एकाकीपनसित सङ्घर्ष गर्ने
एकाकीपनसित सङ्घर्ष गर्ने
एकाकीपनसित सङ्घर्ष गर्नु सजिलो छैन। यसमा गहिरा भावनाहरू मुछिएका हुन्छन्। कुनै मानिसले कसरी एकाकीपनको सामना गर्न सक्छ? यस्ता गहिरा भावनाहरूमाथि विजय हासिल गर्न कसै-कसैले के गरेका छन्?
एकाकीपनको सामना गर्ने
हेलेन a जुनसुकै निर्णय पनि आफू एक्लै गर्न चाहन्छिन् तर एकाकीपन डरलाग्दो हुन सक्छ भनेर उनले बुझेकी छिन्। उनी सानो छँदा आमाबाबुसित उनको त्यति कुराकानी हुने गर्दैनथ्यो। आफ्नो आमाबाबुको ध्यान कसरी खिच्ने थाह नभएकोले तिनी ढोका ढ्यामढुम्म थुनी कोठा भित्रै बस्न थालिन्। तिनी यसो भन्छिन्: “मेरो खानपानको सन्तुलन बिग्रियो। म डिप्रेशनको सिकार भएँ। म आफैलाई भन्ने गर्थें, ‘आमाबाबुलाई मेरो चिन्ता छैन भने मैले मात्र किन उहाँहरूको चिन्ता लिने?’ त्यसपछि मलाई लाग्यो, विवाहले नै मेरो एकाकीपनको खाडललाई पुर्न सक्छ। विवाहलाई मैले एउटा उम्कने बाटो सम्झें। तर मैले तुरुन्तै यस्तो तर्क गरें, ‘किन बेकारमा अरूको जीवन बर्बाद पार्ने? पहिले मैले आफ्नै विचारलाई सच्याउनुपर्छ!’ मैले प्रार्थनामा आफ्ना सारा पीरहरू पोखाएर यहोवाको मदत खोजें।
यशैया ४१:१० ले भन्छ: ‘नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु, म मेरो धार्मिकताको दाहिने हातले तँलाई सह्माल्नेछु।’ यी शब्दहरूले मलाई ठूलो मदत दियो किनकि मलाई मेरा बुवा नै हुनुहुन्न कि जस्तो जस्तो लाग्थ्यो। आज म नियमित रूपमा बाइबल पढ्छु
“मैले बाइबलमा मनलाई सान्त्वना दिने धेरै शब्दहरू भेट्टाएँ जस्तै,अनि स्वर्गमा बस्नुहुने पितालाई प्रार्थना गर्छु। मैले आफ्नो एकाकीपनमाथि विजयी हुन सिकेकी छु।”
प्रियजनको मृत्यु हुँदा मन उदास हुन्छ जसले हामीलाई एकाकीपनको सिकार बनाउन सक्छ। सोह्र वर्षकी लुइसा यसरी आफ्नो वेदना पोख्छिन्: “म पाँच वर्षकी छँदा मेरो बुवाको हत्या भयो। मैले हजुरआमासित सान्त्वना खोजें तर उहाँले मलाई माया गर्नुहुन्छ जस्तो मलाई कहिल्यै लागेन। मैले बाल्यकालमा त्यति माया पाइनँ, जतिबेला मलाई मायाको धेरै खाँचो थियो। आठ देखि नौ वर्षको उमेरमा मैले तीन पटक आत्महत्या गर्ने प्रयास गरें। मेलै सोचें, मेरो आत्महत्याले नै मेरो परिवारको कल्याण हुन्छ किनकि मलगायत मेरा तीन जना दिदीको हातमुख जोर्न मेरी आमाले कडा सङ्घर्ष गरिरहनुभएको थियो। यसैबेला हामीले यहोवाका साक्षीहरूसित संगत गर्न थाल्यौं। एक जवान दम्पतीले मप्रति निष्कपट चासो देखाए। तिनीहरू अक्सर मलाई यसो भन्ने गर्थे: ‘हामी तिम्रो कदर गर्छौं अनि हामीलाई तिम्रो खाँचो छ।’ ‘तिम्रो खाँचो छ’ भन्ने शब्दहरूले मलाई ठूलो बल दियो। कहिलेकाहीं म आफ्ना भावनाहरू अरूलाई बताउनै सक्दिनँ तर जब म प्रहरीधरहरा वा ब्यूँझनुहोस्!-मा प्रकाशित लेखहरू पढ्छु, म यहोवालाई धन्यवाद दिन्छु किनकि त्यस्ता प्रकाशनहरूद्वारा मैले उहाँको प्रेम महसुस गरेकी छु। मैले आफ्नो जीवनमा परिवर्तनहरू ल्याएकी छु। आज म मुस्कुराउन सक्छु र मनमा रहेका उदासी र खुसीका भावनाहरू आफ्नी आमालाई पोख्न सक्छु। कहिलेकाहीं म विगतलाई सम्झन पुग्छु तर मेरा आजका दिनहरू मैले आत्महत्या गर्ने प्रयास गर्दा र आफ्ना प्रियजनहरूसित कुरा नगर्दाका ती दिनहरू जस्ता छैनन्। म सधैं भजन रचयिता दाऊदले भनेका यी शब्दहरू सम्झन्छु: “मेरा भाइहरू र मित्रहरूका निम्ति ‘तँभित्र शान्ति होस्’ भनेर अब म भन्नेछु।” ”—भजन १२२:८.
