सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मेरो प्रेमीले मलाई गर्ने दुर्व्यवहार, म कसरी रोक्न सक्छु?

मेरो प्रेमीले मलाई गर्ने दुर्व्यवहार, म कसरी रोक्न सक्छु?

युवा जनहरू सोध्छन्‌ . . .

मेरो प्रेमीले मलाई गर्ने दुर्व्यवहार, म कसरी रोक्न सक्छु?

“आज पहिलो पटक मेरो प्रेमीले मलाई पिट्यो। उसले माफी त माग्यो तर अब के गर्ने, मलाई थाह छैन।”— स्टेला  a

“लगभग ५ जनामा १ जना छात्राले डेटिङ पार्टनरबाट आफू शारीरिक र/अथवा यौन दुर्व्यवहारको सिकार भएको रिपोर्ट गरे,” भनी द जर्नल अफ दि अमेरिकन मेडिकल असोसियसन बताउँछ। जर्मनीमा १७ देखि २० वर्षका युवा-युवतीहरूसित गरिएको सर्वेक्षणले देखाएअनुसार २५ प्रतिशतभन्दा धेरै युवतीहरूले हिंसा प्रयोग गरी, दबाब दिएर, लागूपदार्थ अथवा मादकपदार्थ सेवन गर्न लगाएर आफूलाई अनिच्छुक यौनकार्यमा संलग्न हुन बाध्य गराएको रिपोर्ट दिए। संयुक्‍त राज्य अमेरिकामा गरिएको सर्वेक्षणअनुसार ४० प्रतिशत किशोर-किशोरीहरूले आफ्ना सहपाठीहरूले “डेटिङ पार्टनरलाई ज्यादै चोट पुग्ने गरी मौखिक रूपमा अपमान गरिरहेको” b आफ्नै आँखाले देखेको स्वीकार्छन्‌।

कतै तपाईं आफूलाई हेप्ने अथवा निन्दा गर्ने अथवा तल खसाल्दै कुरा गर्ने, धक्का दिने अथवा चड्‌काउने व्यक्‍तिसित पो विवाह गर्दै हुनुहुन्छ कि? यस शृङ्‌खलाको अघिल्लो लेखले देखाएअनुसार त्यस्ता दुर्व्यवहारहरू अत्यन्तै सामान्य भइरहेका छन्‌। c उक्‍त लेखले यहोवा परमेश्‍वरले त्यस्ता दुर्वचन अथवा दुर्व्यवहारलाई अनुमोदन दिनुहुन्‍न र सिकार हुने व्यक्‍तिले पनि त्यसलाई साधारण ठान्‍ने अथवा दोष आफ्नै टाउकोमा थुपार्ने गर्नु हुँदैन भनेर बतायो। (एफिसी ४:३१) तथापि, यस्तो परिस्थितिमा के गर्ने, कसो गर्ने भनी थाह पाउन त्यति सजिलो छैन। आफ्नो प्रेमीको यस्तो व्यवहारको बावजुद तपाईंको मनमा ऊप्रति बसिसकेका गहिरा भावनाहरू हतपत नहट्‌न सक्छ। आलोचना गरूँ कि जस्तो लाग्दा पनि उसले देखाउने प्रतिक्रियालाई सम्झेर सायद तपाईंलाई डर लाग्न सक्छ। तपाईंले के गर्नुपर्छ?

आफ्नो परिस्थितिलाई केलाउनुहोस्‌

सबैभन्दा पहिले, ठन्डा दिमागले वास्तविकतालाई केलाउनु पर्छ। (उपदेशक २:१४) के तपाईं साँच्चै मौखिक दुर्व्यवहारको सिकार हुनुभएको हो? के तपाईंको प्रेमीले तपाईंलाई जानाजानी चोट पुऱ्‍याउन खोजेको थियो अथवा उसले “असावधान वचन” मात्र बोलेको पो थियो कि? (हितोपदेश १२:१८, नयाँ संशोधित संस्करण) उसले कति पटक दुर्व्यवहार गरेको छ? के उसले यो एक पटक मात्र गरेको गल्ती हो जसलाई तपाईं सजिलै बिर्सन सक्नुहुन्छ? अथवा खसालेर कुरा गर्ने वा अपमान गर्ने उसको बानी नै बसिसकेको पो छ कि?

