सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

रोगहरूबाट मुक्‍त संसार

रोगहरूबाट मुक्‍त संसार

रोगहरूबाट मुक्‍त संसार

“सारा मानिसजातिको लागि आधारभूत स्वास्थ्यसेवा पुऱ्‍याउन सबै राष्ट्रहरूले सहचारिताको मनोभावमा सहयोग र सेवा पुऱ्‍याउनुपर्छ किनभने एउटा देशका मानिसहरूले सुस्वास्थ्यको लागि गर्ने प्रयासबाट अन्य सबै देशका मानिसहरू प्रत्यक्ष प्रभावित हुन्छन्‌ र त्यसबाट लाभ उठाउँछन्‌।”—आल्मा-आटा बडापत्र, सेप्टेम्बर १२, १९७८.

पच्चीस वर्षअघि कोही-कोहीलाई सारा पृथ्वीका बासिन्दाहरूका लागि आधारभूत स्वास्थ्यसेवा पुऱ्‍याउन सम्भव छ जस्तो लाग्थ्यो। हाल काजकस्थान भनिने आल्मा-आटामा आयोजित आधारभूत स्वास्थ्यसेवाबारे अन्तरराष्ट्रिय अधिवेशनका प्रतिनिधिहरूले सन्‌ २००० सम्ममा घातक सङ्‌क्रामक रोगहरू विरुद्ध बचाउन सम्पूर्ण मानिसजातिलाई खोप लगाउने अठोट गरे। सोही वर्षसम्ममा सबै मानिसहरूलाई आधारभूत सरसफाइ तथा स्वच्छ पानी उपलब्ध गराउने पनि आशा राखिएको थियो। विश्‍व स्वास्थ्यसंघका सबै सदस्य राष्ट्रले यस बडापत्रमा हस्ताक्षर गरे।

यो लक्ष्य पक्कै पनि सराहनीय थियो तर यसपछिका प्रगतिहरू निराशाजनक साबित भएका छन्‌। आधारभूत स्वास्थ्यसेवा सारा मानिसजातिको लागि पक्कै उपलब्ध भएको छैन अनि संसारका करोडौं मानिसहरूको ज्यान अझै पनि सङ्‌क्रामक रोगका खतराहरूबाट मुक्‍त छैन। अनि यस्ता प्राणघातक रोगहरूले केटाकेटीका साथै जीवनको सबैभन्दा उपयोगी समयमा पुगेका वयस्कहरूलाई आफ्नो सिकार बनाउँछ।

एड्‌स, क्षयरोग र औलो जस्ता तीन किसिमकै खतराले पनि राष्ट्रहरूलाई “सहचारिताको मनोभाव” देखाउन उत्प्रेरित गरेको छैन। एड्‌स, क्षयरोग र औलो विरुद्ध लड्‌न हालै स्थापित विश्‍वव्यापी कोषले सरकारहरूलाई यी महामारी विरुद्ध जुझ्न ६१० अरब रुपियाँ मागेको थियो। तर, सन्‌ २००२ को ग्रीष्म ऋतुसम्ममा जम्मा ९४ अरब रुपियाँ जम्मा भएको थियो भने सोही वर्ष सेनाको खर्च ३२९ खरब रुपियाँ पुगेको अनुमान गरिएको छ! दुःखको कुरा, आजको विभाजित संसारमा जस्तोसुकै ठूलो समस्या आइपरे तापनि सबैको उपकार गर्ने हेतुले सारा राष्ट्रहरू एकतामा बाँधिन सकेका छैनन्‌।

असल मनसायको बावजुद स्वास्थ्य अधिकारीहरूले सङ्‌क्रामक रोगहरू विरुद्धको सङ्‌घर्षमा आफ्नो केही नलागेको महसुस गर्छन्‌। सरकारले आवश्‍यक रकम निकास नगर्न सक्छ। थुप्रै औषधी विरुद्ध सूक्ष्मजीवहरूको प्रतिरोध शक्‍ति बढेको छ र मानिसहरूले खतरनाक जीवन शैली अँगाल्न छोडेका छैनन्‌। यसबाहेक, गरिबी, युद्ध र अनिकाल जस्ता कुनै-कुनै इलाकामा व्याप्त सामान्य समस्याले गर्दा प्याथोजेनहरूले सजिलै करोडौं मानिसहरूको जीवनमा प्रवेश पाउँछन्‌।

