सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

रोगहरू विरुद्धको सङ्‌घर्षमा सफलता र असफलताहरू

रोगहरू विरुद्धको सङ्‌घर्षमा सफलता र असफलताहरू

रोगहरू विरुद्धको सङ्‌घर्षमा सफलता र असफलताहरू

अगस्त ५, १९४२ मा डा. अलेक्ज्याण्डर फ्लेमिङलाई तिनको एउटा बिरामी, तिनको आफ्नै मित्र मर्ने स्थितिमा पुगिसकेको कुरा थाह थियो। उक्‍त ५२ वर्षीय बिरामीलाई मेरुदण्डको मेनिन्जाइटिस भएको थियो र फ्लेमिङको हर प्रयासको बावजुद तिनको साथी अचेत अवस्थामा पुगे।

पन्ध्र वर्षअधि फ्लेमिङले संयोगवश नीलो-नीलो हरियो रङको ढुसीले निकाल्ने एउटा तत्त्व पत्ता लगाए। यसलाई तिनले पेन्सिलिन नाउँ दिए। यसले जीवाणुलाई मार्न सक्ने तिनले थाह पाए तर यसबाट पेन्सिलिन मात्र छुट्याउन नसकेपछि तिनले एन्टिसेप्टिकको रूपमा मात्र यसको परीक्षण गरे। तथापि, १९३८ को कुरा हो, अक्सफोर्ड युनिभर्सिटीका होवर्ड फ्लोरी तथा तिनको अनुसन्धान टोली मानिसहरूमा परीक्षण गर्नको लागि पर्याप्त मात्रामा पेन्सिलिन उत्पादन गर्ने काममा लागिपरे। फ्लेमिङले फ्लोरीलाई फोन गरे अनि आफूसँग भएको सबै पेन्सिलिन पठाइदिने बताए। यो फ्लेमिङको साथीलाई बचाउने अन्तिम मौका थियो।

मांसपेशीमा दिइएको पेन्सिलिन सुई त्यति प्रभावकारी साबित नभए पछि फ्लेमिङले आफ्नो मित्रको मेरुदण्डमा सोझै सुई लगाइदिए। पेन्सिलिनले सबै सूक्ष्मजीवहरू नाश गऱ्‍यो र एक हप्ताभित्रमै फ्लेमिङको बिरामी पूरै स्वास्थ्यलाभ गरेर अस्पतालबाट घर फर्के। एन्टिबायोटिकको युग सुरु भयो र रोगहरू विरुद्ध मानिसहरूको सङ्‌घर्षमा यो एउटा नयाँ आयाम थियो।

एन्टिबायोटिकको युग

एन्टिबायोटिक सुरु-सुरुमा एउटा चटकी औषधी जस्तै भयो। ब्याक्टेरिया, फंगी वा अन्य सूक्ष्मजीवहरूको कारण लागेको र त्यतिबेलासम्म उपचार गर्न नसकिएका सङ्‌क्रमणहरूको अब उपचार गर्न सकिने भयो। नयाँ औषधीहरूले गर्दा मेनिन्जाइटिस, निमोनिया र स्कार्लेट फिभरको कारण हुने मृत्युदर स्वात्तै घट्यो। अस्पतालमा बस्दा सरेको सङ्‌क्रमणले पहिला-पहिला मृत्यु भइहाल्थ्यो भने अहिले केही दिनमै चट्टै निको पार्न सकियो।

फ्लेमिङको समयदेखि यता अनुसन्धाताहरूले थप दर्जनौं एन्टिबायोटिकहरू बनाएका छन्‌ र अझै नयाँ प्रकारका एन्टिबायोटिकको खोज जारी छ। विगत ६० वर्षको दौडान रोगहरू विरुद्धको सङ्‌घर्षमा एन्टिबायोटिकहरू अपरिहार्य हतियार बनेका छन्‌। आज जर्ज वसिङ्‌टन जीवित हुँदा हुन्‌ त डाक्टरहरूले पक्कै पनि तिनको घाँटी दुख्दा उपचार गर्न एन्टिबायोटिक चलाउँथे र तिनी एक हप्ता वा त्यस्तैमा निको हुन्थे। एन्टिबायोटिकले हामी सबैलाई कुनै न कुनै प्रकारको सङ्‌क्रमण हटाउन मदत गरेको छ। तथापि, एन्टिबायोटिकका केही बेफाइदाहरू छन्‌ भन्‍ने कुरा प्रस्ट भइसक्यो।

