सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

युद्धको बेला आइपरेका कठिनाइहरूले मलाई जीवनको लागि तयार बनायो

युद्धको बेला आइपरेका कठिनाइहरूले मलाई जीवनको लागि तयार बनायो

युद्धको बेला आइपरेका कठिनाइहरूले मलाई जीवनको लागि तयार बनायो

अर्नस्ट क्रोमरको वृत्तान्तमा आधारित

“तपाईंहरूको कोठा यही हो।” यी शब्दहरूद्वारा मेरो साथी र मलाई पश्‍चिम अफिक्राको गेबोनमा स्वागत गरियो। त्यस कोठामा एउटा ओछ्यान मात्र मुस्किलले अटाउँथ्यो। हामी त्यस्तो कोठामा छ महिनासम्म बस्यौं।

दोस्रो विश्‍वयुद्धको दौडान फार्ममा बिताएको जीवनले मलाई कठिन परिस्थितिमा बाँच्न तयार बनायो। सन्‌ १९३९ मा युद्ध सुरु भए लगत्तै नाजी जर्मनीले पोल्याण्ड कब्जा गऱ्‍यो। त्यतिखेर म चार वर्षको थिएँ। हाम्रो परिवारमा मेरा आमाबुबा, भाइ र बहिनी तथा दुई जना दिदी थिए। जर्मनीले युद्ध हारेको खण्डमा विषम परिस्थितिको लागि तयार हुन बुबाले हामीलाई चेतावनी दिनुभएको थियो।

जर्मनीको लोअर सिलेसिया भन्‍ने ठाउँको एउटा सानो गाउँमा हामी बसोबास गर्थ्यौं र यो ठाउँ हाल पोल्याण्डको भूभागमा पर्छ। लगभग ६० एकडको फार्ममा हामी अन्‍नबाली लगाउनुका साथै वस्तुभाउहरू पाल्थ्यौं। बुबा त्यस क्षेत्रका कृषकहरूको लागि प्रशासकको रूपमा पनि काम गर्नुहुन्थ्यो। नाजीहरूले सिलेसियालाई कब्जा गरेपछि युद्धलाई समर्थन गर्न कृषकहरूलाई एकजुट गराउने काममा तिनीहरूले बुबालाई चलाए।

प्रथम विश्‍वयुद्धको दौडान मेरो बुबाले सेनामा काम गर्नुभएको थियो र हाल नाजीहरूकहाँ नै सरकारी जागिर खाइरहेको कारण उहाँ सेनामा भर्ती हुनबाट जोगिनुभयो। मेरा आमाबुबाले धेरै पहिला नै चर्चबाट राजीनामा दिइसक्नुभएको थियो किनभने प्रथम विश्‍वयुद्धको दौडान पादरीहरूले गरेको काम उहाँहरूलाई चित्त बुझेको थिएन। त्यसैकारण ठूलो भइसक्दा पनि मलाई धर्ममा चासो थिएन।

सन्‌ १९४१ मा मेरो स्कूले जीवन सुरु भयो तर पढाइ भनेपछि मलाई पटक्कै मन पर्दैन थियो र ब्ल्याकबोर्डमा टुलुटुलु हेर्नुभन्दा त बरु अरू नै रमाइला कुराहरू छन्‌ जस्तो लाग्थ्यो। सन्‌ १९४५ को सुरुतिर, युद्ध सिद्धिन केवल केही महिनाअघि लोअर सिलेसियाको राजधानी ब्रेसलावमाथि (हाल भ्रोत्सल्फ) रूसीहरूले आक्रमण गरे। एक शनिबार साँझको कुरा हो, लगभग ५० किलोमिटर टाढामा भएको सहर तोपको गोला र हवाईजहाजहरूबाट खसेका बमहरूको विस्फोटनले दनदनी जलिरहेको देख्यौं। तुरुन्ता-तुरुन्तै हामी पहाडतिर भाग्नुपऱ्‍यो। युद्ध सिद्धिएपछि हामी आफ्नो घर लोन्सटिन फर्कियौं।

