सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“नगर परिषद्‌ले ठूल्दाइजस्तो व्यवहार गर्नु हुँदैन”

“नगर परिषद्‌ले ठूल्दाइजस्तो व्यवहार गर्नु हुँदैन”

“नगर परिषद्‌ले ठूल्दाइजस्तो व्यवहार गर्नु हुँदैन”

क्यानाडाका ब्यूँझनुहोस्‌! लेखकद्वारा

अधिकार र स्वतन्त्रतासम्बन्धी क्यानेडियाली बडापत्रले क्यानाडाका सबै नागरिकहरूको स्वतन्त्रताको संरक्षण गर्छ। वाक्‌-स्वतन्त्रता, प्रेस स्वतन्त्रता र उपासनाको स्वतन्त्रता संवैधानिक तवरमा स्थापित भएको छ र अदालतले पनि यसलाई मान्यता दिन्छ।

तसर्थ, मन्ट्रिअलको उत्तरपश्‍चिममा रहेको एउटा समुदाय अर्थात्‌ ब्लेनभिल सहरले अनुमतिविना ‘धार्मिक उद्देश्‍यको लागि’ ढोका-ढोकामा जान निषेध गर्ने उपनियमको संशोधन निकाल्दा यसले यहोवाका साक्षीहरूको ध्यान खिच्यो। यो प्रस्तावित संशोधनले तिनीहरूको घर-घरको सेवकाईलाई प्रत्यक्ष असर गर्ने थियो। (प्रेरित २०:२०, २१) तर यो संशोधन किन ल्याइयो? नगर अधिकृतहरूले यहोवाका साक्षीहरूको घर-घरको भेटघाटबारे धेरै गुनासोहरू प्राप्त भएको बताए। तथापि, गत पाँच वर्षको प्रहरी विभागको रेकर्डअनुसार यहोवाका साक्षीहरूको गतिविधिबारे एउटै पनि गुनासो रिपोर्ट गरिएको थिएन!

तैपनि, यो संशोधन १९९६ मा नियमको रूपमा पारित भयो। ब्लेनभिलका यहोवाका साक्षीहरूको पक्षका वकिलहरूले संविधानले धार्मिक स्वतन्त्रताको ग्यारेन्टी दिएको हुँदा यस नगरले यहोवाका साक्षीहरूको गतिविधिमा हस्तक्षेप गर्ने नियम लागू गर्नु गैरकानुनी हुनेछ भनेर नगर अधिकृतहरूलाई सूचना दिए। नगर अधिकृतहरूले यो सूचना बेवास्ता गरेर १७ वटा समन जारी गरे। साक्षीहरूको पक्षका वकिलहरूले सबै क्यानेडियाली नागरिकहरूलाई दिइएको अधिकारको आधारमा ब्लेनभिललाई धार्मिक स्वतन्त्रता तथा अभिव्यक्‍तिको स्वतन्त्रता प्रतिबन्धित नगर्नको लागि मुद्दा दायर गरे।

यो मुद्दाको सुनुवाइ सम्माननीय न्यायाधीश झाँ क्रापोको सामु अक्टोबर ३ र ४, २००० का दिन क्युबेक सर्वोच्च अदालतमा भयो। राम्ररी विचार गरिसकेपछि न्यायाधीशले यहोवाका साक्षीहरूको पक्षमा फैसला सुनाए। न्यायाधीश क्रापोले कुन कुरा मानिलिए भने, “निवेदकहरू आफ्नो टोलछिमेकका मानिसहरूलाई नैतिकता र आध्यात्मिकताको उच्च स्तर कायम गर्ने प्रोत्साहन दिन प्रथम शताब्दीका मसीही मण्डलीको पदचिह्न पछ्याउँदै मानिसहरूको ढोका-ढोकामा गइरहेका छन्‌। . . . मानिसहरूको घर-घरमा जानु भनेको मसीही सामुदायिक सेवाको एउटा भाग हो। यहोवाका साक्षीहरूले ब्लेनभिलका बासिन्दाहरूको घरमा चार महिनामा एक चोटि जसो भेट्‌छन्‌ अनि सकारात्मक तथा दुवैलाई चासो लाग्ने विषयमा विचार आदानप्रदान गर्न तिनीहरूलाई आग्रह गर्छन्‌।” यो न्याय सुनाउँदा न्यायाधीश क्रापोले यस्तो उल्लेख गरे: “[अदालतले] यहोवाका साक्षीहरूलाई आफ्नो सेवकाईमा भाग लिन अनुमति लिनुपर्ने आवश्‍यकताबाट मुक्‍त गरेको घोषणा गर्छ।”

