ठगिनदेखि कसरी जोगिने
ठगिनदेखि कसरी जोगिने
सायद तपाईंले यसो भनेको त सुन्नुभएकै होला, “इमानदार व्यक्तिलाई ठग्नु असम्भव छ।” अन्य थुप्रै भनाइहरू जस्तै त्यो भनाइ पनि सत्य होइन। हरेक दिन इमानदार व्यक्तिहरू ठगिन्छन्; इमानदारिताले मात्रै उनीहरूलाई जोगाउन सक्दैन। संसारका केही चलाख व्यक्तिहरू बेइमान गरेर मानिसहरूको पैसा हजम गर्ने युक्ति रच्छन्। सय वर्षभन्दा अघि एक जना लेखकले यस्तो लेखे: “कुनै-कुनै ठगीकार्यहरू यत्ति चलाखीपूर्वक रचिएका हुन्छन् कि तिनीहरूबाट नठगिने त कुरै आउँदैन।”
छलछामको इतिहास पहिल्याउँदै जाने हो भने यो अदनको बगैंचामा सुरु भएको थाह हुन आउँछ। (उत्पत्ति ३:१-५) पुराना चालहरू अनेक थरीका छन् र नयाँ चालहरू हरबखत रचिन्छन्। त्यसकारण तपाईं कसरी आफूलाई बचाउन सक्नुहुन्छ? अपराधीहरूले मानिसहरूलाई ठग्न अपनाउने सम्पूर्ण तरिकाहरू थाह पाउने प्रयास गर्नु जरुरी छैन। केही आधारभूत पूर्व-सावधानीले ठगिनदेखि जोगिन तपाईंलाई निकै मदत गर्न सक्छ।
व्यक्तिगत जानकारी सुरक्षित राख्नुहोस्
कुनै व्यक्तिले तपाईंको चेकबुक अथवा क्रेडिट कार्ड चोऱ्यो भने, त्यो चलाएर त्यसले चीजबीज किन्न सक्छ। तपाईंको बैंक खातासम्बन्धी जानकारी चोऱ्यो भने, त्यसले तपाईंको नाउँमा केही मगाउन र चेक काट्न सक्छ। पर्याप्त मात्रामा तपाईंको व्यक्तिगत जानकारी हासिल गऱ्यो भने, त्यसले तपाईंको परिचय चलाउन सक्छ। एक चोटि तपाईंको परिचय चोरी भइसकेपछि अपराधीले तपाईंको बैंक खाताबाट पैसा झिक्न सक्छ, तपाईंको क्रेडिट कार्ड नम्बर चलाएर सामानहरू किन्न सक्छ र तपाईंको नाउँमा ऋण काड्न सक्छ। a आफूले गर्दै नगरेको अपराधमा समेत तपाईं पक्राउ पर्न सक्नुहुन्छ!
यस किसिमको ठगाइबाट जोगिन आफ्नो बैंक खातासम्बन्धी जानकारी तथा चेकबुक, सवारीसाधन अनुमति-पत्र अनि सोसियल सेक्युरिटी कार्ड वा राष्ट्रिय परिचय-पत्रलगायत सम्पूर्ण व्यक्तिगत कागजपत्रहरूलाई हिफाजत गरेर राख्नुहोस्। कुनै ठोस कानुनी आधार नभएसम्म अरूले माग्यो भन्दैमा आफ्नो व्यक्तिगत वा आर्थिक जानकारी नदिनुहोस्। यो कुरा विशेष गरी क्रेडिट कार्ड नम्बर अनि बैंक खातासित सम्बन्धित जानकारीमा लागू हुन्छ। आफ्नो क्रेडिट कार्ड नै चलाएर केही किन्नुपरेको खण्डमा मात्रै अरूलाई आफ्नो नम्बर दिन सकिन्छ।
पैसा ठग्ने ठगाहाहरूले यस्तो जानकारी हात पार्न फोहोरमैला फाल्ने टोकरीमा फालिएका रद्दी कागजहरू समेत खोतलखातल गर्न बाँकी राख्दैनन्। आफ्नो व्यक्तिगत जानकारी भएका कागजहरूलाई त्यतिकै फ्याँक्नुभन्दा यसलाई जलाउनु वा च्यातचुत पार्नु बेस हुन्छ। यस्ता कागजहरूमा प्रयोग भइसकेका चेक र बैंक खाता अनि दलाली कारोबारसित सम्बन्धित विवरणहरू लगायत मिति पुगेको क्रेडिट कार्ड, सवारीसाधन अनुमति-पत्र अनि पासपोर्ट समावेश छन्। मेलमार्फत त्यतिकै पठाइरहने क्रेडिट कार्डका आवेदन फारामहरूलाई पनि जलाइदिनु वा च्यातेर फ्याँक्नु बेस हुन्छ किनभने यी फारामहरूमा तपाईंबारे जानकारीहरू हुन्छन्, जसको अरू कसैले दुरुपयोग पनि गर्न सक्छ।