यस विषयमा यदि तपाईं पक्का हुनुहुन्‍न भने कसैसित कुरा गर्नुहोस्‌—कुनै अर्को साथीसित होइन तर आफूभन्दा पाको र बुद्धिमान्‌ व्यक्‍तिसित। सायद तपाईं आफ्नो आमाबाबु अथवा कुनै परिपक्व सँगी मसीहीलाई आफ्नो व्यथा पोखाउन सक्नुहुन्छ। यसरी कुराकानी गर्दा तपाईंले देखाउनुभएको प्रतिक्रिया अचाक्ली हो अथवा कुनै गम्भीर समस्या हो भनी खुट्याउन सक्नुहुन्छ।

यदि तपाईंलाई आफ्नो सुरक्षामा कुनै हानि पुग्दैन जस्तो लाग्छ भने यसबारे आफ्नो प्रेमीसित कुरा गर्ने योजना मिलाउनुहोस्‌। (हितोपदेश २५:९) उसको व्यवहार तपाईंलाई कस्तो लाग्छ, शान्तपूर्वक उसलाई बताउनुहोस्‌। आफूलाई किन चोट पुग्यो, स्पष्ट बताउनुहोस्‌। आफूलाई असह्‍य हुने कुराहरूको स्पष्ट सीमा तोक्नुहोस्‌। उसले कस्तो प्रतिक्रिया देखाउँछ? के उसले तपाईंका विचारहरूलाई लत्याउँछ अथवा झनै जथाभावी पो भन्‍न थाल्छ कि? यदि उसले यस्तो प्रतिक्रिया देखाउँछ भने उसमा परिवर्तन गर्ने चाहना छैन भन्‍ने कुराको यो स्पष्ट सङ्‌केत हो।

तर उसले ईश्‍वरीय नम्रता र साँचो पश्‍चात्ताप देखाउँछ भने नि? त्यसो हो भने सम्बन्धलाई टुट्‌नबाट बचाउन सकिन्छ। तर सावधान! अक्सर मौखिक दुर्व्यवहार गर्ने व्यक्‍तिले कसैलाई चोट पुऱ्‍याएपछि साह्रै पछुतो गरेजस्तो देखाउन बढाइचढाइ गर्छ—तर ती सब त अर्को पटक रिस उठ्‌दा चित्त दुखाउने वचनहरू नबोलेसम्मको लागि मात्र हो। परिवर्तनहरू गर्ने सन्दर्भमा ऊ कत्तिको इमानदार छ भन्‍ने कुरा समयले बताउनेछ। यस कुरालाई उसले कत्तिको गम्भीरतापूर्वक लिएको छ भन्‍ने कुराको एउटा राम्रो सङ्‌केत मसीही प्राचीनहरूको मदत स्वीकार्न उसले देखाउने इच्छुकता हो।—याकूब ५:१४-१६.

“सबैले पाप गरेका छन्‌, र परमेश्‍वरको महिमारहित हुनगएका छन्‌,” भनी नबिर्सनुहोस्‌। (रोमी ३:२३) तपाईंले सिद्ध व्यक्‍ति कहिल्यै पाउन सक्नुहुन्‍न। असिद्धताको कारणले गर्दा सबै विवाहित दम्पतीहरूले केही हदसम्म “शरीरमा कष्ट” भोग्नेछन्‌। (१ कोरिन्थी ७:२८) आखिर उसका गल्तीहरू तपाईंले सहन सक्नुहुन्छ या सक्नुहुन्‍न भनेर निर्णय त अरूले होइन तपाईंले नै गर्नुपर्छ। यस्तो अवस्थामा पनि निर्णय गर्नुअघि केही समय बित्न दिनु बेस हुन्छ।

