सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

प्लास्टिकका हाँसहरू पानीमा तैरन्छन्‌

जनवरी १९९२ मा हङकङबाट संयुक्‍त राज्य अमेरिकातर्फ गइरहेको जहाज एउटा ठूलो आँधीमा पऱ्‍यो र २९,००० प्लास्टिकका हाँसहरू समुद्रमा गुमाउनुपऱ्‍यो भनी जर्मनीको फ्रांकफर्टर आल्जेमाइन जाइटुङ बताउँछ। पानीमा तैरिरहेका हाँसहरूको पहिलो समूह नोभेम्बर १९९२ मा अलास्काको बारानोफ टापुमा देखापऱ्‍यो। अरू भने दुई वर्षपछि “बेरिङ स्ट्रेटको उत्तरमा पर्ने समुद्री बरफमा” पत्ता लाग्यो। यी जब्बर खेलौनाहरू उत्तर अमेरिकाको न्यु इङ्‌ग्ल्याण्ड तटमा पनि देखापर्ने आशा गरिएको छ। रोचक कुरा के हो भने, यो दुर्घटना वैज्ञानिकहरूका लागि मदतकारी साबित भएको छ अनि “प्रशान्त महासागरदेखि सुमेरु महासागर र आन्द्र महासागरसम्म” समुद्री पानी बग्छ भन्‍ने तथ्यलाई प्रमाणित गरेको छ भनी उक्‍त अखबार बताउँछ। (g04 5/08)

सानैमा निकोटिनको लत

“किशोरावस्थामा पुगेका ठिटाठिटीलाई कुलतमा फसाउन चुरोटको एक सर्को भए पुग्छ” भनी क्यानाडाको नेसनल पोस्ट भन्‍ने अखबार रिपोर्ट गर्छ। “यो असामान्य निष्कर्ष, निकोटिनको कुलत बिस्तारै बिस्तारै लाग्छ अनि वर्षौंको अत्यधिक धूम्रपानले गर्दा हुन्छ भन्‍ने धारणासित मेल खाँदैन।” लगभग छ वर्षको दौडान १,२०० जना किशोर-किशोरीसित गरिएको अध्ययनमा अनुसन्धाताहरूले पत्ता लगाएअनुसार “आकलझुकल मात्र चुरोट खानेहरूमध्ये पनि साथीहरूको दबाबभन्दा कुनै पदार्थको लत कडा हुन्छ” भनी उक्‍त अखबारले बतायो। उक्‍त अध्ययनअनुसार “पहिलो सर्को तानेदेखि दिनहुँ चुरोट खाने बानी लागुन्जेल चुरोट खाने जवान व्यक्‍तिहरूमा निकोटिनको लत लागिसकेका लक्षणहरू देखापर्न थाल्छन्‌।” अनुसन्धाताहरूको भनाइअनुसार धूम्रपान विरुद्ध अभियानहरू जवानहरूलाई चुरोट खाने दबाबको प्रतिरोध गर्न मात्र होइन तर निकोटिनको लत बसिसकेकाहरूलाई समेत मदत गर्नको लागि मिल्ने किसिमको बनाउनुपर्छ। (g04 5/22)

सडकमा जीवन गुजार्ने युवाहरू धेरै छन्‌

म्याड्रिडको सडकमा जीवन गुजार्ने किशोर-किशोरीहरूको संख्या बढ्‌दैछ” भनी स्पेनी दैनिक अखबार एल पाइस-को अङ्‌ग्रेजी संस्करण रिपोर्ट गर्छ। एउटा विश्‍वविद्यालयको अध्ययनअनुसार “म्याड्रिडका ५,००० घरबारविहीनहरूमध्ये लगभग १,२५० जना २० वर्षमुनिका थिए किनभने तिनीहरूले आफ्नो घर भन्‍न सक्ने कुनै ठाउँ पाएनन्‌।” अनुसन्धानले देखाएअनुसार “घरबारविहीन युवाहरूमध्ये अधिंकाश टुक्रिएका परिवारका सदस्यहरू हुन्‌ अनि तिनीहरूको जीवन पीडादायी छ भनेर स्पष्ट देखिन्छ।” वास्तवमा, “प्रत्येक तीन जना युवामध्ये दुई जना, मतवाला वा लागूपदार्थको दुर्व्यसनीका बालबच्चा हुन्‌ र त्यस्तै अरू थुप्रैले घरमा अन्य किसिमका दुर्व्यवहार भोगेका थिए।” उक्‍त रिपोर्टका स्रोत मान्वेल मुन्योसले यसो भने, “भूमध्यसागरीय संस्कृतिहरूमा सामान्यतया पाइने परम्परागत पारिवारिक बन्धनहरू भत्कन थालेका छन्‌।” (g04 5/08)

