सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के फिक्रीले विश्‍वासको कमीलाई सङ्‌केत गर्छ?

के फिक्रीले विश्‍वासको कमीलाई सङ्‌केत गर्छ?

बाइबलको दृष्टिकोण

के फिक्रीले विश्‍वासको कमीलाई सङ्‌केत गर्छ?

“फिक्री निषेध।” यस शीर्षकअन्तर्गत २० औं शताब्दीको प्रारम्भका एक जना पादरीले भौतिक कुराहरूको फिक्री गर्नु खराब मात्र होइन तर “एउटा घोर पाप हो” भनी लेखे। हालैको कुरा हो, चिन्ता तथा फिक्रीमाथि विजयी हुने विषयमा लेख्दै एक जना अवलोकनकर्ताले यस्तो उल्लेख गरे, “चिन्ता गर्नु भनेको परमेश्‍वरमा भरोसा नगरेको देखाउनु हो।”

दुवै लेखकहरूको निचोड डाँडाको उपदेशमा येशूले भन्‍नुभएको कुरामा आधारित थियो, जहाँ उहाँले यसो भन्‍नुभयो: “तिमीहरू फिक्री नगर।” (मत्ती ६:२५) फिक्रीले आज कयौं मानिसहरूलाई असर गर्ने भएकोले हामी यस्ता प्रश्‍नहरू गर्न सक्छौं: के एक जना मसीहीले फिक्री गरेकोमा दोषी महसुस गर्नुपर्छ? के फिक्री गर्नुले विश्‍वासको कमीलाई सङ्‌केत गर्छ?

परमेश्‍वरले हाम्रो असिद्धतालाई बुझ्नुहुन्छ

सबै किसिमको फिक्रीको कारण विश्‍वासको कमी हो भनेर बाइबलले सिकाउँदैन। हामी बाँचिरहेको “डरलाग्दो समय[लाई]” विचार गर्ने हो भने, केही हदसम्म फिक्री अनुभव नगर्नु त असम्भवप्रायः छ। (२ तिमोथी ३:१) विश्‍वासी मसीहीहरूले दिनहुँ अस्वस्थता, वृद्धावस्था, आर्थिक दबाब, पारिवारिक कलह, अपराध तथा अन्य समस्याहरूको कारण उत्पन्‍न फिक्रीहरूको सामना गर्छन्‌। पुरातन समयमा समेत परमेश्‍वरका सेवकहरूले डर अनि चिन्ताहरूको सामना गर्नुपरेको थियो।

लूतको बाइबल विवरणलाई विचार गर्नुहोस्‌। सदोम र गमोराको विनाशमा परेर भस्म हुनबाट जोगिन परमेश्‍वरले तिनलाई पहाडतिर भाग्ने आज्ञा दिनुभयो। तर लूतले फिक्री गरे। तिनले यसो भने: “हुजूर हो, त्यसो नहोस्‌।” हिचकिचाउँदै तिनले अझ यसो भने: “म पहाड़तिर भाग्नसक्‍तिनँ, नत्रता यस विपत्तिमा म परेर मर्छु होला।” पहाडतिर भाग्न लूत किन डराए? यस विषयमा बाइबलले केही पनि बताउँदैन। कारण जेसुकै होस्‌, लूत अत्यन्तै डराएका थिए। परमेश्‍वरले कस्तो प्रतिक्रिया देखाउनुभयो? विश्‍वासको कमी देखाएकोमा वा परमेश्‍वरमाथि भरोसा नदेखाएकोमा के लूतलाई अनुशासन दिइयो? अहँ, दिइएन। त्यसको विपरीत, लूतलाई नजिकैको सहरमा भाग्न दिनुभएर यहोवाले तिनीप्रति दया देखाउनुभयो।—उत्पत्ति १९:१८-२२.

कहिलेकाहीं अत्यन्तै फिक्री गरेका विश्‍वासी उपासकहरूको अन्य बाइबल उदाहरणहरू पनि छन्‌। मार्ने धम्की पाएपछि अगमवक्‍ता एलिया डराए र भागे। (१ राजा १९:१-४) मोशा, हन्‍ना, दाऊद, हबकूक, पावललगायत बलियो विश्‍वास भएका अन्य पुरुष तथा स्त्रीहरूले पनि फिक्री व्यक्‍त गरे। (प्रस्थान ४:१०; १ शमूएल १:६; भजन ५५:५; हबकूक १:२, ३; २ कोरिन्थी ११:२८) तरैपनि परमेश्‍वरले अनुकम्पा देखाउनुभयो र आफ्नो सेवामा उनीहरूलाई निरन्तर प्रयोग गरिरहनुभयो। यस प्रकार, परमेश्‍वरले असिद्ध मानिसहरूलाई साँच्चै बुझ्नुभएको कुरा प्रमाणित गर्नुभयो।

“हामीलाई सजिलैसित अल्मल्याउने पाप”

