सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“एक चोटिको प्रहारले दुई चोटि सतायो”

“एक चोटिको प्रहारले दुई चोटि सतायो”

“एक चोटिको प्रहारले दुई चोटि सतायो”

ज्याक मेन्स्माको वृत्तान्तमा आधारित

अशक्‍त बनाइदिने बालरोग पोलियो उन्मूलन गर्ने प्रयासमा प्रभावकारी खोपहरू र लगातार सञ्चालित रोग प्रतिरक्षण कार्यक्रमहरूद्वारा विज्ञानले ठूलै फड्‌को मारेको छ। यद्यपि, पोलियो निको भएको दशकौं पछि पनि रोगबाट उम्केका केही व्यक्‍तिहरू फेरि यही रोगको सिकार भएका छन्‌ जसलाई पोस्ट पोलियो सिन्ड्रम (पि पि एस) भनिन्छ।

सायद तपाईंले पि पि एस-बारे कहिल्यै नसुन्‍नुभएको पनि हुन सक्छ। यो मेरो जीवनको एक भाग नबनुन्जेल मलाई पनि यसबारे थाह थिएन। तर रोगले मलाई गरेको असरबारे थाह पाउन सन्‌ १९४१ मा घटेको एउटा घटना बताउन दिनुहोस्‌, जतिबेला म भर्खरै १ वर्ष पुगेको थिएँ।

अग्लो कुर्सीमा बसिरहँदा म लत्रक्कै परेको मेरी आमाले देख्नुभयो। हतपत उहाँले मलाई डाक्टरकहाँ लैजानुभयो। मलाई जाँचेपछि डाक्टरले मेरी आमालाई भने: “तपाईंको छोरालाई बाल पक्षाघात भएको छ।” a लगत्तै कम्मरदेखि मुनि मलाई पक्षाघात भयो।

छ महिना पर्खेपछि मलाई अस्पताल भर्ना गरियो। त्यसपछि वर्षौंसम्म बेला-बेलामा रोग बल्झिरह्‍यो। धेरै फिजिकल थेरापी गरेपछि बिस्तारै मैले खुट्टा फेरि टेक्न थालें। चौध वर्षको उमेरमा म फेरि हिंड्‌न थालें। तर चालै नपाई पिसाब बगिरहने समस्या भने रहिरह्‍यो। वर्षौंको दौडान एकपछि अर्को गर्दै मेरो धेरै शल्यक्रियाहरू गर्नुपऱ्‍यो, ह्विलचेयरमा मात्र बस्नुपर्ने समय पनि आयो र शारीरिक पुनर्स्थापनाको पनि आवश्‍यकता पऱ्‍यो। तर अझै पनि बायाँ खुट्टाको जुत्ताको साइज दायाँ खुट्टाको भन्दा ३ नम्बर कम छ। अनि मेरो बायाँ खुट्टा दायाँ खुट्टाभन्दा ३ सेन्टिमिटर सानो छ। चालै नपाई पिसाब बगिरहने साह्रै अप्ठ्यारोमा पार्ने समस्या भने म २० वर्षको हुँदा मात्र समाधान भयो। अन्ततः म पूर्णतया पोलियोबाट मुक्‍त भएँ—अथवा मलाई त्यस्तो लाग्यो।

त्यसपछि ४५ वर्षको हुँदा मलाई खुट्टा दुख्ने र थकाइ लाग्ने हुन थाल्यो। अनि मेरा खुट्टाका मांसपेशीहरू आफसेआफ चल्न थाले र यसो हुँदा राती निदाउन मलाई धेरै गाह्रो पर्थ्यो। यी लक्षणहरू कम त भएनन्‌ बरु, झन्‌-झनै बढ्‌दै गए। आमाले पहिलो चोटि मलाई पोलियो लागेको थाह पाउनुभएको ४४ वर्षपछि मलाई पि पि एस भएको पत्ता लाग्दा म कति छक्क परें होला तपाईंहरू कल्पना गर्न सक्नुहुन्छ।

पोलियो के हो?

