सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ओलम्पिक आफ्नो जन्मथलो फर्कन्छ

ओलम्पिक आफ्नो जन्मथलो फर्कन्छ

ओलम्पिक आफ्नो जन्मथलो फर्कन्छ

पु रातत्त्वविद्‌हरूको उत्खननले आधुनिक समयमा ओलम्पिक खेलको पुनर्जन्ममा योगदान पुऱ्‍यायो। पुरातन ग्रीसको ओलम्पियामा पत्ता लागेका कुराहरूले फेरि यो खेल सुरु गर्न जोड दिन फ्रान्सेली ब्यारोन पायर डे कूबेर्टालाई उत्प्रेरित गऱ्‍यो। फलस्वरूप, आधुनिक समयको पहिलो ओलम्पिक सन्‌ १८९६ मा एथेन्समा आयोजना गरिएको थियो।

सन्‌ २००४ लाग्नुभन्दा केही वर्षअघि, बुलडोजर र प्वाल खोप्ने साधनहरूले ओलम्पिक खेललाई आफ्नो जन्मथलो फर्काउनको लागि बाटो तयार पार्न थाले। ओलम्पिकको तयारीको क्रममा राजधानी एथेन्सका सुविधाहरूलाई आधुनिकीकरण गर्दा यो सहर ठूलो निर्माणस्थल जस्तै देखिएको थियो।

आधिकारिक रूपमा २८ औं ओलम्पियाड भनेर चिनिने २००४ को ओलम्पिक खेल अगस्त १३ देखि २९ सम्म एथेन्समा सञ्चालन गरियो। अहिलेसम्मकै सबैभन्दा बढी २०१ देशका लगभग १०,००० खेलाडीहरूले २८ खेलमा प्रतिस्पर्धा गरे। विभिन्‍न ३८ स्थानमा खेलहरू आयोजना गरिए अनि कूल ३०० वटा पदक वितरण समारोहहरू भए। लगभग २१,५०० सञ्चारकर्मी र त्यो संख्याभन्दा पनि बढी अर्थात्‌ लगभग ५५,००० परिश्रमी सुरक्षाकर्मी जोडतोडले आफ्नो काममा लागिरहेका थिए।

अनेकौं अवरोधहरू पार गर्नुपर्ने दौड

ओलम्पिक खेललाई फेरि यसको जन्मथलोतर्फ आकर्षित गराउन एथेन्सले निकै लामो समयदेखि कोसिस गरिरहेको थियो। आधुनिक ओलम्पिकको एकसयौं जन्मोत्सवको अवसर पारेर यसलाई सन्‌ १९९६ मा आफ्नो जन्मथलो फर्काउनु सबैभन्दा उत्तम देखिन्थ्यो।

तथापि, सन्‌ १९९६ को खेलको लागि एथेन्सले पेस गरेको प्रस्ताव सफल हुन सकेन। खेल अवधिभरिको चुनौतीपूर्ण दुई हप्ताको लागि चाहिने आवश्‍यक पूर्वाधारहरू त्यस सहरमा नभएको कुरा बताइयो।

आफ्नो प्रस्ताव अस्वीकार भएकोले ठूलो आघात पुगेको ग्रीस र यसको राजधानी जोडतोडले काम गर्न उत्प्रेरित भयो। एथेन्सले आफ्नो अवस्था सुधार्ने वाचा गऱ्‍यो। सन्‌ २००४ को ओलम्पिक खेल आयोजना गर्नको लागि राम्रो लक्ष्य र केही ठोस योजनाहरूका साथ यस सहरले सन्‌ १९९७ मा फेरि प्रस्ताव पेस गऱ्‍यो। यसपाली भने यसले जित्यो।

एथेन्स आफ्नो रूप परिवर्तन गर्न कस्सियो। आयोजक राष्ट्र हुने उत्साहले पहिले कहिल्यै नभएको क्रियाकलाप र विकासको लहर पैदा गऱ्‍यो। पूर्वाधारहरू सुधार गर्न, सडकहरू बनाउन र खेलहरू सञ्चालन गर्ने ठाउँहरू तयार पार्न जताततै मेसिनहरूले भुइँ खन्‍न थाले। सप्ताहन्तको दौडान मध्य-गर्मीको चर्को घाममा समेत डोजर, क्रेन र मानिसहरू जताततै मरिमेटेर काम गरिरहेका देख्न सकिन्थ्यो।