युद्धपछि

युद्धपछि निकै कहालीलाग्दा घटनाहरू घटे। महिलाहरूलाई बलात्कार गरियो र दिनहुँजसो लुटपाट मच्चिन्थ्यो। हाम्रा सबैजसो वस्तुभाउ चोरी भए।

सन्‌ १९४५ को जुलाई महिनामा मेरो बुबा पक्राउ पर्नुभयो। सात रातसम्म निर्ममतापूर्वक सोधपुछ गरिसकेपछि उहाँलाई छोडियो। तीन महिनापछि उहाँ फेरि पक्राउ पर्नुभयो र बेपत्ता पारियो। त्यसपछि हामीले उहाँलाई कहिल्यै भेटेनौं। दुई जना पोल्याण्डका नागरिकले हाम्रो खेत हडपे र आफूहरू त्यसको धनी भएको दाबी गरे। सन्‌ १९४६ अप्रिलमा गाउँका सम्पूर्ण जर्मनहरूलाई आफूले बोक्न सक्ने जति सरसामान मात्र बोकेर गाउँदेखि निस्कन भनियो।

यस्तो हुन्छ भनेर थाह भएको कारण आमाले पहिल्यै तयारी गरिसक्नुभएको थियो र विचलित हुनुपर्ने अवस्था भएन। उहाँले गाडामा ओछ्यानहरू हालिसक्नुभएको थियो भने, हामी प्रत्येकसित चाहिं आफूलाई चाहिने सरसामानले टन्‍न भरिएको आ-आफ्नो झोला थियो। पोल्याण्डका सैनिकहरूले हामीलाई एउटा गाडीमा ३० जनाको हिसाबले गाईवस्तु ओसार्ने रेलका डिब्बाहरूमा हुले। लगभग दुई हप्तापछि हामी नेदरल्याण्डदेखि नजिकै उत्तरी जर्मनी स्थित हाम्रो गन्तव्यस्थल आइपुग्यौं।

सरकारले हाम्रो परिवारलगायत नातेदारहरू गरी जम्मा १९ जनालाई क्वाकेनब्रुकदेखि लगभग आठ किलोमिटर टाढामा अवस्थित फार्मको दुइटा कोठा दियो। समय बित्दै जाँदा हाम्रा नातेदारहरूले अरू कृषकहरूकहाँ बस्ने ठाउँ पाए र त्यसपछि मात्र बल्ल ठाउँ अलि खुल्ला भयो।

हामीले खान पाओस्‌ भनेर अक्सर आफूचाहिं खाली पेट बसेर हामी छोराछोरीको लागि आमाले निकै त्यागहरू गर्नुभयो। हामीले झेलेको पहिलो जाडो महिनामा हामीसित बाल्ने दाउरा थिएन। भित्ता तथा सिलिङ हिउँको बाक्लो पत्रले डम्म ढाकिएको थियो र हामी बसेका कोठाहरू हिउँका गुफाजस्तै देखिन्थे। धन्‍न हाम्रो ओछ्यान न्यानो भएकोले गर्दा हामी बाँच्यौं।

साक्षीहरूसितको सम्पर्क

लगभग १९४९ तिर आमाले माइजूबाट प्रहरीधरहरा-को एक प्रति प्राप्त गर्नुभयो। यस पत्रिकामा भएको लेखले उहाँलाई युद्धको दौडान हिटलरले रेडियो सन्देशमार्फत जर्मनीको पतनबारे भविष्यवाणी गर्ने ‘हरामी मानिसहरूको’ भर्त्सना गरेको कुरा स्मरण गरायो। यी मानिसहरू को होलान्‌ भन्‍ने आमालाई लागेको थियो। तिनीहरू यहोवाका साक्षीहरू हुन्‌ भन्‍ने कुरा प्रहरीधरहरा-मा पढ्‌नुभएपछि उहाँको इच्छा जाग्यो र तिनीहरूसित बाइबल अध्ययन गर्ने निधो गर्नुभयो।