पोलियो, भाइरसले गर्दा लाग्ने एउटा अत्यन्तै सङ्‌क्रामक रोग हो। यसका भाइरसहरू मुखबाट शरीरमा प्रवेश गर्छन्‌ अनि आन्द्रामा पुगेपछि यिनीहरूको संख्या बढ्‌न थाल्छ। भाइरसले स्नायुप्रणालीमा असर गरिहालेमा तुरुन्तै पूरै शरीर पक्षाघात हुन सक्छ। भाइरस मस्तिष्क र सुषुम्नामा प्रवेश गरिसकेपछि सुरुको लक्षणको रूपमा ज्वरो आउने, थकाइ लाग्ने, टाउको दुख्ने, बान्ता आउने, घाँटी कडा हुने र हात-खुट्टाहरू दुख्ने हुन्छ। धेरैजसो स्नायुहरूले काम गर्न छाड्‌छन्‌, फलस्वरूप पाखुरा, खुट्टा र छातीका केही मांसपेशीहरू पक्षाघात हुन्छन्‌।

तर शरीरको पुनर्स्थापन क्षमता अचम्मकै हुँदोरहेछ। स्नायुहरू मरेपछि टुटेका मांसपेशीय कोषहरूलाई पुनः जोड्‌न अतिरिक्‍त टेलिफोन लाइन जस्तै भाइरसद्वारा प्रभावित नभएका स्नायुहरूमा नयाँ स्नायुहरू “अङ्‌कुराउँछन्‌”। सुषुम्नामा भएको सिङ्‌गो मोटर न्युरोनमा टर्मिनल स्नायु रेसाहरू पनि विकास हुन सक्छन्‌। यसरी विकास भएका स्नायु रेसाहरूले पहिलेका स्नायु रेसाहरूको तुलनामा धेरै मांसपेशीय कोषहरूलाई जोड्‌न सक्छन्‌। यसरी न्युरोनको क्षमतामा वृद्धि हुन्छ। पहिले १,००० वटा मांसपेशीय कोषहरूलाई उत्प्रेरणा दिने मोटर न्युरोनले अन्ततः ५,००० देखि १०,००० कोषहरूलाई फेरि जोडिदिन्छ। मेरो सन्दर्भमा पनि यस्तै भयो। त्यसैले म फेरि हिंड्‌न सकें।

यद्यपि, आजभोलि १५ देखि ४० वर्षको बीचमा कडा श्रम गरेर यी स्नायु-मांसपेशीय एकाइहरूमा धेरै दबाब परेमा यसले थाकेको सङ्‌केत दिन थाल्छ भन्‍ने सोचाइ पनि राखिन्छ। पि पि एस, दशकौं अगाडि पोलियो लागेर निको भइसकेका व्यक्‍तिहरूमा पुनः देखापर्ने अवस्था हो। धेरैजसो रोगीहरूले मांसपेशीहरू कमजोर भएको, थाकेको, जोर्नी र मांसपेशीहरू दुखेको, चिसो सहन नसकेको र श्‍वासप्रश्‍वाससम्बन्धी समस्याहरूको अनुभव गर्छन्‌। वास्तविक तथ्याङ्‌क पाउन गाह्रो भए तापनि विश्‍व-स्वास्थ्य संघको अनुमानअनुसार विश्‍वव्यापी रूपमा पोलियो लागेर निको भइसकेका व्यक्‍तिहरू दुई करोड छन्‌। हालैको तथ्याङ्‌कले देखाएअनुसार तिनीहरूमध्ये २५ देखि ५० प्रतिशत पि पि एस-बाट प्रभावित छन्‌।

मदतको लागि के गर्न सकिन्छ?

अनुसन्धाताहरूको भनाइअनुसार पुरानो, काममा धेरै जोतिएका मोटर न्युरोनहरू धेरै थाकेपछि यसका केही स्नायुहरू मर्छन्‌ फलतः धेरै मांसपेशीय तन्तुहरू चुँडिन्छन्‌। यो प्रक्रियालाई सुस्त बनाउन एक पटक पोलियो लागेर निको भइसकेका व्यक्‍तिहरूले प्रभावित मांसपेशीहरूलाई धेरै दबाब दिनु हुँदैन। केही चिकित्सकहरूले टेक्ने लट्ठी, काम्रो, बैसाखी, ह्विलचेयर र स्कुटरजस्ता सहयोगी साधनहरूलाई प्रयोगमा ल्याउने सल्लाह दिन्छन्‌। मैले चाहिं खुट्टा र पैताला दुवैमा काम्रो राख्नुपऱ्‍यो। मैले विशेष किसिमको जुत्ता पनि बनाएको छु जसले मेरा गोलीगाँठाहरूलाई आड दिन्छ र मलाई लड्‌न दिंदैन।

