सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलको सत्य लिएर पिग्मीहरूकहाँ पुग्ने

बाइबलको सत्य लिएर पिग्मीहरूकहाँ पुग्ने

बाइबलको सत्य लिएर पिग्मीहरूकहाँ पुग्ने

क्यामरुनका ब्यूँझनुहोस्‌! लेखकद्वारा

संसारभरि २३० भन्दा धेरै मुलुकहरूमा यहोवाका साक्षीहरू परमेश्‍वरको राज्य-सन्देश लिएर “सबै मानिसहरू[कहाँ]” जाने कोसिस गर्छन्‌। (१ तिमोथी २:४; मत्ती २४:१४) यिनीहरूमा करिब चार देखि साढे चार फिट कदका साना मानिसहरू अर्थात्‌ अफ्रिकी पिग्मीहरू पनि समावेश छन्‌। पिग्मीहरू मुख्यतः मध्य अफ्रिकी गणतन्त्र, कङ्‌गो क्षेत्र र दक्षिणपूर्वी क्यामरुनको घना जङ्‌गलमा बसोबास गर्छन्‌।

मिश्रका फारो नेफिरिरकारीले नील नदीको स्रोत पत्ता लगाउन अन्वेषण टोली पठाउँदा बाहिरका मानिसहरूसित पिग्मीहरूको जम्काभेट भएको पहिलो लिखित विवरण पाइन्छ। उक्‍त अन्वेषण टोलीले अफ्रिकाको भित्री भागमा रहेको जङ्‌गलमा सानो कदका मानिसहरूसित जम्काभेट भएको कुरा उल्लेख गरे। पछि ग्रीक लेखक होमर र दार्शनीक अरस्तु दवैले पिग्मीहरूबारे उल्लेख गरे। यी मानिसहरूसित युरोपेलीहरूको भेट १६ औं र १७ औं शताब्दीतिर भयो।

आज यहोवाका साक्षीहरू अफ्रिकाका जङ्‌गलहरूमा प्रचार गरिरहेका छन्‌। पिग्मीहरूले राज्य-सन्देश स्वीकारे तापनि तिनीहरूकहाँ फेरि-फेरि गएर चासो विकास गर्ने अधिकांश प्रयास असफल भएको छ। केही महिनामै एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने पिग्मीहरूको घुमन्ते जीवन शैलीले गर्दा नै यसो भएको हो।

अफ्रिकामा अनुमानित १,५०,००० देखि ३,००,००० सम्म जनसंख्या भएका पिग्मीहरू शान्त, लजालु स्वभावका मानिसहरूका रूपमा चिनिन्छन्‌। सरकार, अन्तरराष्ट्रिय संगठन र चर्चहरूले विशेष गरेर तिनीहरूकै लागि भनेर स्कूलहरू अनि तिनीहरूको जीवन शैली सुहाउँदो ससाना घरहरू बनाइदिएका छन्‌। यद्यपि, पिग्मीहरूलाई कुनै एक ठाउँमा स्थायी रूपमा बसोबास गराउन आकर्षित गर्ने प्रयास धेरै हदसम्म असफल भएको छ।

क्यामरुनमा जाँभे मबाकी एउटा उल्लेखनीय अपवाद हुन्‌ जो त्यस क्षेत्रकै पहिलो पिग्मी साक्षी भनी चिनिए। धेरै उदाहरण र चित्रहरू भएको तपाईं पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्न सक्नुहुन्छ भन्‍ने पुस्तकलगायत अन्य प्रकाशनहरू पढेपछि तिनले बाइबल सन्देश स्वीकारे। a सन्‌ २००२ मा जाँभेले बप्तिस्मा लिए। अहिले तिनी अग्रगामीको हैसियतमा सेवा गर्दैछन्‌ र अग्रगामी भनेको यहोवाका साक्षीहरू पूर्ण-समय प्रचारक हुन्‌। देशको दक्षिण-पूर्वी भागको सानो गाउँ मबाङ्‌गस्थित मसीही मण्डलीमा तिनी सेवकाई सेवकको हैसियतमा पनि सेवा गर्दैछन्‌। क्यामरुनका धेरै पिग्मीहरूले “सबै मानिसहरू[लाई]” प्रेम गर्ने एक मात्र सत्य परमेश्‍वरको उपासना गर्ने छनौट गर्नेछन्‌ या छैनन्‌ भन्‍ने कुरा त भविष्यले नै बताउनेछ। (g04 8/22)

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित हाल छापिंदैन।

[पृष्ठ २४-मा भएको चित्र]

जाँभे मबाकी—क्यामरूनमै पहिलो पिग्मी साक्षी भनेर चिनिए—सेवकाईमा भाग लिंदै