बुद्धि चलाउनुहोस्
प्रायजसो ठग व्यक्तिहरूले लगानीबाट विश्वासै गर्न नसकिने प्रतिफल प्राप्त हुन्छ भनेर वचन दिन्छन्। बेइमान गरेर रातारात धनी हुने एउटा लोकप्रिय तरिका पिरामिड स्किम अर्थात् सदस्य बढाउँदै लैजाने योजना हो। यस योजनाका विभिन्न प्रकारहरू भए तापनि साधारणतया यस योजनाको उद्देश्यअनुसार लगानीकर्ताहरूले अरू व्यक्तिलाई पनि यस योजनामा सामेल गराउनुपर्ने हुन्छ। यसरी सामेल गराएबापत उनीहरूले कमिसन पाउँछन्। b चेन लेटर अर्थात् एउटा व्यक्तिले अर्को व्यक्तिलाई र त्यसले फेरि अर्कोलाई पत्र पठाउने योजनामा पनि त्यस्तै हुन्छ। यस योजनाअन्तर्गत तपाईंलाई सूचीको सबैभन्दा माथि पुगेको व्यक्तिलाई पैसा पठाउन भनिन्छ। तपाईंको नाउँ सूचीको सबैभन्दा माथि पुगेपछि तपाईंले हजारौं डलर पाउनुहुनेछ भन्ने आश्वासन दिइएको हुन्छ।
पिरामिड स्किम सधैं फासफुस भएर जान्छ किनभने नयाँ सदस्य बनाउँदै-बनाउँदै जानु सम्भव छैन। यसको हिसाबकिताब विचार गर्नुहोस्। मानिलिऊँ, पाँच जनाले पिरामिड योजना सुरु गरे र हरेक व्यक्तिले पाँच-पाँच जना सदस्य बनायो भने नयाँ सदस्यहरूको संख्या २५ पुग्छ। यदि उनीहरू प्रत्येकले पाँच-पाँच जना सदस्य बनाएको खण्डमा जम्मा संख्या बढेर १२५ हुन्छ। यसरी नयाँ सदस्य बनाउने क्रम नवौं तहसम्म पुगेपछि त सदस्यहरूको संख्या २० लाखको हाराहारीमा पुग्छ, जसले ९० लाखभन्दा बढी मानिसहरूलाई सदस्य बनाउनुपर्ने हुन्छ! पिरामिड स्किमका प्रवर्धकहरूलाई कुन अवस्थामा
पुगेपछि सदस्य बनाउन सकिन्न भन्ने कुरा थाह हुन्छ। त्यो अवस्था आइपुग्न-पुग्नै लाग्यो भन्ने कुरा चाल पाएपछि तिनीहरू सबै पैसा सोरसार पारेर टाप कस्छन्। सम्भवतः तपाईंले आफ्नो पैसा गुमाउनुहुनेछ र तपाईंले सदस्य बनाउनुभएका व्यक्तिहरूले तपाईंबाट आफ्नो गुमेको पैसा असुल गर्ने प्रयास गर्नेछन्। स्मरण रहोस्, पिरामिड स्किममा तपाईंले पैसा कमाउनको लागि अरू कसैले पैसा गुमाउनुपर्ने हुन्छ।के कसैले तपाईंलाई परिश्रम नगरीकनै पैसा कमाउने वा लगानी गरेबापत धेरै मुनाफा कमाउने प्रस्ताव राखिरहेको छ? यदि छ भने, सचेत गराउने एउटा यस्तो चेतावनी छ: यदि प्रस्ताव पत्याउनै नसकिने किसिमको छ भने, साधारणतया यो यस्तै हुन्छ। “यो त कस्तो फरक रहेछ” भन्ने सोचेर विज्ञापनमा गरिएका दाबी तथा प्रमाणहरूलाई तुरुन्त नपत्याइहाल्नुहोस्। तपाईंलाई धनी बनाउनको लागि पैसा दिन वा धनी हुने सूत्र बताउन मानिसहरूले व्यापार गर्दैनन् भन्ने कुरा नबिर्सनुहोस्। यदि कसैले तपाईंलाई मालामाल गरिदिने विशेष ज्ञान आफूसित भएको दाबी गर्छ भने आफैलाई सोध्नुहोस्: ‘आफैलाई धनी बनाउन उसले यो ज्ञान किन प्रयोग गर्दैन? मलाई यो बेच्ने कोसिस गरेर उसले किन बित्थामा समय बर्बाद गरिरहेको छ?’