अवस्था हेरेर हल्काफुल्का व्यायाम र मांसपेशीहरू तन्काउनुपर्ने हुन सक्छ। पौडी खेल्नु अथवा वार्म वाटर-पुल थेरापी, मांसपेशीलाई कुनै दबाब नदिई मुटुको कार्यमा सुधार ल्याउने एउटा उत्कृष्ट तरिका हो। जुनसुकै व्यायाम पद्धति अपनाए पनि रोगीले डाक्टर र थेरापिस्टको निगरानीमा यसो गर्नु आवश्‍यक छ।

एक पटक पोलियो लागेर निको भइसकेको व्यक्‍तिका न्युरोनहरूमा यदि बारम्बार दबाब परिरहेमा अन्ततः कुनै-कुनै मांसपेशीय तन्तुहरूले राम्ररी काम गर्न छोड्‌छन्‌। त्यसैले यस्ता रोगीहरूमा अड्‌ने क्षमता कमजोर हुँदै जाने र अत्यन्तै थाक्ने जस्ता समस्याहरू देखापर्छन्‌। निरन्तर पीडा भइरहेमा अथवा फेरि अशक्‍तता बल्झियो भने पनि अड्‌ने क्षमतामा कमी आउन सक्छ। दिनमा पटक-पटक आराम गर्दा मैले थकित महसुस गरिनँ। धेरै डाक्टरहरूले थाक्ने हदसम्म पुगेर काम गर्नुको सट्टा आराम गर्दै दैनिक कामकुराहरू गर्नुपर्ने कुरामा सचेत गराउँछन्‌।

मेरो कुरा गर्ने हो भने, लगातार जोर्नी र मांसपेशीहरूमा पीडा भइरहँदा मलाई त्यो असह्‍य हुन्छ। कसै-कसैलाई दैनिक कामकुरा गर्दा बढी दबाब पर्ने मांसपेशीहरू दुख्न सक्छ। अन्य कतिपयलाई ज्वरो आएको बेला जस्तै सबै मांसपेशीहरू दुख्ने अनि थाकेको महसुस हुने गर्छ।

पीडा कम गर्ने औषधी अथवा अन्य उपचारहरूद्वारा पीडालाई कम गर्न सकिन्छ। औषधोपचारको बावजुद पोलियो रोग लागेर निको भएका धेरै जना असह्‍य दुखाइबाट पीडित हुन्छन्‌। फिजिकल थेरापीका साथै आफूलाई न्यानो राख्ने र शरीर तन्काउने व्यायामहरूले मदत गर्न सक्छ। एनेस्थेसियोलोजिस्टको जागिर छाड्‌ने एक जना पीडितले मलाई यसो भने, “म ह्विलचेयरबाट ओर्लेर सङ्‌घर्ष गर्दै कोठामा यताउता हिंड्‌न त सक्छु तर यसो गर्दा मलाई धेरै दुख्छ र यसो गर्नुको कुनै फाइदा पनि छैन।” हाल औषधोपचारले मदत गरिरहेको भए तापनि मैले बारम्बार ह्विलचेयरकै सहारा लिनुपर्ने हुन्छ।