ब्लेनभिलले न्यायाधीश क्रापोको निर्णयलाई क्युबेकको पुनरावेदन अदालतमा अपिल गऱ्‍यो। यो अपिल बारे जून १७, २००३ मा बहस भयो अनि अगस्त २७, २००३ मा सुनाइएको फैसलाले सुरुको न्यायाधीशको सुनुवाइलाई नै मान्यता दियो। धार्मिक स्वतन्त्रताको जगेर्ना गर्नुका साथै शिक्षा तथा जानकारी वितरणद्वारा धार्मिक विश्‍वास प्रकट गर्ने अधिकारलाई मान्यता दिने अधिकार र स्वतन्त्रतासम्बन्धी क्यानेडियाली बडापत्र उल्लेख गर्दै अदालतले यस्तो वक्‍तव्य निकाल्यो: “यहाँ प्रश्‍न उठाइएको उपनियमले यहोवाका साक्षीहरूको धार्मिक स्वतन्त्रता अनि ब्लेनभिलका नागरिकहरूको विचार, सोचाइ, धारणा र अभिव्यक्‍तिको स्वतन्त्रतालाई एकदमै कुण्ठित पार्छ . . . प्रमाणहरूले देखाएअनुसार ब्लेनभिलका बासिन्दाहरूले यहोवाका साक्षीहरू गैरकानुनी गतिविधिमा संलग्न भए भनेर होइन तर अनगन्ती व्यापारी तथा घुमन्ते साहुहरूको गुनासो गरिरहेका थिए। धार्मिक उद्देश्‍यको लागि ढोका-ढोकामा गएर प्रचारप्रसार गर्ने कार्यलाई नियन्त्रण गर्नुपर्ने तड्‌कारो र ठोस आवश्‍यकता थिएन। साथै यहाँ लागू गर्न खोजिएका कदमहरू पूर्व सरसल्लाहविना अनि त्यति ध्यान नपुऱ्‍याई हतारमा लागू गरिएको थियो, त्यसैले यो नागरिकहरूको गोपनीयता सुरक्षा गर्ने उद्देश्‍य प्राप्तिको लागि अव्यावहारिक तथा अचाक्ली प्रक्रिया थियो। . . . एउटा स्वतन्त्र र प्रजातान्त्रिक समाजमा नगर परिषद्‌ले आफ्ना बासिन्दाहरूले आफ्नो घरमा साँझ वा सप्ताहन्तमा कसलाई बोलाउने भन्‍ने निर्णय गर्ने क्षेत्रमा बिग ब्रदर अर्थात्‌ ठूल्दाइजस्तो व्यवहार गर्नु हुँदैन। सुरुको न्यायाधीशले यहाँ प्रश्‍न उठाइएको उपनियमको कुनै आधार वा जोड नभएको कुरा घोषणा गर्नु सही थियो।” a

क्युबेकका अदालतहरूले यस मुद्दामा क्युबेकका सबै नागरिकहरूलाई आफ्नो स्वार्थपूर्तिको लागि गरिने दमनबाट धार्मिक स्वतन्त्रता जोगाउनको लागि अधिकारको बडापत्र लागू गरेकोमा यहोवाका साक्षीहरू आनन्दित छन्‌। (g04 7/8)

[फुटनोट]

a “बिग ब्रदर” अर्थात्‌ ठूल्दाइ भनेर जर्ज ओर्वेलको नाइन्टिन ऐटी फोर भन्‍ने उपन्यासलाई सङ्‌केत गरिएको हो जसको काल्पनिक एकतन्त्रीय राज्यले आफ्नो दलको नेता, बिग ब्रदर सर्वव्याप्त भएर आफ्ना नागरिकहरूमाथि नियन्त्रण जमाउन खोज्छ र तिनलाई आफ्नो राज्यमा भनिएका र गरिएका कुराहरू सबै थाह हुन्छ।

[पृष्ठ २४-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

क्यानाडा

ब्लेनभिल

मन्ट्रिअल

सं.रा.अ.

[पृष्ठ २४-मा भएको चित्र]

अधिकार र स्वतन्त्रतासम्बन्धी क्यानेडियाली बडापत्रले क्यानाडाका सबै नागरिकहरूको स्वतन्त्रता जोगाउँछ

[पृष्ठ २५-मा भएको चित्र]

ब्लेनभिलमा साक्षीहरू अब खुलेआम जनसेवकाईमा भाग लिन सक्छन्‌। इन्सेट: तिनीहरूको राज्यभवनमा सभा