सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जब कसैले फेरि कहिल्यै एकाकीपन महसुस गर्नेछैन

जब कसैले फेरि कहिल्यै एकाकीपन महसुस गर्नेछैन

जब कसैले फेरि कहिल्यै एकाकीपन महसुस गर्नेछैन

उत्पत्ति २:१८ मा लिपिबद्ध भनाइअनुसार प्रथम मानवलाई सृष्टि गर्नुहुँदा “परमप्रभु परमेश्‍वरले, भन्‍नुभयो ‘मानिस एक्लो रहन असल छैन। म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउनेछु।’ ” मानिसजातिलाई अरूको साथ चाहिने अनि अरूमा निर्भर हुने गरी सृष्टि गरिएको थियो।

हामीले पाउन सक्ने उत्तम मित्र भनेको यहोवा परमेश्‍वर नै हुनुहुन्छ। प्रेरित पावलले यहोवा ‘कृपाका पिता, र सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ . . . र उहाँले हाम्रा सबै सङ्‌कष्टमा हामीलाई सान्त्वना दिनुहुन्छ,’ भनी मानिलिए। (२ कोरिन्थी १:३, ४) आफ्ना कुनै पनि सेवकको पीडामा यहोवा स्वयम्‌ आफ्नो दुःख व्यक्‍त गर्नुहुन्छ। उहाँ समानुभूतिको परमेश्‍वर हुनुहुन्छ। “उहाँले हाम्रो बनोट जान्‍नुहुन्छ। मानिसहरू माटोनै हुन्‌ भनी उहाँ सम्झनहुन्छ।” (भजन १०३:१४) यहोवाको मायालु, दयालु र अरूप्रतिको समझदारीपूर्ण चासो देखेर के तपाईं उहाँसित अझ नजिक भएको महसुस गर्नुहुन्‍न र?

एकाकीपनले सताउनेहरूलाई यहोवा मदत गर्नुहुन्छ

विगतमा परमेश्‍वरका धेरैजसो सेवकहरूले एकाकीपनले सताउने अवस्थाहरूको सामना गरे। तिनीहरूको लागि यहोवा मदत र सान्त्वनाको स्रोत हुनुभयो। उदाहरणको लागि जवान छँदा यहोवाले अगमवक्‍ताको रूपमा छान्‍नुभएको यर्मियालाई लिनुहोस्‌। धर्मशास्त्रका ४० जना लेखकमध्ये सम्भवतः सबैभन्दा बढी आफ्ना व्यक्‍तिगत भावनाहरू पोखाउने यर्मिया नै हुनुपर्छ। परमेश्‍वरबाट पहिलो कार्यभार पाउँदा उनले डराएको अनि आफू अयोग्य भएको महसुस गरे। (यर्मिया १:६) उक्‍त जिम्मेवारी पूरा गर्न उनले यहोवामा पूर्ण भरोसा राख्नुपर्थ्यो। साँच्चै, यहोवा “एक भयङ्‌कर योद्धाझैं” उनको साथमा हुनुहुन्थ्यो।—यर्मिया १:१८, १९; २०:११.

यर्मियाभन्दा ३०० वर्ष अगाडि जब रानी ईजेबेलले आफ्ना बाल देवताका अगमवक्‍ताहरूको मृत्युको खबर सुनिन्‌, तब तिनले एलियालाई मार्ने शपथ खाइन्‌। एलिया झन्डै ४५० किलोमिटर टाढा सीनै प्रायद्वीपमा रहेको होरेबतिर भागे। रात बिताउन उनी एउटा ओडारभित्र छिरे र यहोवा परमेश्‍वरले उनलाई यस्तो प्रश्‍न सोध्नुभयो: “हे एलिया, तँ किन यहाँ छस्‌?” उनले, इस्राएलभरि आफू मात्र यहोवाको उपासक भएको अर्थात्‌ परमेश्‍वरको सेवाको लागि जोसिलो उपासक उनी एक जना मात्र बाँकी रहेको कुरा आफूले महसुस गरेको बताए। उनी एक्लो छैनन्‌ भनी यहोवाले उनलाई आश्‍वासन दिनुभयो। एलियालाई थाह नभए तापनि यहोवा उनीसित हुनुहुन्थ्यो र उहाँका ७,००० सँगी इस्राएलीहरू पनि उनीसित थिए। यहोवाले एलियालाई सान्त्वना दिनुभयो अनि उनको विश्‍वासलाई बलियो बनाउनुभयो। उहाँले ती अगमवक्‍तालाई आफ्नो जिम्मेवारीबाट लत्तो नछाड्‌ने प्रोत्साहन दिनुहुँदै उनको हृदयलाई उत्प्रेरित गर्नुभयो। (१ राजा १९:४, ९-१२, १५-१८) एलिया जस्तै यदि हामीले कहिल्यै एकाकीपन अथवा अयोग्य महसुस गरेको खण्डमा बलको लागि यहोवालाई प्रार्थना गर्न सक्छौं। साथै, मसीही प्राचीनहरूले समझशक्‍ति चलाउँदै विश्‍वासीहरूलाई परमेश्‍वरको उद्देश्‍य पूर्तिमा तिनीहरूको भूमिकालाई बुझ्न मदत दिंदै दिलासा दिन सक्छन्‌।—१ थिस्सलोनिकी ५:१४.

