सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

टायर—तपाईंको जीवन यसमा निर्भर हुन सक्छ!

टायर—तपाईंको जीवन यसमा निर्भर हुन सक्छ!

टायर—तपाईंको जीवन यसमा निर्भर हुन सक्छ!

आफूलाई वेल्डिङ गरिएको स्टिल र सिसाले बनेको खोरभित्र थुनिएको कल्पना गर्नुहोस्‌ अनि तपाईंको नजिकै तेजाब र प्रज्जवलनशील तरल पदार्थले भरिएका भाँडाहरू पनि छन्‌। त्यसपछि यो सम्भाव्य घातक खोरलाई जमिनभन्दा केही सेन्टिमिटरमाथि झुन्ड्याउनुहोस्‌ र यसलाई प्रतिसेकेण्ड लगभग ३० मिटरको गतिमा हुँइक्याउनुहोस्‌। यति मात्र होइन, तपाईंको यो मेसिनलाई यस्तै खालका अरू मेसिनहरूमाझ लैजानुहोस्‌ र अरू मेसिनहरू तपाईंको मेसिनको ठीक विपरीत दिशातिरबाट आइरहेको बेला वेगले दौडाउनुहोस्‌!

भन्‍ने हो भने, तपाईंले राजमार्गमा गाडी हाँक्दा सधैं यस्तै भइरहेको हुन्छ। गाडी हाँक्दा आफ्नो गाडीलाई नियन्त्रणमा राख्न र सुरक्षित महसुस गर्न तपाईंलाई कुन कुराले मदत दिन्छ? धेरै हदसम्म तपाईंको गाडीको टायरले।

टायरको काम के हो

टायरका विभिन्‍न महत्त्वपूर्ण कामहरू छन्‌। यसले तपाईंको गाडीको भार थाम्ने मात्र नभई जोल्टिङ, खाल्टाखुल्टी र बिग्रिएको सडकको असरबाट तपाईंको गाडीलाई जोगाउँछ। योभन्दा पनि अझ महत्त्वपूर्ण कुरा त, गति बढाउन, दिशा परिवर्तन गर्न, ब्रेक लगाउन र विभिन्‍न खालका सडकहरूमा गाडीको गति नियन्त्रण गर्नको लागि नभई नहुने घर्षण टायरले पैदा गर्छ। तथापि, एक पटकमा टायरको एकदमै थोरै अर्थात्‌ झन्डै-झन्डै एउटा पोस्टकार्डको साइज जति भागले मात्र जमिन छोएको हुन्छ।

यसको महत्त्वलाई विचार गर्दा, तपाईंको गाडीको टायरलाई सुरक्षित र सुचारु अवस्थामा राख्नको लागि तपाईं के गर्न सक्नुहुन्छ? अनि टायर छान्‍नुपर्दा तपाईं आफ्नो गाडीको लागि सही प्रकारको टायर कसरी छान्‍न सक्नुहुन्छ? यी प्रश्‍नहरूको जवाफ पाउनुभन्दा अघि, आउनुहोस्‌ हामी टायरको इतिहासबारे छोटकरीमा विचार गरौं।

रबरका अग्रजहरू

चक्काहरूको प्रयोग गर्न थालेको हजारौं वर्ष भइसके तापनि गाडीको चक्काको बाहिरी भागमा रबर प्रयोग गर्न थालेको भने धेरै समय भएको छैन। १७ औं शताब्दीको प्रारम्भमा काठ वा स्टिलको चक्कामा सबैभन्दा पहिले प्राकृतिक रबर राखिएको थियो। तर यो चाँडै नै खिइयो र रबरजडित चक्काको भविष्य अन्धकार देखियो। तर संयुक्‍त राज्य अमेरिकाको कनेटिकटका एक जना लगनशील आविष्कारक चार्ल्स गुडयरको लगनशील प्रयासको कारण यो अवस्थामा परिवर्तन आयो। सन्‌ १८३९ मा गुडयरले भल्कनाइजेसन भनिने प्रक्रिया पत्ता लगाए, जुन प्रकियामा ताप र चापको सहायताले रबरलाई सल्फरसित मिसाइन्छ। यस प्रक्रियाले गर्दा रबरलाई सजिलै आकार दिन सकिने भयो र खिइने रफ्तारमा पनि निकै सुधार आयो। कडा खालका रबरका टायरहरू अझ लोकप्रिय भए तर यसमा गरिने यात्रा निकै कष्टप्रद थियो।