सन्‌ १९५४ अप्रिल महिनाको एक दिन मैले मेरी आमालाई अध्ययन गराइरहनुभएका साक्षी दम्पतीलाई भेटें। अध्ययनपछि मैले उहाँहरूबाट क्यान यु लिभ फरेभर इन ह्‍याप्पीनेस अन अर्थ्‌? भन्‍ने पुस्तिका स्वीकार्नुका साथै प्रहरीधरहरा-को ग्राहक बन्‍ने प्रस्ताव पनि स्वीकारें। पुस्तिका पढेपछि सत्य यही हो भन्‍ने कुरामा म विश्‍वस्त भएँ। त्यसैकारण मैले यो मेरो हाकिमलाई पढ्‌न दिएँ। यसबारे कस्तो लाग्यो भनेर सोद्धा उहाँले यसो भन्‍नुभयो: “विचारहरू त एकदम राम्रा छन्‌ तर यो अलि असम्भव देखिन्छ। मलाई त यो कुरा पत्यारै लाग्दैन।”

“जे होस्‌, सत्य यही हो भन्‍ने कुरामा म त पक्का छु र यही मार्गमा हिंड्‌नेछु” भनेर मैले उहाँलाई बताएँ। मुन्टो हल्लाउँदै उहाँले यसो भन्‍नुभयो: “यो सन्देश त शान्त स्वभाव भएको व्यक्‍तिको लागि हो। तिमीजस्तो जङ्‌गली स्वभाव भएको व्यक्‍ति साक्षी हुन पटक्कै सुहाउँदैन।” तर मैले आफ्नो जीवनमा परिवर्तनहरू गर्न थालें।

हामी बसेको इलाकामा साक्षीहरू नभए तापनि मैले आफै अध्ययन गरें र उनीहरूका सभाहरूमा उपस्थित हुनको लागि हरेक हप्ता लगभग दस किलोमिटर साइकलमा यात्रा गर्थें। पछि म क्षेत्रीय सम्मेलनमा गएँ, जहाँ साक्षीहरूका थुप्रै मण्डलीहरू उपासनाको लागि एकत्रित भएका थिए। त्यहीं हो मैले पहिलो चोटि अरूसित मिलेर खुल्लमखुल्ला प्रचारकार्यमा भाग लिएको। छिट्टै मैले यस कार्यमा नियमित रूपमा भाग लिन थालें। जुलाई १४, १९५४ मा आमा र मैले बप्तिस्मा लियौं। पछि ८० वर्षको उमेरमा मेरी आमापट्टिको हजुरआमा पनि साक्षी हुनुभयो।

खेतको काममा बढी नै समय दिनुपर्ने भएको कारण मैले यो काम छोडें र वन आरक्षणमा जागिर खान थालें। त्यसपछि हाम्रो परिवार स्टटगर्ट नजिकैको एउटा सानो सहर रुवेटलिङ्‌गनमा बसाइँ सऱ्‍यो। त्यहीं छँदा मेरी बहिनी, इन्ग्रेट पनि साक्षी भइन्‌ र परिवारमा हामी छोराछोरीमध्ये मपछि साक्षी भएको तिनी मात्रै हुन्‌।