जब हिंसाको कुरा आउँछ

यद्यपि, दुर्वचनहरू फोहोर गाली र हिंसाका धम्कीहरूले भरिएका छन्‌ अथवा तपाईंलाई धकेल्ने, जोरसित घचेट्‌ने अथवा चड्‌काउने जस्ता शारीरिक दुर्व्यवहारहरू गरिएका छन्‌ भने कुरा अर्कै हो। यो ऊसित रत्तीभर आत्मसंयम नभएको कुराको सङ्‌केत हो; यस्ता दुर्व्यवहार बढ्‌दै गएर पछि हिंसाको उग्र रूप लिन सक्छ।

अविवाहित जोडीहरू दुइ जना मात्र एक्ला-एक्लै नभेट्‌नु नै बुद्धिमानी हो। यदि तपाईं हिंस्रक मानिसको सामु एक्लै पर्नुभएमा कहिल्यै “खराबको बदला खराब” नगर्नुहोस्‌। (रोमी १२:१७) नबिर्सनुहोस्‌: “मीठो जवाफले क्रोधलाई शान्त गर्छ, तर नमीठो वचनले रीस उठाउँछ।” (हितोपदेश १५:१) शान्त रहनुहोस्‌। आफूलाई घरसम्म पुऱ्‍याइदिन आग्रह गर्नुहोस्‌। आवश्‍यक परेमा त्यहाँबाट जानुहोस्‌ अथवा भाग्नुहोस्‌!

यदि कुनै केटाले कुनै केटीलाई यौनजन्य क्रियाकलापमा संलग्न हुन जबरजस्ती गरेमा के गर्ने? निस्सन्देह, विवाहपूर्व गरिने भेटघाटहरूको सुरुमै स्नेह व्यक्‍त गर्नेसन्दर्भमा सीमा तोक्नु जोडीहरूको लागि बुद्धिमानी हुन्छ। (१ थिस्सलोनिकी ४:३-५) यदि केटाले केटीलाई बाइबल सिद्धान्त भङ्‌ग गर्ने दबाब दिएमा केटीले हर हालतमा त्यसो नगर्ने अडानलाई स्पष्ट र जोड दिंदै बताउनुपर्छ। (उत्पत्ति ३९:७-१३) यौन दबाबसामु लाचार हुने एन्‍ना यस्तो बिन्ती गर्छिन्‌, “आफ्नो अडानबाट पछि नहट्‌नुहोस्‌। आफ्नो इज्जतमा दाग नलगाउनुहोस्‌; बिन्ती छ, तपाईं उसको प्रेममा जतिसुकै आसक्‍त हुनुभए तापनि कहिल्यै यो गल्ती नगर्नुहोस्‌!” यदि उसले तपाईंले गर्नुभएको इन्कारलाई लत्याउँछ भने अब उसले चाल्ने कुनै पनि कदमलाई आफूले बलात्कार ठान्‍ने कुरा उसलाई बताउनुहोस्‌। यदि उसले अझै कुरा सुन्दैन भने मदतको लागि हारगुहार गर्नुहोस्‌ र एक जना बलात्कारीको झैं उसको प्रतिकार गर्नुहोस्‌। d

माथि उल्लिखित दुवै परिस्थितिमा हितोपदेश २२:२४ मा लिपिबद्ध बाइबलको सल्लाह उपयुक्‍त हुन्छ: “रीसगर्ने मानिसलाई कहिल्यै मित्र नबना, नता क्रोधी-स्वभावको मानिससित सङ्‌गत गर्‌।” दुर्व्यवहारपूर्ण सम्बन्धलाई कायम राखिराख्नुपर्ने कुनै पनि प्रकारको दायित्व तपाईंमाथि छैन। दुर्व्यवहारी केटालाई एक्लै भेटेर सम्बन्ध टुक्रेकोबारे बताउनु मूर्खतापूर्ण दुस्साहस हुनेछ। तपाईंले चाल्न सक्ने अर्को सर्वोत्तम कदम, सबै कुरा आमाबाबु समक्ष राख्नु हो। तपाईंमाथि भएको दुर्व्यवहार थाह पाउँदा स्वाभाविकतः उहाँहरूलाई रिस उठ्‌नेछ र दुःख पनि लाग्नेछ। तर उहाँहरूले तपाईंलाई अब तपाईंले चाल्नुपर्ने कदम के हो, सो ठम्याउन मदत गर्न सक्नुहुन्छ। e