“खाइलाग्दाहरूको” लागि समुद्री किनारा

मेक्सिकोको एउटा होटेलले पातला मानिसहरूको भीड लाग्ने समुद्री किनारामा जान अप्ठ्यारो मान्‍ने मानिसहरूका लागि एउटा इलाका छुट्याएको छ भनी एल एकोनोमेस्टा भन्‍ने अखबार रिपोर्ट गर्छ। कान्कुनको समुद्री किनारा नजिकैको होटेलले यस्तो नारा राखेको छ, “मोटो हुनुहोस्‌ र खुसी हुनुहोस्‌।” यो होटेलले आफ्नो अचाक्ली वजनको कारण पौडी खेल्दा लगाउने पहिरनमा समुद्री किनारा जान अप्ठ्यारो मान्‍ने व्यक्‍तिहरूलाई आकर्षित गर्ने लक्ष्य राखेको छ।” बिदा मनाउन आउने यी मोटा व्यक्‍तिहरूप्रति कुनै पक्षपातपूर्ण व्यवहार नगर्न उक्‍त होटेलमा कार्यरत विभिन्‍न वजन भएका कर्मचारीहरूलाई तालिम दिएको छ भनी उक्‍त रिपोर्ट बताउँछ “किनभने तिनीहरूले आफ्नो दिनचर्यामा पक्षपातपूर्ण व्यवहार निकै भोगिसकेका हुन्छन्‌।” (g04 5/08)

भूमध्यसागरको पानी तातो हुँदैछ

“भूमध्यसागरको पानी तातो हुँदै गइरहेको कुरा . . . हामीले रेकर्ड गरेको दस वर्ष भइसक्यो” भनी इटालीको जेनोआ विश्‍वविद्यालयका समुद्री जीवशास्त्री, मरिट्‌स्यो भ्वट्‌र्स बताउँछन्‌। ला रापब्लिका भन्‍ने इटालेली अखबारमा दिइएको रिपोर्टले बताएअनुसार तातो पानीले नयाँ समुद्री वनस्पति तथा जीवहरूलाई आकर्षित गरिरहेको छ। भ्वट्‌र्स यसो भन्छन्‌, “अफिक्री समुद्री तटबाट अनगिन्ती जीवजीवात्‌हरू भूमध्यसागरको उत्तरतिर सरिरहेका छन्‌।” यसरी बसाइँ सर्नेहरूमा प्यारट माछा जुन प्रायजसो उष्ण पानीमा बस्छ; आन्ध्र महासागरको उष्ण प्रदेशीय अक्षांसको डाम्सेल माछा; साधारणतया हिन्द महासागर तथा प्रशान्त महासागरमा बस्ने ट्रिगर माछा; स्वेज नहर हुँदै भूमध्यसागरमा आएका आल्गा इत्यादि हुन्‌। (g04 5/08)

विपत्तिजनक सल्लाह

“सन्‌ १९७० को दशकसम्म बंगलादेश र [भारतको] पश्‍चिम बंगालका प्रायजसो गाउँहरूमा कम गहिराइको इनार खनिन्थ्यो वा तिनीहरूले पोखरी वा नदीबाट पानी ल्याउँथे र यिनीहरूलाई अक्सर हैजा, आउँ र पानीबाट सर्ने अन्य रोगहरूले सताइरहन्थ्यो” भनी द गार्जियन विक्ली (अङ्‌ग्रेजी) बताउँछ। “पछि सं. रा. सं.-ले मानिसहरूलाई स्वच्छ, प्याथोजेनमुक्‍त पानीको लागि गहिरो ‘ट्युब वेल’ खनेर आक्वीफायरद्वारा (धेरै प्वाल भएको अनि पानी छिर्न दिने चट्टान) पानी निकाल्ने सुझाव दियो।” बंगलादेश, भियतनाम, लाओस, बर्मा (हाल म्यानमार), थाइल्याण्ड, नेपाल, चीन, पाकिस्तान, क्याम्बोडिया र भारतको पश्‍चिम बंगालमा दुई करोड जति ट्युब वेलहरू खनियो। तथापि, प्रायजसो इनारहरूको भित्र गहिराइमा आर्सेनिकजन्य तत्त्वहरू भएको पाइयो। फलतः आर्सेनिकले गर्दा भएको विषादीलाई विश्‍व स्वास्थ्यसङ्‌घले “विशाल जनसमुदाय यति धेरै विषाक्‍त भएको सबैभन्दा ठूलो घटना” भनेका छन्‌। गत दुई दशकमा लगभग १५ करोड मानिसहरूले दूषित पानी पिइरहेका छन्‌। बंगलादेशमा मात्रै आर्सेनिकको विषादीले गम्भीर असर पारेकाहरूको संख्या १५,००० छ। स्थानीय समूह, सरकार र सं. रा. सं.-ले अन्य विकल्पहरू सोचिरहेका छन्‌ तर व्यावहारिक समाधान भने अझै पत्ता लागेको छैन। (g04 5/22)