एड्‌स वा इन्फ्लुएन्जा जस्ता जीवाणुद्वारा हुने रोगहरूमा एन्टिबायोटिक उपचारले काम गर्दैन। यसबाहेक, कोही-कोही मानिसहरूलाई कुनै-कुनै किसिमका एन्टिबायोटिकको एलर्जी हुन्छ। थुप्रै प्रकारका हानिकारक सूक्ष्मजीवहरू मार्ने एन्टिबायोटिकले हाम्रो शरीरका उपयोगी सूक्ष्मजीवहरू मार्न सक्छ। तर सायद एन्टिबायोटिकको सबैभन्दा ठूलो समस्या भनेको यसको अति प्रयोग वा न्यून प्रयोग हो।

बिरामीले निको भएजस्तो लागेर वा उपचार लामो भएकोले डाक्टरले भनेअनुसार एन्टिबायोटिकको मात्रा पूरा गरेनन्‌ भने यसको न्यून प्रयोग हुन्छ। यसको फलस्वरूप एन्टिबायोटिकले सबै हानिकारक ब्याक्टेरियालाई नाश गर्न सक्दैन र बाँकी रहेका प्रतिरोधीहरूको संख्यामा तीव्र वृद्धि हुन्छ। क्षयरोगको उपचारको सन्दर्भमा अक्सर यसो हुने गर्छ।

डाक्टर र किसानहरू दुवै यी नयाँ औषधीहरूको अति प्रयोगका दोषी छन्‌। “संयुक्‍त राज्य अमेरिकामा आवश्‍यक नहुँदा पनि अक्सर एन्टिबायोटिक दिने गरिन्छ भने अन्य थुप्रै देशहरूमा त यसको झनै जथाभावी प्रयोग गरिन्छ” भनी म्यान एण्ड माइक्रोब्स्‌ पुस्तक बताउँछ। “गाईवस्तुको रोग निको पार्न होइन तर तिनीहरूलाई छिट-छिटो बढाउन अत्यधिक मात्रामा एन्टिबायोटिक दिने गरिन्छ र सूक्ष्मजीवहरूको प्रतिरोध क्षमता असाध्यै बढ्‌नुको एउटा प्रमुख कारण यही हो।” यसले गर्दा “चाँडै नयाँ एन्टिबायोटिकहरू सबै सिद्धिनेछन्‌” भनी उक्‍त पुस्तकले चेतावनी दिन्छ।

एन्टिबायोटिक प्रतिरोधबारे यी चिन्ताहरू बाहेक २० औं शताब्दीको पछिल्लो भागमा चिकित्साजगत्‌ले थुप्रै उपलब्धिहरू हासिल गऱ्‍यो। चिकित्सासम्बन्धी अनुसन्धाताहरू प्रायः सबै प्रकारका रोगहरू विरुद्ध औषधीहरू बनाउन सक्षम देखिन्थे। अनि खोपहरूले रोगहरूको रोकथाम गर्ने प्रत्याशा समेत दियो।

चिकित्सा-विज्ञानका लागि विजयहरू

“इतिहासमा हेर्ने हो भने, जनसाधारणको स्वास्थ्यको लागि खोप साँच्चै नै एउटा सफल अभियान साबित भएको छ” भनी वर्ल्ड हेल्थ रिपोर्ट १९९९ (अङ्‌ग्रेजी) उल्लेख गर्छ। विश्‍वभरि बृहत्‌ खोप अभियानहरूको कारण करोडौं मानिसहरूको ज्यान बचाउन सकिएको छ। विश्‍वव्यापी खोप कार्यक्रमले बिफरलाई उन्मूलन गरेको छ जुन एउटा यस्तो घातक रोग हो जसले २० औं शताब्दीका सबै युद्धहरूले भन्दा धेरै मानिसको ज्यान लियो। अनि त्यस्तै खालको अर्को अभियानले पोलियोलाई झन्डै-झन्डै निर्मूल पाऱ्‍यो। (“बिफर र पोलियो विरुद्ध जीत” भन्‍ने पेटी हेर्नुहोस्‌।) अहिले यी सामान्य प्राणघातक रोगहरूबाट बचाउन अधिकांश बालबालिकालाई खोप दिइन्छ।