तथापि, फिक्री भइरह्‍यो भने यसले हाम्रो विश्‍वासलाई कमजोर बनाउन सक्छ र परमेश्‍वरमाथिको भरोसा गुम्न सक्छ। प्रेरित पावलले विश्‍वासको कमीलाई “हामीलाई सजिलैसित अल्मल्याउने पाप” भनी सङ्‌केत गरे। (हिब्रू १२:१) आफैलाई पनि समावेश गरेर पावलले सम्भवतः पटक-पटक हुने विश्‍वासको क्षणिक कमजोरीमा ‘सजिलै अल्मलिने’ आफ्नो झुकाव स्वीकारिरहेका थिए।

तिम्री पत्नी गर्भवती हुनेछिन्‌ भनेर स्वर्गदूतले बताउँदा जकरियाको मनमा क्षणिक विश्‍वासको कमी भएको हुनुपर्छ। “अल्पविश्‍वासको” कारण एक चोटि येशूका प्रेरितहरूले निको पार्ने काम गर्न सकेनन्‌। तथापि, यी व्यक्‍तिविशेषहरूले परमेश्‍वरको अनुमोदन पाइरहे।—मत्ती १७:१८-२०; लूका १:१८, २०, ६७; यूहन्‍ना १७:२६.

अर्कोतर्फ, परमेश्‍वरमाथिको आफ्नो भरोसा गुमाउने र गम्भीर परिणामहरू भोग्ने मानिसहरूका उदाहरणहरू पनि बाइबलमा पाइन्छन्‌। उदाहरणका लागि, विश्‍वासको कमीकै कारण मिश्रबाट निस्केर आएका थुप्रै इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न दिइएन। एक चोटि त तिनीहरूले ठाडै परमेश्‍वरको विरुद्धमा यसो समेत भने: “यस उजाड़-स्थानमा मर्न हामीलाई तपाईंहरूले के कारण मिश्र देशबाट ल्याउनुभयो? किनकि यहाँ रोटी छैन, पानी पनि छैन” परमेश्‍वरको अप्रसन्‍नताको सङ्‌केत स्वरूप तिनीहरूलाई सजाय दिन विषालु सर्पहरू पठाइयो।—गन्ती २१:५, ६.

येशूको गृहनगर, नासरतका बासिन्दाहरूले आफ्नो इलाकामा शक्‍तिका धेरै कामहरू हेर्ने सुअवसर पाएनन्‌ किनभने तिनीहरूमा विश्‍वासको कमी थियो। साथै, विश्‍वासको कमीकै कारण त्यस दिनको दुष्ट पुस्ताको येशूले कडा शब्दमा भर्त्सना गर्नुभयो। (मत्ती १३:५८; १७:१७; हिब्रू ३:१९) त्यसैकारण प्रेरित पावलले यस्तो चेतावनी दिनु उचित थियो: “हे भाइ हो, होशियार बस, नत्रता जीवित परमेश्‍वरबाट पतित हुनालाई तिमीहरूमा कसैको अविश्‍वासको दुष्ट हृदय हुनेछ।”—हिब्रू ३:१२.

हो, कुनै-कुनै अचाक्ली अवस्थामा दुष्ट हृदयको कारण विश्‍वासको कमी हुन्छ। तर अघि उल्लिखित उदाहरणहरूमा जकरिया अनि येशूका प्रेरितहरूलाई यस्तो भएको थिएन। क्षणिक कमजोरीको कारण उनीहरूमा विश्‍वासको कमी भएको थियो। उनीहरूको सम्पूर्ण जीवन शैलीलाई हेर्ने हो भने उनीहरू ‘शुद्ध हृदय’ भएकाहरू थिए भनी स्पष्ट हुन्छ।—मत्ती ५:८.

परमेश्‍वरलाई हाम्रा आवश्‍यकताहरू थाह छ

धर्मशास्त्रले हामीलाई दैनिक फिक्री र विश्‍वासको कमीको पापबीच भेद छुट्टयाउन मदत गर्छ। दिनहुँ महसुस हुने फिक्री अथवा मानव कमजोरीको कारण हुने विश्‍वासको क्षणिक कमीलाई दुष्ट र कठोर हृदयको कारण परमेश्‍वरमाथि पटक्कै भरोसा नगर्नुजस्तै ठान्‍नु हुँदैन। त्यसकारण, बेला-बखतमा फिक्री महसुस हुँदैमा मसीहीहरू दोषी भावनाले पिरोलिनु आवश्‍यक छैन।

तरैपनि, फिक्री अनियन्त्रित नहोस्‌ र फिक्रीको वशमा हाम्रो जीवन नपरोस्‌ भन्‍नको लागि सतर्कता अपनाउनु भने जरुरी छ। तसर्थ, यसो भन्‍नुमा येशूका शब्दहरूमा बुद्धि झल्किन्छ: “ ‘हामी के खाउँला, कि के पिऔंला र आफ्नो शरीरको निम्ति के लगाउँला भनी तिमीहरू फिक्री नगर।’ ” यसो भनिसक्नुभएपछि उहाँले यस्ता सान्त्वनादायी शब्दहरू भन्‍नुभयो: “किनभने तिमीहरूका स्वर्गका पिताले तिमीहरूलाई यी सबै थोकको दर्कार छ भनी जान्‍नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्‌।”—मत्ती ६:२५-३३. (g04 6/8)

[पृष्ठ १२-मा भएको चित्र]

प्रेरित पावलले फिक्री महसुस गरे