मार्थाको सम्बन्ध विच्छेद भएको २२ वर्ष भइसकेको छ, यस अवधिमा उनले आफ्नो एउटा बच्चालाई हुर्काइन्। तिनी यसो भन्छिन्, “आफू कुनै कुरामा असफल भएको विचार मनमा आउने बित्तिकै अयोग्यता अनि एकाकीपनको भावनाले पिरोलिहाल्छ।” तिनी कसरी यस्ता भावनाहरूसित सङ्घर्ष गर्छिन्? तिनी यसो भन्छिन्: “त्यस्ता भावनाहरूसित सङ्घर्ष गर्ने सबैभन्दा उत्तम तरिका तुरुन्तै त्यसबारे यहोवासित कुरा गरिहाल्नु हो भनी मैले पत्ता
लगाएकी छु। उहाँलाई प्रार्थना गर्दा मलाई आफू एक्लो छैन भन्ने महसुस हुन्छ। मैले आफूलाई जति बुझेकी छु, त्योभन्दा कैयौं गुणा बढी यहोवाले मलाई बुझ्नुभएको छ। म अरूलाई व्यक्तिगत चासो देखाउने तरिकाहरू खोज्ने प्रयास पनि गर्छु। मैले गरिरहेको पूर्ण-समय सेवकाई यस्ता नकारात्मक विचारहरू विरुद्ध लड्ने एउटा शक्तिशाली हतियार हो। अरूहरूसित परमेश्वरको राज्यका आशिष्हरूबारे कुरा गर्दा आफ्ना स्रोताहरूसित रत्तीभर आशा नभएको अनि तिनीहरूलाई आफ्ना समस्याहरूको अन्त्य कहिल्यै हुनेछैन जस्तो लागेको कुरा थाह पाउँदा तपाईंले बाँच्ने अनि यस्ता नकारात्मक कुराहरू विरुद्ध सङ्घर्ष गरिरहने बलियो आधार भेट्टाउनुहुन्छ।”इल्बा, ९३ वर्षकी भइन् र तिनकी एक मात्र सन्तान पनि अर्कै मुलुकमा मिसनरीको हैसियतमा सेवा गर्छिन्, तिनले कसरी एकाकीपनको सामना गरिन्, तिनी बताउँछिन्: “मेरी छोरी र उनका पतिले वाचटावर बाइबल स्कूल अफ गिलियडमा जाने निमन्त्रणा पाउँदा मैले तिनीहरूको अनुहार खुसीले उज्यालो भएको देखें र म पनि तिनीहरूसितै रमाएँ। पछि, जब तिनीहरूले विदेशी मुलुकमा सेवा गर्ने जिम्मेवारी पाए, म अलिकता स्वार्थी भएँ। मलाई थाह थियो, अब मैले तिनीहरूलाई नजिकबाट हेर्न पाउदिनँ र मेरो मनमा एक किसिमको उदासीपन छायो। मलाई त्यो परिस्थिति न्यायकर्त्ता अध्याय ११ मा वर्णन गरिएको यिप्तह र उनकी एक्ली छोरीको जस्तै लाग्यो। त्यो समय मैले आँसु झारेर यहोवासित क्षमा माग्दै प्रार्थना गर्नुपरेको थियो। मेरा ती दुई बच्चाहरू सधैं मेरो सम्पर्कमा छन्। मलाई थाह छ, तिनीहरू व्यस्त