सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विवाहपूर्व यौनसम्बन्ध राख्नदेखि म कसरी जोगिन सक्छु?

विवाहपूर्व यौनसम्बन्ध राख्नदेखि म कसरी जोगिन सक्छु?

युवा जनहरू सोध्छन्‌ . . .

विवाहपूर्व यौनसम्बन्ध राख्नदेखि म कसरी जोगिन सक्छु?

“मैले १९ वर्षको उमेरमा स्कूलको एक जना केटासित यौनसम्बन्ध राखें। त्यसपछि मलाई कस्तो नराम्रो लाग्यो भनेर म शब्दमा वर्णन गर्न सक्दिनँ। मैले आफू मूल्यहीन भएको महसुस गरें।”—लेसी। a

“व्यभिचारदेखि अलग रहो,” भनी बाइबल आज्ञा दिन्छ। (१ कोरिन्थी ६:१८) तथापि, आजकल बाइबलको आज्ञा पालन गरेर विवाह नगरुन्जेल यौनसम्बन्ध नराख भन्‍ने सल्लाह पालन गर्न इच्छुक युवाहरू कमै मात्र छन्‌। लेसीजस्तै कोही-कोही आफ्नो इच्छाको वशमा परेका छन्‌ र पीडा अनि विचलित अन्तस्करण भोगेका छन्‌।

हुन त हो, आफ्नो यौन उत्तेजनालाई नियन्त्रणमा राख्न सजिलो छैन। अडोलसेन्ट डिभेलपमेन्ट (अङ्‌ग्रेजी) भन्‍ने पाठ्यपुस्तकले टिप्पणी गरेझैं यौवनका हर्मोन परिवर्तनहरूले गर्दा “यौन उत्तेजना बढ्‌ने गर्छ।” पल यसो भन्छन्‌, “कहिलेकाहीं कुनै स्पष्ट कारणैविना मेरो मनमा यौनसम्बन्धी कुराहरू खेल्न थाल्छ।”

यद्यपि, बाल विशेषज्ञ हावर्ड कुलिन यस्तो टिप्पणी गर्छन्‌: “[यौवनका] व्यवहारको दोष हर्मोनलाई मात्र दिनु भनेको यो समस्यालाई एकदमै सामान्य बनाउनु हो।” यसमा सामाजिक तत्त्वहरू पनि जिम्मेवार छन्‌ भनी तिनी बताउँछन्‌। निस्सन्देह, सामाजिक तत्त्वहरू र विशेष गरी साथीहरूको प्रभाव एकदमै सशक्‍त हुन सक्छ।

अ ट्राइब अपार्ट भन्‍ने पुस्तककी लेखिका पट्रिसिया हर्श यसो भन्छिन्‌, “जवान मानिसहरूले आफ्नै समूह बनाएका छन्‌। . . . यो साथीहरूको एउटा समूह मात्र नभई [वयस्कहरूबाट] अलग्गिएको अनि आफ्नै मूल्यमान्यता, नीतिनियमहरू भएको समाज बन्‍न पुग्छ।” तथापि, आजका थुप्रै जवान मानिसहरूका “नैतिक मूल्यमान्यता” तथा “नियमहरूले” यौन उत्तेजनालाई नियन्त्रण गर्न होइन तर त्यसको वशमा पर्न प्रोत्साहन दिन्छ। त्यसैकारण धेरैले विवाहपूर्व यौनसम्बन्ध राख्ने दबाब महसुस गर्छन्‌।

तैपनि परमेश्‍वरले सबै प्रकारका व्यभिचारलाई “शरीरका कामहरू” ठानेर निन्दा गर्नुहुन्छ भनी थाह भएको हुँदा त्यसबाट अलग्गै बस्ने बुद्धिमानी देखाउन मसीही युवाहरू कटिबद्ध छन्‌। b (गलाती ५:१९) तीव्र दबाबको बावजुद तपाईं कसरी स्वच्छ रहन सक्नुहुन्छ?