हाम्रो स्वास्थ्यमा परमेश्‍वरको चासो

रोगहरूको समस्याको समाधान छ। यहोवा परमेश्‍वरले मानिसजातिको स्वास्थ्यमा गहिरो चासो लिनुहुन्छ भन्‍ने कुराको स्पष्ट प्रमाण हामीसित छ। यस कुराको उल्लेखनीय प्रमाण हाम्रो रोग प्रतिरोधात्मक क्षमता हो। यहोवाले पुरातन इस्राएललाई दिनुभएको थुप्रै व्यवस्थाले तिनीहरू सङ्‌क्रामक रोगबाट बचून्‌ भन्‍ने उहाँ चाहनुहुन्थ्यो भनी प्रकट गऱ्‍यो। a

त्यसै गरी, स्वर्गमा हुनुहुने आफ्नो पिताको व्यक्‍तित्व झल्काउनुहुने येशू ख्रीष्ट पनि रोगीहरूलाई अनुकम्पा देखाउनुहुन्छ। मर्कूसको सुसमाचारको पुस्तकमा एक जना कोरीसित येशूको भेटबारे बताइएको छ। “तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्नसक्नुहुन्छ” भनी कोरीले भन्यो। त्यस मानिसको पीडा र वेदना देखेर येशू टिठाउनुभयो। अनि येशूले “म इच्छा गर्छु, तिमी शुद्ध भइजाऊ” भन्‍नुभयो।—मर्कूस १:४०, ४१.

येशूले केही थोरै व्यक्‍तिहरूलाई मात्र चमत्कारपूर्ण ढङ्‌गमा निको पार्नुभएन। सुसमाचारको पुस्तकका लेखक मत्तीले लिपिबद्ध गरेअनुसार येशू “सिकाउँदै र राज्यको सुसमाचार प्रचार गर्दै, र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरी निको पार्दै, सारा गालीलभरि घुम्नुभयो।” (छड्‌के अक्षर हाम्रो, मत्ती ४:२३) उहाँले यहूदिया र गालीलका मानिसहरूलाई मात्र निको पार्नुभएको होइन। उहाँले निको पार्नुभएका घटनाहरूबाट हामी येशूले प्रचार गर्नुभएको परमेश्‍वरको राज्यले मानिसजातिमाथि निर्विवाद शासन गर्न थालेपछि कसरी सबै प्रकारका रोगहरू हराउनेछन्‌ भन्‍ने पूर्वझलक पाउँछौं।

विश्‍वव्यापी सुस्वास्थ्य एउटा असम्भव सपना होइन

विश्‍वव्यापी सुस्वास्थ्य एउटा असम्भव सपना होइन भनी बाइबल हामीलाई आश्‍वासन दिन्छ। ‘परमेश्‍वरको बासस्थान मानिसहरूसँग हुने’ समयको प्रेरित यूहन्‍नाले पूर्वझलक पाएका थिए। परमेश्‍वरले यस्तो कदम चाल्नुभएपछि “फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।” के यो पत्याउनै नसकिने कुरा जस्तो सुनिन्छ? यसपछिको पदमा परमेश्‍वर स्वयम्‌ यस्तो घोषणा गर्नुहुन्छ: “यी कुराहरू विश्‍वासयोग्य र सत्य छन्‌।”—प्रकाश २१:३-५.

निस्सन्देह, रोगहरूलाई नामेट पार्न गरिबी, अनिकाल र युद्धको पनि अन्त हुनै पर्छ किनभने यी विपत्ति र सङ्‌क्रामक सूक्ष्मजीवहरूबीच निकटतम सम्बन्ध छ। त्यसैले यहोवाले यो विशाल काम येशूद्वारा शासनारुढ स्वर्गीय सरकार अर्थात्‌ आफ्नो राज्यलाई सुम्पनुभएको छ। लाखौं मानिसहरूको व्यग्र प्रार्थनाको जवाफ स्वरूप यो राज्य आउनेछ र परमेश्‍वरको इच्छा पृथ्वीमा पूरा होस्‌ भनेर यसले सुनिश्‍चित गर्नेछ।—मत्ती ६:९, १०.