छन् तर तिनीहरू जहाँ बसेर सेवा गरे तापनि मलाई चिठी लेख्न र क्षेत्र सेवकाईमा प्राप्त गरेका अनुभवहरू बताउन समय निकाल्छन्। म तिनीहरूका चिठीहरू दोहऱ्याइ-तेहऱ्याइ पढ्छु। यसो गर्दा मलाई हरेक हप्ता तिनीहरूसित सँगै बसेर कुराकानी गरे जस्तै लाग्छ अनि यसको लागि म धेरै कृतज्ञ छु। साथै मेरा मण्डलीका प्राचीनहरू हामी वृद्ध र अशक्तहरूलाई पर्याप्त ध्यान दिन्छन्, मण्डलीका सभाहरू धाउन यातायातको प्रबन्धदेखि लिएर हाम्रा सबै आवश्यकताहरू पुगेका छन् कि छैनन् भनी तिनीहरू ध्यान दिन्छन्। म मेरा आध्यात्मिक भाइ-बहिनीहरूलाई यहोवाले दिनुभएको आशिष् ठान्ने गर्छु।”
तपाईं पनि एकाकीपनसित सङ्घर्ष गर्न सक्नुहुन्छ
तपाईं जवान होस् या वृद्ध, विवाहित होस् या अविवाहित, बालबच्चा भएको आमाबाबु होस् या अनाथ अनि आफ्नो प्रियजन गुमाउनुपरेको होस् अथवा कुनै किसिमको एकाकीपनको सामना गरिरहनुपरेको होस्, आफ्ना भावनाहरूसित सङ्घर्ष गर्ने तरिकाहरू छन्। अठार वर्षीया एउटी युवती होकाबेड जसका बाबुले अर्को देश जानको लागि आफ्ना ६ जनाको परिवारलाई त्यागे, उनी यसो भन्छिन्: “कुरा नलुकाई पोख्नुहोस्! मनमा कुरा नलुकाई व्यक्त गर्नु महत्त्वपूर्ण छ। यसो गरेनौं भने कसैले पनि हामीलाई बुझ्ने छैनन्।” उनी यस्तो सल्लाह दिन्छिन्: “आफ्नै बारेमा मात्र बढ्तै सोच्न छोडिदिनुहोस्। तपाईंको भन्दा खस्केको परिस्थिति हुन सक्ने कुनै जवान व्यक्ति त होइन तर कुनै परिपक्व व्यक्तिको मदत खोज्नुहोस्।” अगाडि उल्लिखित लुइसा यसो भन्छिन्: “यहोवासित गरिने हृदयस्पर्शी प्रार्थनाले आशा मारिसकेको जस्तो देखिने परिस्थितिबाट उम्कन उहाँले आवश्यक मदत दिनुहुन्छ।” मृत्युले गर्दा आफ्नी पत्नी गुमाउने जर्ज आफूले कसरी एकाकीपनको सामना गरे भनी यस्तो टिप्पणी गर्छन्: “हरेस खानु हुँदैन। अरूप्रति चासो देखाउँदा म धेरै मदत पाउँछु। अरूसित कुराकानी गर्ने क्रममा ‘सहानुभूति देखाउँदा’ कुराकानीलाई अझै अर्थपूर्ण बनाउन सकिन्छ अनि यसले अरू मानिसहरूका असल कुराहरू पत्ता लगाउन मदत गर्न सक्छ।”—१ पत्रुस ३:८.
