शताब्दीको सुरुमा मानव परिवारका सदस्यहरूको संख्या १ अरब ६५ करोड थियो भने त्यस शताब्दीको अन्तमा उक्‍त संख्या छक्कैलाग्दो गरी बढेर ६ अरब पुग्यो। के पृथ्वीको जनसंख्या यस्तै तीव्र गतिमा बढिरहनेछ? के यस सहस्राब्दीमा जनसंख्या विस्फोट हुनेछ? यस्ता जटिल प्रश्‍नहरूसित भिड्‌ने विशेषज्ञहरूलाई जनसंख्याशास्त्री भनिन्छ र तिनीहरूको अध्ययन क्षेत्रलाई जनसांख्यिकी भनिन्छ।

वेब्स्टर्स डिक्सनरी-ले जनसांख्यिकीलाई यसरी परिभाषित गरेको छ: “[विशेष गरी] आकार तथा घनत्व, वितरण र अन्य महत्त्वपूर्ण तथ्याङ्‌कहरूको आधारमा गरिने जनसंख्याको तथ्याङ्‌कगत अध्ययन।” विशेषज्ञहरूले जनसंख्यामा प्रत्यक्ष असर पार्ने तीनवटा तत्वबारे अध्ययन गर्छन्‌—जन्मदर (जन्मिएका बच्चाहरूको संख्या); मृत्युदर (मर्ने व्यक्‍तिहरूको संख्या) र बसाइँ सराइ (एउटा देशबाट अर्को देशमा सर्नेहरूको संख्या)।

ऐतिहासिक जनसांख्यिकी भनेको विगतको समयमा जनसंख्यामा भएको वृद्धि तथा उतारचढावको अध्ययन हो। ऐतिहासिक जनसंख्याशास्त्रीहरूले लिखित सामग्री, भग्नावशेष, अस्थिपञ्जर तथा अरू मानव निर्मित पुरातात्त्विक वस्तुहरूको गहिरो अध्ययन गरेर पुरातन सभ्यताबारे जतिसक्दो धेरै सिक्छन्‌। ऐतिहासिक जनसांख्यिकी अलिकति अनुमान र अलिकति विज्ञानमा आधारित हुन्छ। एट्‌लास अफ वर्ल्ड पपुलेसन यसरी स्वीकार्छ: “वर्तमान समयमा भएको विकासको आधारमा हेर्ने हो भने ऐतिहासिक जनसंख्याशास्त्रीहरूको परिकल्पनालाई परीक्षण गर्न सकिंदैन; त्यसैले ती तथ्याङ्‌कगत रूपमा भरपर्दा हुने सम्भावनै छैन।” तैपनि, जनसांख्यिकी सम्बन्धी धारणा बाइबल विद्यार्थीहरूका लागि चासोको विषय हुनुपर्छ। वास्तवमा, प्रायजसो ती बाइबल विवरणहरू अनुरूप नै छन्‌।

जलप्रलयपछिको जनसंख्या वृद्धि

नूहको दिनको जलप्रलयबाट जम्मा आठ जना मानिस मात्र बचे भनी बाइबल बताउँछ। केही जनसंख्याशास्त्रीहरूको अनुमानअनुसार त्यसको लगभग १,४०० वर्षपछि पृथ्वीको जनसंख्या पाँच करोड पुगेको हुन सक्छ। के १,४०० वर्षभित्रमा ८ जना मानिसबाट बढेर लगभग पाँच करोड पुग्नु हुनै नसक्ने कुरा हो?

पहिले त, पाँच करोड भन्‍ने अनुमान—अनुमान मात्र हो। तथापि, बाइबलमा उत्पत्ति ९:१ मा उल्लेख गरिएको कुरामा ध्यान दिनु रोचक छ: “परमेश्‍वरले नूह र तिनका छोराहरूलाई आशिष दिएर भन्‍नुभयो, ‘फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिंदै जाओ।’ ” त्यसपछि, अध्याय १० र ११ मा हामी नूहका छोराहरू शेम, हाम र येपेतबाट ७० परिवार आएको कुरा पाउँछौं। पढ्‌दै जाँदा हामी शेमदेखि अब्राहामसम्मको वंशावली पाउँछौं, जसले ‘छोराछोरीहरू जन्माए।’ “पृथ्वीमा भरिंदै जाओ” भन्‍ने परमेश्‍वरको आज्ञा अनुरूप नै यो समयमा जन्मदर उच्च भएको हुनुपर्छ।

मृत्युदर नि? उत्पत्तिका उक्‍त अध्यायहरूले जलप्रलयको सयौं वर्षपछिसम्म मानिसहरूको आयु असाध्यै लामो थियो भनेर बताउँछ। a मृत्युदरको तुलनामा जन्मदर उच्च हुँदा तीव्र गतिमा जनसंख्या वृद्धि हुन्छ।

