सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

असल बुबा कसरी बन्‍ने

असल बुबा कसरी बन्‍ने

असल बुबा कसरी बन्‍ने

खस्कँदो पारिवारिक जीवनबारे इकोनोमिस्ट पत्रिकाको एउटा लेखको सुरुमै यस्तो रोचक वाक्यांश थियो: “छोराछोरी बनाउनु सजिलो छ तर असल बुबा बन्‍नु सजिलो छैन।”

हुन त, जीवनमा गर्न गाह्रा कुराहरू थुप्रै छन्‌ तर सबैभन्दा गाह्रो अनि महत्त्वपूर्ण कुरा चाहिं असल बुबा बन्‍नु हो। सबै बुबाहरू एक जना असल बुबा बन्‍न चाहनुपर्ने हो किनभने यसमा आफ्नो परिवारको हित र आनन्द मुछिएको छ।

यो किन सजिलो छैन

स्पष्ट भन्‍ने हो भने, असल बुबा बन्‍न गाह्रो हुनुको एउटा प्रमुख कारण, आमाबाबु र तिनीहरूका छोराछोरीको जन्मजात असिद्धता हो। बाइबल यसो भन्छ, “मानिसको हृदयका विचार बालकदेखिनै खराब हुन्छ।” (उत्पत्ति ८:२१) त्यसैले एक जना बाइबल लेखकले यसरी मानिलिए: “पापैमा मेरी आमाले मलाई गर्भधारण गरिन्‌।” (भजन ५१:५; रोमी ५:१२) असल बुबा बन्‍न गाह्रो बनाउने एउटा अवरोध चाहिं जन्मजात असिद्धताले गर्दा खराब कुराप्रतिको झुकाव हो।

यो संसार वा यो रीतिरिवाज पनि ठूलो अवरोध हो। किन? किनभने बाइबलले भनेझैं “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ” र त्यो दुष्ट, “दियाबल र शैतान” भनेर चिनाइएको छ। बाइबलले शैतानलाई “यस संसारको देव” पनि भन्छ। त्यसैकारण येशूले आफूजस्तै आफ्ना अनुयायीहरू पनि “संसारका होइनन्‌” भन्‍नु कुनै छक्कलाग्दो कुरा होइन!—१ यूहन्‍ना ५:१९; प्रकाश १२:९; २ कोरिन्थी ४:४; यूहन्‍ना १७:१६.

असल बुबा बन्‍नको लागि एउटा अत्यावश्‍यक पक्ष भनेको हाम्रो जन्मजात असिद्धता, शैतान अर्थात्‌ दियाबल र त्यसको अधीनमा परेको यस संसारबारे सदा सजग हुनु हो। ती अवरोधहरू काल्पनिक होइनन्‌। ती वास्तविक हुन्‌! तर ती अवरोधहरूको सामना गर्न अनि असल बुबा बन्‍नको लागि के गर्नुपर्छ भनेर तिनीहरूले कहाँ सिक्न सक्छन्‌?

ईश्‍वरीय उदाहरणहरू

माथि उल्लिखित अवरोधहरू पार गर्ने मदतको लागि बुबाहरूले बाइबलको मदत लिन सक्छन्‌। बाइबलमा अद्‌भुत उदाहरणहरू छन्‌। येशूले आफ्ना अनुयायीहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुहुँदा सबैभन्दा राम्रो उदाहरण देखाउनुभयो: “हे हाम्रा स्वर्गमा बस्ने पिता।” स्वर्गमा हुनुहुने हाम्रो पिताबारे वर्णन गर्दै बाइबल यति मात्र भन्छ: “परमेश्‍वर प्रेम हुनुहुन्छ।” यो मायालु उदाहरणप्रति मानव बुबाले कस्तो प्रतिक्रिया देखाउनुपर्छ? प्रेरित पावलले यस्तो आग्रह गरे, “परमेश्‍वरका देखा-सिकी गर्नेहरू होओ, . . . तिमीहरू पनि प्रेममा चल।”—छड्‌के अक्षर हाम्रो, मत्ती ६:९, १०; १ यूहन्‍ना ४:८; एफिसी ५:१, २.