अन्य रोगहरूलाई नियन्त्रण गर्नचाहिं त्यति आमूल तरिकाहरू अपनाउनु परेन। हैजा जस्ता पानीबाट हुने सङ्‌क्रमणहरू सरसफाइको यथेष्ट सुविधा र स्वच्छ पिउने पानी भएका ठाउँहरूमा कमै हुने गर्छ। थुप्रै मुलुकहरूमा थप चिकित्सक तथा स्वास्थ्यसेवाको थप सुविधाको कारण अधिकांश रोगहरू खुट्याउनुका साथै घातक हुनुअघि नै उपचार गर्न सम्भव भएको छ। उत्तम आहार र जीवनस्तरका साथै खानाहरूको उचित व्यवस्थापन र सञ्चयसम्बन्धी कडा नियमकानुनले पनि आम-जनताको स्वास्थ्यस्थितिमा सुधार ल्याएको छ।

वैज्ञानिकहरूले सङ्‌क्रामक रोगका कारणहरू पत्ता लगाएपछि स्वास्थ्य अधिकारीहरूले महामारीको रूप लिन नदिन व्यावहारिक कदमहरू चाल्न सके। एउटा उदाहरणलाई मात्र विचार गर्नुहोस्‌। सन्‌ १९०७ मा सान फ्रान्सिस्कोमा बुबोनिक प्लेगले उत्पात मच्चाउँदा थोरै मानिसहरूको मात्र मृत्यु भयो किनभने त्यो रोग सार्ने उपियाँ लाग्ने मुसाहरूलाई निर्मूल पार्न तुरुन्तै अभियान चलाइयो। अर्कोतर्फ, सन्‌ १८९६ देखि यता १२ वर्षभित्र भारतमा सोही रोगले एक करोड मानिसको ज्यान लियो किनभने यसको मुख्य कारण पत्ता लगाउन सकिएको थिएन।

रोगहरू विरुद्धको सङ्‌घर्षमा असफलता

स्पष्टतः उल्लेखनीय युद्धहरूमा विजय हासिल भएको छ। तर कुनै-कुनै आम-स्वास्थ्यसम्बन्धी जीत संसारका धनी राष्ट्रहरूमा मात्रै सीमित भएको छ। उपचार गर्न सकिने रोगहरूले अझै पनि करोडौंको ज्यान लिन्छ र यसको एउटा कारण, पर्याप्त पुँजीको अभाव हो। विकासोन्मुख देशहरूमा अझै सरसफाइ, स्वास्थ्यसेवा र स्वच्छ पिउने पानीको अभाव छ। विकासोन्मुख राष्ट्रहरूमा गाउँहरूबाट महानगरहरूमा बसाइँ सर्नेहरूको संख्या अत्यधिक भएको कारणले गर्दा पनि यी आधारभूत आवश्‍यकताहरू पूरा गर्न झनै गाह्रो भएको छ। यस्ता कारणहरूले गर्दा विश्‍व स्वास्थ्यसंघले बताएझैं संसारका गरिबहरूले “रोगहरूको भयङ्‌कर भार बोकिरहेका छन्‌।”