एकाकीपन विरुद्ध लड्न धेरै कुराहरू गर्न सकिन्छ। तर के त्यस्तो दिन पनि आउनेछ, जब एकाकीपन भोलिको कुरा हुन्छ? यदि त्यस्तो दिन आउनेछ भने, कसरी? यसपछिको लेखले यस प्रश्नको जवाफ दिनेछ। (g04 6/8)
[फुटनोट]
a केही नाउँहरू परिवर्तन गरिएका छन्।
[पृष्ठ ८-मा भएको ठूलो अक्षरको क्याप्सन]
“यहोवासित गरिने हृदयस्पर्शी प्रार्थनाले आशा मारिसकेको जस्तो देखिने परिस्थितिबाट उम्कन उहाँले आवश्यक मदत दिनुहुन्छ।”— लुइसा
[पृष्ठ ७-मा भएको पेटी/चित्र]
तपाईं कसरी एकाकीपनमाथि विजयी हुन सक्नुहुन्छ
◼ तपाईंले सामना गरिरहनुपरेको परिस्थिति परिवर्तन हुन सक्छ, त्यो स्थायी रूपमा नरहने तर अरूहरूले पनि सामना गर्ने उस्तै खालका अनुभवहरू हुन् भन्ने कुरा मनमा राख्नुहोस्।
◼ आफैसित अव्यावहारिक माग नगर्नुहोस्।
◼ सामान्यतया तपाईं जस्तो हुनुहुन्छ, त्यसैमा सन्तुष्ट हुनुहोस्।
◼ खाने र व्यायाम गर्ने सन्दर्भमा असल बानी विकास गर्नुहोस् र पर्याप्त मात्रामा निदाउनुहोस्।
◼ एक्लै बिताउने समय सृजनात्मक काम गरेर र नयाँ-नयाँ सीपहरू सिकेर सदुपयोग गर्नुहोस्।
◼ विगतको आफ्नो अनुभवको आधारमा आफूले भेट्ने मानिसहरूबारे पूर्वानुमान नगर्नुहोस्।
◼ आफ्ना साथीहरू र तिनीहरूका असल गुणहरूको मोल गर्नुहोस्। साथीहरू बनाउने प्रयास गर्नुहोस्। पाको अनि अनुभवीहरूसित सल्लाह माग्नुहोस्।
◼ अरूको लागि केही गरिदिनुहोस्—तिनीहरूसित मुस्कुराउनुहोस्, दयालु वचनहरू बोल्नुहोस्, तिनीहरूलाई बाइबलका केही कुराहरू बताउनुहोस्। अरूले आफ्नो आवश्यकता महसुस गर्छन् भन्ने भावना एकाकीपनको प्रभावकारी औषधी हो।
◼ चलचित्र वा टिभीका अभिनेताहरू अथवा इन्टरनेट वा कुनै उपन्यासका पात्रहरूसित सम्बन्ध गाँसेको कल्पनामा नहराउनुहोस्।
◼ यदि तपाईं विवाहित हुनुहुन्छ भने आफ्ना सबै भावनात्मक आवश्यकताहरू आफ्नो जोडीबाट पूरा हुने आशा नराख्नुहोस्। सम्झौता गर्न अनि एकअर्कालाई मदत र सहयोग गर्न सिक्नुहोस्।
◼ अरूसित कुरा गर्न र अरूको कुरा राम्ररी सुन्न सिक्नुहोस्। अरू मानिस तथा तिनीहरूको चासोमा ध्यान केन्द्रित गर्नुहोस्। समानुभूतिशील हुनुहोस्।
◼ आफू एकाकीपनको सिकार भएको कुरालाई मानिलिनुहोस् र आफूले भरोसा गर्न सक्ने कुनै परिपक्व साथीलाई त्यसबारे बताउनुहोस्। पीडालाई आफूमै गुम्साएर भित्र-भित्रै नजल्नुहोस्।
◼ धेरै रक्सी नपिउनुहोस् अथवा रक्सी नै नपिउनुहोस्। रक्सीले तपाईंका समस्याहरू हल गर्दैन तर केही क्षणमै ती समस्याहरू पुनः देखापर्छन्।
◼ घमण्ड त्याग्नुहोस्। आफूलाई चित्त दुखाउनेलाई क्षमा दिनुहोस् अनि तिनीहरूसित सम्बन्ध सुधार्न यथासक्दो गर्नुहोस्। अरूप्रति बढी शङ्कालु नहुनुहोस्।
[पृष्ठ ६-मा भएको चित्र]
कुनै व्यक्तिले कसरी एकाकीपनसित सङ्घर्ष गर्न सक्छ?