अनुपस्थित बुबाहरू—बढ्दो समस्या
अनुपस्थित बुबाहरू—बढ्दो समस्या
आफ्नो परिवारलाई त्याग्ने बुबाहरूको संख्या बढ्दो छ। सन् १९९० दशकको अन्ततिर यु एस ए टुडे भन्ने अखबारले संयुक्त राज्य अमेरिकालाई “बुबाहरू नभएको परिवारमा अग्रज” भन्यो। तथापि, बुबाहरूको अनुपस्थिति एउटा विश्वव्यापी समस्या हो।
ब्राजिलमा सन् २००० मा गरिएको एउटा गणनाले देखाएअनुसार जम्मा ४.४७ करोड परिवारमध्ये १.१२ करोड परिवार महिलाले चलाइरहेका थिए। निकारागुआमा २५ प्रतिशत केटाकेटीहरू आमा मात्र भएको परिवारमा हुर्कन्छन्। कोस्टा रिकामा आफ्नो बालबच्चालाई कानुनी तवरमा नस्वीकार्ने बुबाहरूको संख्या सन् १९९० को दशकमा २१.१ प्रतिशतबाट बढेर ३०.४ प्रतिशत पुग्यो।
यी तीनवटा देशको तथ्याङ्क त विश्वव्यापी लहडको एउटा सानो नमुना मात्रै हो। अनुपस्थित बुबाहरूको समस्याको अर्को पक्षलाई विचार गर्नुहोस्।
उपस्थित तर उपलब्ध छैनन्
“ड्याडी, तपाईं अब फेरि कहिले आउनुहुन्छ?” भन्ने पेटी कृपया हेर्नुहोस्। अहिले २३ वर्ष पुगेकी नाओ यसो भन्छिन्: “प्राथमिक विद्यालयमा जानुअघि मैले बुबालाई त्यति देख्नै पाइनँ। एक चोटि उहाँ घरबाट निस्कनै लाग्नुहुँदा मैले उहाँलाई यसरी बिन्ती गरेकी थिएँ, ‘तपाईं फर्कनुहुनेछ, हगि?’ ”
आफ्नो बुबासित नाओको जस्तो पारिवारिक सम्बन्धले गर्दा पोलिस लेखक प्योटर शुच्केभिच यस्तो लेख्न उत्प्रेरित भए: “परिवारमा अभाव भइरहेको एउटा महत्त्वपूर्ण तत्त्व बुबाजस्तो देखिन्छ।” हुन त हो, थुप्रै बुबाहरू आफ्नो परिवारसित बस्छन् अनि तिनीहरूलाई आर्थिक टेवा पुऱ्याउँछन्। यद्यपि, एउटा फ्रान्सेली पत्रिका कापीटाल-ले भनेझैं “थुप्रै बुबाहरू आफ्ना छोराछोरीका शिक्षक नभई केवल अन्नदाताको भूमिका निर्वाह गर्नमा सीमित भएका छन्।”
अक्सर, बुबा परिवारमै हुन्छन् तर आफ्ना छोराछोरीको जीवनमा संलग्न हुँदैनन्। तिनको ध्यान अर्कैतिर हुन्छ। फ्रान्सेली पत्रिका फामे क्राट्येन यस्तो टिप्पणी गर्छ, “[बुबा] शारीरिक तवरमा परिवारमा उपस्थित भए तापनि तिनी मानसिक तवरमा अनुपस्थित हुन सक्छन्।” आज किन यति धेरै बुबाहरू आफ्नो परिवारबाट मानसिक तथा भावनात्मक तवरमा अनुपस्थित हुन्छन्?
माथि उल्लिखित पत्रिकाले बताएझैं यसको एउटा मुख्य कारण “तिनले बुबा वा पतिको भूमिकाबारे बुझ्न नसक्नु”
हुन सक्छ। थुप्रै बुबाहरूको विचारमा असल बुबाको भूमिका भनेको घरको लागि यथेष्ट पैसा कमाउनु मात्र हो। पोलिस लेखक युजेफ अगस्टिनले बताएझैं “थुप्रै बुबाहरू आफूले परिवारको लागि पैसाको प्रबन्ध गरेको हुँदा आफू असल बुबा भएको भन्ठान्छन्।” तर त्यो त बुबाको जिम्मेवारीको एउटा भाग मात्र हो।तथ्य कुरा के हो भने, आफ्नो बुबाले कति कमाउँछन् वा तिनले दिने उपहारको वित्तीय मोलको आधारमा छोराछोरीले आफ्नो बुबाको महत्त्व तौलने गर्दैनन्। बरु, छोराछोरीले साँच्चै चाहने कुरा ती भौतिक उपहारहरूभन्दा कता हो कता अनमोल छन्। ती हुन्, बुबाको माया, समय र चासो। छोराछोरीले साँच्चै चाहने कुराहरू यिनै हुन्।
पुनर्विचार गर्नुपर्ने खाँचो