स्वास्थ्यमा यस्तो असन्तुलन हुनुको मुख्य कारण स्वार्थले जन्माएको अदूरदर्शिता हो। “संसारका केही अत्यन्तै घातक सङ्‌क्रामक रोगहरू टाढाका मुलुकहरूमा मात्र हुन्छ जस्तो लाग्छ” भनी म्यान एण्ड माइक्रोब्स्‌ पुस्तक उल्लेख गर्छ। “यस्ता कतिपय रोगहरू गरिब र उष्ण तथा उप-उष्ण प्रदेशीय इलाकाहरूमा मात्रै सीमित छन्‌।” विकसित धनी राष्ट्र तथा औषधी कम्पनीहरू यस्ता रोगहरूको उपचारको लागि रकम छुट्याउँदा आफूलाई प्रत्यक्ष कुनै नाफा नहुने भएकोले तिनीहरूले त्यति उदारचित्तले दिंदैनन्‌।

रोगहरू फैलिनुको अर्को एउटा कारण मानिसहरूको गैरजिम्मेवारपूर्ण आचरण पनि हो। यसको तीतो सत्य एड्‌स जीवाणुको सन्दर्भमा जस्तो छर्लङ्‌गै अरू कतै देखिंदैन जुन शरीरको तरल पदार्थ मार्फत एउटा व्यक्‍तिबाट अर्कोमा सर्छ। केही वर्षभित्रमै यो रोग सर्वत्र फैलिएको छ। (“एड्‌स—हाम्रो समयको महामारी” भन्‍ने पेटी हेर्नुहोस्‌।) “यो फैलाउनुमा मानिसहरू स्वयम्‌ जिम्मेवार छन्‌” भनी महामारी रोकथाम विशेषज्ञ जो म्याककोर्मिक निश्‍चयसित भन्छन्‌। “अनि यो मानिसहरूको नैतिकताबारे आलोचना होइन, यो त तथ्य कुरा हो।”

मानिसहरूले कसरी अनजानमै एड्‌सका जीवाणुहरू सार्ने काममा सघाए? द कमिङ प्लेग (अङ्‌ग्रेजी) भन्‍ने किताबले कारणहरूको सूची यसरी दिन्छ: सामाजिक परिवर्तन—विशेष गरी थुप्रैसँग यौनसम्बन्ध राख्ने चलनले गर्दा यौनजन्य रोगहरूको बिगबिगी भयो र यसले गर्दा जीवाणुहरूको पकड झनै बलियो भयो र यो एक जनाबाट अन्य थुप्रै मानिसहरूमा सजिलै सर्न थाल्यो। विकासोन्मुख राष्ट्रहरूमा उपचारकै लागि वा अवैध लागूऔषधको लागि प्रयोग गरिसकेको दूषित सुईको व्यापक प्रयोगको असर पनि त्यस्तै भयो। अरबौं डलरको विश्‍वव्यापी रक्‍त व्यापारले पनि रक्‍तदान दिने एउटा व्यक्‍तिबाट अरू दर्जनौं व्यक्‍तिहरूलाई एड्‌सको जीवाणु सार्न मदत पुऱ्‍याएको छ।

माथि उल्लेख गरिएझैं सूक्ष्मजीवहरूको प्रतिरोध क्षमता बढ्‌नुमा एन्टिबायोटिकको अति वा न्यून प्रयोग जिम्मेवार छ। यो गम्भीर समस्या हो र झनै नाजुक हुँदैछ। स्टाफिलोकोकस ब्याक्टेरिया जसको कारण अक्सर घाउ पाक्ने गर्छ, यसलाई पेन्सिलिनको मात्रा भएका औषधीहरूले पहिला सजिलै निको पार्न सकिन्थ्यो। तर अहिले यी एन्टिबायोटिकहरू प्रभावकारी हुन छोडेका छन्‌। त्यसैले डाक्टरहरूले नयाँ, महँगा एन्टिबायोटिकहरू प्रयोग गर्नुपर्छ जुन विकासोन्मुख राष्ट्रहरूको औकातभन्दा बाहिर छ। सबैभन्दा नयाँ एन्टिबायोटिक पनि केही सूक्ष्मजीवहरूको प्रतिरोध गर्न प्रभावहीन हुन सक्छ जसले गर्दा अस्पतालमा हुने सङ्‌क्रमण सामान्य हुनुका साथै झनै घातक हुन्छ। सं.रा.अ. नेसनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजका भूतपूर्व निर्देशक डा. रिचर्ड क्राउसले हालको अवस्थालाई सीधै “सूक्ष्मजीव प्रतिरोधको महामारी” भनेका छन्‌।

“अहिले के हामी अझ सफल भएका छौं?”