उसलाई बदल्ने प्रयास

कुनै पनि हालतमा तपाईंको प्रेमीलाई बदल्ने जिम्मेवारी तपाईंको होइन। इरेना स्वीकार्छिन्‌: “ऊसित प्रेम बसिसकेकोले आफैले परिस्थिति सँभाल्न सक्छु र उसलाई मदत दिन सक्छु जस्तो तपाईंलाई लाग्न सक्छ। तर यो सम्भव छैन।” नाडिन कुरा नलुकाई भन्छिन्‌: “मलाई सधैं लागिरहन्छ कि म उसलाई बदल्न सक्छु।” तर ‘आफ्नो मनलाई परिवर्तन गर्न’ ऊ आफैले बाहेक अरू कसैले सक्दैन। (रोमी १२:२) अनि यसो गर्न समय लाग्नुका साथै गाह्रो पनि हुनेछ।

त्यसैले आफ्नो निर्णयमा अडिग रहनुहोस्‌, तपाईंको भावनासित खेल्न उसले गर्न सक्ने कुनै पनि प्रयासलाई रत्तीभर ध्यान नदिनुहोस्‌। सकेसम्म तपाईं र तपाईंको प्रेमीबीचको भावनात्मक र शारीरिक दूरीलाई कायम राख्ने प्रयास गर्नुहोस्‌। सम्बन्ध तोड्‌नेबारे तपाईंले लिनुभएको अडानलाई भङ्‌ग गर्न उसले फकाउने, अनुनय गर्ने अथवा धम्की दिन सक्छ तर उसलाई यस्तो मौका नदिनुहोस्‌। इरेनाले आफ्नो हिंस्रक प्रेमीसित सम्बन्ध तोड्‌दा तिनको प्रेमीले आत्महत्या गर्ने धम्की दिए। स्पष्टतः यस्तो व्यक्‍तिलाई मदत चाहिन्छ। तर तपाईंको मदत होइन। तपाईंले उसलाई गर्न सक्ने सबैभन्दा राम्रो मदत भनेको गैरमसीही व्यवहारहरू विरुद्ध तपाईंले लिने अडान नै हो। यदि ऊ परिवर्तन हुन चाहन्छ भने मदत खोज्न उसलाई कुनै कुराले रोक्दैन।

यद्यपि, कसै-कसैले सोच्छन्‌, विवाहले सबै समस्या समाधान गर्नेछ। एक जना अनुसन्धाता यसो भन्छन्‌: “दुर्व्यवहारी प्रेमीसित विवाह गर्ने केटी र केटाले विवाहपछि पनि हिंसा यथावत्‌ रहेको कुरा थाह पाउँदा अक्सर छक्क पर्छन्‌। धेरै मानिसहरू एक चोटि विवाहको प्रमाण-पत्रमा हस्ताक्षर गरिसकेपछि यस्ता सारा समस्याहरू गायब हुने भ्रममा बाँच्छन्‌। यस्तो भ्रमबाट निस्कनुहोस्‌!” तथ्य कुरा के हो भने, विवाह-पूर्व गरिने भेटघाटमा सुरु भएका शारीरिक दुर्व्यवहारहरू विवाहपछि पनि रहिरहने सम्भावना धेरै हुन्छ।

“चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ,” भनी बाइबल बताउँछ। (हितोपदेश २२:३) आफूले ख्याल राख्ने कुनै व्यक्‍तिसित सम्बन्ध टुटाउनु गाह्रो हुन्छ। तर दुर्व्यवहारपूर्ण विवाहको पासोमा फस्दा झन्‌ गाह्रो हुन्छ। साथै, आफूले सुहाउँदो जोडी कहिल्यै पाउनेछैन भनी डराउनु आवश्‍यक छैन। तपाईंले प्राप्त गर्नुभएको अन्तरदृष्टिद्वारा तपाईं पहिलेभन्दा अझ भद्र, दयालु अनि आत्मसंयमी व्यक्‍तिको खोजी गर्न उत्प्रेरित हुनुहुनेछ।