पूर्ण-समय प्रचारकार्य

सन्‌ १९५७ मा बुबालाई कानुनी रूपमा मृत घोषित गराउन आमा बल्लतल्ल सफल हुनुभयो। त्यसपछि भने उहाँले पेन्सन पाउन थाल्नुभयो, जसले गर्दा मेरो आर्थिक सहयोगविना नै उहाँले आफ्नो जीविका चलाउन सक्नुभयो। आमालाई आर्थिक रूपमा सहयोग गर्नुपर्ने पारिवारिक जिम्मेवारी नभएको कारण मैले आंशिक जागिर खान थालें र अप्रिल १९५७ मा अग्रगामीको हैसियतमा पूर्ण-समय प्रचारकार्य सुरु गरें। त्यसपछि मैले विशेष अग्रगामीको रूपमा सेवा गर्ने निमन्त्रणा पाएँ। यो कुरा सुनेर एक जना सँगी साक्षीले मलाई उहाँकै कार्यालयमा बोलाएर यसो भन्‍नुभयो, “तपाईंलाई मदत त अवश्‍यै चाहिन्छ होला।” त्यसो भनिसकेपछि उहाँले मलाई ५०० डोइच मार्क दिनुभयो। त्यस पैसाले मैले आफूलाई चाहिने सम्पूर्ण लुगाफाटा किनें र पनि अझै २०० डोइच मार्क बाँकी रह्‍यो।

सन्‌ १९६० मा मैले अष्ट्रियामा सेवा गरें, जहाँ मैले सिप्स्‌को सानो गाउँ अनि लिन्जको सहरमा चाहिं केही समयसम्म प्रचार गरेर आनन्द उठाएँ। तर सोही वर्षको अन्ततिर गम्भीर मोटरसाइकल दुर्घटनामा परेर मेरो दाहिने खुट्टा भाँचियो। पटक-पटकको शल्यक्रियापछि मैले आफ्नो असाइनमेन्टलाई निरन्तरता दिन सकें। तथापि, १९६२ मा भिसासम्बन्धी समस्याले गर्दा म आफ्नो घर रुवेटलिङ्‌गन फर्किनुपऱ्‍यो। त्यहाँ छँदा मेरो खुट्टामा लगाइएको धातुको रड झिक्न अर्को शल्यक्रिया गर्नुपऱ्‍यो। औषधी खर्च जुटाउन मैले छ महिना अग्रगामीकार्य गर्न सकिनँ।

मैले सेवा गर्दै गरेको मण्डलीमा परिभ्रमण निरीक्षकको भ्रमण हुँदा, उहाँले मलाई जर्मनीको वाइसबाडेन स्थित साक्षीहरूको शाखा कार्यालयमा सेवा गर्न आवेदन दिने सुझाव दिनुभयो। मैले त्यसै गरें र दुई हप्तापछि सकेसम्म चाँडै आउनू भन्‍ने टेलिग्राम प्राप्त भयो। एक हप्तापछि, मे १९६३ मा त म बेथेल भनिने जर्मन शाखाको पत्रिकाहरू मुद्रण गरिने रोटरी छापाखानामा काम गरिरहेको थिएँ।

लगनशील भई सिक्दै

म बसेका ठाउँहरूमध्ये सबैभन्दा उत्तम ठाउँ बेथेल थियो र मलाई छिट्टै त्यहाँको व्यस्त तालिकाअनुसार काम गर्ने बानी पऱ्‍यो। सन्‌ १९६५ मा लुकाइछिपाइ बाइबल साहित्यहरू पुऱ्‍याउन भनी म स्पेन गएँ किनभने त्यहाँ प्रचारकार्यमाथि प्रतिबन्ध लगाइएको थियो। त्यस भ्रमणले मलाई अर्को भाषा सिक्न जुरमुऱ्‍यायो र मैले अङ्‌ग्रेजी सिक्ने जमर्को कसें। मैले सिक्ने हरेक अवसरको सदुपयोग गरें। त्यसैताका जर्मनीमा पहिलो अङ्‌ग्रेजी-भाषी समूह गठन भयो र म पनि यसमा सहभागी भएँ। पहिलो चोटि प्रहरीधरहरा-को अध्ययन लेख अङ्‌ग्रेजीमा तयारी गर्दा सात घण्टा लागेको थियो। दोस्रो पटक पाँच घण्टा मात्र लाग्दा मैले प्रगति गरिरहेको रहेछु भनेर मलाई थाह भयो।

