सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के विवाहपूर्व यौनसम्बन्ध राख्नु गलत हो?

के विवाहपूर्व यौनसम्बन्ध राख्नु गलत हो?

युवा जनहरू सोध्छन्‌ . . .

के विवाहपूर्व यौनसम्बन्ध राख्नु गलत हो?

“विवाहपूर्व यौनसम्बन्ध राख्नु त्यति नराम्रो कुरा होइन कि जस्तो मलाई कहिलेकाहीं लाग्छ किनभने म अझै कुमार रहेकोमा अनौठो महसुस हुन्छ।”—जर्डन। a

“म यौनसम्बन्ध राख्ने दबाब महसुस गर्छु। यसप्रति हामी सबैको स्वाभाविक झुकाव पनि हुन्छ जस्तो लाग्छ,” भनी केली बताउँछिन्‌। उनी अझ यसो भन्छिन्‌, “जता हेऱ्‍यो यौनकै चर्चा छ!”

के तपाईं पनि जर्डन र केलीजस्तै महसुस गर्नुहुन्छ? हुन पनि, विवाहपूर्व यौनसम्बन्धलाई गलत ठहराउने परम्परागत प्रचलन तथा मूल्यमान्यताहरू सबै हराइसके। (हिब्रू १३:४) एउटा एसियाली मुलुकमा गरिएको सर्वेक्षणले देखाएअनुसार १५ देखि २४ वर्षबीचका अधिकांश पुरुषहरूले विवाहपूर्व यौनसम्बन्ध स्वीकार्य मात्र नभई तिनीहरूबाट त्यस्तो सम्बन्ध राखेको आशा गरिन्छ भन्‍ने महसुस गरे। त्यसैले संसारभरिका अधिकांश युवाहरूले १९ वर्ष पुग्नुअघि नै यौनसम्बन्ध राखिसकेको हुनु कुनै छक्कलाग्दो कुरा होइन।

यौनसम्बन्ध चाहिं नराख्ने तर एकअर्काको यौनाङ्‌ग सुम्सुम्याउने (यसलाई कहिलेकाहीं पारस्परिक हस्तमैथुन भनिन्छ) जस्ता तथाकथित यौन विकल्पमा भाग लिने युवाहरू पनि छन्‌। द न्यु योर्क टाइम्स-मा छापिएको एउटा रिपोर्ट जुन चिन्ताको विषय बनेको छ, त्यसले देखाएअनुसार “धेरैजसो युवाहरूले मुखमैथुनबाट यौन गतिविधि थालेको पाइयो र यस्तो कार्यमा सामेल हुँदा त्यति नजिक हुनु नपर्ने अनि खतरा पनि त्यति नहुने सोचाइ राखेको . . . र यसो गर्दा गर्भवती हुनबाट जोगिने र आफ्नो कौमार्य पनि जोगाउन सकिने सोचाइ राखेको पाइयो।”

तर मसीहीले विवाहपूर्व यौनसम्बन्धप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ? अनि यौनसम्बन्धका कथित विकल्पहरू नि? के ती परमेश्‍वरको अगाडि स्वीकार्य छन्‌? के ती सुरक्षित छन्‌? अनि के त्यसले साँच्चै कसैको कौमार्य जोगाउँछ?

व्यभिचारमा के-के समावेश छ

यी प्रश्‍नहरूको भरपर्दो जवाफ हाम्रो सृष्टिकर्ता यहोवा परमेश्‍वरबाट मात्र पाउन सकिन्छ। उहाँको वचनमा हामीलाई “व्यभिचारदेखि अलग रहो” भनिएको छ। (१ कोरिन्थी ६:१८) त्यसको अर्थ के हो? “व्यभिचार” भनी अनुवाद गरिएको युनानी शब्दको अर्थ यौनसम्बन्धमा मात्र सीमित छैन तर यसले विभिन्‍न किसिमका अश्‍लील कार्यहरू समेट्‌छ। त्यसैले दुई जना अविवाहित व्यक्‍तिले मुखमैथुन गर्छन्‌ वा एकअर्काका प्रजनन अङ्‌गहरू सुम्सुम्याउँछन्‌ भने तिनीहरू व्यभिचारको दोषी हुन्छन्‌।

