सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

बादल र हात्ती

बादलको वजन कति हुन्छ? एउटा क्युमुलस अर्थात्‌ पहाडजस्तो देखिने बादलमा ५५० टनसम्म पानी हुन सक्छ भनी ए बी सी न्युज रिपोर्ट गर्छ। “यसलाई अझ सजिलै बुझ्न सकिने भाषामा व्यक्‍त गर्ने हो भने . . . हात्तीलाई सम्झनुहोस्‌” भनी मौसमविद्‌ पेगी लेमन बताउँछिन्‌। एउटा हात्तीको वजन छ टनजति छ भनेर मानिलियौं भने एउटा साधारण क्युमुलस बादलको वजन १०० वटा हात्ती बराबर हुन सक्छ। त्यत्रो पानी, पानीको सानो थोपाजस्तो झुन्डिएको हुन्छ र यो तलबाट मास्तिर बहने तातो हावामा तैरन्छ। भुक्क परेको क्युमुलस बादलको तुलनामा एउटा ठूलो आँधीमा हुने पानीको वजन २,००,००० वटा हात्ती बराबर हुन सक्छ। तुफान नि? लेमनले अनुमान गरेअनुसार तुफान आउँदाको एक घन मिटर बादलमा हुने पानीको वजनलाई तुफानको कुल आयतनले गुणन गर्नुहोस्‌। नतिजा के हुन्छ? चार करोड हात्ती बराबरको वजन हुन्छ। “त्यसको मतलब एउटा तुफानमा हुने पानीको वजन बराबर यस पृथ्वीमा भएका हात्तीहरूभन्दा बढी, सायद अहिलेसम्म जीवित सबै हात्तीहरूको संख्याभन्दा बढी हुन्छ” भनी उक्‍त रिपोर्ट बताउँछ। (g04 7/22)

दाँत कहिले माझ्ने

एसिड भएका खानेकुरा खाने वा पेयपदार्थ पिउने बित्तिकै दाँत माझ्दा इनामेललाई बिगार्न सक्छ भनी मेक्सिको सहरको मिलेन्यो अखबार बताउँछ। जर्मनको गटिङगन विश्‍वविद्यालयमा गरिएको एउटा अध्ययनको रिपोर्टअनुसार एसिड भएका खानेकुराहरूले “एकछिनको लागि दाँतको इनामेललाई कमजोर बनाउन सक्छ” भनी उक्‍त अखबारले चेतावनी दियो। त्यसकारण खाना खाने बित्तिकै दाँत माझ्नु हानिकारक हुन सक्छ। त्यसकारण, “दाँत पहिलेकै अवस्थामा नफर्कुन्जेल केही मिनेट पर्खने सल्लाह दिइन्छ।” (g04 7/22)

किशोर-किशोरीहरूको जूवा खेल्ने बानी

म्याकगिल विश्‍वविद्यालयको इन्टरनेसनल सेन्टर फर युथ ग्याम्ब्लिङअनुसार “१२ देखि १७ वर्षबीचका आधाभन्दा बढी क्यानेडियाली युवाहरू रमाइलोको लागि जूवा खेल्छन्‌, १० देखि १५% लाई जूवा खेल्ने लत लाग्न सक्ने खतरा छ भने ४ देखि ६% ‘जूवा खेल्ने कुलतको विवशतामा’ परेकाहरूको समूहमा पर्छन्‌” भनी टोरन्टोको नेसनल पोस्ट अखबार रिपोर्ट गर्छ। साना केटाकेटी छँदा नै जूवाप्रतिको आकर्षण सुरु हुन्छ जब तिनीहरूले उपहारको रूपमा चिट्ठाको टिकट पाउँछन्‌ वा इन्टरनेटमा अन-लाइन जूवा खेल्न थाल्छन्‌। अनुसन्धाताहरूले बताएअनुसार यसको परिणामस्वरूप क्यानेडियाली युवाहरू चुरोट पिउने वा लागूपदार्थको दुर्व्यसन गर्नेजस्ता कुलतहरूमा भन्दा जूवामा बढी लग्गू भएको देखिन्छ। वास्तवमा, पोस्ट-ले बताएअनुसार “साधारण वयस्क मानिसहरूभन्दा १८ देखि २४ वर्षबीचका युवाहरूलाई जूवाको लत लाग्न सक्ने सम्भावना दुईदेखि चार गुणा बढी छ।” क्यानेडियाली हाई-स्कूलहरूमा किशोर-किशोरीहरूको लागि जूवा-नियन्त्रण कार्यक्रम लागू गर्दा समस्या नियन्त्रण गर्न सकिनेछ भन्‍ने कुरामा शिक्षाविद्‌हरू आशावादी छन्‌। (g04 7/8)