तपाईं बुबा हुनुहुन्छ भने परमेश्‍वरले आफ्नो पुत्र येशूसित व्यवहार गर्नुभएको एउटा घटनाबाट मात्रै पनि तपाईं के सिक्न सक्नुहुन्छ, विचार गर्नुहोस्‌। मत्ती ३:१७ ले बताएअनुसार येशूले पानीद्वारा बप्तिस्मा लिनुहुँदा स्वर्गबाट परमेश्‍वरको यसो भन्‍ने आवाज सुनियो: “यिनी मेरो प्यारो पुत्र हुन्‌, जोसँग म खुशी छु।” यसबाट हामी के सिक्न सक्छौं?

सर्वप्रथम, बुबाले आफ्नो बच्चाबारे अरू कसैलाई यसो भन्दा कस्तो असर पर्नेछ विचार गर्नुहोस्‌, ‘यो मेरो छोरा हो’ वा ‘यिनी मेरी छोरी हुन्‌।’ आमाबाबुले ध्यान दिंदा, विशेष गरी तिनीहरूको कुनै उपलब्धिलाई याद गरिदिंदा बच्चाहरू फस्टाउँछन्‌। बच्चा सम्भवतः आमाबाबुको सकारात्मक टिप्पणी सुन्‍न अझ बढी प्रयास गर्न उत्प्रेरित हुन सक्छन्‌।

दोस्रो, येशूबारे आफूलाई कस्तो लाग्यो भनेर परमेश्‍वरले व्यक्‍त गर्नुभयो, उहाँले येशूलाई “प्यारो पुत्र” भन्‍नुभयो। आफ्नो बुबाको त्यस्तो मायालु अभिव्यक्‍ति सुन्दा येशूको हृदय न्यानो भएको हुनुपर्छ। तपाईंले आफ्नो शब्द अनि तपाईंले दिनुहुने समय, ध्यान र चासोबाट साँच्चै प्रेम गर्नुहुन्छ भनेर देखाउनुभयो भने तपाईंका छोराछोरीले पनि प्रोत्साहन पाउनेछन्‌।

तेस्रो, परमेश्‍वरले आफ्नो पुत्रलाई यसो भन्‍नुभयो: “तिमीसँग म खुशी छु।” (मर्कूस १:११) त्यो पनि बुबाले गर्नुपर्ने अत्यावश्‍यक काम हो अर्थात्‌ आफ्ना छोराछोरीसँग प्रसन्‍न छु भनेर बताउनुपर्छ। हो, बच्चाले कहिलेकाहीं गल्ती गर्नेछन्‌। हामी सबैले गर्छौं। तर एक जना बुबाको हैसियतमा के तपाईंले आफ्ना छोराछोरीले गर्ने वा भन्‍ने राम्रा कुरामा आफ्नो प्रसन्‍नता व्यक्‍त गर्ने मौकाहरू खोजिरहनुभएको छ?

येशूले स्वर्गमा हुनुहुने आफ्नो पिताबाट राम्ररी सिक्नुभयो। पृथ्वीमा छँदा उहाँले आफ्नो वचन तथा उदाहरणद्वारा पिताले आफ्ना पार्थिव छोराछोरीप्रति कस्तो महसुस गर्नुहुन्छ भनेर देखाउनुभयो। (यूहन्‍ना १४:९) व्यस्त र अत्यन्तै तनावको बेलामा समेत येशूले केटाकेटीसँगै बस्न र तिनीहरूसित कुरा गर्न समय निकाल्नुभयो। उहाँले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो, “साना केटाकेटीहरूलाई मकहाँ आउनदेओ, तिनीहरूलाई नरोक।” (मर्कूस १०:१४) बुबाहरू हो, के तपाईं अझ बढ्‌ता गरेर यहोवा परमेश्‍वर र उहाँको पुत्रको उदाहरण अनुकरण गर्न सक्नुहुन्छ?