एक पटक पोलियो लागेर निको भएका कतिपय व्यक्‍तिहरूको छालाबाट रगत प्रवाह हुने क्षमता नष्ट हुन्छ अनि यस प्रक्रियाले नै शरीरको मांसपेशीय तन्तुहरूमा ताप सञ्चय गर्ने काम गर्छ। यो क्षमताविना प्रभावित हातखुट्टाबाट धेरै जसो ताप बाहिर निस्कन्छ र हातखुट्टाहरू चिसा हुन्छन्‌। मांसपेशी चिसो हुँदा मांसपेशी र मोटर न्युरोनबीच पर्याप्त सञ्चार हुँदैन र यसो हुँदा मांसपेशीहरूले राम्ररी काम गर्दैनन्‌। त्यसैले, अतिरिक्‍त लुगाहरू लगाएर प्रभावित मांसपेशीहरूलाई न्यानो पार्नु अत्यावश्‍यक छ। कसै-कसैले चिसा रातहरूमा इलेक्ट्रिक सिरक अथवा हट-वाटर ब्याग प्रयोग गर्ने गर्छन्‌। चिसो वातावरणको सम्पर्कबाट टाढा रहँदा पनि मदतकारी हुन्छ। मैले चाहिं न्यानो ठाउँमा बसाइँ सर्नुपऱ्‍यो।

बलबर पोलियो हुने अधिकांश व्यक्‍तिहरूमा श्‍वासप्रश्‍वासम्बन्धी समस्याहरू रहेको पाइयो। अनि यो एउटा यस्तो पोलियो हो जसले माथिल्लो घाँटीको सुषुम्नालाई असर गर्छ। यस्तो पोलियोले श्‍वासप्रश्‍वासमा योगदान पुऱ्‍याउने मांसपेशीहरूलाई कमजोर बनाइदिन्छ। विगतमा यस्तो पोलियो हुने व्यक्‍तिहरूले फलामको फोक्सोको सहायता लिनुपर्थ्यो। आज सामान्य रूपमा श्‍वासप्रश्‍वास गर्न मदतको लागि भेन्टिलेटरको प्रयोग गर्न पनि सकिन्छ। धपेडी गर्दा मलाई सास फेर्न गाह्रो हुन्छ। त्यसैले, हरेक दिन म फोक्सोको व्यायाम गर्न एउटा सानो मेसिन प्रयोग गर्छु।

एक पटक पोलियो लागेर निको भइसकेकाहरू अर्को सम्भाव्य कठिनाइबाट पनि जोगिनु पर्छ। तिनीहरूलाई शल्यक्रिया गरेकै दिन घर नफर्कने सल्लाह दिइन्छ। केस्सलर इन्स्टिच्युट फर रिह्‍याबिलिटेसनका डा. रिचर्ड एल. ब्रुनो यसो भन्छन्‌, पुरै बेहोस नपारी गरिने सानोतिनो शल्यक्रियाबाहेक “एक पटक पोलियो लागेर निको भएका बिरामीको शल्यक्रिया गर्दा हरहालतमा सोही दिन घर फर्कने सल्लाह दिइदैंन।” यस्ता व्यक्‍तिहरूमा एनेस्थेसिया प्रयोग गर्नुपर्ने कुनै पनि शल्यक्रिया गर्दा निको हुन अरूलाई भन्दा दुई गुणा धेरै समय लाग्छ र तिनीहरूलाई पीडा कम गर्ने अतिरिक्‍त औषधीहरू आवश्‍यक पर्न सक्छ। अन्य बिरामीहरूको तुलनामा तिनीहरूले अक्सर लामो समय अस्पतालमा बिताउनुपर्ने हुन्छ। यदि मलाई पहिले नै यो कुरा थाह भइदिएको भए भर्खरै गरेको सानो शल्यक्रियापश्‍चात्‌ निमोनियाले मलाई सताउने थिएन। कुनै पनि शल्यक्रिया गर्नुअघि यसबारे शल्यचिकित्सक तथा एनेस्थोलोजिस्टसित कुरा गर्नु बुद्धिमानी हुनेछ।

आज मेरो जीवन

चौध वर्षको उमेरमा जब म हिंड्‌न सक्ने भएँ, मेरा अधिकांश समस्याहरू हटे जस्तो मलाई लागेको थियो। यद्यपि, धेरै वर्षपछि मलाई फेरि त्यही समस्याले सतायो। एक पटक पोलियो लागेर निको भई पि पि एस-को सिकार भएका म जस्ताको परिस्थिति एक जना लेखकको भनाइसित ठ्याक्कै मिल्छ, “एक पटकको प्रहारले दुई चोटि सतायो।” हो, कहिलेकाहीं निराश हुनु त स्वाभाविकै हो। तैपनि, म अझै चलहल गर्न सक्छु, आफ्नो ख्याल आफै राख्न सक्छु। सबैभन्दा उत्तम औषधी भनेकै सकारात्मक मनोवृत्ति राख्नु, परिस्थितिअनुसार आफूलाई छाँटकाँट गर्नु र अहिले जे-जति गर्न सकिन्छ, त्यसको कदर गर्नु हो भनेर मैले बुझेको छु।