सन्‌ १९६६ मा मैले गिलियडको ४३ औं कक्षामा उपस्थित हुने निमन्त्रणा पाएँ। यो स्कूल संयुक्‍त राज्य अमेरिकामा सञ्चालन हुन्छ र यहाँ यहोवाका साक्षीहरूका सेवकहरूलाई मिसनरीकार्यको लागि प्रशिक्षण दिइन्छ। स्नातक भइसकेपछि अप्रिल १९६७ मा गुन्टर रेस्क र मलाई पश्‍चिम अफ्रिकाको गेबोनमा खटाइयो। गेबोनको राजधानी, लिबरीभिल्लेमा आएपछि हामी सुरुमा उल्लिखित सानो कोठामा बस्यौं र आफ्ना लुगाहरूचाहिं खाना खाने कोठामा झुन्ड्याएर राख्यौं। छ महिनापछि हामी अर्कै मिसनरी गृहमा सऱ्‍यौं।

गेबोनमा छँदा मैले फ्रान्सेली भाषा सिक्न निकै सङ्‌घर्ष गर्नुपऱ्‍यो। अन्तमा, अथक प्रयास गरेबापत मैले यस भाषामा केही हदसम्म निपुणता हासिल गरें। त्यसपछि १९७० मा, गेबोनमा अचानक हाम्रो प्रचारकार्यमाथि प्रतिबन्ध लगाइयो र हामी मिसनरीहरूलाई दुई हप्ताभित्र देश छोड्‌ने आदेश दिइयो।

मध्य अफ्रिकी गणतन्त्रमा

अन्य मिसनरीहरू सँगसँगै मलाई पनि मध्य अफिक्री गणतन्त्रमा खटाइयो। देशको आधिकारिक भाषा फ्रान्सेली भए तापनि अधिकांश मानिसहरूलाई प्रचार गर्नको लागि साङ्‌गो भाषा सिक्नुपऱ्‍यो। हामीलाई राजधानी बाङ्‌गुईदेखि लगभग ३०० किलोमिटर टाढामा पर्ने बाम्बारीको सहरमा एउटा मिसनरी गृह स्थापना गर्न पठाइयो। बाम्बारीमा न त बिजुलीबत्ती थियो न खानेपानीको सुविधा नै तर त्यहाँका दुइटा मण्डलीलाई हाम्रो मदतको खाँचो थियो। युरोपमा युद्ध चलेको बेला बटुलेका अनुभवहरूले गर्दा बाम्बारीको साथसाथै त्यसपछिका ठाउँहरूको जीवन शैलीअनुसार जीवनयापन गर्न निकै सहज भयो।

बाम्बारीमा दुई वर्ष सेवा गरिसकेपछि मलाई परिभ्रमण निरीक्षकको हैसियतमा मण्डलीहरूको भ्रमण गर्न खटाइयो। त्यतिखेर देशमा लगभग ४० वटा मण्डली थिए र मलाई खटाइएको प्रत्येक मण्डलीमा मैले एक हप्ता बिताएँ। मेरो एउटा सानो कार थियो तर कच्ची सडकको अवस्था अत्यन्तै नराम्रो भएको बेलाचाहिं म सार्वजनिक यातायात नै प्रयोग गर्थें।

देशभरिमा सवारीसाधनहरू मर्मतसम्भार गरिने एउटै मात्र ठाउँ बाङ्‌गुई थियो। सेवकाईको लागि निकै यात्रा गर्नुपर्ने भएको कारण मैले सवारीसाधन मर्मतसम्बन्धी केही पुस्तक तथा औजार किनें र कार मर्मत गर्ने प्रायजसो काम आफैले गरें। एक चोटि ड्राइभ साफ्टमा भएको युनिभर्सल बेअरिङ्‌गको खोल बिग्रियो र कार गुड्‌दै गुडेन। मेरो कार बिग्रेको ठाउँदेखि सबैभन्दा नजिकको बस्ती लगभग ६० किलोमिटर टाढा थियो भएको कारण जङ्‌गलमा गएर मैले कडा काठको एक टुक्रा काटें र बेअरिङ्‌गको खोल बनाएँ। पर्याप्त मात्रामा चिल्लो घसेर मैले यसलाई ड्राइभ साफ्टमा तारले टनटन कसेर सुरक्षित बनाएँ र आफ्नो यात्रालाई अघि बढाउन सकें।