असल उदाहरण बसाल्नु अत्यावश्‍यक छ

तपाईंका छोराछोरीको लागि असल उदाहरण बसाल्नुको महत्त्व जति भने पनि पर्याप्त हुँदैन। तपाईं आफैले परमेश्‍वरको अनुशासन स्वीकार्नुहुन्‍न अनि त्यसअनुसार आफ्नो जीवन चलाउनुहुन्‍न भने “तिनीहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण” गर्ने तपाईंको प्रयास खासै अर्थपूर्ण हुनेछैन। (एफिसी ६:४) यद्यपि, परमेश्‍वरको मदत पाएर भने आफ्ना छोराछोरीको हेरचाह गर्ने सन्दर्भमा उहाँको आज्ञा पालन गर्दा आइपर्ने जस्तोसुकै अवरोध पार गर्न सक्नुहुन्छ।

पहिलेको सोभियत संघका एक जना यहोवाका साक्षी, भिक्टर गुट्‌श्‍मिटको उदाहरण विचार गर्नुहोस्‌। आफ्नो विश्‍वासबारे कुरा गरेको अभियोगमा तिनलाई सन्‌ १९५७ अक्टोबरमा दस वर्ष कैद सजाय सुनाइयो। यो सजाय पाएपछि तिनले आफ्ना दुई छोरी र पत्नी पलिनालाई छोडेर जानुपऱ्‍यो। झ्यालखानामा छँदा तिनले आफ्नो परिवारलाई पत्र लेख्ने अनुमति पाएका थिए तर परमेश्‍वर वा कुनै धार्मिक विषयमा केही भन्‍न निषेध थियो। यस्तो कठिनाइको बावजुद भिक्टर एक जना असल बुबा बन्‍न कटिबद्ध थिए अनि आफ्ना छोरीहरूलाई परमेश्‍वरबारे सिकाउनु अत्यावश्‍यक छ भनेर तिनलाई थाह थियो। त्यसोभए तिनले के गरे त?

भिक्टर भन्छन्‌: “मैले सोभियत पत्रिकाहरू जवान प्रकृतिविज्ञानीहरू र प्रकृति-मा विभिन्‍न विषयवस्तु पाएँ। म पोस्टकार्डहरूमा जनावर तथा मानिसहरूको चित्र कोर्थें अनि सँगै प्रकृतिसम्बन्धी कथा वा अनुभव लेख्थें।”

पलिना भन्छिन्‌, “यी पोस्टकार्डहरू पाउने बित्तिकै हामी यसमा भएका कुराहरू बाइबलका विषयहरूसित कसरी मिल्छ भनेर मिलान गर्थ्यौं। उदाहरणका लागि, त्यसमा प्रकृति, जङ्‌गल वा नदीको सौन्दर्यबारे लेखिएको हुँदा म यशैयाको ६५ अध्याय पढ्‌थें” जहाँ पृथ्वीलाई प्रमोदवन बनाउने परमेश्‍वरको प्रतिज्ञाबारे बताइएको छ।

भिक्टरकी छोरी युलिया भन्छिन्‌: “त्यसपछि आमाले हामीसँगै प्रार्थना गर्नुहुन्थ्यो र हामी रुन्थ्यौं। हाम्रो लालनपालनमा यी कार्डहरूले महत्त्वपूर्ण भूमिका खेल्यो।” त्यसको फलस्वरूप “छोरीहरूले बाल्यावस्थादेखि परमेश्‍वरलाई असाध्यै माया गर्थे” भनी पलिना बताउँछिन्‌। अहिले यो परिवारको अवस्था कस्तो छ?