अहिले एक्काइसौं शताब्दीको सुरुमा रोगहरूको खतरा जस्ताको तस्तै छ भन्‍ने कुरा स्पष्ट छ। झन्‌-झनै व्यापक हुँदै गइरहेको एड्‌स, औषधी प्रतिरोधी प्याथोजेन देखापर्नु र पुराना घातक रोगहरू जस्तै, क्षयरोग अनि औलो पुनः देखापर्नुले रोगहरू विरुद्धको सङ्‌घर्षमा अझै विजय हासिल गर्न सकिएको छैन भनी स्पष्ट हुन्छ।

“एक शताब्दीअघि भन्दा अहिले के हामी अझ सफल भएका छौं?” भनी नोवेल पुरस्कार विजेता जोसुआ लेडरबर्गले प्रश्‍न गरे। “धेरै क्षेत्रमा अवस्था झनै खराब छ” भनी तिनी बताउँछन्‌। “हामीले सूक्ष्मजीवहरूलाई बेवास्ता गरेका छौं र यसको नतिजा भोगिरहेका छौं।” चिकित्सा-विज्ञान र संसारका सबै राष्ट्रहरूको एकीकृत प्रयासले के वर्तमान परिस्थितिमा परिवर्तन ल्याउन सकिन्छ? बिफरजस्तै के घातक सङ्‌क्रामक रोगहरूलाई अन्ततः उन्मूलन गर्न सकिन्छ? हाम्रो अन्तिम लेखले यी प्रश्‍नहरूमाथि विचार गर्नेछ। (g04 5/22)

[पृष्ठ ८-मा भएको पेटी/चित्र]

बिफर र पोलियो विरुद्ध जीत

अक्टोबर १९७७ को अन्ततिर विश्‍व स्वास्थ्यसंघले (डब्ल्यु एच ओ) सामान्य तरिकामा बिफर सरेको अन्तिम बिरामी भेट्टायो। सोमालियामा बस्ने, अली माओ मालिन अस्पतालमा भान्छेको काम गर्थे र तिनलाई घातक किसिमको आक्रमण भएको थिएन र तिनी केही हप्तामै निको भए। तिनीसँग सम्पर्कमा आएका सबै मानिसहरूलाई खोप लगाइयो।

डाक्टरहरूले उत्सुकतापूर्वक दुई वर्षसम्म कुरे। कसैलाई “साँच्चै बिफर लागेको” घटना रिपोर्ट गरेमा ५०,००० रुपियाँको इनाम दिने घोषणा गरियो। कसैको पनि दाबी ठोस साबित भएन र मे ८, १९८० मा विश्‍व स्वास्थ्यसंघले औपचारिक रूपमा “संसार र यसका सबै बासिन्दाहरू बिफरबाट मुक्‍त” भनी घोषणा गऱ्‍यो। त्यसको एक दशकअघिसम्म मात्र बिफरले वर्षेनी २० लाख मानिसहरूको ज्यान लिइरहेको थियो। इतिहासमा पहिलो चोटि सङ्‌क्रामक सरुवा रोगलाई उन्मूलन गरियो। a

केटाकेटीलाई अपाङ्‌ग बनाउने रोग पोलियो वा पोलियोमाइलेटिसलाई पनि निर्मूल गर्न सकिने जस्तो देखियो। सन्‌ १९५५ मा योनास साल्कले पोलियोको लागि प्रभावकारी खोप तयार पारे अनि संयुक्‍त राज्य अमेरिका र अन्य देशहरूमा पोलियो विरुद्ध खोप अभियान चलाइयो। पछि पोलियोको थोपा बनाइयो। सन्‌ १९८८ मा विश्‍व स्वास्थ्यसंघले पोलियो निर्मूल गर्न विश्‍वभरि अभियान सुरु गऱ्‍यो।