तर के तिनीहरू अझै पनि परमेश्‍वरको नजरमा कुमार /कुमारी रहिरहन्छन्‌? बाइबलमा “चोखो” वा कुमार/कुमारी भन्‍ने शब्द नैतिक शुद्धताको प्रतीकको रूपमा प्रयोग गरिएको छ। (२ कोरिन्थी ११:२-६) तर यो शारीरिक अर्थमा पनि प्रयोग गरिएको छ। बाइबलले रिबेका नाउँकी युवतीबारे बताएको छ। यसमा भनिएको छ, ती “कन्या हेर्नमा अत्यन्त सुन्दरी र कुनै मानिससित पनि सहवास नभएकी थिइन्‌।” (उत्पत्ति २४:१६) चाखलाग्दो कुरा के हो भने, मौलिक हिब्रूमा “सहवास” भन्‍ने अर्थ बुझाउन प्रयोग गरिएको शब्दले पुरुष र स्त्रीबीच हुने सामान्य सहवासबाहेक अन्य कार्यहरूलाई पनि बुझाउँथ्यो। (उत्पत्ति १९:५) त्यसैले बाइबलअनुसार भन्‍ने हो भने, कुनै युवा कुनै पनि किसिमको व्यभिचारमा सामेल भएको खण्डमा तिनी त्यस उप्रान्त पनि कुमार/कुमारी रहिरहन्छन्‌ भन्‍न मिल्दैन।

बाइबलले मसीहीहरूलाई व्यभिचारबाट अलग रहन मात्र होइन तर त्यसतर्फ डोऱ्‍याउन सक्ने सबै प्रकारको अशुद्ध आचरणबाट अलग रहन आग्रह गर्छ। b (कलस्सी ३:५) तपाईंले त्यस्तो अडान लिनुभएकोमा अरूले तपाईंको खिसी गर्लान्‌। “ ‘तिमीले त जिन्दगीको मजा नै उठाइरहेकी छैनौ!’ भन्‍ने भनाइ मैले हाइ-स्कूलभरि सुन्‍नुपऱ्‍यो,” भनी केली नाउँकी मसीही युवती बताउँछिन्‌। तथापि, विवाहपूर्व यौनसम्बन्ध भनेको केवल “केही समयसम्म पापको सुख” हो। (हिब्रू ११:२५) यसले सदाको लागि शारीरिक, भावनात्मक तथा आध्यात्मिक हानि पुऱ्‍याउन सक्छ।

गम्भीर खतराहरू

एक जना जवान मानिसलाई विवाहपूर्व यौनसम्बन्ध राख्न प्रलोभनमा पारिएको कुरा राजा सुलेमानले एक चोटि देखेको विषयमा बाइबलले हामीलाई बताउँछ। सुलेमानले त्यस जवान मानिसलाई “कसाईखानाको बाटोतिर लागेको गोरुझैं” भने। मार हान्‍नै लागेको गोरुलाई त्यसपछि के हुनेछ भनेर पत्तै हुँदैन। विवाहपूर्व यौनसम्बन्धमा संलग्न हुने युवाहरूले पनि अक्सर यस्तै व्यवहार गर्छन्‌—तिनीहरूले आफ्नो कार्यको गम्भीर परिणाम हुनेछ भनेर वास्तै नगरेको वा होसै नभएजस्तो देखिन्छन्‌! त्यस जवान मानिसबारे सुलेमानले यसो भने: “आफ्नो ज्यान खतरामा हालेको उसले जान्दैन।” (हितोपदेश ७:२२, २३) हो तपाईंको “जीवन” खतरामा छ।

उदाहरणका लागि, वर्षेनी लाखौं युवाहरू यौनजन्य रोगबाट सङ्‌क्रमित हुन्छन्‌। “मलाई लुतो लागेको थाह पाउँदा म अन्त कतै भाग्न चाहन्थें” भनी लिडिया बताउँछिन्‌। उनी यस्तो बिलौना गर्छिन्‌, “यो कहिल्यै निको नहुने पीडादायी रोग हो।” संसारभरि (प्रति दिन ६,०००) हालै एच आइ भी-बाट सङ्‌क्रमितमध्ये आधीभन्दा बढी १५ देखि २४ वर्षबीचका छन्‌।

स्त्रीहरू विशेष गरी विवाहपूर्व यौनसम्बन्धसित सम्बन्धित समस्याहरूबाट सजिलै पीडित हुन सक्छन्‌। वास्तवमा यौनजन्य रोगको (एच आइ भी पनि) खतरा पुरुषलाई भन्दा स्त्रीलाई बढी हुन्छ। एउटी केटी गर्भवती हुँदा उसले आफू र आफ्नो पेटमा भएको बच्चालाई खतरामा पार्छे। किन? किनभने एउटी केटीको सुरक्षितपूर्वक बच्चा जन्माउन सक्ने गरी शारीरिक विकास भइसकेको नहुन सक्छ।