कुनै प्रतियोगिता वा पुरस्कार जित्नुभएको छ भनेर कसैले तपाईंलाई भन्यो भने नि? खुसीले नउफ्रिहाल्नुहोस्—यो एउटा ठगीकार्य हुन सक्छ, जसले थुप्रै मानिसहरूलाई आफ्नो सिकार बनाइसकेको छ। उदाहरणका लागि, बेलाइतकी एउटी महिलाले क्यानाडाबाट एउटा पत्र प्राप्त गरिन्। त्यस पत्रमा तिनले पुरस्कार जितेकी छिन् तर त्यो पुरस्कार पाउनको लागि प्रक्रिया चलाउन २५ अमेरिकी डलर दस्तुर चाहिन्छ भनेर लेखिएको थियो। पैसा पठाइसकेपछि क्यानाडाबाट तिनको फोन आयो। तिनले गोलाप्रथामा २,४५,००० अमेरिकी डलरको तेस्रो पुरस्कार जितेकी छिन् तर थप प्रक्रिया चलाउन तिनले त्यस रकमको केही प्रतिशत तिर्नुपर्नेछ भनियो। तिनले २,४५० अमेरिकी डलर पठाइन् तर बदलामा तिनले केही पनि पाइनन्। “निश्शुल्क उपहार” वा पुरस्कारको लागि तपाईंले पैसा तिर्नुपऱ्यो भने, त्यो ठगीकार्य हो। आफैलाई यस्तो प्रश्न सोध्नुहोस्, ‘भाग लिंदै नलिएको प्रतियोगितामा मैले पुरस्कार जित्ने सम्भावना कत्तिको छ?’
नाउँ चलेका मानिसहरूसित मात्रै व्यापार गर्नुहोस्
के तपाईंलाई बेइमान व्यक्ति चिन्न सक्छु जस्तो लाग्छ? होसियार! ठगाहाहरूलाई विश्वास जितेर ठग्ने अभिनेताहरू भनिन्छ किनभने तिनीहरूलाई अरूको विश्वास कसरी जित्न सकिन्छ भन्ने कुरा थाह हुन्छ। आफ्नो सिकार हुने व्यक्तिहरूको भरोसा जित्न तिनीहरू अति नै खप्पिस हुन्छन्। कुनै पनि सामान बेच्नुअघि उपभोक्ताहरूलाई विश्वास दिलाउन सक्नुपर्छ भन्ने
कुरा इमानदार अनि बेइमान दुवै थरीका बिक्रेताहरूलाई थाह हुन्छ। हुन त, यसो भन्दैमा तपाईंले कसैलाई पनि विश्वास गर्नु हुँदैन भनेको होइन तर ठगिनदेखि जोगिन सबै कुरा पत्याई नहाल्न महत्त्वपूर्ण छ। आफ्नो सहज ज्ञानमा भरोसा गरेर कुनै व्यक्तिको इमानदारिता बुझ्ने प्रयास गर्नुको सट्टा थुप्रै ठगहरूलाई चिनाउने लक्षणहरू चिन्न सजग हुनुहोस्: पहिलो, के प्रस्ताव पत्याउनै नसकिने किसिमको छ? र दोस्रो, के बिक्रेताले तपाईंलाई तुरुन्तै निर्णय गर्न लगाउने चेष्टा गरिरहेको छ?पत्याउनै नसकिने किसिमका प्रस्तावहरू इन्टरनेटमा प्रशस्तै पाइन्छन्। इन्टरनेटमार्फत मूल्यवान् वस्तु तथा सेवाहरू उपलब्ध हुने भए तापनि यसले गर्दा अपराधीहरूले मानिसहरूलाई सजिलै र गुमनाम रहेर ठग्न सकिरहेका छन्। के तपाईंको ई-मेल अकाउण्ट छ? छ भने, सायद तपाईंको अकाउण्टमा स्पाम अर्थात् त्यत्तिकै आउने व्यापारसम्बन्धी ई-मेलहरूको ओइरो लागेको छ होला। यस्तो स्पाममा अनगन्ती सरसामान तथा सेवाहरू उपलब्ध गराइन्छ भनिए तापनि प्रायजसो ती जालसाजी हुन्छन्। केही सरसामान अथवा सेवाको लागि पैसा पठाएर त्यत्तिकै आएको ई-मेलको जवाफ पठाउनुभयो भने, सम्भवतः बदलामा तपाईंले केही पनि पाउनुहुनेछैन। केही पाइहाल्नुभएको खण्डमा पनि त्यो तपाईंको लगानीअनुसारको सामान हुँदैन भन्ने कुरा प्रायः निश्चित छ। चिन्दै नचिनेको व्यक्तिले पठाएको व्यापारसम्बन्धी ई-मेलबाट केही पनि कुरा नकिन्नु नै सबैभन्दा बेस हुन्छ।
यो कुरा तपाईंलाई केही बेच्न फोन गर्ने व्यक्तिको सन्दर्भमा पनि लागू हुन्छ। व्यापार प्रवर्धनको लागि कानुनी मान्यताप्राप्त व्यापारीहरूले फोन गर्ने गरे तापनि टेलिफोनद्वारा व्यापार-व्यवसाय गर्ने ठगहरूले मानिसहरूबाट वर्षेनी करोडौं रुपियाँ ठग्ने गर्छन्। फोन गर्ने व्यक्तिसित त्यतिकै कुरा मात्र गर्नुभयो भने, सरसामान किन्न दबाब दिने बिक्रेताको भनाइ सही हो कि होइन भन्ने कुरा थाह पाउनु असम्भव हुन्छ। ठगाहाले आफू कुनै बैंक अथवा क्रेडिट कार्ड सुरक्षा निकायको प्रतिनिधि भएको स्वाङसमेत पार्न सक्छ। तपाईंले खाता खोल्नुभएको कुनै बैंक अथवा कम्पनीको मान्छे हुँ भनी दाबी गर्दै यदि कुनै व्यक्तिले तपाईंलाई फोन गर्छ र उनीहरूलाई पहिल्यै थाह हुनुपर्ने जानकारी सोध्छ भने, त्यस व्यक्तिलाई शङ्का गर्नु जायज छ। यदि त्यस्तो शङ्का लागेमा, तपाईं त्यस व्यक्तिको फोन नम्बर माग्न सक्नुहुन्छ। त्यो फोन नम्बर तपाईंले खाता खोल्नुभएको बैंक अथवा निकायकै हो कि होइन पक्का गरिसकेपछि पुनः फोन गर्न सक्नुहुन्छ।
तपाईंलाई फोन गर्ने अपरिचित व्यक्तिलाई आफ्नो क्रेडिट कार्ड अथवा कुनै पनि व्यक्तिगत जानकारी नदिनु नै सबैभन्दा बेस हुन्छ। आफूलाई नचाहिने चीज किन्न कसैले तपाईंलाई फोन गरेको खण्डमा शिष्टपूर्वक तपाईं यसो भन्न सक्नुहुन्छ, “माफ गर्नुहोला, आफूले नचिनेको व्यक्तिसित म फोनमा कारोबार गर्दिनँ।” त्यसो भनिसकेपछि फोन राख्नुहोस्। तपाईंलाई ठग्न खोज्ने अपरिचित व्यक्तिसित नचाहिंदो कुराकानी गरिरहनु आवश्यक छैन।
नाउँ चलेको व्यापार तथा मानिसहरूसित मात्रै कारोबार गर्नुहोस्। फोन अथवा इन्टरनेटमार्फत निर्धक्क भई व्यापार गर्न सकिने कानुनी मान्यताप्राप्त कम्पनीहरू थुप्रै छन्। सम्भव भए, केही स्वायत्त कम्पनीमार्फत बिक्रेता, कम्पनी अनि लगानीबारे बुझ्नुहोस्। लगानीबारे जानकारी लिनुहोस् र यो कानुनी मान्यताप्राप्त हो कि होइन पक्का गर्न यसलाई होसियारीसाथ पढ्नुहोस्। तुरुन्तै निर्णय गर्न नहतारिनुहोस् वा दबाबमा नपर्नुहोस्।