सन्‌ २००१ को मार्च महिनामा एथेन्सको नयाँ अन्तरराष्ट्रिय विमानस्थलमा पहिलो विमान अवतरण गऱ्‍यो र यस विमानस्थललाई संसारभरिको उत्कृष्टमध्ये एक मानिएको छ। साथै, कूल १२० किलोमिटर नयाँ सडक निर्माण गर्ने योजना बनाइयो र चालू हालतमा रहेको ९० किलोमिटर सडकको स्तर सुधार्ने काम गरियो। सडकमा गाडी जाम नहोस्‌ भन्‍नका लागि नयाँ सडक प्रणाली तयार गर्दा लगभग ४० वटा आकाशे पुलहरू निर्माण गरिए। थप २४ किलोमिटर लामो ट्राम-मार्गसहितका नयाँ सुरुङ -मार्गहरू बनाइए। ट्राफिक जाम र वातावरणीय प्रदूषण कम गर्न सहरदेखि बाहिरी भागमा थुप्रै आधुनिक रेल स्टेशनहरू भएको ३२ किलोमिटर लामो रेलमार्ग तयार पारियो।

छोटकरीमा भन्‍ने हो भने, एथेन्सले केही वर्षभित्रमै आफूलाई अझ बढी हरियाली, स्वच्छ वातावरण र नयाँ यातायात प्रणालीसहितको नयाँ सहरमा परिणत गर्ने कोसिस गऱ्‍यो। अन्तरराष्ट्रिय ओलम्पिक समिति-का (आइ ओ सी) अध्यक्ष ज्याकस रोजले यसो भने: “खेल हुनुभन्दा पहिलेको एथेन्स देखेका मानिसहरूले खेल सिद्धिएपछि फेरि एथेन्स देखे भने तिनीहरूले यो सहर चिन्‍नेछैनन्‌।”

तयारीको लागि दौडधूप

ओलम्पिकको उद्‌घाटन समारोहको मिति नजिकिंदै जाँदा कामहरू अझ द्रुत गतिमा हुन थाले। आइ ओ सी-का अध्यक्ष रोजले निर्माण र तयारी कार्यका प्रगतिहरूलाई ग्रीसको परम्परागत नृत्य, सेरटाकी-सित तुलना गरे। अलि व्यङ्‌ग्यात्मक पारामा तिनले यसो भने: “म त यसलाई सङ्‌गीतको भागको रूपमा वर्णन गर्छु—सेरटाकीजस्तो सङ्‌गीत। यो एकदम बिस्तारै सुरु हुन्छ, क्रमशः गति बढ्‌दै जान्छ र अन्तमा त तपाईं यसको गति पछ्याउनै सक्नुहुन्‍न।”

यो भनाइअनुसारै, एथेन्सबाहिरको उत्तरी ग्रामीण क्षेत्रको सुनसान ठाउँमा—“सम्पूर्ण ओलम्पिक तयारी कार्यको मेरुदण्ड”—ओलम्पिक ग्राम तयार गरियो। ओलम्पिकको दौडान लगभग १६,००० खेलाडी र टिम पदाधिकारीहरू अटाएको यो परियोजना ग्रीसमा अहिलेसम्म निर्माण गरिएको सबैभन्दा ठूलो आवास परियोजना हो। खेल सिद्धिएपछि यो त्यस सहरका लगभग १०,००० बासिन्दाको घर हुनेछ।