किशोरी आमालाई गम्भीर स्वास्थ्य समस्याहरू नभए तापनि उनले आमा बन्दा आउने गम्भीर जिम्मेवारीहरू सामना गर्नै पर्छ। थुप्रै केटीहरूले आफ्नो अनि आफ्नो नवजात शिशुको लालनपालन गर्नु भनेको तिनीहरूले कल्पना गरेभन्दा असाध्यै गाह्रो हुँदो रहेछ भन्‍ने पाएका छन्‌।

यसबाहेक यसको आध्यात्मिक तथा भावनात्मक असरहरू छन्‌। राजा दाऊदको यौनसम्बन्धी पापले गर्दा परमेश्‍वरसित तिनको सम्बन्ध खतरामा पऱ्‍यो र तिनको झन्डै आध्यात्मिक पतन भएको थियो। (भजन ५१) दाऊद आध्यात्मिक तवरमा पुनः खडा भए तापनि तिनले बाँकी जिन्दगीभर आफ्नो पापका परिणामहरू भोगे।

आज पनि जवान मानिसहरूले त्यस्तै परिणाम भोग्न सक्छन्‌। उदाहरणका लागि, शेरी १७ वर्षकी मात्र हुँदा एउटा केटासित यौनकार्यमा संलग्न हुन पुगिन्‌। तिनलाई त्यो केटाले माया गर्छ जस्तो लाग्थ्यो। वर्षौंपछि पनि तिनी अझै आफ्नो कार्यको पछुतो गर्छिन्‌। तिनी यसरी बिलौना गर्छिन्‌: “मैले बाइबल सत्यलाई हल्कासित लिएँ अनि त्यसको परिणाम भोगें। मैले यहोवाको अनुमोदन गुमाएँ अनि त्यो साह्रै पीडादायी थियो।” त्रीश नाउँकी केटीले पनि त्यसै भनिन्‌: “विवाहपूर्व यौनसम्बन्ध राख्नु मेरो जीवनको सबैभन्दा ठूलो गल्ती थियो। फेरि कुमारी हुन सक्ने भए म जे पनि गर्न तयार छु।” हो, भावनात्मक चोटहरू वर्षौं रहिरहन सक्छ अनि यसले तनाव र दुःख ल्याउन सक्छ।

आत्मसंयम सिक्ने

शान्डा नाउँकी केटी एउटा महत्त्वपूर्ण प्रश्‍न उठाउँछिन्‌, “जवानहरूले आफ्ना यौन इच्छाहरू विवाहपश्‍चात्‌ मात्र प्रयोग गर्नुपर्छ भनेर थाह पाउँदा पाउँदै परमेश्‍वरले त्यस्तो इच्छा किन राखिदिनुभएको होला?” हुन त हो, “बैंस[को]” बेला यौन इच्छाहरू एकदमै प्रबल हुन सक्छ। (१ कोरिन्थी ७:३६) वास्तवमा, किशोर-किशोरीहरूले कुनै स्पष्ट कारण नहुँदा समेत अकस्मात्‌ यौन इच्छा महसुस गर्न सक्छन्‌। तर यो कुनै नराम्रो कुरा होइन। यो प्रजनन प्रणालीको स्वाभाविक विकास हो। c

यो कुरा पनि सत्य हो कि यहोवाले यौनसम्बन्ध आनन्दायी होस्‌ भनेर रच्नुभएको थियो। यो पृथ्वी भर्ने परमेश्‍वरको सुरुको उद्देश्‍य अनुरूप थियो। (उत्पत्ति १:२८) तैपनि, हामीले प्रजनन शक्‍तिहरू दुरुपयोग गरोस्‌ भन्‍ने इच्छा परमेश्‍वरको कहिल्यै थिएन। बाइबल यसो भन्छ, “तिमीहरूमा हरेकले आफ्ना आफ्ना पात्रलाई पवित्रता र इज्जतमा कसरी आफैले ग्रहण गर्नुपर्छ, सो जान।” (१ थिस्सलोनिकी ४:४) हरेक पटक यौन इच्छा जाग्दा त्यसलाई पूरा गर्न खोज्नु भनेको हरेक पटक रिस उठ्‌दा कसैलाई हिर्काउनुजस्तै मूर्खतापूर्ण हुनेछ।