उदाहरणको लागि, दस वर्ष पहिले मैले पूर्ण-समय सेवकाई थाल्दा मलाई अहिले जस्तो गाह्रो थिएन। पहिले म थकाइ र दुखाइविना लामो बाटो हिंड्‌न सक्थें। तर अहिले म छोटो दूरीसम्म मात्र हिंड्‌न सक्छु। शक्‍ति सञ्चय गर्न म भऱ्‍याङ चढ्‌ने र उकालोतिर जाने सकेसम्म गर्दिनँ। म सकेसम्म ह्विलचेयर प्रयोग गर्ने गर्छु। आफ्नो सेवकाईलाई विभिन्‍न तरिकाले छाँटकाँट गरेर मैले आनन्द उठाउन सकेको छु र ममा सुधारहरू पनि आइरहेको छ।

हो, पि पि एस-ले मेरो जीवनलाई असर गर्छ। मेरो स्वास्थ्य अझै खस्कन पनि सक्छ। तर नयाँ संसारबारे बाइबलले गरेको प्रतिज्ञामा म अपार आनन्द पाउँछु जहाँ सबै मानिसहरू सिद्ध स्वास्थ्य र बलसहित फेरि जवान हुनेछन्‌। वर्षौंको दौडान मैले अक्सर यशैया ४१:१० का प्रेरित शब्दहरूमा विचार गर्ने गरेको छु: “नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु।” पि पि एस विगतको कुरा नहुन्जेल परमेश्‍वरको मदत पाएर हरेस नखान म कटिबद्ध छु। (g04 7/22)

[फुटनोट]

a पोलियोमाइलिटीस्‌ अथवा पोलियो पनि भनिन्छ।

[पृष्ठ १६-मा भएको पेटी]

‘के मलाई पोस्ट-पोलियो सिन्ड्रोम भएको हुन सक्छ ?’

पोस्ट-पोलियो सिन्ड्रोम नै हो भनेर निदान गर्न कुनै पनि विशेषज्ञले निम्न पक्षहरूलाई पक्का गर्नुपर्छ:

◼ कुनै समय प्यारालिटिक पोलियोमाइलिटीस्‌ भएको कुरा पक्का हुनु पर्छ

◼ आंशिक अथवा पूर्णतया रोग निको भएको केही समयसम्म (कम्तीमा पनि १५ वर्षसम्म) स्नायुसम्बन्धी कुनै समस्या देखापरेको हुनु हुँदैन।

◼ बिस्तारै वा अचानक मांसपेशीहरू दुख्ने, थाक्ने, कमजोर हुने वा सुक्ने अथवा जोर्नीहरू पनि दुख्ने हुन्छ।

◼ सास फेर्न अथवा कुनै कुरा निल्न गाह्रो हुन सक्छ

◼ कम्तीमा पनि लक्षणहरू एक वर्षसम्म रहिरहन्छ

◼ स्नायुसम्बन्धी, स्वास्थ्य र हातगोडासम्बन्धी अन्य समस्याहरू हुनु हुँदैन

एक पटक पोलियो लागेर निको भइसकेका सबै व्यक्‍तिहरूलाई पि पि एस हुन्छ भन्‍ने छैन, उमेर बढ्‌दै जाँदा स्नायुसित सम्बन्धित मांसपेशीहरूको एकाइलाई क्षमताभन्दा बढी प्रयोग गरेमा स्वाभाविक रूपमा चाँडै थाक्ने र बुढेसकालका लक्षणहरू देखापर्ने हुन सक्छ। यसको अतिरिक्‍त, एक पटक पोलियो लागेर निको भइसकेका व्यक्‍तिहरूमध्ये नयाँ लक्षणहरू लिएर डाक्टरकहाँ जाने आधा जतिलाई पि पि एस हुँदैन। एक जना विशेषज्ञ यसो भन्छन्‌, “एक पटक पोलियो लागेर निको भइसकेका व्यक्‍तिहरूलाई नयाँ-नयाँ लक्षणहरूले सताइरहेको छ भने यसरी सताउने ६० प्रतिशत व्यक्‍तिहरूमा हुने चिकित्सासम्बन्धी अथवा स्नायुसम्बन्धी समस्या पोलियोसित सम्बन्धित हुँदैन अनि त्यस्ता समस्याहरू निको पार्न सकिन्छ। पोलियो रोग लागेर निको भइसकेका २० प्रतिशत व्यक्‍तिहरूमा पोलियोको असरको रूपमा हाडजोर्नीका अशक्‍तता जस्ता समस्याहरू रहेको पाइन्छ।”