बुद्धिमान्‌ साथीहरू खोज्नुहोस्‌

चाखलाग्दो कुरा के हो भने, सामाजिक दबाबहरूले तपाईंमा नकारात्मक प्रभाव पार्न सक्छ तर अर्कोतिर सही किसिमका साथीहरूले तपाईंमा सकारात्मक प्रभाव पार्न सक्छ। यो कुरा बाइबलले भनेझैं हो: “बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान होइन्छ।” (हितोपदेश १३:२०; १ कोरिन्थी १५:३३) विश्‍व स्वास्थ्यसंघको रिपोर्टले भन्यो, “आमाबाबु, अन्य मायालु वयस्क तथा साथीहरूसित अर्थपूर्ण सम्बन्ध भएका किशोरकिशोरीहरू” अनि “जसको जीवनमा स्थायित्व र सीमा तोकिदिएको हुन्छ . . . तिनीहरू यौन गतिविधिमा अग्रसर हुने सम्भावना कम हुन्छ।”

तपाईंका आमाबाबुसित अर्थपूर्ण सम्बन्ध हुनु विशेष गरी इनामदायी हुन सक्छ। जोसेफ यसो भन्छन्‌, “यौनसित खेलवाड गर्ने दबाबको प्रतिरोध गर्न मलाई मेरा आमाबाबुले निकै मदत गर्नुभयो।” निस्सन्देह, ईश्‍वरभीरु आमाबाबुले तपाईंको लागि परमेश्‍वरको वचनमा आधारित स्थायित्व र सीमा प्रदान गर्न सक्छन्‌। (एफिसी ६:२, ३) स्वच्छ रहने तपाईंको प्रयासमा तिनीहरूले मदत गर्न सक्छन्‌।

हुन त हो, यौनसम्बन्धी विषयहरूमा तिनीहरूसित कुरा गर्नु सुरु-सुरुमा अप्ठ्यारो हुन सक्छ। तर तपाईंलाई कस्तो महसुस भइरहेको छ भनेर तिनीहरूले कति राम्ररी बुझेका छन्‌ भनेर थाह पाउनुहुँदा तपाईं छक्कै पर्नुहोला। आखिर, तिनीहरू पनि कुनै समय जवान थिए। त्यसकारण, अरू जवानहरूलाई सोन्या यस्तो सल्लाह दिन्छिन्‌, “आमाबाबुकहाँ जाऊ र यौनबारे कुरा गर्न अप्ठ्यारो वा लाज नमान।”

तपाईंका आमाबाबुले बाइबलका स्तरहरू पालन गर्दैनन्‌ भने नि? तिनीहरूको आदर गर्दै तपाईंले आफ्नो परिवार बाहिरबाट डोऱ्‍याइ खोज्नुपर्ने हुन सक्छ। माथि उल्लिखित पल यसो भन्छन्‌, “म यस सन्दर्भमा विवाहित पाको मसीही दम्पतीहरूबाट निकै मदत पाउँछु।” केन्जी जसकी आमाको बेग्लै विश्‍वास छ, उनी पनि त्यसै भन्छिन्‌, “सल्लाहको लागि म आध्यात्मिक तवरमा उत्थानदायी पाको व्यक्‍तिहरूकहाँ जान्छु।” तर तिनी सतर्क गराउँदै यसो भन्छिन्‌, “तिनीहरूले मेरोजस्तै धार्मिक विश्‍वास भएको दाबी गरे तापनि दह्रो नैतिक स्तर नभएकाहरूबाट भने म टाढै बस्छु।”

कहिलेकाहीं मसीही मण्डलीभित्रै पनि तपाईंको संगतिबारे होसियार रहनु आवश्‍यक पर्न सक्छ। कुनै पनि ठूलो समूहमा अनादरपूर्ण व्यवहार गर्ने कोही-कोही हुनेछन्‌ भनेर बाइबलले हामीलाई सम्झाउँछ। (२ तिमोथी २:२०) तपाईंको मण्डलीका कोही-कोही युवाहरूले आफ्नो वास्तविक रूपलाई लुकाएर “कपटी” व्यवहार गरेको थाह पाउनुभयो भने नि? (भजन २६:४) त्यस्ता व्यक्‍तिहरूसित नजिक नहुनुहोस्‌ अनि नैतिक तवरमा स्वच्छ रहने तपाईंको कटिबद्धतालाई साथ दिने साथीहरू खोज्नुहोस्‌।

हानिकारक अफवाहलाई तिरस्कार गर्नुहोस्‌

पुस्तक, पत्रिका, म्युजिक भिडिओ, भिडिओ गेम, चलचित्र र इन्टरनेटद्वारा प्रस्तुत गरिने यौन चित्र तथा अस्पष्ट सङ्‌केतहरूको बाढीबाट आफूलाई जोगाउन पनि कदम चाल्नुपर्छ। सञ्चारजगत्‌ले विवाहपूर्व यौनसम्बन्धलाई मोहक, रमाइलो र खतरामुक्‍त भनी चित्रण गर्छ। यसले कस्तो असर पारेको छ? माथि उल्लिखित केन्जी यसो भन्छिन्‌: “यौनलाई एकदमै हल्कासित लिएको अनि समलिंङ्‌गी भावसमेत भएका केही कार्यक्रमहरू मैले हेरें। त्यसपछि त, यी विषयहरूलाई यहोवा कस्तो गम्भीरतापूर्वक हेर्नुहुन्छ भनेर मैले बिर्सन थालें।”