सन्‌ १८४५ मा स्कटल्याण्डका इन्जिनियर रोबर्ट डब्लु. थमसनले हावा भरिएको पहिलो टायरको एकाधिकार प्राप्त गरे। तथापि, स्कटल्याण्डका अर्का बासिन्दा जोन ब्योड डन्लपले आफ्नो छोराको साइकल अझ सजिलो बनाउन कोसिस गरेपछि मात्र हावा भरिएको टायरले व्यापारिक सफलता प्राप्त गऱ्‍यो। सन्‌ १८८८ मा डन्लपले आफ्नो नयाँ टायरको एकाधिकार प्राप्त गरे र आफ्नै कम्पनी सुरु गरे। तैपनि, हावा भरिएको टायरले थुप्रै अवरोधहरूको सामना गर्नुपर्ने थियो।

सन्‌ १८९१ मा एक दिन एक जना फ्रान्सेली साइकल चालकको टायरको हावा फुस्कियो। तिनले यो मर्मत गर्ने कोसिस गरे तर सकेनन्‌ किनभने टायर छुट्याउनै नसकिने गरी साइकलको चक्कामा टाँसिएको थियो। तिनले अर्का एक जना फ्रान्सेली मित्र एड्‌वार मिशलिनको सहयोग मागे; मिशलिन भल्कनाइजेसन गरिएको रबरसम्बन्धी कामको लागि प्रख्यात थिए। उक्‍त टायर मर्मत गर्न मिशलिनलाई नौ घण्टा लाग्यो। त्यस अनुभवले चक्काबाट निकालेर सजिलै मर्मत गर्न सकिने हावा भरिएको टायर विकास गर्न तिनलाई उत्प्रेरित गऱ्‍यो।

मिशलिनका टायरहरू यति सफल भए कि यसको एक वर्षपछि १०,००० भन्दा बढी साइकलहरूले यो टायर प्रयोग गरिरहेका थिए। यसको केही समयपछि नै पेरिस सहरका बग्गीहरूमा हावा भरिएका टायरहरू राखिए र यसले फ्रान्सेली यात्रीहरूलाई निकै आनन्दित तुल्यायो। मोटरजडित गाडीहरूमा पनि हावा भरिएको टायर राख्न सकिन्छ भनेर देखाउन सन्‌ १८९५ मा एड्‌वार र तिनको दाइ आन्द्रेले एउटा रेसिङ कारमा आफूले बनाएका टायरहरू राखे तर यो कार दौडमा अन्तिम भयो। तैपनि यो अनौठो खालको टायर देखेर मानिसहरू यति छक्क परे कि मिशलिन दाजुभाइले ती टायरभित्र के चाहिं लुकाएका रहेछन्‌ भनेर तिनीहरूले टायर काटेर हेर्न खोजे!

सन्‌ १९३० र ४० को दशकमा सुती र प्राकृतिक रबरजस्ता कमजोर वस्तुहरूको ठाउँ कृत्रिम रेसम, नाइलन र पोलिस्टरजस्ता नयाँ खालका टिकाउ वस्तुहरूले ओगट्यो। दोस्रो विश्‍वयुद्धको अन्तपछि हावा अडिनको लागि भित्री ट्युब नचाहिने गरी सीधै चक्कामा राखिने टायर विकास गरियो। पछि थप उन्‍नतिहरू भए।

आज एउटा टायर बनाउनको लागि २०० भन्दा बढी प्रकारका कच्चा पदार्थहरू चाहिन्छ। अनि आधुनिक प्रविधिको कारण कुनै-कुनै टायरहरू १,३०,००० किलोमिटर वा त्योभन्दा बढीसम्म गुड्‌न सक्छन्‌ भने रेसिङ कारमा प्रयोग गरिने अरू कुनै-कुनै टायरहरू प्रतिघण्टा सयौं किलोमिटरको गतिमा हुँइकिन सक्छन्‌। यसको साथै, टायर आम-उपभोक्‍ताहरूले किन्‍न सक्ने गरी सस्तो पनि भएको छ।

