सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“समुद्री रत्न”

“समुद्री रत्न”

“समुद्री रत्न”

डाइएटम अर्थात्‌ सूक्ष्मजीवी एककोषीय लेउ जसले आफूलाई एउटा एकदमै जटिल अनि बुट्टेदार सिसाले सिंगारेका छन्‌, तिनीहरू पृथ्वीका सबै समुद्री पींधमा प्रशस्तै पाइन्छन्‌। तिनीहरूले वैज्ञानिकहरूलाई चकित पारेको शताब्दीयौं भइसक्यो—वास्तवमा भन्‍ने हो भने, मानिसले पहिलो चोटि सूक्ष्मदर्शक-यन्त्रको आविष्कार गरेर डाइएटमको सौन्दर्यको चित्र कोर्न सकेदेखि नै यसले चकित पारेको छ। त्यसैले डाइएटमलाई समुदी रत्न भन्‍नु उचित छ।

सन्‌ १८६० को दशकमा डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले नाइट्रोग्लिसरीनको सन्तुलन कायम गर्न डाइएटममा हुने सिलिका प्रयोग गरे जसले गर्दा तिनले डाइनामाइटका यताउता सार्न मिल्ने टुक्राहरू बनाउन सके। फसिल अथवा अवशेष भइसकेका डाइएटमहरू आर्थिक प्रयोजनको लागि विभिन्‍न तरिकामा प्रयोग गरिन्छन्‌—उदाहरणका लागि, सडकका सङ्‌केतहरू उज्यालो पार्न, दाखमद्य शुद्ध पार्न अनि पौडी पोखरीको पानी छान्‍न।

तर सबैभन्दा महत्त्वपूर्ण तथ्य के हो भने, यी सूक्ष्म एककोषीय वनस्पतिले हाम्रो ग्रहको फोटोसिन्थेसिस प्रक्रियाको चार भागको एक भागमा महत्त्वपूर्ण भूमिका खेलिरहेका हुन्छन्‌। सं.रा.अ.-को प्रिन्सटन विश्‍वविद्यालयका अनुसन्धाताहरू एलेन मिलिगन र फ्राङ्‌कोइस मोरेलले पत्ता लगाएअनुसार डाइएटमको सिसाको खोलभित्र हुने सिलिकाले यसभित्र भएको पानीमा रासायनिक परिवर्तन गराउँछ अनि फलस्वरूप फोटोसिन्थेसिसको लागि उपयुक्‍त वातावरण सृजना गर्छ। वैज्ञानिकहरूको विचारमा यी सिसाहरू यत्तिको रङ्‌गिन हुनुको कारण यसको अधिकांश भाग सिसाको खोलभित्रको पानीमा हुन्छ जसले गर्दा फोटोसिन्थेसिस प्रक्रिया अझ प्रभावकारी हुन्छ। समुद्रको पानीमा मिसिएका सिलिकाद्वारा यी साना तर सुन्दर खोलहरू कसरी बन्छन्‌ भन्‍ने कुरा अझै रहस्यमय छ तर अनुसन्धाताहरूलाई कुन कुरा थाह छ भने कार्बन-डाइअक्साइड सोसेर अनि अक्सिजन निष्कासन गरेर डाइएटमहरूले पृथ्वीमा जीवन धान्‍न महत्त्वपूर्ण भूमिका खेल्छन्‌, सायद प्रायजसो जमिनमा उम्रने वनस्पतिहरूको भन्दा महत्त्वपूर्ण भूमिका हुन्छ।

मोरेलले डाइएटमलाई “पृथ्वीको सबैभन्दा उपयोगी जीव” भनेका छन्‌। तिनीहरूको लागि कार्बन-डाइअक्साइड यत्तिको आवश्‍यक नहुँदो हो त “हरितगृह असर अझै जटिल हुने थियो।”

डाइएटम मर्दा तिनीहरूको कार्बनको बाँकी भाग समुद्रको पींधसम्म पुग्छ र अन्ततः अवशेष बन्छ। कोही-कोही वैज्ञानिकको विचारमा यसरी अवशेष बनेका डाइएटमहरू अत्यधिक चापमा पर्दा तिनीहरूले संसारको तेलखानीमा समेत योगदान पुऱ्‍याएका छन्‌। तथापि, चिन्ता बढ्‌दैछ किनभने विश्‍वको तापक्रम बढिरहेको हुँदा समुद्री पानीको तापक्रम बढ्‌दैछ अनि यसले गर्दा डाइएटमहरू समुद्री पींधमा पुग्नुअघि नै ब्याक्टेरियाहरूले खाइदिन्छन्‌ र सतहको पानीमा कार्बन निष्कासन हुन्छ। यो फुच्चे “समुद्री रत्न” पनि अब खतरामा पर्न सक्छ जसले जीवन धान्‍ने अद्‌भुत संरचनामा महत्त्वपूर्ण भूमिका खेलेको छ। (g04 6/22)

[पृष्ठ ३१-मा भएको चित्रको स्रोत]

© Dr. Stanley Flegler/Visuals Unlimited