मिश्रमा इस्राएलीहरूको प्रवास

इस्राएलीहरू मिश्र देशमा हुँदा तिनीहरूमाझ भएको तीव्र जनसंख्या वृद्धिसम्बन्धी बाइबल विवरणलाई कुनै-कुनै अनुसन्धाताहरूले शङ्‌काको दृष्टिले हेर्छन्‌। बाइबलले बताएअनुसार याकूबका बुहारीहरू बाहेक “मिश्रमा आउने याकूबका घरका सबै जम्मा सत्तरी जना थिए।” (उत्पत्ति ४६:२६, २७) यद्यपि, छक्कलाग्दो कुरा के छ भने, २१५ वर्षपछि इस्राएलीहरूले मिश्र छोड्‌दा “केटा-केटीहरू छोड़ेर करिब छ लाख पैदल हिंड़ने मानिसहरू थिए।” (प्रस्थान १२:३७) आइमाई र केटाकेटीलाई पनि गन्‍ने हो भने इस्राएलीहरूको संख्या ३० लाखभन्दा बढी भएको हुन सक्छ! यत्तिका वृद्धि हुन सम्भव छ होला र?

यस प्रश्‍नको जवाफको लागि, मिश्रमा इस्राएलीहरूको जनसंख्या वृद्धिबारे बाइबलमा भनिएको छ होसियारपूर्वक ध्यान दिनुहोस्‌: “इस्राएलका सन्तानचाहिं फल्दो-फुल्दो भए, र प्रशस्त गरी वृद्धि भएर संख्यामा बढ़े, र ज्यादै शक्‍तिशाली भए। यहाँसम्म कि देश तिनीहरूले भरिए।” त्यसबेला इस्राएलीहरूको वृद्धि असाधारण थियो।—प्रस्थान १:७.

चाखलाग्दो कुरा के छ भने वर्तमान समयका राष्ट्रहरूमा पनि यस्तै वृद्धि देखिएको छ, जस्तै सन्‌ १९८० को दशकमा केन्यामा। तथापि, इस्राएलीहरूको वृद्धि असाधारण हुनुको कारण के थियो भने, लामो समयसम्म लगातार वृद्धि भइरह्‍यो।

इस्राएलको तीव्र वृद्धिको अर्को कारण बाइबल आफैले बताउँछ। इस्राएलीहरू मिश्रमा हुँदा त्यहाँ खानाको कमी थिएन। थाह भएकै कुरा हो, अनिकाल आइपर्दा थुप्रै मानिसहरू अकालमै मर्छन्‌। फलस्वरूप, त्यतिबेला थोरै बच्चाहरू जन्मन्छन्‌। तथापि, इस्राएलीहरूले प्रशस्त खान पाउँथे भनी बाइबल बताउँछ। यूसुफको परिवार मिश्रमा आउँदा फिरऊनले यूसुफलाई यसो भने: “देशको सबैभन्दा असल ठाउँमा तिम्रा बाबु र तिम्रा दाज्यू-भाइहरूलाई बस्नदेऊ। तिनीहरूलाई गोशेन प्रदेशमानै बस्नदेऊ।” (उत्पत्ति ४७:६) इस्राएलीहरू मिश्रीहरूको दास भइसकेपछि समेत तिनीहरूले पेटभरि खान पाउँथे जस्तो देखिन्छ। वास्तवमा, दासत्वको बन्धनबाट मुक्‍त भइसकेपछि पनि तिनीहरूले दासत्वमा हुँदा खाएको रोटी, माछा, काँक्रा, खरबुजा, कन्दहरू, प्याज, लसुन र मासु सम्झे।—प्रस्थान १६:३; गन्ती ११:५.

सा. यु. प्रथम शताब्दीको दौडान

जनसांख्यिकीले मसीही युनानी धर्मशास्त्रको हाम्रो समझ पनि बढाउन सक्छ। उदाहरणका लागि, “सबै देशका जातिहरूलाई चेला बनाओ” भनी येशूले आफ्ना अनुयायीहरूलाई दिनुभएको आज्ञा पढ्‌दा हामी यस्तो विचार गर्न सक्छौं: ‘प्रचार गर्ने यो जिम्मेवारी कत्तिको विस्तृत थियो?’ (मत्ती २८:१९) प्रथम शताब्दीमा रोमी साम्राज्यमा कति मानिसहरू बस्थे? कसै-कसैको अनुमानअनुसार त्यहाँको जनसंख्या पाँचदेखि छ करोड थियो। त्यसो हो भने ती प्रारम्भिक मसीही सुसमाचारकहरूले कत्ति धेरै काम गर्नुपर्थ्यो!

