एकाकीपन महसुस गर्ने मानिसहरू किन यति थुप्रो?
एकाकीपन महसुस गर्ने मानिसहरू किन यति थुप्रो?
आजको समाजमा धेरै मानिसहरूलाई एकाकीपनले सताउने गर्छ। यसले जुनसुकै उमेर, जात, सामाजिक स्तर अनि धार्मिक आस्था राख्ने मानिसहरूलाई असर गर्छ। के तपाईंलाई कहिल्यै एकाकीपनले सताएको छ? कतै तपाईंलाई अहिले एकाकीपनले सताउँदै त छैन? वास्तवमा हामी सबैले कुनै न कुनै समय आफ्नो कुरा सुनिदिने, चिन्ता र फिक्रीले सताउँदा सान्त्वनाका दुई शब्दहरू बोलिदिने अथवा आफ्ना भावना अनि मनभित्रका कुराहरूका साथै आफूलाई एक जना व्यक्तिको रूपमा बुझिदिने कुनै साथीको आवश्यकता महसुस गरेका छौं। हामी सबैलाई आफ्ना भावनाहरू राम्ररी बुझिदिने कुनै व्यक्तिको खाँचो छ।
यद्यपि, एक्लो हुँदैमा एकाकीपन महसुस गरिन्छ नै भन्ने छैन। कुनै व्यक्ति रत्तीभर एकाकीपन महसुस नगरी आफ्ना क्रियाकलापहरूबाट आनन्द उठाउँदै लामो समयसम्म एक्लै बस्न सक्छन्। त्यसको ठीक उल्टो, त्यस्ता व्यक्तिहरू पनि छन्, जो एक्लै बस्नै सक्दैनन्। दी अमेरिकन हेरिटेज डिक्सनरी यसो भन्छ: “एक्लो भन्ने शब्दले अरूबाट अलग्गै रहने कुरालाई जोड दिए तापनि यसले दुःखी हुनै पर्ने कुरालाई बुझाउँदैन। एकाकीपन-ले अक्सर . . . आफू एक्लो भएको पीडादायी सजकतालाई बुझाउँछ . . . एक्लोपन महसुस गर्नु भनेको कुनै साथीको तीव्र चाहना हुनु हो,” यो एउटा दिक्दारी, वियोग अथवा विरक्तलाग्दो अवस्था हो। यस्तो बेला मानिसको मनलाई फेरि खुसी पार्न निष्कपट र मायालु साथीहरूको सान्त्वना चाहिन्छ। अन्तमा अङ्ग्रेजीको सोलिटारी अर्थात् एकान्तवासले “अक्सर एक्लो हुने र एक्लोपन महसुस गर्ने अवस्थालाई बुझाउँछ। . . . तर, यसले अक्सर आफ्नै इच्छाले एक्लो बस्ने कुरालाई जोड दिन्छ।”
एकाकीपनका भावनाहरू उग्र हुन सक्छन् र यसले अत्यन्तै पीडादायी रूप लिन सक्छ। यो एउटा रित्तोपनको आभास हो। यसमा आफू नितान्त एक्लो भएको महसुस हुन्छ अर्थात् अरू मानिसहरूबाट अलग्गिएका भावनाहरू उत्पन्न हुन्छन्। भावनात्मक रूपमा कमजोर हुनुका साथै हामी
एकाएक डराउन पनि सक्छौं। के तपाईंलाई कहिल्यै यस्तो भएको छ? एकाकीपनको कारण के हो?समस्या, परिस्थिति र अवस्थाहरूले मानिसमा विभिन्न असरहरू पार्छ। सायद तपाईंको रूपरङ, जात अथवा धर्मले गर्दा तपाईं आफ्नै साथीभाइहरूबाट हेपिएको महसुस गर्नुहुन्छ होला। नयाँ स्कूलमा भर्ना हुँदा, नयाँ जागिर खाँदा, नौलो छरछिमेक, सहर अथवा कुनै देशमा बसाइँ सर्दा वातावरणमा आउने परिवर्तनहरूले एकाकीपनको भाव उत्पन्न हुन सक्छ किनकि यस्ता अवस्थाहरूमा तपाईंले आफ्ना पुराना साथीहरूलाई छोडेर आउनुपर्ने हुन्छ। आमाबाबु अथवा वैवाहिक जोडी गुमाउनुपर्दा एकाकीपनले वर्षौंसम्म पनि सताइरन सक्छ। साथै, उमेर ढल्दै जाँदा आफ्ना साथीभाइ र चिनेजानेका मानिसहरूमा परिवर्तन आइरहन्छ तिनीहरू या घट्छन् या त हराएर जान्छन्।
विवाहले सधैं नै एकाकीपनबाट मुक्ति दिन्छ भन्ने ग्यारेन्टी हुँदैन। एक-अर्कालाई बुझ्न नसक्दा अथवा मिलेर बस्न नसक्दा तनाव सृजना हुन सक्छ जसले अनिश्चिततालाई जन्माउन सक्छ परिणामस्वरूप दम्पती र छोराछोरीहरू छुट्टिन सक्छन्। तर प्रियजनहरूको मृत्यु, छुटानाम अथवा शारीरिक वा भावनात्मक तवरमा एक्लो हुँदा उत्पन्न हुने एकाकीपनको अलावा अर्को एउटा एकाकीपन पनि छ जसले हामीलाई साह्रै गहिरो असर गर्न सक्छ। परमेश्वरसितको हाम्रो सम्बन्ध कमजोर हुँदा अनि उहाँबाट अलग भएको महसुस गर्दा हामीलाई यस्तो एकाकीपनले सताउँछ।
के तपाईंले माथि बताइएको कुनै परिस्थिति अनुभव गर्नुभएको छ? के एकाकीपनमाथि विजय हासिल गर्न सम्भव छ? (g04 6/8)
[पृष्ठ ४-मा भएको चित्र]
नयाँ स्कूलमा जानेदेखि लिएर आफ्नो जोडी गुमाउनु जस्ता जीवनमा आउने परिवर्तनहरूले एकाकीपनले सताउन सक्छ