टायरहरू छान्‍ने

तपाईंको आफ्नै मोटरगाडी छ भने तपाईंलाई नयाँ टायरहरू छान्‍ने गाह्रो काम आइलाग्न सक्छ। तपाईंको गाडीको टायर फेर्ने बेला भयो कि भएन भनेर तपाईं कसरी थाह पाउनुहुन्छ? टायर खिइएको वा बिग्रिएको कुनै लक्षणहरू देखिन्छन्‌ कि भनेर नियमित रूपमा टायर जाँचेर। a टायरको आयु सिद्धिएको कुरा सङ्‌केत गर्न टायर उत्पादकहरूले टायर बनाउँदा वेयर बार भनिने एउटा भाग राखेका हुन्छन्‌। वेयर बार टायरको गोटीको भित्री भागमा कडा खालको रबरको पट्टीजस्तै देखिन्छ। गोटी उप्किएको छ कि, बिडको तार देखिएको छ कि, साइड पट्टीमा फोकाफोकीहरू छन्‌ कि अनि अरू पनि केही कुरा बिग्रिएको छ कि भनेर हेर्नु पनि राम्रो हुन्छ। यीमध्ये कुनै कुरा भेट्टाउनुभयो भने टायर मर्मत नगरी वा नफेरीकन गाडी चलाउनुहुँदैन। अहिले बिग्रिएको टायर तपाईंले नयाँ नै किन्‍नुभएको हो र वारेण्टीको समय सिद्धिएको छैन भने टायर बिक्रेताले तपाईंलाई बिग्रिएको टायरको सट्टामा नयाँ टायर अलि कम मूल्यमा दिन सक्छ।

एउटै एक्सल वा धुरीमा दुवै टायर उस्तै खालको राख्नु राम्रो हुन्छ। एउटा मात्र टायर नयाँ फेर्दै हुनुहुन्छ भने ब्रेक लगाउँदा गाडीको सन्तुलन नबिग्रिओस्‌ भन्‍नको लागि सबैभन्दा कम्ती गोटी खिइएको टायरसित यसको जोडा मिलाउनुहोस्‌।

विभिन्‍न प्रकारका, साइजका र मोडलका टायरहरू हेरेर सही किसिमको टायर छान्‍न गाह्रो हुन सक्छ। तथापि, केही मुख्य-मुख्य प्रश्‍नहरूको जवाफ दिंदा यो काम अलि सजिलो भएको तपाईंले पाउनुहुनेछ। सर्वप्रथम, तपाईंको गाडी उत्पादकको सल्लाहलाई पुनर्विचार गर्नुहोस्‌। तपाईंको गाडीका खास आवश्‍यकताहरूबारे विचार गर्नुपर्छ, जस्तै: टायर र चक्काको साइज, गाडीको तल्लो भाग र जमिनबीचको दूरी अनि भार क्षमता। तपाईंको गाडीको डिजाइन पनि त्यत्तिकै महत्त्वपूर्ण छ। एन्टिलक ब्रेक, घर्षण नियन्त्रण गर्ने प्रणाली र फोर-ह्विल ड्राइभ भएका आधुनिक गाडीहरू खास प्रकारका विशेषता भएका टायरहरू प्रयोग गर्नुपर्ने गरी डिजाइन गरिएका हुन्छन्‌। कस्तो प्रकारको टायर प्रयोग गर्नुपर्छ भन्‍ने जानकारी अक्सर तपाईंको गाडीको निर्देशन पुस्तिकामा पाइन्छ।

विचार गर्नुपर्ने अर्को बुँदा सडकको अवस्था हो। तपाईंको गाडी प्रायजसो कच्ची सडकमा प्रयोग गरिनेछ वा पक्की सडकमा, पानी पर्ने मौसममा प्रयोग गरिनेछ वा सुख्खा मौसममा? तपाईंले एउटै खालको नभई विभिन्‍न खालका अवस्थाहरूमा गाडी चलाउनुपर्ने हुन सक्छ। यसो हो भने तपाईंलाई सबै खालको सडक वा सबै खालको मौसमलाई उपयुक्‍त हुने टायर चाहिन सक्छ।