भिक्टर यसो भन्छन्‌, “अहिले मेरा दुवै छोरीहरूको मसीही प्राचीनहरूसित विवाह भइसकेको छ र तिनीहरू दुवै जनाको परिवार आध्यात्मिकतामा बलियो छ अनि तिनीहरू स-परिवार आफ्ना छोराछोरीसित विश्‍वासी भई यहोवाको सेवा गरिरहेका छन्‌।”

असल उदाहरण बसाल्न आफू चनाखो हुनुको अलावा निकै प्रयास पनि गर्नुपर्छ। आफ्नो बुबाले साँच्चै प्रयास गरेको देख्दा छोराछोरीको मन छुनेछ। पूर्ण-समय सेवकाईमा निकै वर्ष बिताइसकेका एक जना छोराले कृतज्ञता व्यक्‍त गर्दै आफ्नो बुबाबारे यसो भने, “कहिलेकाहीं बुबा कामबाट असाध्यै थाकेर फर्कनुहुँदा उहाँलाई आँखा खोल्न समेत गाह्रो हुँदा पनि हामी बाइबल अध्ययन गर्थ्यौं अनि यसले हामीलाई यसको गम्भीरता बुझ्न मदत गऱ्‍यो।”

स्पष्टतः वचन र काम दुवैमा असल उदाहरण बसाल्नु एक जना असल बुबा बन्‍नको लागि अत्यावश्‍यक कुराहरू हुन्‌। निम्न बाइबल हितोपदेशको सत्यता बुझ्न चाहनुहुन्छ भने त्यसो गर्नु अत्यावश्‍यक छ: “बालकलाई ठीक बाटोमा लगाऊ, र वृद्धावस्थामा पनि त्यसले त्यो त्याग्दैन।”—हितोपदेश २२:६.

त्यसकारण, तपाईंले भन्‍नुहुने कुरा मात्र महत्त्वपूर्ण होइन भनेर नबिर्सनुहोस्‌। तपाईंले गर्नुहुने काम र बसाल्नुहुने उदाहरण विशेष गरी महत्त्वपूर्ण छ। प्रारम्भिक बाल शिक्षासम्बन्धी एक जना क्यानेडियाली विशेषज्ञले यस्तो लेखे: “आफ्ना छोराछोरीले कस्तो व्यवहार गरेको [हामी इच्छा गर्छौं] त्यस्तो गर्न लगाउने सबैभन्दा राम्रो तरिका भनेको आफैले त्यस्तो व्यवहार गरेर देखाउनु हो।” निस्सन्देह, तपाईंका छोराछोरीले आध्यात्मिक कामकुरालाई महत्त्व दिएको चाहनुहुन्छ भने तपाईं आफैले त्यसो गर्नु अपरिहार्य छ।

तिनीहरूको लागि समय निकाल्नुहोस्‌!

तपाईंका छोराछोरीले तपाईंको असल उदाहरण देख्नुपर्छ। त्यसको मतलब तपाईंले तिनीहरूसित समय बिताउनुपर्छ, आकलझुकल मात्र होइन प्रशस्तै समय बिताउनुपर्छ। “समयको अवसर विचार गरेर” समय किन्‍नु भन्‍ने बाइबलको सल्लाहलाई बुद्धिमानीपूर्वक पालन गर्नुहोस्‌ अर्थात्‌ तिनीहरूसित समय बिताउनको लागि कम महत्त्वपूर्ण कुराहरू त्याग्नुहोस्‌। (एफिसी ५:१५, १६) साँच्चै, तपाईंका छोराछोरीभन्दा महत्त्वपूर्ण कुरा अरू के छ र? ठूलो टिभी, पेसेवरहरूले प्रयोग गर्ने गल्फ क्लबको सेट, एउटा सुन्दर घर वा तपाईंको जागिर?