बाल आत्महत्याको जनाउ

“आत्महत्या गर्न प्रयास गर्ने वा साँच्चै आत्महत्या गर्ने असी प्रतिशत केटाकेटीले यसबारे केही दिन वा महिनाअघि मौखिक वा लिखित तवरमा पूर्वसूचना दिन्छन्‌” भनी मेक्सिको सहरको मेलेन्यो भन्‍ने अखबार रिपोर्ट गर्छ। यी नाबालकहरूले आफ्नो बाँच्ने इच्छा गुमाउने प्रमुख कारण दुर्व्यवहार (शारीरिक, भावनात्मक र मौखिक), यौन दुर्व्यवहार, टुक्रिएको परिवार र स्कूलसित सम्बन्धित समस्याहरू हुन्‌। मेक्सिकन इन्स्टिच्युट अफ सोसियल सेक्योरिटीका मनोविशेषज्ञ होसे लुइज बास्केजले बताएअनुसार टेलिभिजन, चलचित्र, भिडिओ गेम र किताबहरूमा मृत्यु अति सामान्य घटनाको रूपमा चित्रण गरिने हुँदा केटाकेटीले जीवनको मूल्यबारे गलत धारणा बसालेका छन्‌। तिनी अझ यसो भन्छन्‌, आठदेखि दस वर्षबीचका हरेक १०० जना केटाकेटीमध्ये १५ जनासित आत्महत्या गर्ने सोचाइ आउँछ अनि त्यसमध्ये ५ प्रतिशतले आफ्नो ज्यान लिन्छन्‌ नै। केटाकेटीले आत्महत्याबारे कुरा गर्दा त्यसलाई कुनै धम्की वा आफूतिर ध्यान खिच्ने उपाय ठानेर पन्छाउनुको सट्टा त्यसप्रति सतर्क हुन उक्‍त अखबार सुझाव दिन्छ। त्यो अखबार अझ यसो भन्छ: “आमाबाबुले आफ्ना छोराछोरीसित समय बिताउनुपर्छ र तिनीहरूसित खेल्नुपर्छ, तिनीहरूसित कुराकानी गर्न कहिल्यै छोड्‌नुहुँदैन र तिनीहरूलाई सधैं माया देखाउनुपर्छ।” (g04 5/22)

क्रोध तपाईंको स्वास्थ्यको लागि हानिकारक छ

इटालीको पादुआ विश्‍वविद्यालयका मनोवैज्ञानिक शिक्षिका भालेन्टिना डुर्सोअनुसार “हाम्रो समाजमा क्रोध एकदमै बिगबिगी भइरहेको छ तर यसले मानव शरीरमा नकारात्मक असर पार्छ।” मांसपेशीहरू कडा हुन्छन्‌, मुटुको धड्‌कन र श्‍वासप्रश्‍वास बढ्‌छ अनि शरीर तनावपूर्ण अवस्थामा हुन्छ। रिसले मानिसको तर्क गर्ने क्षमतालाई ह्रास पुऱ्‍याउन सक्छ अनि आफ्ना कार्यहरूमाथिको नियन्त्रणलाई कमजोर बनाउन सक्छ। डुर्सो यस्तो सुझाव दिन्छिन्‌, “खतरनाक अवस्थाहरूबारे पहिल्यै सजग हुने बानी बसालौं . . . ‘म यसमा सहमत छैन’ भनेर शान्तपूर्वक भनिहालौं अनि हाम्रो जीवन निकै राम्रो हुनेछ।” (g04 5/22)