[पृष्ठ १७-मा भएको पेटी]

कुनै उपचार छ ?

रोग लाग्नुको कुनै निश्‍चित कारण नभए जस्तै अहिलेसम्म पोस्ट-पोलियो सिन्ड्रोमको (पि पि एस) कुनै उपचार छैन। यद्यपि, तीन पक्षबाट पुनः स्वास्थ्यलाभ गर्न सकिन्छ। एक जना विशेषज्ञ भन्छन्‌: “पुनः स्वास्थ्यलाभ गर्ने उपायद्वारा ८० प्रतिशतभन्दा धेरै पि पि एस रोगीहरूले लाभ उठाउने गरेका छन्‌।”

तीन पक्षहरू यस प्रकार छन्‌:

१. जीवन शैलीमा ल्याइने परिवर्तन

◼ शक्‍ति सञ्चय गर्ने

◼ सहायक साधनहरू

◼ नथाक्ने व्यायाम

◼ न्यानो भएर बस्ने

२. औषधोपचार र सप्लिमेन्टहरू

धेरै उपचार, औषधी र प्राकृतिक सप्लिमेन्टहरू प्रयोगमा ल्याइए तापनि कुनै पनि मदतकारी साबित भएका छैनन्‌। सुधार भएको धेरै अपुष्ट रिपोर्टहरू पाइन्छन्‌ तर थप अध्ययनको आवश्‍यकता छ। जडीबुटीको प्रयोगले मेडिकल डाक्टरले सिफारिस गरेको औषधीको प्रभावलाई प्रतिकूल असर गर्न सक्छ भनेर नबिर्सनुहोस्‌, आफूले कुनै औषधी लिने विचार गर्दै हुनुहुन्छ भने त्यसबारे सधैं आफ्नो चिकित्सकलाई जानकारी दिनुहोस्‌।

३. जीवनको गुणस्तर

स्वास्थ्यकर्मीले पि पि एस-को रोगीलाई दिन सक्ने सबैभन्दा प्रभावकारी औषधी भनेको ज्ञान र प्रोत्साहन नै हो। . . . आफ्नो जीवनमा छाँटकाँट गर्दा (राम्ररी समस्या समाधान गर्न सक्ने क्षमता भएका, सहज वातावरण पाएका, धेरै जानकारी तथा सहयोग पाएका, सहायता दिने साधनहरूलाई प्रयोगमा ल्याउन इच्छुक) रोगीहरूले आफ्नो दैनिक कामकुरा राम्ररी गर्न सकेका छन्‌।”—डा. सुसन पर्लम्यान।

[पृष्ठ १८-मा भएको पेटी]

व्यायाम नि?

पहिले-पहिले एक पटक पोलियो लागेर निको भइसकेकाहरूलाई ‘नदुखेसम्म’ व्यायाम गर्ने सल्लाह दिइन्थ्यो। त्यसपछि १९८० को दशकतिर तिनीहरूलाई व्यायामको खतराबारे सचेत गराइयो। विशेष गरेर क्रियाशील मांसपेशीय तन्तुहरूलाई जति सकिन्छ त्यति जोत्न नहुनेबारे सचेत गराइयो।