ओलम्पिक खेलका आयोजकहरूले प्राचीन इतिहास र आधुनिक समयसम्म आइपुगेको खेलबीचको सम्बन्ध बिर्सेनन्‌। कतिपय समारोहहरू प्राचीन ओलम्पियामा नै भए। ओलम्पिकको दौडान हुने सांस्कृतिक समारोहहरूमा अरू पुरातात्त्विक महत्त्वका कतिपय ठाउँहरूलाई पनि विशेष ध्यान दिइयो। कुख्यात म्याराथनको युद्ध भएको क्षेत्र नजिकै नयाँ नौकादौड केन्द्र बनाइएको थियो। अनि म्याराथन धावकहरूले सुरुकै पुरानो मार्गमा दौडिएको कुरा गर्वका साथ भन्‍न सक्छन्‌। दन्त्य कथाअनुसार फारसीहरूको पराजय भएको खबर सुनाउन म्याराथनदेखि एथेन्ससम्म ४२ किलोमिटर दौडँदा सा.यु.पू. ४९० मा एथेनी सिपाहीले जुन मार्ग प्रयोग गरेको थियो, खेल आयोजकहरूले त्यही मार्ग रोजे।

अनि स्वर्ण पदक विजेता हुनुहुन्छ . . .

खेलको उद्‌घाटन समारोहमा आतसबाजी हुँदा ७५,००० सिट क्षमता भएको रङ्‌गशाला सबैको आकर्षणको केन्द्र बन्यो। पुनर्निर्माण गरिएको यो रङ्‌गशाला थुप्रै व्यक्‍तिहरूको लागि एथेन्सको ओलम्पिक स्थलको “मुकुटको मणि” हो। यस रङ्‌गशालालाई अद्वितीय बनाउने कुरा भनेको प्रख्यात स्पेनी वास्तुविद्‌ सान्ट्यागो कालाट्राभाद्वारा डिजाइन गरिएको यसको छत हो।

कूल १६,००० टन सिसाका पाताहरू प्रयोग गरेर बनाइएको र १०,००० वर्ग मिटरको क्षेत्रफल ढाक्ने गरी डिजाइन गरिएको यो छत इन्जिनियरिङ जगत्‌को एउटा आश्‍चर्य हो। तीन सय चार मिटर लामो दुईवटा विशाल वृत्त खण्डले अड्याएको यो छतको उचाइ ८० मिटर छ—जुन साइज अस्ट्रेलियाको सिड्‌नी हार्बर पुलको साइजको दुई तिहाइ हो! वृत्त खण्ड बनाउन प्रयोग गरिएको प्रत्येक स्टिलको नलीको वजन ९,००० देखि १०,००० टन छ र यो नलीबाट “एउटा सिङ्‌गै बस छिर्न सक्छ” भनी एक जना निर्माण विशेषज्ञ बताउँछन्‌। छतको कूल वजन पेरिसको आइफल टावरको वजनको दोब्बर भएको अनुमान गरिएको छ।

यत्ति विशाल छत किन चाहिएको? अगस्त महिनाको चर्को घामले एथेन्समा कत्ति गर्मी हुन्छ होला, विचार गर्नुहोस्‌! यी सिसाका पाताहरूमा गरिएको विशेष प्रकारको लेपनले ६० प्रतिशत सूर्यका किरणहरूलाई परावर्तन गर्छ। अरू कारणहरू पनि छन्‌। छतको डिजाइनलाई यस पटकको खेलको निशानीको रूपमा लिइएको थियो। ग्रीकका भूतपूर्व संस्कृति मन्त्रीले बताएझैं “यो वास्तुकलाको ठूलो निशानी र एथेन्स ओलम्पिकको प्रतीक हो।”

यस्ता निशानीहरूले यस्ता ठूल्ठूला समारोहहरू आयोजना गर्न कत्तिको कडा परिश्रम गर्नुपर्छ भन्‍ने कुरा समापन समारोहपछि पनि सम्झाइरहन्छन्‌। ओलम्पिकका लागि तयार गरिएका सबै पूर्वाधारहरूले आफ्नो सहरिया जीवनको गुणस्तरमा उन्‍नति ल्याउन मदत गर्नेछ भन्‍ने कुरामा एथेन्सबासीहरू आशावादी छन्‌। अनि जस्तोसुकै चुनौतीसामु पनि तिनीहरू सेरटाकी नृत्यमा जस्तै नहडबडाई सधैं अघि बढिरहनेछन्‌। (g04 8/8)

[पृष्ठ २७-मा भएको पेटी]