शिक्षाको लागि जापानी केन्द्रीय निकायको रिपोर्टअनुसार “जागिरमा अत्यन्तै समर्पित हुने आफ्नो जीवन शैलीलाई बुबाहरूले पुनर्विचार गर्नुपर्ने खाँचो भएको छ।” त्यसैले प्रश्न उठ्छ, के बुबाले आफ्ना छोराछोरीको खातिर छाँटकाँट गर्नेछन्? जर्मन अखबार गेस्नर आल्जेमाइन-ले रिपोर्ट गरेअनुसार अधिकांश बुबाहरूले आफ्नो पेसाभन्दा छोराछोरीलाई महत्त्व दिन इन्कार गरेको एउटा अध्ययनले देखायो।
बुबाले आफूप्रति चासो नदेखाएको जस्तो देखिंदा अबोध बालबालिकाहरूमाथि गम्भीर भावनात्मक चोट पर्न सक्छ। हाल २१ वर्ष पुगेकी लिडियालाई पोल्याण्डमा आफू हुर्कंदै गर्दा बुबा कस्तो हुनुहुन्थ्यो भन्नेबारे राम्रो सम्झना छ। उनी भन्छिन्: “उहाँ हामीसित कहिल्यै कुरा गर्नुहुन्नथ्यो। हाम्रो आ-आफ्नै संसार थियो। मैले आफ्नो फुर्सतको समय डिस्कोमा बिताउने गरेको उहाँलाई थाह थिएन।” त्यसरी नै, स्पेनकी २१ वर्षीया माकरीना आफू बच्ची छँदाको कुरा सम्झँदै भन्छिन्, उनको बुबा “सप्ताह्न्तमा आफ्ना साथीहरूसित रमाइलो गर्न जानुहुन्थ्यो अनि धेरै चोटि निकै दिनसम्म खै-खबर नहुने गरी बेपत्ता हुनुहुन्थ्यो।”
उचित प्राथमिकता राख्दै
थुप्रै बुबाहरूले आफूले आफ्ना छोराछोरीलाई एकदमै कम समय दिएको तथा त्यति चासो नदेखाएको महसुस गर्लान्। किशोर छोरा भएका एक जना जापानी बुबाले यसो भने: “आशा छ, मेरो छोराले मेरो अवस्था बुझ्नेछ। व्यस्त भए तापनि म सधैं उसकै बारेमा सोचिरहेको हुन्छु।” तर बच्चाले बुबाको अनुपस्थितिको कारण बुझोस् भन्ने आशा गर्दैमा समस्या सुल्झन्छ र?
बच्चाका आवश्यकताहरू पूरा गर्न साँचो प्रयास र त्याग अत्यावश्यक छ भन्ने कुरामा कुनै शङ्का छैन। छोराछोरीलाई नभई नहुने कुराहरू, जस्तै प्रेम, समय र चासो दिनु भनेको सजिलो कुरा होइन भनेर स्पष्ट छ। येशू ख्रीष्टले यसो भन्नुभयो: “मानिस भोजनले [अथवा भौतिक आहारले] मात्र” बाँच्न सक्दैन। (मत्ती ४:४) यो कुरा पनि साँचो हो कि भौतिक कुराहरूको भरमा मात्र छोराछोरीहरू राम्ररी हुर्कन सक्दैनन्। बुबाको हैसियतमा तपाईंको लागि अत्यन्तै मूल्यवान् कुरा अर्थात् तपाईंको समय वा हुन सक्छ तपाईंको पेसामा पदोन्नति जस्ता कुराहरू पनि के तपाईं आफ्ना छोराछोरीसित बढी समय बिताउनको लागि ती त्याग गर्न इच्छुक हुनुहुन्छ?
फेब्रुअरी १०, १९८६ को माइनिची डेली न्युज-ले छोराछोरी साँच्चै कत्तिको महत्त्वपूर्ण हुन्छन् भनी बुझेका एक जना बुबाबारे बतायो। त्यसले यस्तो रिपोर्ट गऱ्यो: “जापानी नेसनल रेलवेज्का (जे एन आर) उच्च अधिकृतले आफ्नो परिवारबाट अलग्गिनुभन्दा बरु राजीनामा दिए।” त्यसपछि उक्त अखबारले ती अधिकृतको भनाइ यसरी उद्धृत गऱ्यो: “प्रमुख निर्देशकको जागिर जोसुकैले पनि सँभाल्न सक्छ। तर मेरा छोराछोरीको लागि बुबा भनेको म मात्रै हुँ।”
निस्सन्देह, असल बुबा बन्नको लागि पहिलो कदम भनेको छोराछोरीले कस्तो बुबाको चाहना गर्छन् भनेर बुझ्नु हो। त्यस्तो प्रकारको बुबा बन्नुमा के-के समावेश छ, आउनुहोस् हामी हेरौं। (g04 8/22)
[पृष्ठ ३-मा भएको पेटी]
“ड्याडी, तपाईं अब फेरि कहिले आउनुहुन्छ?”
त्यो प्रश्न एउटी पाँच वर्षीया जापानी केटी, नाओले आफ्नो बुबा काममा जानै लाग्दा एक दिन सोधेकी थिइन्। बुबा घरैमा बस्ने भए तापनि नाओले तिनलाई आकलझुकल मात्र देख्थिन्। तिनी प्रायजसो घर फर्कंदा नाओ सुतिसकेकी हुन्थिन् र छोरी उठ्नुअघि नै तिनी काममा गइसकेका हुन्थे।