लिखित रूपमा राख्नुहोस्
सम्पूर्ण ठगीकार्यहरू ठग्ने उद्देश्यले नै सुरु गरिएका हुँदैनन्। एउटा इमानदार व्यापार नराम्रोसँग टाट पल्टिन सक्छ। त्यसो हुँदा, व्यवसायीहरू आत्तिन सक्छन् र आफूले बेहोर्नुपरेको घाटा पूर्ति गर्न छक्कापन्जा गर्न सक्छन्। राजस्व छल्ने र मुनाफाबारे झूट बोल्ने अनि व्यापार टाट पल्टिनासाथ बचेखुचेको सबै पैसा सोरसार पारेर सुइँकुच्चा ठोक्ने व्यापार व्यवस्थापकहरूको कथा त सुन्नुभएकै होला।
ठग र असमझदारी दुवैबाट जोगिन कुनै पनि किसिमको ठूलो लगानी गर्नुअघि तपाईंसित उक्त लगानीको लिखित विवरण हुनुपर्छ। तपाईंले हस्ताक्षर गर्नुहुने कुनै पनि सम्झौतामा लगानीका प्रबन्धहरू अनि कबुलियतनामा हुनु जरुरी छ। अर्को एउटा कुरालाई पनि ध्यानमा राख्नुहोस्, लगानी जतिसुकै भरपर्दो देखिए तापनि सम्पूर्ण कामकुरा पूर्व-योजनाअनुसारै ठ्याक्क हुनेछ भन्ने कुराको ग्यारेन्टी कसैले दिन सक्दैन। (उपदेशक ९:११) वास्तवमा भन्ने हो भने, जोखिम-मुक्त लगानी भन्ने छँदै छैन। तसर्थ, कथङ्कदाचित् व्यापार डुबिहालेको खण्डमा हरेक व्यक्तिको कर्तव्य तथा जिम्मेवारीहरू के-के हुन् भन्नेबारे सम्झौता-पत्रमा तोकेरै उल्लेख गरिएको हुनुपर्छ।
हामीले संक्षिप्तमा छलफल गरेका आधारभूत सिद्धान्तहरूबारे सजग हुनुका साथै त्यसलाई लागू गरेर तपाईं ठगिन सक्ने जोखिमबाट धेरै हदसम्म जोगिन सक्नुहुन्छ। पुरातन समयको एउटा बाइबल हितोपदेशमा अमूल्य सुझाव पाइन्छ। त्यहाँ यसो भनिएको छ: “निर्बुद्धि मानिसले आफूले सुनेको एक एक कुरा पत्याउँछ, चतुर मानिसले चाहिं प्रमाणको आवश्यक्तालाई बुझ्छ।” (हितोपदेश १४:१५) ठगाहाले आफूले भनेको एक-एक कुरा पत्याउने सोझो व्यक्तिलाई आफ्नो सिकार बनाउँछ। दुःखको कुरा, ठग विरुद्ध पूर्व-सावधानी नअपनाउने मानिसहरू धेरै छन्। (g04 7/22)
[फुटनोटहरू]
a मार्च २२, २००१, अवेक!-को पृष्ठ १९-२१ हेर्नुहोस्।
b पिरामिड स्किमलाई “धेरै तह भएको व्यापारिक कारोबार, जुन कारोबारमा अरूलाई पनि यस स्किममा सामेल गराउने सुअवसरको लागि मानिसहरू प्रवेश शुल्क तिर्छन्” भनी परिभाषित गरिएको छ। यस्ता योजनाहरूबाट अक्सर केही प्रतिफल प्राप्त हुँदैन।
[पृष्ठ ७-मा भएको ठूलो अक्षरको क्याप्सन]
यदि प्रस्ताव विश्वासै गर्न नसकिने किसिमको छ भने, साधारणतया यो यस्तै हुन्छ