यी लगायत अन्य उदाहरणहरूद्वारा एकाकीपन महसुस गर्नेहरूका लागि मदत र मायालु सान्त्वना दिन यहोवा कत्ति धेरै इच्छुक हुनुहुन्छ भन्‍ने कुरा बुझ्न सक्छौं। हो, “परमप्रभु भला हुनुहुन्छ, संकष्टको दिनमा बलियो किल्ला उहाँनै हुनुहुन्छ।”—भजन ९:९; ४६:१; नहूम १:७.

गहिरा भावनाहरू अनि सहानुभूति भएका एक जना पुरुष

यहोवाको अनुकरण गर्ने सन्दर्भमा येशूले सिद्ध रूपमा देखाउनुभएका सन्तुलित भावनाहरू प्रशंसा गर्न लायकका छन्‌। नाइन सहरको अन्त्येष्टी समारोह देख्नुहुँदा येशूको प्रतिक्रियालाई लूका यसरी वर्णन गर्छन्‌: “एउटा विधवाको एउटै छोरोको मुर्दा लगिंदै थियो, . . . जब प्रभुले तिनलाई देख्नुभयो, तब तिनीमाथि टिठाएर भन्‍नुभयो, ‘नरोऊ।’ औ नजीक गएर उहाँले अर्थी छुनुभयो, र बोक्नेहरू टक्क अड़िए। अनि उहाँले भन्‍नुभयो, ‘ए युवक, म तिमीलाई भन्दछु, उठ।’ तब जो मरेको थियो उठेर बस्यो, र बोल्नलाग्यो, औ उहाँले त्यसलाई आमाको जिम्मा लगाउनुभयो।” (लूका ७:१२-१५) येशू भावविह्वल हुनुभयो। उहाँ अनुकम्पाले भरिएको एक जना पुरुष हुनुहुन्थ्यो। तिनको छोरालाई पुनः जीवित गराएर तिनलाई सुम्पँदा एकाकीपनले सताएको ती विधवाको जीवनमा येशूले ल्याइदिनुभएको खुसीबारे कल्पना गर्नुहोस्‌! अब तिनलाई एकाकीपनले सताएन।

येशू “हाम्रा निर्बलतामा हामीसँग दुःखी हुन” सक्नुहुन्छ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौं। उहाँ निश्‍चय पनि एकाकीपन महसुस गर्ने निर्दोष व्यक्‍तिसित दुःखी हुन सक्नुहुन्छ। वास्तवमा हामी “दरकारको समयमा . . . उपकारको निम्ति उहाँद्वारा अनुग्रह पाउनसक्छौं।” (हिब्रू ४:१५, १६) येशूको अनुकरण गरेर दुःख, पीडा र एक्लोपन महसुस गरिरहेकाहरूप्रति हामी सहानुभूति विकास गर्न सक्छौं। अरूलाई मदत गर्दा आफूलाई एकाकीपनले सताउने सम्भावना निकै कम हुन्छ। तर एकाकीपनका नकारात्मक भावनाहरूमाथि विजयी हुन मदत पाउन सक्ने अझै एउटा अर्को तरिका पनि छ।