मसीही युनानी धर्मशास्त्र पढ्‌दा, प्रचार गर्नको लागि पत्रुस एकदमै टाढा बेबिलोन गएको हामी थाह पाउँछौं। (१ पत्रुस ५:१३) किन त्यहाँसम्म गएका? द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका-मा दिइएको टिप्पणीले यो कुरा बुझ्न मदत दिन्छ: “प्यालेस्टाइनबाहिर यहूदीहरू बसोबास गर्ने मुख्य केन्द्र सिरिया, एसिया माइनर, बेबिलोनिया र मिश्र थिए अनि ती हरेक सहरमा कम्तीमा पनि १०,००,००० यहूदी बस्थे भनी अनुमान गरिएको छ।” पत्रुसलाई विशेष गरी यहूदीहरूलाई प्रचार गर्ने जिम्मेवारी दिएकोले तिनले यहूदी समुदाय भएको ठाउँ, बेबिलोनसम्म यात्रा गर्नु तार्किक थियो। (गलाती २:९) अनि त्यहाँ यहूदीहरूको जनसंख्या धेरै भएको हुनाले तिनलाई कहिल्यै पनि इलाकाको कमी भएन होला!

भविष्य कस्तो छ?

हामीले बुझेझैं जनसंख्याशास्त्रीहरू मानिसको इतिहासको केही खास पक्षहरूमा चासो राख्छन्‌। भविष्यबारे तिनीहरू के भन्छन्‌? महत्त्वपूर्ण प्रश्‍नहरू मडारिरहेका छन्‌। के यो सहस्राब्दीको दौडान जनसंख्या विस्फोट हुनेछ? यस्तै हुन्छ भनेर कसैलाई पनि पक्का थाह छैन। थुप्रै मुलुकहरूमा जन्मदर घट्‌दै गइरहेकोले विश्‍वको जनसंख्या अहिलेकै हाराहारीमा रहिरहनेछ भनी थुप्रै अनुसन्धाताहरू पूर्वानुमान गर्छन्‌।

तथापि, सबै विशेषज्ञहरू यस भनाइसित सहमत छैनन्‌। पपुलेसन टुडे भन्‍ने प्रकाशन यसो भन्छ: “जनसंख्या वृद्धिको दृष्टिले हेर्ने हो भने अहिले जनसंख्या वृद्धिको दुई भिन्‍नाभिन्‍नै ‘विश्‍व’ छ: एउटा दम्पतीले दुई वा सोभन्दा कम सन्तान जन्माउने मुलुकहरू र उच्च जन्मदर भएका मुलुकहरू। युरोप, संयुक्‍त राज्य अमेरिका, क्यानाडा, जापान र तीव्र गतिमा औद्योगीकरणतर्फ उन्मुख भइरहेका केही मुलुकहरू ‘दुई वा सोभन्दा कम सन्तान जन्माउने विश्‍वमा’ पर्छन्‌ . . .। यसको विपरीत ‘तीव्र वृद्धि भरहेको विश्‍वमा’ अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका अधिकांश मुलुकहरू पर्छन्‌, जहाँ एउटा दम्पतीले दुईभन्दा बढी सन्तानहरू जन्माउँछन्‌। विश्‍वको जनसंख्याको आधाभन्दा बढी मानिसहरू बसोबास गर्ने यी मुलुकहरूमा महिलाहरूले औसत चार सन्तान जन्माउँछन्‌।”

त्यसैले कुनै-कुनै मुलुकहरूमा जनसंख्या घटिरहेको छ भने कुनै-कुनै मुलुकहरूमा बढिरहेको छ वा पहिलेकै हाराहारीमा छ। पपुलेसन टुडे भविष्यको आशाबारे यस्तो सारांश प्रस्तुत गर्छ: “प्रायजसो विकासोन्मुख मुलुकहरूमा तीव्र जनसंख्या वृद्धि रोकिनेवाला छैन। कल्पनामा मात्र होइन तर वास्तवमै ‘जनसंख्या विस्फोट’ रोक्ने हो भने यो कुरा बाल मृत्युदर घटाउन, महिलालाई शिक्षित तुल्याउन र परिवार नियोजनको प्रबन्ध मिलाउन मुलकले कति चाँडो तथा कति खर्च गर्छ, त्यसैमा भर पर्छ।”

के पृथ्वीको जनसंख्या अहिलेको छ अरबभन्दा निक्कै बढी हुनेछ? यो त समयले बताउनेछ। तर हामीलाई थाह छ परमेश्‍वरको उद्देश्‍य यो पृथ्वी भर्नु हो—चाहिनेभन्दा बढी जनसंख्या राख्नु होइन। (उत्पत्ति १:२८) अनि परमेश्‍वरको राज्यमा यस्तै हुनेछ भनी विश्‍वस्त हुने हर कारण हामीसित छ।—यशैया ५५:१०, ११. (g04 5/08)

[फुटनोट]

a सा. यु. पू. १५०० तिर मोशाले सङ्‌केत गरेअनुसार पछि मानिसहरूको आयु घटेर ७० वा ८० वर्ष भयो।—भजन ९०:१०.

[पृष्ठ १४-मा भएको चित्र]

जलप्रलयबाट बचेकाहरूको समयदेखि बढ्‌न थालेको जनसंख्या अहिले छ अरब नाघेको छ

[पृष्ठ १५-मा भएको चित्र]

मिश्र गएका मुठीभर इस्राएलीहरू २१५ वर्ष भित्रमा बढेर लगभग ३० लाख पुगे