क्याथोलिक पादरी र बाइबल ज्ञान

“पादरीहरूलाई बाइबलबारे कति राम्रो ज्ञान छ?” यो प्रश्‍न एन्ड्रिया फन्टानाले सोधेका थिए र तिनी स्वयम्‌ पनि पादरी हुनुका साथै इसाई धर्मसम्बन्धी प्रशिक्षण दिने टुरीन डायोसिसान अफिसका निर्देशक हुन्‌। इटालेली क्याथोलिक अखबार आभेनिर-मा फन्टानाले भने, “एक जना साधारण मानिसले तिनीहरूको विशप अधीनस्थ इलाकामा बाइबल अध्ययनको कुनै कार्यक्रम छ कि भनेर सोध्दा” उक्‍त प्रश्‍न खडा भएको थियो। यस साधारण व्यक्‍ति उपस्थित हुने चर्चमा “पवित्र धर्मशास्त्रबारे कहिल्यै उल्लेख गरिएन।” त्यसको जवाफमा फन्टानाले यस्तो लेखे: “सत्य कुरा के हो भने, [पादरीहरूले] धर्मपीठमा पढाइ सिध्याइसकेपछि दुःखको कुरा, थोरैले मात्र बाइबल अध्ययन गरिरहन्छन्‌। . . . आइतबारे प्रवचनको बेलामा मात्र चर्च जाने अधिकांश व्यक्‍तिहरूले बाइबलको पद र त्यससित सम्बन्धित कुनै कुराबारे सुन्‍ने मौका पाउँछन्‌।” त्यस साधारण व्यक्‍तिले “अझ बढी सिक्न यहोवाका साक्षीहरूसित संगत गर्न थालेको” कुरा बताए। (g04 7/8)

“मृत सागर मर्दैछ”

“मृत सागर मर्दैछ अनि एकदमै ठूलो इन्जिनियरिङ प्रयासले मात्र यसलाई बचाउन सक्छ” भनी एसोसिएटेड प्रेसको एउटा समाचार बताउँछ। नुनको मात्रा एकदमै धेरै हुने हुँदा जलचरहरू बाँच्न नसक्ने भएकोले मृत सागर भन्‍ने नाउँ दिइएको हो र यो पृथ्वीको सबैभन्दा तल्लो सतहको पानी हो, समुद्री सतहभन्दा ४०० मिटर तल। “हजारौं वर्षको लागि मृत सागरको पानीको [प्रमुख] स्रोत अर्थात्‌ जोर्डन नदीले [अत्यधिक वाष्पीकरण र बाहिरबाट भित्र आउने पानीबीच] सन्तुलन कायम राखेको थियो” भनी उक्‍त लेख बताउँछ। “तथापि, हालैका दशकहरूमा इस्राएल र जोर्डनले यी दुवै देशलाई छुट्याउने यो साँघुरो नदी छेउको ठूलो खेतीयोग्य जमिन सिंचाइ गर्न यहींको पानी उपयोग गर्दैछन्‌ र यसकारण मृत सागरमा पानी आपूर्ति हुन सकेको छैन।” एउटा इस्राएली अध्ययनअनुसार यदि कुनै कदम चालिएन भने प्रतिवर्ष एक मिटरको दरले पानीको सतह घट्‌नेछ र यसो गर्दा वरपरको वन्यजन्तु तथा वनस्पतिलगायत भूभागमा विपत्तिजनक परिणाम हुनेछ। पाँच वर्ष लामो खडेरीले मृत सागरको पीडालाई अहिले नै जटिल बनाइसकेको छ। (g04 7/8)

कटिङ बोर्डलाई सफा राख्नुहोस्‌!