हामीले परमेश्‍वरको राज्य कहिले आउने आशा गर्न सक्छौं? यस प्रश्‍नको जवाफमा येशूले त्यस राज्य चाँडै आउँदैछ भनी सङ्‌केत गर्ने चिह्नको उल्लेखनीय घटनाका श्रृङ्‌खलाबारे भविष्यवाणी गर्नुभयो। उहाँले भन्‍नुभएअनुसार ती चिह्नहरूमध्ये एउटा “विभिन्‍न ठाउँहरूमा रूढ़ी[ले]” मच्चाउने उत्पात हुनेछ। (लूका २१:१०, ११; मत्ती २४:३, ७) रूढी अर्थ बुझाउन प्रयोग गरिएको युनानी शब्दले “कुनै प्राणघातक सङ्‌क्रामक रोगलाई” बुझाउँछ। चिकित्सा-विज्ञानमा भएको प्रगतिको बावजुद २० औं शताब्दीमा भयानक रूढीहरू देखापरे।—“सन्‌ १९१४ देखि रूढीको कारण मृत्यु” भन्‍ने पेटी हेर्नुहोस्‌।

सुसमाचारको पुस्तकमा दिइएका येशूका शब्दहरूसित मिल्दो प्रकाशको पुस्तकको भविष्यवाणीले, येशू ख्रीष्टले स्वर्गमा अख्तियार प्राप्त गर्नुहुँदा उहाँको साथमा केही घोडचढीहरूको चित्रण गरेको छ। चौथो घोडचढीले “पहेंलो घोड़ा” चढ्‌छ र त्यसले “रुढ़ी” फैलाउँछ। (प्रकाश ६:२, ४, ५, ८) सन्‌ १९१४ देखि यता केही प्रमुख सङ्‌क्रामक रोगका कारण भएको मृत्युको सङ्‌ख्या हेर्ने हो भने यस लाक्षणिक घोडचढी साँच्चै घोडसवार छ। “रूढ़ी[को]” चपेटामा परेको संसारले आउँदै गरेको परमेश्‍वरको राज्य साँच्चै नजिक छ भन्‍ने एउटा थप प्रमाण दिन्छ। bमर्कूस १३:२९.

चिकित्सा-विज्ञान केही दशकको लागि सङ्‌क्रामक रोगहरूको रोकथाम गर्न सफल भए तापनि अहिले नयाँ किसिमका रोगहरूले हामीलाई खतरामा पारेको छ। स्पष्टतः यी समस्याहरूको स्थायी समाधान गर्न हामीलाई अलौकिक समाधान चाहिन्छ। हाम्रो सृष्टिकर्ताले त्यसै गर्ने प्रतिज्ञा गर्नुभएको छ। परमेश्‍वरको राज्यमा ‘त्यहाँका बासिन्दाहरूले म बिरामी परें भन्‍नेछैनन्‌’ भनी अगमवक्‍ता यशैया हामीलाई आश्‍वासन दिन्छन्‌। यसबाहेक, “[परमेश्‍वरले] मृत्युलाई सदाको निम्ति निल्नुभएको छ, र परमप्रभु परमेश्‍वरले सबैका आँखाबाट आँसु पुछिदिनुहुनेछ।” (यशैया २५:८; ३३:२२, २४) त्यस दिनको उदय हुँदा रोगहरूमाथि सदाका लागि विजय हासिल गरिसकेको हुनेछ। (g04 5/22)