एकाकीपनमाथि विजयी हुन यहोवाको वचनले मदत गर्न सक्छ

“धर्मशास्त्रको शान्तिद्वारा हामीलाई आशा [छ]” भनेर धेरैले पत्ता लगाएका छन्‌। परमेश्‍वरको वचन पर्याप्त व्यावहारिक सल्लाहहरूले भरिएको छ जसले हामीलाई एकाकीपनमाथि विजयी हुन मदत गर्न सक्छ। (रोमी १५:४; भजन ३२:८) उदाहरणको लागि, परमेश्‍वरको वचनले ‘आफूलाई जस्तो सम्झनु पर्दछ त्यसभन्दा बढी नसम्झने’ सल्लाह दिन्छ। (रोमी १२:३) यस सल्लाहलाई पालन गर्न हामीले हाम्रा सोचाइहरूमा काँटछाँट गर्नु आवश्‍यक पर्न सक्छ। नम्रता र विनय अर्थात्‌ आफ्ना सीमितताहरूप्रतिको व्यावहारिक दृष्टिकोणले पक्कै पनि सन्तुलित र व्यावहारिक आशाहरू राख्न मदत गर्नेछ। परमेश्‍वरको वचनले अरूप्रति निष्कपट चासो विकास गर्ने सल्लाह पनि दिन्छ। (फिलिप्पी २:४) अरूलाई चासो देखाउने सन्दर्भमा कहिल्यै पनि एउटा हातले ताली बज्दैन। जब तपाईंले अरूलाई दिनुहुन्छ अरूबाट पनि तपाईंले पाउनुहुनेछ। यस्तो असल संगतिले हाम्रो रित्तोपनका भावनाहरूलाई हटाउन मदत गर्छ र हाम्रो जीवनलाई अर्थ दिन्छ।

बाइबलले हामीलाई मसीहीहरूको हैसियतमा ‘एक ठाउँमा भेला हुनलाई नछोड्‌न’ प्रोत्साहन दिन्छ। (हिब्रू १०:२४, २५) त्यसैले, नियमित रूपमा यहोवाका साक्षीहरूका सभाहरू धाउने जस्ता सकारात्मक क्रियाकलापहरूमा व्यस्त रहनुहोस्‌। निस्सन्देह, मसीही सभाहरूले हाम्रो आध्यात्मिक, भावनात्मक र शारीरिक सुस्वास्थ्यमा योगदान पुऱ्‍याउन सक्छ। यहोवाको राज्यबारे अरूसित कुरा गर्नु हाम्रो जीवनलाई स्वास्थ्यकर गतिविधिहरूले भर्ने आनन्ददायी तरिका हो। यसले हाम्रो मनलाई सही दिशातर्फ लक्षित गर्छ, हाम्रो विश्‍वासलाई बलियो बनाउँछ अनि हाम्रो आशालाई सुरक्षा दिन्छ।—एफिसी ६:१४-१७.

प्रार्थनामा यहोवासित नजिक हुनुहोस्‌। दाऊदले यस्तो आग्रह गरे: “तेरो भारी परमप्रभुमा राख्‌, र उहाँले तँलाई सह्‍माल्नुहुनेछ।” (भजन ५५:२२) परमेश्‍वरको वचन अध्ययन गरेर तपाईंले आनन्दित महसुस गर्नुहुनेछ। (भजन १:१-३) एकाकीपनको भावनाले तपाईंलाई खर्लप्पै निल्छ भने उहाँको वचनमा पाइने यहोवाका मायालु हेरचाहबारे मनन गर्नुहोस्‌। भजन रचयिताले यस्तो लेखे: “मेरो जीउ धूलोमा टाँसिएको छ। तपाईंको वचनले मलाई जीवित राख्नुहोस्‌।”—भजन ११९:२५.

जब कसैले भन्‍नेछैनन्‌ “मलाई एकाकीपनले सताउँछ”

यहोवाले हामीलाई चिन्ता, निराशा र नकारात्मक भावनाहरूबाट मुक्‍त संसारको प्रतिज्ञा गर्नुभएको छ। बाइबल यसो भन्छ: “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।” (प्रकाश २१:४) हो, ती बितेर जाने विगतका केही कुराहरू आज हामीले महसुस गर्ने शारीरिक, मानसिक र भावनात्मक पीडाहरू हुन्‌।

पृथ्वी मित्रैला मानिसहरूले भरिनेछ जसले हाम्रो जीवनलाई उकास्नेछ। यहोवाले येशू ख्रीष्टको हातमा रहेको आफ्नो स्वर्गीय राज्यद्वारा हामीलाई सताउने एकाकीपनलाई सदाका लागि निर्मूल पारिदिनुहुनेछ। पार्थिव प्रमोदवनमा उहाँले पक्कै पनि हाम्रा लागि नयाँ अनि अद्‌भुत कामहरूको प्रबन्ध गर्नुहुनेछ। त्यो दिन छिट्टै आउनेछ जब हामीले कहिल्यै यसो भन्‍ने छैनौं, “मलाई एकाकीपनले सताउँछ।” (g04 6/8)

[पृष्ठ ९-मा भएको चित्र]

यहोवाको मदतले एक्लो हुँदा समेत एकाकीपन महसुस गर्नेछैनौं

[पृष्ठ १०-मा भएको चित्र]

यर्मिया र एलियाको बाइबल विवरणले हामीलाई के सिकाउँछ?