[पृष्ठ ६-मा भएको पेटी/चित्र]
ठगिएका व्यक्तिहरूको लागि सुझाव
ठगिएका व्यक्तिहरूले अक्सर लाज, दोषी, अप्ठ्यारो महसुस गर्नुका साथै आफैमाथि रिस पोखाउने गर्छन्। आफूलाई दोष नदिनुहोस्। तपाईं पीडित व्यक्ति हुनुहुन्छ; दोषी त तपाईंलाई ठग्ने व्यक्ति पो हो। तपाईंले गल्ती गर्नुभएको छ भने पनि त्यसलाई मानिलिनुहोस् अनि जीवनमा अघि बढ्नुहोस्। तपाईं मूर्ख हुनुहुन्छ भन्ने निष्कर्षमा नपुग्नुहोस्। ठगाहाहरूले राष्ट्र प्रमुख, बैंक म्यानेजर, व्यवस्थापक, फाइनान्स म्यानेजर, वकिलजस्ता एकदमै बौद्धिक व्यक्तित्वहरूलाई समेत सजिलै ठग्छन् भन्ने कुरा नबिर्सनुहोस्।
ठगिएका व्यक्तिहरूको पैसा अथवा सरसम्पत्ति मात्र नभई आत्मविश्वास अनि आत्मसम्मान पनि लुटिन्छ। “मित्र” भनौदो व्यक्तिले नै ठग्दा भरोसाको घात हुन्छ। ठगाइमा पर्नु साह्रै दुःखदायी कुरा हो। आफूलाई दुःख महसुस हुन दिनुहोस्। आफ्नो मनको कुरा पोख्न सकिने कसैसित यस विषयमा कुरा गर्नु अक्सर मदतकारी हुन्छ। प्रार्थनाले पनि निकै सान्त्वना प्रदान गर्छ। (फिलिप्पी ४:६-८) यद्यपि, केही समयपछि तपाईंले यस विषयमा सोच्न छोडिदिनु आवश्यक छ भन्ने कुरा बुझ्नुहोस्। बित्थामा किन दुःख लम्ब्याउने? सकारात्मक लक्ष्यहरू राख्नुहोस् र त्यसलाई प्राप्त गर्ने प्रयास गर्नुहोस्।
गुमेको पैसा फिर्ता गरिदिन्छु भन्ने व्यक्तिहरूदेखि सजग रहनुहोस्। ठगाहाहरूले ठगिएको व्यक्तिलाई तिनको गुमेको पैसा फिर्ता पाउने सन्दर्भमा मदत गर्न चाहन्छु भनेर फोन गर्न सक्छन्। तिनीहरूको उद्देश्य त्यस व्यक्तिलाई फेरि ठग्नु हो।
[पृष्ठ ८-मा भएको पेटी/चित्र]
स्पाम स्क्याम्स्—इ-मेलमार्फत ठग्ने सामान्य छवटा तरिका
१. पिरामिड स्किम्स्: यसो हेर्दा यो योजना अक्सर कम प्रयास अनि कम लगानीमै धेरै पैसा कमाउन सकिने मौकाजस्तै देखिन्छ। यस्तो कुनै समूहको सदस्य हुन पैसा तिर्नुभयो र अन्य व्यक्तिहरूलाई पनि यसमा सामेल गराउनुभयो भने, एक किसिमको स्किमले तपाईंलाई कम्प्युटर अथवा अरू केही इलेक्ट्रोनिक सरसामान दिन्छ। अर्को किसिमको स्किमचाहिं चेन लेटर हो। चेन लेटर प्रायजसो सधैं गैरकानुनी हुन्छ। त्यसमा लगानी गर्ने अधिकांश मानिसहरूको पैसा डुब्छ।