विशेष गरी ग्रामीण क्षेत्रहरूमा काम गर्नु निकै चुनौतीपूर्ण थियो किनभने त्यहाँका मानिसहरूमध्ये थोरैलाई मात्र लेखपढ गर्न आउँथ्यो। एउटा मण्डलीमा त एक जना व्यक्‍तिलाई मात्र पढ्‌न आउँथ्यो, त्यैमाथि तिनी फड्‌कारेर बोल्न सक्दैनथे। प्रहरीधरहरा-मा दिइएको पाठ बुझ्न असाध्यै गाह्रो हुन्थ्यो तर छलफल गरिंदै गरेका बुँदाहरू मण्डलीले बुझ्ने निष्कपट प्रयास गरिरहेको देख्दा विश्‍वास अझ सुदृढ हुन्थ्यो।

पछि, पूर्णतया बुझ्न नसकेका लेखहरूबाट उहाँहरूले कस्तो लाभ उठाउनुभयो भनी सोधेको थिएँ। जवाफ एकदमै प्रोत्साहनजनक थियो: “हामी एक-अर्काबाट प्रोत्साहन पाउँछौं।”—हिब्रू १०:२३-२५.

मसीही भाइहरूमध्ये धेरैजसो अनपढ भए तापनि उहाँहरूले मलाई जीवनबारे र मानिस भएर कसरी बाँच्नुपर्छ भन्‍ने सन्दर्भमा धेरै कुरा सिकाउनुभयो। मैले ‘एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठान्‍नू’ भन्‍ने धर्मशास्त्रीय सल्लाहको महत्त्व बुझ्न सकें। (फिलिप्पी २:३) अफिक्री भाइहरूले मलाई प्रेम, दया, अतिथि-सत्कार अनि ग्रामीण क्षेत्रमा कसरी बाँच्ने भन्‍ने सन्दर्भमा थुप्रै कुरा सिकाउनुभयो। मेरो दीक्षान्त समारोहमा गिलियड स्कूलका तत्कालीन अध्यक्ष, भाइ नेथन नोरले बिदाइ भाषणमा भन्‍नुभएको कुरा मेरो लागि निकै अर्थपूर्ण थियो। उहाँले यसो भन्‍नुभएको थियो: “नम्र हुनुहोस्‌, सबै कुरा थाह छ भनेजस्तो नगर्नुहोस्‌। हामीलाई सबै कुरा थाह हुँदैन। हामीले सिक्नुपर्ने कुराहरू धेरै छन्‌।”

अफ्रिकाको ग्रामीण क्षेत्रमा जीवन

मण्डलीहरूको भ्रमण गर्दा म स्थानीय भाइहरूकहाँ बस्ने गर्थें। मैले भ्रमण गर्ने हप्ता अक्सर चाडजस्तै हुन्थ्यो, खास गरी केटाकेटीहरूका लागि। किनभने मैले भ्रमण गरेको मण्डलीका भाइहरू सिकार खेल्न वा माछा मार्न जान्थे र सबैलाई प्रशस्त मात्रामा पुग्ने गरी खाना जुटाउने प्रयास गर्थे।