“हामीले १९८८ मा पोलियो निर्मूल गर्ने अभियान सुरु गर्दा पोलियोको कारण प्रत्येक दिन १,००० भन्दा केटाकेटीलाई पक्षाघात हुन्थ्यो” भनी विश्‍व स्वास्थ्यसंघका तत्कालीन महानिर्देशक डा. ग्रो हार्लेम ब्रुन्डट्‌ल्याण्डले रिपोर्ट गरे। “सन्‌ २००१ मा वर्षभरि पोलियोको सिकार हुनेको संख्या १,००० भन्दा कम थियो।” पोलियोको समस्या अहिले दसभन्दा कम देशमा मात्र छ तर यसलाई पूर्णतया उन्मूलन गर्न थप रकमको आवश्‍यकता पर्नेछ।

[फुटनोट]

a अन्तरराष्ट्रिय तवरमै खोपको अभियान चलाएर रोगको सामना गर्न बिफर उपयुक्‍त थियो किनभने मुसा र कीराहरूले सार्ने अन्य रोगहरूजस्तो नभई बिफरका जीवाणु मानिसमै निर्भर हुन्छन्‌।

[चित्र]

इथियोपियाली केटालाई पोलियोको थोपा खुवाउँदै

[स्रोत]

© WHO/P. Virot

[पृष्ठ १०-मा भएको पेटी/चित्र]

एड्‌स—हाम्रो समयको महामारी

विश्‍वभरि, एड्‌स एउटा नयाँ खतराको रूपमा देखापरेको छ। यो रोग पत्ता लागेको झन्डै २० वर्षपछि ६ करोडभन्दा धेरै मानिसहरू सङ्‌क्रमित भइसकेका छन्‌। अनि स्वास्थ्य अधिकारीहरू सर्वत्र फैलिएको एड्‌स अझै “प्रारम्भिक अवस्थामा” छ भनी चेतावनी दिन्छन्‌। सङ्‌क्रमित मानिसहरूको संख्या “सोचेभन्दा कता हो कता धेरै वृद्धि” भइरहेको छ र संसारका सबैभन्दा प्रभावित इलाकाहरूमा यसको असर भयावह छ।

“विश्‍वभरि एच आइ भि/एड्‌सबाट सङ्‌क्रमित प्रायः मानिसहरू आफ्नो जीवनको सबैभन्दा उपयोगी समयमा छन्‌” भनी संयुक्‍त राष्ट्रसंघको रिपोर्टले बताउँछ। यसले गर्दा अफ्रिकाको दक्षिणी भागका केही अत्यन्तै प्रभावित देशहरूले सन्‌ २००५ सम्ममा १० प्रतिशतदेखि २० प्रतिशत आफ्नो कार्यशक्‍ति गुमाउने अनुमान गरिएको छ। रिपोर्ट यसो पनि भन्छ: “अफ्रिकाको साहारा मरुभूमिको दक्षिणी इलाकामा हाल सरदर आयु ४७ वर्ष छ। एड्‌स नहुँदो हो त, ६२ वर्ष हुने थियो।”

यसको खोप पत्ता लगाउने प्रयास अहिलेसम्म सफल हुन सकेको छैन र विकासोन्मुख राष्ट्रका ६० लाख एड्‌स प्रभावित मानिसहरूमध्ये जम्मा ४ प्रतिशतले मात्र यसको औषधी उपचार पाइरहेका छन्‌। हाल, एड्‌सको कुनै उपचार छैन र सङ्‌क्रमित अधिकांश मानिसहरूलाई अन्ततः रोग लाग्नेछ भन्‍ने डाक्टरहरूको आशङ्‌का छ।

[चित्र]

एच आइ भि जिवाणुबाट सङ्‌क्रमित टि लिम्पफोसाइट कोष

[स्रोत]

Godo-Foto

[पृष्ठ ७-मा भएको चित्र]

ल्याबका कामदारले पत्ता लगाउन गाह्रो जीवाणुको परीक्षण गर्छन्‌

[स्रोत]

CDC/Anthony Sanchez