यौनसम्बन्ध भनेको परमेश्‍वरको उपहार हो र यो उपहारबाट उचित समयमा आनन्द उठाउनुपर्छ, त्यो हो विवाहपछि। विवाह नगरी यौनसम्बन्ध राख्दा परमेश्‍वरले कस्तो महसुस गर्नुहुन्छ? मानिलिनुहोस्‌, तपाईंले आफ्नो साथीको लागि एउटा उपहार किन्‍नुभयो। साथीलाई त्यो उपहार दिनुअधि नै उसले त्यो चोऱ्‍यो! के तपाईं खिन्‍न हुनुहुनेछैन र? त्यसोभए परमेश्‍वरले दिनुभएको उपहारलाई दुरुपयोग गर्दै विवाहपूर्व यौनसम्बन्धमा संलग्न हुनुभयो भने परमेश्‍वरले कस्तो महसुस गर्नुहुनेछ, कल्पना गर्नुहोस्‌।

आफ्ना यौन भावनाहरूलाई तपाईंले के गर्नुपर्छ? सरल भाषामा भन्‍ने हो भने, त्यसलाई नियन्त्रणमा राख्न सिक्नुहोस्‌। आफैलाई सम्झाउनुहोस्‌, “इमान्दारीसँग हिंड़नेहरूदेखि उहाँले कुनै असल कुरा इन्कार गर्नुहुन्‍न।” (भजन ८४:११) गर्डन नाउँका युवक यसो भन्छन्‌, “विवाहपूर्व यौनसम्बन्ध त्यति नराम्रो कुरा होइन भनेर सोच्न थालें भने म खराब आध्यात्मिक परिणामबारे सोच्छु अनि यहोवासितको सम्बन्ध गुमाउनुभन्दा ठूलो पाप अरू कुनै हुन सक्दैन भनेर विचार गर्ने गर्छु।” आत्मसंयम देखाउनु त्यति सजिलो नहुन सक्छ। तर जवान एड्रियनले हामीलाई सम्झाएझैं “आत्मसंयम देखाउँदा सफा अन्तस्करण अनि यहोवासित राम्रो सम्बन्ध हुन्छ र विगतका कार्यहरूको लागि कुनै दोषी भाव वा पछुतो महसुस नगरी बढी महत्त्वपूर्ण कुराहरूमा ध्यान केन्द्रित गर्न सकिन्छ।”—भजन १६:११.

तपाईं विभिन्‍न किसिमको ‘व्यभिचारबाट अलग बस्नुपर्ने’ थुप्रै ठोस कारणहरू छन्‌। (१ थिस्सलोनिकी ४:३) हुन त, यसो गर्न सधैं सजिलो हुँदैन। तपाईंले “आफूलाई पापबाट अलग” अथवा कसरी नैतिक तवरमा शुद्ध राख्न सक्नुहुन्छ भन्‍ने व्यावहारिक तरिकाहरू यसपछिको लेखले बताउनेछ।—१ तिमोथी ५:२२. (g04 7/22)

[फुटनोटहरू]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

b व्यभिचार, अशुद्धता र छाडा आचरणबारे छलफलको लागि “युवा जनहरू सोध्छन्‌ . . . कुन हदमा पुगेपछि ‘अति भयो’ भन्‍ने?” भन्‍ने विषयमा अवेक! अक्टोबर २२, १९९३ को अंक हेर्नुहोस्‌।

c “युवा जनहरू सोध्छन्‌ . . . मेरो शरीरलाई किन यस्तो हुँदैछ?” भन्‍ने फेब्रुअरी ८, १९९० को अंक हेर्नुहोस्‌।

[पृष्ठ १३-मा भएको ठूलो अक्षरको क्याप्सन]

जवान मानिस कुनै प्रकारको व्यभिचारमा संलग्न भए भने के तिनी परमेश्‍वरको नजरमा कुमार/कुमारी रहिरहनेछन्‌?

[पृष्ठ १३-मा भएको चित्र]

विवाहपूर्व यौनसम्बन्धले ईश्‍वरभीरु युवाको अन्तस्करणलाई खल्बल्याउन सक्छ

[पृष्ठ १४-मा भएको चित्र]

विवाहपूर्व यौनसम्बन्धमा संलग्न हुनेहरू यौनजन्य रोगबाट सङ्‌क्रमित हुने खतरा हुन्छ