भावनात्मक चोटहरू निको पार्ने

मौखिक र शारीरिक दुर्व्यवहारको सिकार हुनु अत्यन्तै चोटपूर्ण हुन सक्छ। दुर्व्यवहारको सिकार भएकी मारी नाउँकी युवती यस्तो सल्लाह दिन्छिन्‌: “मदत खोज्नुहोस्‌—तुरुन्तै कसैसित कुरा गर्नुहोस्‌। मैले पहिले सोचें, म आफैं समस्याको समाधान गर्छु तर मानिसहरूसित कुरा गरेपछि मात्र मैले मदत पाएँ।” आफ्नो आमाबाबु, भरपर्दो परिपक्व साथी अथवा कुनै मसीही प्राचीनलाई आफ्नो व्यथा पोखाउनुहोस्‌। f

कसै-कसैले पढाइ, खेलकुद अथवा आफ्नो कुनै सोख पूरा गर्ने जस्ता स्वास्थ्यकर काममा व्यस्त रहँदा पनि मदतकारी साबित भएको पाएका छन्‌। इरेना सम्झिन्छिन्‌: “सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिं बाइबल पढाइ र मसीही सभाहरू धाउनु नै थियो।”

स्पष्टतः यहोवाले दुर्वचन र दुर्व्यवहारलाई अनुमोदन दिनुहुन्‍न। उहाँको मदतद्वारा तपाईंले दुर्व्यवहारको सिकार हुनबाट आफूलाई बचाउन सक्नुहुन्छ। (g04 6/22)

[फुटनोटहरू]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

b पुरुष र महिला दुवै मौखिक तथा शारीरिक दुर्व्यवहारको सिकार हुन सक्ने भए तापनि रोग नियन्त्रण तथा रोकथामका लागि अमेरिकी केन्द्रले “पुरुषको तुलनामा महिलाहरूले उल्लेखनीय ढङ्‌गमा धेरै चोट खप्ने गर्छन्‌” भनी उल्लेख गर्छ। जे होस्‌, सजिलोको लागि यस लेखमा दुर्व्यवहार गर्ने व्यक्‍तिलाई हामी पुलिङ्‌गमा सङ्‌केत गर्नेछौं।

c ब्यूँझनुहोस्‌! जून ८, २००४ अंकको “युवाजनहरू सोध्छन्‌ . . . मलाई मेरो प्रेमीले किन यति रूखो व्यवहार गर्छ?” शीर्षकको लेख हेर्नुहोस्‌।

d बलात्कारको प्रतिकार गर्नेसन्दर्भमा मार्च ८, १९९३ को अवेक! अथवा g19br-NP पृष्ठ १३-२२ मा जानकारी पाइन्छ।

e बलात्कारको प्रयास गरिएको छ भने कुनै-कुनै अवस्थामा तपाईंका आमाबाबुले प्रहरीलाई रिपोर्ट गर्ने निर्णय गर्न सक्छन्‌। यसले अरू युवतीहरूलाई यस्ता भयावह अवस्थाको सिकार हुनबाट बचाउन सक्छ।

f तीव्र भावनात्मक धक्का पुगेको अवस्थामा कसै-कसैले चिकित्सक अथवा लाइसेन्स प्राप्त मानसिक-स्वास्थ्य कार्यकर्ताबाट उपचार गर्ने निर्णय गर्न सक्छन्‌।

[पृष्ठ २४-मा भएको चित्र]

विवाहपूर्व गरिने भेटघाटमा दुर्व्यवहार गरिएको छ भने विवाहपछि पनि अक्सर दुर्व्यवहार रहिरहन्छ

[पृष्ठ २५-मा भएको चित्र]

अनुचित स्नेह देखाउन दिइएको दबाब सामु हार नमान्‍नुहोस्‌