तपाईंले टायरको आयु र जमिनलाई पक्रने यसको क्षमतालाई पनि विचार गर्नुपर्छ। सामान्यतया, टायरको गोटी नरम खालको छ भने जमिनलाई पक्रने यसको क्षमता बढी हुन्छ तर यो चाँडै खिइन्छ। यसको विपरीत टायरको गोटी तुलनात्मक हिसाबले कडा खालको छ भने जमिनलाई पक्रने क्षमता कम हुन्छ तर यो लामो समयसम्म टिक्ने सम्भावना हुन्छ। टायरबारे विस्तृत विवरण अक्सर टायर पसलमा पाउन सकिन्छ। नबिर्सनुहोस्‌, उत्पादकपिच्छे टायरको विवरण फरक-फरक हुन्छ।

अरू सबै कुरा हेरिसक्नुभएपछि तपाईंको छनोटमा असर गर्ने अन्तिम कुरा भनेको यसको मूल्य हुन सक्छ। नाउँ चलेका उत्पादकहरूले अक्सर राम्रो गुणस्तरको आश्‍वासन र लामो वारेण्टी दिन्छन्‌।

तपाईंको टायरको स्याहार-सम्भार गर्ने

सही तरिकामा टायरको स्याहार-सम्भार गर्नुमा तीनवटा कुरा समावेश छन्‌: ठिक्क हावा राख्ने, नियमित रूपमा पल्टी गर्ने र ढक हुन नदिने। ठिक्क हावा राख्नु एकदमै महत्त्वपूर्ण छ। टायरमा असाध्यै धेरै हावा भयो भने चाँडै नै गोटीको बीचको भाग खिइन्छ। अर्कोतर्फ, टायरमा हावा कम भयो भने टायरको किनारतिरको भाग धेरै खिइन्छ र गाडीले तेल पनि धेरै खान्छ।

रबरबाट बिस्तारै-बिस्तारै हावा निस्केर टायरमा एक महिनामा आधा किलोसम्म हावा घट्‌न सक्छ। त्यसैले टायर हेरेर हावा ठिक्क छ कि छैन भन्‍न सक्छु भन्‍ने नसोच्नुहोस्‌। रबर उत्पादक संघको भनाइअनुसार “टायरको आधा जति हावा निस्किए तापनि टायर थ्याच्च नदेखिन सक्छ!” त्यसैले टायरको हावा जाँच्नको लागि हावा नाप्ने गेज नै प्रयोग गर्नुहोस्‌ र कम्तीमा पनि महिनाको एक पटक यसो गर्ने गर्नुहोस्‌। थुप्रै सवारी धनीहरूले ड्यास बोर्डभित्र हावा नाप्ने गेज राख्ने गर्छन्‌। इन्जिन आयल परिवर्तन गर्दा सधैं हावा पनि जाँच्ने गर्नुहोस्‌ र टायर चिसो अवस्थामा भएको बेलामा अर्थात्‌ गाडी चलाउन छोडेको तीन घण्टापछि वा १.५ किलोमिटरभन्दा थोरै चलाएको बेलामा जाँच्नुहोस्‌। टायरमा कति हावा राख्नुपर्छ भन्‍ने जानकारी अक्सर निर्देशन पुस्तिकामा वा चालक नजिकैको ढोकामा वा ड्यास बोर्ड वा इन्धन ट्याङ्‌कीमा टाँसिएको लेबलमा लेखिएको हुन्छ। तपाईं आफ्नो गाडी एकदमै उफ्रिएको चाहनुहुन्‍न भने टायरको साइड पट्टिमा लेखिए जति अधिकतम हावा नहाल्नुहोस्‌।

नियमित तवरमा पल्टी गर्नुभयो भने टायर लामो समयसम्म टिक्छ र सबैतिर बराबर खिइन्छ। तपाईंको गाडी उत्पादकले कुनै विशेष निर्देशन दिएको छैन भने हरेक १०,००० देखि १३,००० किलोमिटरमा टायर पल्टी गर्नु राम्रो हुन्छ। टायर पल्टी गर्दा कताको टायर कता राख्ने भने थाह पाउन फेरि एक पटक तपाईंको गाडीको निर्देशन पुस्तिका हेर्नुहोस्‌।