आदर्शहरूको परीक्षा हुन्छ

ओलम्पिकका आयोजकहरू “स्वस्थ प्रतिस्पर्धा, खेलकुद, शान्ति, संस्कृति र शिक्षा” जस्ता खेलसित सम्बन्धित आदर्शहरूलाई जोड दिन मन पराउँछन्‌। तथापि, खेलको अर्को पाटोमा भने राजनीति, राष्ट्रवाद, व्यापार र भ्रष्टचार मुछिएको हुन्छ।

पहिलेदेखि नै थुप्रै व्यक्‍तिहरूले टिभीमा ओलम्पिक खेल हेर्छन्‌ र आकर्षक विज्ञापन प्याकेजहरू प्राप्त हुन्छन्‌, त्यसैले यो खेल आयोजना गर्नु व्यापार बढाउनको लागि निकै मदतकारी साबित भएको छ। अस्ट्रेलियाली अनुसन्धाता मर्रि फिलिप्सले यसो भने: “अहिले ओलम्पिक निकै ठूलो व्यापार भएको छ र व्यापारिक लाभलाई होसियारपूर्वक हेरेर थुप्रै निर्णयहरू गरिन्छन्‌।”

अरू भने खेलहरूमा ज्वलन्त रूपमा देखिने राष्ट्रवादको विरोध गर्छन्‌। ओलम्पिकको दौडान युद्धविराम गर्ने अर्थात्‌ खेल अवधिभरि शत्रुतापूर्ण व्यवहार तथा युद्धहरू रोक्ने प्रयास गरिंदैछ। तथापि, यसले केही प्रतीकात्मक अर्थ राख्ने भए तापनि द्वन्द्वको कारक तत्त्वलाई जरैसमेत नष्ट नगरेसम्म यस्ता प्रयत्नहरूले कुनै राम्रो नतिजा ल्याउनेछैन। विज्ञानका प्रध्यापक ब्रायन मार्टिनले यसो भने: “खेलहरू राजनैतिक शक्‍तिका लागि गरिने प्रतिस्पर्धाहरू हुन्‌।” तिनले अझै यसो भने: “ओलम्पिकमा, खेलाडीहरूबीचको प्रतिस्पर्धा राष्ट्रहरूबीचको प्रतिस्पर्धामा परिणत हुन्छ। आफ्नो देशले भाग लिएन भने खेलाडीहरूले पनि भाग लिन पाउँदैनन्‌। व्यक्‍तिगत रूपमा वा सामूहिक रूपमा हासिल गरेको विजयलाई राष्ट्रको विजयको रूपमा हेरिन्छ र झण्डाहरू फहराएर तथा त्यस देशको राष्ट्रिय गानद्वारा यसको चित्रण गरिन्छ। . . . [ओलम्पिकले] खेलहरू मार्फत व्यक्‍तिगत रूपमा हिंसा प्रदर्शन गर्न र राष्ट्रहरूलाई शक्‍ति र ख्यातिको लागि प्रतिस्पर्धा गर्न अर्को एउटा रङ्‌गभूमि उपलब्ध गराएको छ। . . . शान्तिलाई वास्तविकतामा परिणत गर्ने आफ्नो मौलिक उद्देश्‍य हासिल गर्न ओलम्पिक असक्षम छ।”

[पृष्ठ २७-मा भएको चित्र]

एथेन्स ओलम्पिक खेदकुद कम्प्लेक्स

सन्‌ २००४ को लागि पदकको डिजाइन

[स्रोत]

Aerial photo: AP Photo/Thanassis Stavrakis; medal design: © ATHOC

[पृष्ठ २८-मा भएको चित्र]

एथेन्स सुरुङ-मार्ग

एथेन्स अन्तरराष्ट्रिय विमानस्थल

[स्रोत]

© ATHOC

[पृष्ठ २९-मा भएको चित्र]

निर्माणाधीन ओलम्पिक ग्राम

आगियोस्‌ कोस्मास नौका खियाउने केन्द्र

[स्रोत]

© ATHOC/Photo: K. Vergas

[पृष्ठ २९-मा भएको चित्र]

ओलम्पिक रङ्‌गशालाको निर्माणाधीन छत

[पृष्ठ २९-मा भएको चित्र]

निर्माणकार्य सकिएपछिको छतको सानो नमुना

[स्रोत]

© ATHOC

[पृष्ठ २९-मा भएको चित्रको स्रोत]

© ATHOC