सानै छँदा छोराछोरीसित समय बिताएन भने बुबाहरूले पछि त्यसको तीतो परिणाम भोग्नुपर्नेछ। अनैतिक गतिविधिमा संलग्न भएका वा कुनै आध्यात्मिकता नभएको जीवन शैलीमा मुछिएका छोराछोरीका बुबाहरू अक्सर गहिरो ग्लानि महसुस गर्छन्‌। बच्चाहरूलाई साँच्चै आफ्नो बुबाको आवश्‍यकता हुँदा सँगै समय बिताउन चुकेकोमा तिनीहरू बिलौना गर्छन्‌।

तपाईंका छनौटहरूले कस्तो परिणाम ल्याउनेछ भनेर सोच्ने समय तपाईंका छोराछोरी सानै छँदा हो भनेर नबिर्सनुहोस्‌। बाइबलले तपाईंका छोराछोरीलाई “परमप्रभुले दिनुभएको हक” भनेको छ र यो परमेश्‍वर स्वयम्‌ले तपाईंलाई सुम्पनुभएको कुरा हो। (भजन १२७:३) त्यसैले तिनीहरूको लागि तपाईं परमेश्‍वरसामु जबाफदेही हुनुहुन्छ भनेर कहिल्यै नबिर्सनुहोस्‌!

मदत उपलब्ध छ

असल बुबा आफ्ना छोराछोरीलाई लाभ हुने मदत स्वीकार्न इच्छुक हुन्छन्‌। मानोहकी पत्नीलाई उनले बच्चा जन्माउनेछिन्‌ भनेर एक जना स्वर्गदूतले बताएपछि मानोहले परमेश्‍वरलाई यसरी प्रार्थना गरे: “ती मानिस फेरि एकपल्ट आऊन्‌ र त्यो जन्मने बालकको निम्ति हामीले के गर्नुपर्छ त्यो हामीलाई बताइदेऊन्‌।” (न्यायकर्त्ता १३:८, ९) आजका आमाबाबुलाई जस्तै मानोहलाई कस्तो मदत चाहिएको थियो? आउनुहोस्‌ हामी हेरौं।

दक्षिण अफ्रिकाको केप टाउन विश्‍वविद्यालयका एक जना शिक्षक, ब्रेन्ट बर्गोइनले यस्तो टिप्पणी गरे: “आफ्नो बच्चालाई दिन सक्ने एउटा सबैभन्दा ठूलो उपहार भनेको उसलाई व्यक्‍तिगत मूल्यमान्यता र सिद्धान्तहरू सिकाउनु हो।” बच्चाहरूलाई ती सबै कुराहरू सिकाउनुपर्ने खाँचो जापानको डेली योमुरी-मा प्रकाशित लेखमा देख्न सकिन्छ जहाँ यसो भनिएको थियो: “[एउटा] सर्वेक्षणले देखाएअनुसार ७१ प्रतिशत जापानी केटाकेटीहरूलाई झूट बोल्नु हुँदैन भनेर तिनीहरूका बुबाले कहिल्यै बताएका छैनन्‌।” के यो अत्यन्तै नाजुक अवस्था होइन र?

भरपर्दो मूल्यमान्यता तथा सिद्धान्तहरू कसले सिकाउन सक्छ? मानोहले जसबाट मदत पाए, त्यही स्रोत अर्थात्‌ परमेश्‍वर स्वयम्‌बाट! मदत प्रदान गर्न परमेश्‍वरले आफ्नो प्यारो पुत्र येशूलाई शिक्षकको रूपमा पठाउनुभयो र उहाँलाई शिक्षक वा गुरु भनेर नै अक्सर सम्बोधन गरिन्थ्यो। येशूका शिक्षाहरूमा आधारित पाठहरू भएका लर्न फ्रम द ग्रेट टिचर पुस्तकबाट साना केटाकेटीलाई सिकाउन यो थुप्रै भाषाहरूमा उपलब्ध छ।