अन्तमा, हरेक वर्ष वा कुनै अनौठो तरिकाले हल्लिएकोजस्तो लाग्यो वा तपाईंको कारको स्टेरिङमा केही गडबडी महसुस गर्नुभयो भने टायर ठीकसित कसिएको छ कि छैन हेर्न लगाउनुहोस्‌। तपाईंको गाडीको स्प्रिङ पाता र शक एब्जर्वर गह्रौं भारी बोक्दा टायरलाई ठिक अवस्थामा राख्नको लागि डिजाइन गरिएको भए तापनि यो खिइँदै जाने भएकोले बेलाबेलामा टायरको अवस्था जाँचेर राम्ररी कस्नुपर्छ। स्प्रिङ पाता र चक्का कस्ने तालिम प्राप्त गरेर प्रमाणपत्र हासिल गरेका प्राविधिकले तपाईंको गाडीको चक्कालाई ठीक अवस्थामा राखेर टायरको आयु बढाउनुका साथै यात्रालाई अझ सजिलो बनाउन सक्छन्‌।

“चलाख” टायरहरू

टायरमा हावा एकदमै कम भएको कारण असुरक्षित अवस्था आइपर्ने सम्भावना छ भने कुनै-कुनै कारहरूले कम्प्युटरको मदतद्वारा यो कुराको जानकारी चालकलाई दिन्छन्‌। कुनै-कुनै टायरहरू हावा नभईकन पनि केही समयको लागि सुरक्षितपूर्वक चल्न सक्छन्‌ र अरू कतिपय टायरहरू पन्चर भयो भने आफसेआफ टालिन्छन्‌। वास्वतमा, इन्जिनियरहरू अझ बढी विभिन्‍न अवस्थाहरूमा प्रयोग गर्न सकिने खालका टायरहरू डिजाइन गर्दैछन्‌।

आधुनिक गाडीका टायरहरूमा प्रयोग हुने कच्चा पदार्थ, गोटीको डिजाइन, स्प्रिङ पाताको कारण हुने लचकता, स्टेरिङ र ब्रेक प्रणालीमा प्रगति हुँदै जाँदा टायरले गाडीको यात्रालाई सजिलो मात्र होइन तर सुरक्षित पनि बनाउँछ। (g04 6/8)

[फुटनोट]

a तपाईंको गाडीको टायर परीक्षण गर्न मदतको लागि पृष्ठ १७ मा दिएको तालिका हेर्नुहोस्‌।

[पृष्ठ १७-मा भएको तालिका/चित्र]

टायरको स्याहार-सम्भारको लागि प्रश्‍नावली

हेरेर गरिने परीक्षण:

◻ के साइड पट्टीमा फोकाफोकीहरू छन्‌?

◻ के गोटीको सतहमा तारहरू देखिएका छन्‌?

◻ के गोटी धेरै खिइएको वा वेयर बार देखिएको छ?

यी कुराहरू पनि विचार गर्नुहोस्‌:

◻ के टायरमा गाडी उत्पादकको निर्देशन अनुरूपै ठिक्क हावा हालिएको छ?

◻ टायर पल्टी गर्ने बेला भयो कि? (कति किलोमिटर गुडेपछि टायर पल्टी गर्ने र कसरी गर्ने भन्‍ने जानकारीको लागि गाडी उत्पादकको निर्देशन प्रयोग गर्नुहोस्‌।)

◻ मौसममा परिवर्तन भएकोले बेग्लै खालको टायर प्रयोग गर्नुपर्छ कि?

[चित्र]

वेयर बार

[पृष्ठ १६-मा भएको रेखाचित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

टायरका भागहरू

गोटी जमिनलाई र टायरको छेउपट्टिको भागलाई पक्रन्छ

गेटर वा केम्पस गोटीलाई मजबुत र स्थिर बनाउँछ

साइड पट्टी सडक वा सडक किनाराका अन्य वस्तुहरूले टायरलाई क्षति पुऱ्‍याउनदेखि जोगाउँछ

प्लाइ टायरलाई बलियो र लचकदार बनाउँछ

भित्री पट्टी टायरभित्रको हावालाई बाहिर निस्कनदेखि रोक्छ

बिड चक्कामा टायर फिट गर्दा हावा नछिर्ने बनाउँछ

[पृष्ठ १५-मा भएको चित्र]

हावा हाल्ने टायर भएको एउटा प्रारम्भिक साइकल र रेसिङ कार; र एउटा प्रारम्भिक टायर कारखानामा काम गर्दै कामदारहरू

[स्रोत]

The Goodyear Tire & Rubber Company