२. घरमै बसी-बसी काम गर्ने योजना: यस किसिमको एउटा योजनामा तपाईंलाई गरगहना, खेलौना वा क्राफ्ट किट्सजस्ता कुराहरू जम्मा गर्ने काम दिइन्छ। तपाईं ती सामग्रीहरूमा लगानी गर्नुका साथै त्यसलाई जम्मा गर्न समय खर्च गर्नुहुन्छ तर यी उत्पादनहरू यस योजनाका प्रवर्धकहरूलाई बेच्न मिल्दैन किनभने यी उत्पादन उनीहरूको स्तरअनुसारको गुणस्तरीय हुँदैन भनिन्छ।
३. स्वास्थ्य एवम् खानपानसम्बन्धी योजना: व्यायाम वा डाइटिङ नगरीकनै वजन घटाउन मदत गर्ने तथा नपुंसकताको उपचार गर्ने चक्की अनि केश झर्ने समस्या रोक्ने क्रिमजस्ता कुराहरूबारे इन्टरनेमा थुप्रै विज्ञापनहरू दिइएका हुन्छन्। कहिलेकाहीं यस्ता विज्ञापनहरूमा सन्तुष्ट उपभोक्ताहरूले कुनै चीजको गुणस्तरबारे गरेको राम्रो प्रतिक्रिया पनि दिइएको हुन्छ। यी विज्ञापनहरूमा प्रायः देखिने वाक्यांशहरू यस्ता हुन्छन्, “वैज्ञानिक उपलब्धि,” “चमत्कारपूर्ण निवारण,” “गोप्य सूत्र” अनि “प्राचीन सम्मिश्रण।” तर वास्तवमा प्रायजसो यी उत्पादनहरू प्रभावकारी हुँदैनन्।
४. लगानीका सुअवसरहरू: यी योजनाहरूले साधारणतया थोरै वा कुनै जोखिमविना धेरै प्रतिफल दिने प्रस्ताव राख्छन्। एउटा लोकप्रिय योजना हो, अर्को देशको बैंकमा लगानी गर्नु। यस प्रकार लगानी गर्ने व्यक्तिहरूको आर्थिक कारोबार सँभाल्ने उच्च पदाधिकारीहरूसित सम्बन्ध कायम हुन्छ अनि उनीहरूलाई गुप्त जानकारी थाह हुन्छ भन्ने आश्वासन दिएर लगानीकर्ताहरूलाई आकृष्ट गर्ने गरिन्छ।
५. क्रेडिट रिपेर: यस किसिमको योजनामा तपाईंको क्रेडिट फाइलबाट नराम्रो रेकर्ड हटाइदिने प्रस्ताव राखिएको हुन्छ। यसो गरिसकेपछि तपाईं क्रेडिट कार्ड, गाडी किन्ने लोन अथवा जागिरको लागि छानिन सक्नुहन्छ। यस किसिमका आश्वासनहरूको बावजुद प्रवर्धकहरूले आफ्नो प्रतिज्ञा पूरा गर्न सक्दैनन्।
६. बिदासम्बन्धी पुरस्कारको विज्ञापन: एकदमै सस्तो मूल्यमा बिदा मनाउने सुअवसर जित्नुभएकोमा बधाइ ज्ञापन गरिएको ई-मेल प्राप्त हुन सक्छ। तपाईं विशेष व्यक्ति भएकोले गर्दा छानिनुभयो भनेर कसै-कसैले भन्लान्। अरू लाखौं मानिसहरूलाई पनि यस्तै किसिमको सूचना गएको हुन सक्छ भन्ने कुरा मनमा राख्नुहोस् र तपाईंले उपभोग गर्नुहुने बास, खाना तथा अन्य सुविधाहरूको प्रबन्ध विज्ञापनमा बताइएको भन्दा कता हो कता निम्नकोटीको हुन्छ।
[स्रोत]
Source: U.S. Federal Trade Commission
[पृष्ठ ७-मा भएको चित्र]
पिरामिड स्किम सधैं फासफुस भएर जान्छ
[पृष्ठ ९-मा भएको चित्र]
तपाईंले हस्ताक्षर गर्नुहुने कुनै पनि सम्झौतामा लगानीका प्रबन्धहरू अनि कबुलियतनामा हुनु जरुरी छ