भाइहरूको झुपडीमा बस्दा मैले धमिरादेखि लिएर हात्तीको मासु सबै खाएँ। बाँदरको मासु हरेक दिनको खानामा हुन्थ्यो। विशेष गरी बँदेल र दुम्सीको मासुचाहिं साह्रै स्वादिष्ठ हुन्थ्यो। तर हरेक दिन नै यस्तो स्वादिष्ठ परिकार खान भने पाइँदैनथ्यो। मेरो शरीरलाई सुरु-सुरुमा त गाह्रो भयो तर पछि बानी परेपछि मेरो पेटले सबै प्रकारको खाना पचाउन सक्यो। मेवा खाँदा दाना पनि खानु पेटको लागि लाभदायी हुन्छ भन्‍ने कुरा पनि मैले थाह पाएँ।

ग्रामीण क्षेत्रमा जे पनि हुन सक्छ। एक चोटि मलाई मामी-वाटर अर्थात्‌ पानीमा बस्ने मृत व्यक्‍तिको सेतो आत्मा भन्ठान्दा कस्तो बर्बादै भएको। यस आत्माले मानिसलाई तल तानेर पानीमा डुबाइदिन्छ भनी मानिसहरू विश्‍वास गर्थे। एक दिनको कुरा हो, म नुहाइसकेपछि खोलाबाट जुरुक्क उठेको मात्र के थिएँ, पानी ल्याउन आउने एउटी केटीले मलाई देखी र चिच्च्याउँदै भाग्न थाली। सँगी साक्षीले म आत्मा नभई अतिथि प्रचारक हुँ भनी बुझाउने लाख प्रयास गर्दा पनि मानिसहरूले पत्याउँदै-पत्याएनन्‌। तिनीहरूले यस्तो तर्क गरे, “सेतो मान्छे यस ग्रामीण इलाकामा कहिल्यै आउँदैन।”

हावा स्वच्छ भएकोले म अक्सर बाहिरै सुत्थें। म सधैं आफ्नो साथमा झूल बोक्ने गर्थें किनभने यसले साँप, बिच्छी, मुसा र अन्य कुराहरूबाट सुरक्षा दिन्थ्यो। सिपाही कमिलाहरूले पटक-पटक आक्रमण गर्दा यही झूलले मलाई बचाएको थियो। एक रातको कुरा हो, टर्च बालेर यसो हेरेको त झूलभरि कमिलै-कमिला पो रहेछन्‌। मेरो पालो पनि जुरुक्क उठेर टाप कसिहालें किनभने कमिलाहरू साना हुनेभए तापनि यिनीहरूले सिंहलाई समेत मार्न सक्छन्‌।

कङ्‌गो नदी नजिकै मध्य अफ्रिकी गणतन्त्रको दक्षिणी भेगमा छँदा मैले पूर्णतया खेतीकिसानीमा आश्रित पिग्मीज्‌हरूलाई प्रचार गरेको थिएँ। तिनीहरू सिकार खेल्न एकदमै सिपालु हुन्छन्‌ र के खानु हुन्छ के हुँदैन भन्‍ने कुरा तिनीहरूलाई थाह हुन्छ। कोही-कोही साङ्‌गो भाषा बोल्छन्‌ र बाइबल सन्देश सुन्‍न पाउँदा तिनीहरू दङ्‌ग पर्थे। तिनीहरू पुनःभेटको लागि राजी त हुन्थे तर अर्को चोटि जाँदा तिनीहरू अन्त कतै बसाइँ सरिसकेका हुन्थे। त्यतिखेर तिनीहरूमध्ये एक जना पनि साक्षी भएनन्‌ तर गणतन्त्र कङ्‌गोमा केही पिग्मीज्‌हरू साक्षी भएको कुरा मैले पछि थाह पाएँ।

पाँच वर्षसम्म मैले मध्य अफ्रिकी गणतन्त्रमा परिभ्रमण निरीक्षकको हैसियतमा सेवा गरें। विशेष गरी ग्रामीण क्षेत्रका मण्डलीहरूमा भ्रमण गर्दै मैले सारा देशको भ्रमण गरें।