कुन चाहिं कटिङ बोर्ड सुरक्षित हुन्छ—काठको वा प्लास्टिकको? “तपाईंले बोर्डलाई सफा राखुन्जेल दुवै किसिम ठीक छ” भनी यु सी बर्क्ली वेलनेस लेटर (अङ्‌ग्रेजी) भन्छ। “तपाईंले काँचो मासु काट्‌न काठको होस्‌ वा प्लास्टिकको जुनसुकै कटिङ बोर्ड चलाउनुभए तापनि काम सिद्धिएपछि साबुन र तातो पानीले बोर्डलाई बेस्सरी घोटेर सफा पार्नुहोस्‌।” बोर्डमा भित्रसम्म चिरा परेको छ र त्यसमा बोसो टाँसिएको छ भने त्यसलाई पूरै सफा पार्न अझ बढी होसियार हुनुहोस्‌। “थोरै ब्लिच राखेको पानीले (एक लिटर पानीमा १ चिया चम्चा ब्लिच) बोर्डलाई पखालेर पनि कीटाणुमुक्‍त बनाउन सक्नुहुन्छ” भनी वेलनेस लेटर बताउँछ। त्यसरी नै हात र चक्कू पनि राम्रोसित सफा गरेर सुक्खा हुने गरी पुछ्‌नुपर्छ। (g04 7/22)

टेलिभिजन— “कडा लागूपदार्थ”

“हरेक दिन दुई घण्टाभन्दा बढी टिभी हेर्ने केटाकेटीहरूले स्कूलमा राम्रो नतिजा ल्याउन सक्दैनन्‌” भनी स्पेनी अखबार ला भान्गार्डिया रिपोर्ट गर्छ। टिभी एउटा प्रभावकारी शैक्षिक साधन हुन सक्ने भए तापनि बाल-चिकित्सक फ्रान्सिस्को मुनोज टिभीको अत्यधिक प्रयोग गर्दा हुन सक्ने नराम्रा असरहरू औंल्याउँछन्‌। अचाक्ली टिभी हेर्नेहरूले राम्रो सफलता हासिल गर्न नसक्नुको कारण “परिपक्वता हासिल गर्न ढिलाइ र धारणात्मक सोचाइहरू त्यति राम्ररी बुझ्न नसक्नु हो।” तिनी अझ यस्तो टिप्पणी गर्छन्‌: “किशोर-किशोरीहरूले कुनै-कुनै प्रकारका कार्यक्रम, विज्ञापन र म्युजिक भिडिओहरू हेर्नुसित रक्सी, चुरोट र लागूपदार्थ सेवन गर्नुको स्पष्ट सम्बन्ध छ।” सबै केटाकेटीले टिभीमा देखाइने खराब आचरण नक्कल नगर्लान्‌ तर बाल-मनोचिकित्सक पलिनो कास्टेल्सले टेलिभिजिनलाई “कडा लागूपदार्थ” भनेका छन्‌ किनभने “यसले कोमल मन मस्तिष्कमा विनाशकारी असर पार्छ।” (g04 7/22)

बासस्थान हराएपछि नयाँ जाति पत्ता लाग्यो

एउटा नयाँ बाँध बनाउनको लागि भेनेजुएलाको कारोनी नदीमा अवस्थित कसैले आबाद नगरेको कारीजाल टापुको जङ्‌गल फँडानी गर्दा पहिले थाहै नभएको चरा पत्ता लाग्यो भनी काराकासको डेली जर्नल रिपोर्ट गर्छ। जङ्‌गलका रूखहरू काट्‌नुअघि लिइएको चराको नमुनामा पछि नीलो छिरबिरे फिस्टो पनि पत्ता लाग्यो जुन चरा त्यस टापुको भित्र छिर्नै नसकिने बाँसघारीमा बस्थ्यो। प्रकृतिविद्‌हरूले नजिकैका बासस्थानहरूमा हालै देखापरेको जातिको अरू पनि चराहरू भेट्टाउने आशा गरेका छन्‌। तर अनुसन्धाता रविन रेस्टोल भन्छन्‌, “मानिसले नदेखिने गरी बसेको बासस्थानलाई हामीले विनाश गरेका छौं भन्‍ने थाह भएको हुँदा . . . कारीजालमा पत्ता लागेको बिउ खाने एक किसिमको चराको कुरा ओझेलमा परेको छ।” (g04 7/22)