लर्न फ्रम द ग्रेट टिचर-ले परमेश्‍वरको वचनमा आधारित मूल्यमान्यता मात्र बताउने होइन तर लिखित पदलाई १६० भन्दा बढी प्रश्‍न तथा सान्दर्भिक प्रश्‍नहरूद्वारा बुझाउँछ। उदाहरणका लागि, अध्याय २२ को शीर्षक छ, “हामीले किन झूट बोल्नु हुँदैन” र त्यसमा यही पत्रिकाको पृष्ठ ३२ मा देखाइएको चित्र समावेश गरिएको छ। यो चित्र भएको पृष्ठको लिखित पदमा यसो भनिएको छ: “सायद छोराले बुबालाई यसो भन्छ, ‘होइन मैले घरभित्र बल खेलिनँ।’ तर उसले वास्तवमा खेलेको थियो भने नि? त्यसो हो भने खेलेको थिइनँ भन्‍नु गलत हुनेछैन र?”

निम्न शीर्षक भएका अध्यायहरूमा पनि जोडदार पाठ सिकाइएको छ, “आज्ञाकारिताले तपाईंको रक्षा गर्छ,” “हामीले प्रलोभनहरूको प्रतिरोध गर्नुपर्छ,” “दयालु हुने विषयमा पाठ,” “कहिल्यै चोर नबन्‍नुहोस्‌!,” “के सबै जमघटहरूले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउँछन्‌?,” “परमेश्‍वरलाई कसरी खुसी बनाउने,” र “हामीले किन काम गर्नुपर्छ।” त्यस पुस्तकका ४८ अध्यायमध्ये यी त केही उदाहरण मात्र हुन्‌।

उक्‍त पुस्तकको प्राक्कथनको निचोडमा यसो भनिएको छ: “केटाकेटीलाई खास गरी सारा बुद्धिको स्रोत स्वर्गमा हुनुहुने हाम्रो पिता यहोवा परमेश्‍वरतर्फ केन्द्रित गर्नुपर्छ। महान्‌ शिक्षक येशूले सधैं त्यसो गर्नुभयो। यो पुस्तकले तपाईं र तपाईंको परिवारलाई यहोवालाई मन पर्ने जीवन शैलीमा आफ्नो जीवन ढाल्न मदत गर्नेछ भन्‍ने हाम्रो हार्दिक आशा छ र त्यसबाट तपाईंले अनन्त आशिष्‌ प्राप्त गर्न सक्नुहुनेछ।” a

स्पष्टतः असल बुबा बन्‍नुमा तपाईंका छोराछोरीको लागि राम्रो उदाहरण बसाल्नु, तिनीहरूसित प्रशस्त समय बिताउनु अनि परमेश्‍वरले बाइबलमा प्रकट गर्नुभएको स्तरअनुसार जीवन बिताउन मदत गर्नु समावेश छ। (g04 8/22)

[फुटनोट]

a परिवारहरूलाई मदत गर्न यहोवाका साक्षीहरूले प्रकाशित गरेका अन्य प्रकाशनहरू बाइबलका कथाहरू भएको मेरो पुस्तक, युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफपारिवारिक आनन्दको रहस्य हुन्‌।

[पृष्ठ ८-मा भएको चित्र]

झ्यालखानामा भए तापनि भिक्टर गुट्‌श्‍मिट असल बुबा बन्‍न सके

[पृष्ठ ९-मा भएको चित्र]

भिक्टर आफ्नो विश्‍वासको कारण झ्यालखानामा पर्दा समेत आफ्ना छोराछोरीहरूलाई सिकाउन तिनले यी चित्रहरू कोरे

[पृष्ठ ९-मा भएको चित्र]

सन्‌ १९६५ मा भिक्टरका छोरीहरू

[पृष्ठ १०-मा भएको चित्र]

आफ्ना छोराछोरीलाई सिकाउने काममा बुबाहरूले सक्रियतासाथ भाग लिनुपर्छ