[फुटनोटहरू]

a मोशालाई दिइएको व्यवस्थामा फोहोर फ्याँक्ने, ढल-निकास, सरसफाइ र कुनै रोग लागेको मानिसलाई अलग्गै राख्ने सन्दर्भमा निर्देशनहरू थिए। “यौन र प्रजननबारे आधारभूत जानकारी, निदान, उपचार र रोकथाम जस्ता विषयमा बाइबलमा दिइएका कुराहरू हिपोक्रेट्‌सको सिद्धान्तभन्दा कता हो कता उन्‍नत र भरपर्दो छ” भनी डा. एच. ओ. फिलिप्सले टिप्पणी गरे।

b आउँदै गरेको परमेश्‍वरको राज्य नजिकै छ भन्‍नेबारे थप प्रमाणहरूको छलफलको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तकको अध्याय ११ हेर्नुहोस्‌।

[पृष्ठ १२-मा भएको पेटी]

सन्‌ १९१४ देखि रूढीको कारण मृत्यु

यी तथ्याङ्‌कहरू मोटामोटी हुन्‌। तथापि, यी तथ्याङ्‌कहरूले मानिसजातिलाई रूढीले १९१४ देखि कुन हदसम्म सिकार बनाएको छ भनी स्पष्ट पार्छ।

बिफर (३० करोड र ५० करोडको बीच) बिफरको लागि कुनै प्रभावकारी औषधी पत्ता लागेको थिएन। बृहत्‌ अन्तरराष्ट्रिय खोप कार्यक्रमले गर्दा १९८० सम्म अन्ततः सफलतासाथ रोग उन्मूलन भयो।

क्षयरोग (१० करोड र १५ करोडको बीच) हाल क्षयरोगको कारण प्रत्येक वर्ष २० लाख मानिसहरू मर्ने अनुमान गरिएको छ र प्रत्येक ३ जनामा १ जना बासिलस नाउँको क्षयरोगको ब्याक्टेरियाले सङ्‌क्रमित छन्‌।

औलो (८ करोड र १२ करोड) बीसौं शताब्दीको बीचसम्ममा औलोको कारण प्रत्येक वर्ष झन्डै २० लाख मानिसहरूको ज्यान जान्थ्यो। अफ्रिकाको साहारा मरुभूमिको दक्षिणी इलाका अझै यसको चपेटामा छ, त्यहाँ अहिले पनि वर्षेनी १० लाखभन्दा बढी मानिसहरू औलोको कारण मर्ने गर्छन्‌।

स्पेनिश इन्फ्लुएन्जा (२ करोड र ३ करोडको बीच) यसको कारण मर्नेहरूको सङ्‌ख्या अझ धेरै हुनुपर्छ भनी केही इतिहासकारहरू बताउँछन्‌। यस घातक महामारी प्रथम विश्‍वयुद्धको लगत्तै १९१८ र १९१९ मा फैलिएको थियो। “बुबोनिक प्लेगले पनि यति धेरै मानिसलाई यति चाँडै मारेको थिएन” भनी म्यान एण्ड माइक्रोब्स पुस्तक बताउँछ।

टाइफस (झन्डै २ करोड) टाइफसको महामारी अक्सर युद्धको सँगसँगै हुन्थ्यो र प्रथम विश्‍वयुद्धले निम्त्याएको टाइफसको महामारीले पूर्वी युरोपका देशहरूलाई तहसनहस पाऱ्‍यो।

एड्‌स (२ करोडभन्दा बढी) यो आधुनिक महामारीले प्रत्येक वर्ष ३० लाख मानिसहरूलाई मारिरहेको छ। संयुक्‍त राष्ट्रसंघ एड्‌स कार्यक्रमको हालैको अनुमानअनुसार “रोकथाम र उपचारको लागि कुनै ठोस कदम नचालिएको खण्डमा सन्‌ २००० र २०२० को बीचमा . . . ६.८ करोड मानिसहरू मर्नेछन्‌।”

[पृष्ठ ११-मा भएको चित्र]

परमेश्‍वरको राज्यमा यस्ता कुनै पनि रोगहरू खतराका कारण हुनेछैनन्‌

एड्‌स

औलो

क्षयरोग

[स्रोत]

AIDS: CDC; malaria: CDC/Dr. Melvin; TB: © 2003 Dennis Kunkel Microscopy, Inc.

[पृष्ठ १३-मा भएको चित्र]

येशूले हरेक किसिमका रोग र शारीरिक कमजोरी निको पार्नुभयो