आज विशेषज्ञहरू बेसरी व्यायाम गर्ने या गर्दै नगर्नेभन्दा ठिक्क व्यायाम गर्ने सल्लाह दिन्छन्‌। तिनीहरूले दिने सन्देश यस्तो छ, ‘बढी नगर्नुहोस्‌, तर निष्क्रिय बस्नबाट होसियार हुनुहोस्‌।’ नेसनल सेन्टर अन फिजिकल एक्टिभिटी एण्ड डिजेबिलिटी यसो भन्छ, “नयाँ समझअनुसार हाम्रो अशक्‍तताको स्तर जस्तोसुकै भए तापनि हामीले व्यायामको महत्त्व बुझ्नुपर्छ, आफ्नो अवस्था र आवश्‍यकताअनुसार हामीले व्यायामको योजना बनाउनुपर्छ र आफूले चिताएको नतिजा हासिल गर्न योजनाअनुसारै चल्नुपर्छ।”

निचोडमा भन्‍नुपर्दा व्यायाम गर्ने योजना यस्तो हुनुपर्छ:

◼ सम्बन्धित विषयमा ज्ञान भएका अथवा शारीरिक व्यायाम गराउने चिकित्सकको निगरानीमा व्यायाम गर्नुहोस्‌

◼ बिस्तारै वा ठिक्क मात्रामा व्यायाम गरेर सुरु गर्नुहोस्‌ र बिस्तारै सुधार गर्दै जानुहोस्‌

◼ व्यायाम सुरु गर्नुअघि वार्म-अप अर्थात्‌ अलि-अलि शरीर तन्काएर हृदयको गतिलाई बिस्तारै बढाएर व्यायामको लागि आफूलाई तयार बनाउनुहोस्‌ र एकै चोटि नरोकी, व्यायामलाई बिस्तारै रोक्नुहोस्‌

◼ तन्काउने र सामान्य एरोबिक व्यायामहरूमा ध्यान दिनुहोस्‌

◼ उपलब्ध छ भने, वार्म-वाटर पुल व्यायामलाई समावेश गर्नुहोस्‌

जोन्स हप्किन्स मेडिकल लेटर-मा एक विशेषज्ञ यसो भन्छन्‌, “थकाइ र दुखाइ एक घण्टाभन्दा बढी समयसम्म रह्‍यो भने यसले मांसपेशीहरूको प्रयोग बढी भएको कुराको सङ्‌केत गर्छ।” त्यसकारण शरीरका लक्षणहरूप्रति सचेत हुनुहोस्‌ अनि दुख्ने, थकाइ लाग्ने र कमजोर हुने अवस्थासम्म नपुग्नुहोस्‌।

[पृष्ठ १९-मा भएको पेटी]

रोग विकास हुन सक्ने कारणहरू के-के हुन्‌ ?

प्रत्येक अवस्था फरक-फरक हुने भए तापनि एक पटक पोलियो लागेर निको भइसकेकाहरूमा निम्न तत्त्वहरूले पोस्ट-पोलियो सिन्ड्रम हुन सक्ने खतरालाई बढाइदिन्छ:

सुरुमा लागेको पोलियोको गम्भीरता। साधारणतया भन्‍ने हो भने, सुरुमा लागेको पोलियो जति चर्को भयो, पि पि एस हुने खतरा पनि त्यतिकै बढी हुन्छ

कुन उमेरमा पहिलो पटक पोलियोले आक्रमण गऱ्‍यो। सानै उमेरमा पोलियो हुनेहरूलाई पि पि एस-ले सताउने सम्भावना निकै कम हुन्छ

निको हुने। अचम्मको कुरा, पोलियो सुरुमा जति छिटो र राम्ररी निको भयो, पछि पि पि एस हुने सम्भावना त्यति नै बढी हुन्छ

शारीरिक क्रियाकलाप। एक पटक पोलियो लागेर निको भइसेकका व्यक्‍तिहरूमा वर्षौंदेखि नथाकेसम्म व्यायाम गर्ने बानी परिसकेको छ भने यसले पि पि एस हुने खतरालाई बढाउन सक्छ

[पृष्ठ १५-मा भएको चित्र]

म ११ वर्षको छँदा एउटी नर्स मलाई शल्यक्रियापश्‍चात्‌ निको हुन मदत गर्दै

[पृष्ठ १९-मा भएको चित्र]

आज, पूर्ण-समय मसीही सेवकाईमा मेरी पत्नीसित