नाइजेरिया शाखामा सेवा

सन्‌ १९७७ को मे महिनामा मलाई नाइजेरियाको लागोसमा अवस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयमा सेवा गर्न आमन्त्रित गरियो। अफ्रिकाको यो सबैभन्दा बढी जनसंख्या भएको देशमा उतिखेर लगभग १,००,००० जना साक्षीहरू थिए र लगभग ८० जना जतिचाहिं शाखा कार्यालयमा सेवा गर्थे। मलाई ग्यारेजमा काम गर्न खटाइयो, जहाँ गाडी सर्भिसिङ पनि गरिथ्यो।

सन्‌ १९७९ मा मलाई फार्ममा काम गर्न खटाइयो र युरोपमा छँदा मैले यस्तै काम गरेको थिएँ। शाखामा कार्यरत व्यक्‍तिहरूका लागि उब्जनी गरिने खेत लागोसदेखि लगभग ८० किलोमिटर टाढामा पर्ने इलोरामा थियो। त्यहाँ काम गर्दा मैले उष्ण कटिबन्धीय रेन फरेस्टमा खेतीपाती गर्नु र युरोपमा खेतीपाती गर्नुबीच आकाश-जमिनको फरक भएको कुरा थाह पाएँ। साढे तीन वर्ष त्यहाँ काम गरिसकेपछि म लागोस फर्कें र फेरि ग्यारेजमै काम गर्न थालें।

सन्‌ १९८६ मा मलाई लागोसदेखि लगभग ३६० किलोमिटर टाढामा पर्ने आइजिडुमा पठाइयो, जहाँ विशाल नयाँ शाखा कार्यालय निर्माणाधीन अवस्थामा थियो। यस कार्यालयलाई जनवरी १९९० मा समर्पण गरियो। यहाँ छापाखाना, सानो खेत र ५०० जना भन्दा बढी मानिसहरू अटाउने आवास भवनहरू छन्‌। लगभग दुई मिटर अग्लो पर्खालले चारैतिरबाट घेरेको यो भव्य शाखा १४० एकड जमिनमा अवस्थित छ। हाल म लगभग ३५ जना सदस्यहरूले हेरविचार गर्ने फार्म र शाखा वरपरको जग्गाजमिनको निरीक्षण गर्ने काम गर्छु।

नाइजेरियामा बसेको पनि लगभग २७ वर्ष भइसक्यो र शाखामा मैले विभिन्‍न असाइनमेन्टहरूबाट साँच्चै आनन्द उठाएको छु। मेरी आमा यहोवाप्रति विश्‍वासी रहनुभएकोमा म खुसी छु र मेरी बहिनी इन्ग्रीडले विशेष अग्रगामी गरेको १४ वर्ष भइसक्यो र अझै पनि आफ्ना पतिसँगसँगै यहोवाको सेवा गरिरहेकी छिन्‌।

थुप्रै चुनौतीहरूको सामना गर्नुपरे तापनि यहोवा तथा पश्‍चिम अफ्रिकाका आध्यात्मिक भाइहरूको सेवा गरेर मैले साँच्चै आनन्द उठाएको छु। आजसम्म पनि मेरो स्वास्थ्य राम्रो भएकोमा म कृतज्ञ छु र हाम्रो महान्‌ परमेश्‍वर यहोवाको सक्रियपूर्वक निरन्तर सेवा गरिरहन यसलाई कायम राख्न सकूँ भनेर म प्रार्थना गर्छु। (g04 6/22)

[पृष्ठ २१-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

नाइजेरिया

मध्य अफ्रिकी गणतन्त्र

गेबोन

[स्रोत]

Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.

[पृष्ठ १८-मा भएको चित्र]

सन्‌ १९३९ मा मेरी आमा गरट्रड अनि बहिनी इन्ग्रीड

[पृष्ठ २०-मा भएको चित्र]

गेबोनमा मिसनरीको रूपमा सेवा गर्दै

[पृष्ठ २०-मा भएको चित्र]

मध्य अफ्रिकी गणतन्त्रमा छँदा म यस्तै खाले गाउँमा बसेको थिएँ