सत्य कुरा के हो भने, लोकप्रिय मनोरञ्जनले अक्सर विवाहपूर्व यौनसम्बन्धका तीता वास्तविकताहरू जस्तै नचाहेको गर्भाधारण, उमेर नपुगी विवाह र यौनजन्य रोगहरूलाई चनाखो ढङ्‌गले ढाकछोप गर्छ। त्यसैले “खराबलाई असल र असललाई अँध्यारो” भन्‍नेहरूको बहकाउमा नपर्नुहोस्‌।—यशैया ५:२०.

हितोपदेश १४:१५ का शब्दहरूलाई सम्झनुहोस्‌: “निर्बुद्धि मानिसले आफूले सुनेको एक एक कुरा पत्याउँछ, चतुर मानिसले चाहिं प्रमाणको आवश्‍यक्‍तालाई बुझ्छ।” पढ्‌दा, इन्टरनेट चलाउँदा वा टिभी हेर्दा यौन इच्छातर्फ धकेल्ने वा यौन उत्तेजना जगाउने चित्र वा विवरणहरू आयो भने तुरुन्तै कदम चाल्नुहोस्‌! त्यो किताब बन्द गर्नुहोस्‌, कम्प्युटर बन्द गर्नुहोस्‌ वा अर्कै टिभी च्यानल हेर्नुहोस्‌! त्यसपछि तपाईंको विचार अर्कै कुरामा, कुनै स्वास्थ्यबर्धक कुरामा केन्द्रित गर्नुहोस्‌। (फिलिप्पी ४:८) त्यसो गरेर तपाईंले ती गलत इच्छाहरू बढ्‌नुअघि नै रोक्न सक्नुहुन्छ।—याकूब १:१४, १५.

सम्झौता गर्न लगाउने अवस्थाहरूप्रति होसियार रहनुहोस्‌

के तपाईं कसैसित डेटिङ गर्दै हुनुहुन्छ? त्यसो हो भने, तपाईं होसियार हुनुपर्ने खाँचो छ। बाइबल हामीलाई यस्तो चेतावनी दिन्छ: “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ।” (यर्मिया १७:९) स्नेहपूर्ण अभिव्यक्‍तिहरू यौन दुर्व्यवहारमा परिणत हुन धेरै बेर लाग्दैन। व्यावहारिक सावधानी अपनाउनुहोस्‌, जस्तै अर्को एक जना पाको व्यक्‍ति सँगै लैजानुहोस्‌ वा सुरक्षित समूहमा डेटिङ गर्नुहोस्‌। प्रलोभनमा पार्न सक्ने अवस्थाहरूमा एक्लै पर्नदेखि जोगिनुहोस्‌।

सायद, तपाईंको मगनी भइसकेको छ र आफ्नो भावी जोडीप्रति केही स्नेहपूर्ण शारीरिक अभिव्यक्‍ति देखाउनु उचित जस्तो लाग्न सक्छ। त्यसोभए तापनि विश्‍व-स्वास्थ्यसंघको रिपोर्ट यस्तो चेतावनी दिन्छ: “विवाह चाँडै हुने अवस्थामा, परम्परागत धारणा राख्ने समाजहरूमा समेत अधिकांश युवतीहरू विवाहपूर्व यौनसम्बन्धमा संलग्न भएको पाइन्छ।” c तसर्थ, स्नेहपूर्ण अभिव्यक्‍तिहरूको सीमा तोक्नुहोस्‌ र अनावश्‍यक भावनात्मक चोटबाट आफूलाई जोगाउनुहोस्‌।

सुन्दा पत्याउनै गाह्रो लाग्ला तर थुप्रै युवाहरू र विशेष गरी केटीहरूलाई जबरजस्ती वा तिनीहरूको इच्छा विपरीत यौनकार्यमा संलग्न गराइन्छ। एउटा अध्ययनअनुसार “सं.रा.अ-का ६० प्रतिशत किशोरीहरू १५ वर्ष पुग्नु अघि नै आफ्नो इच्छा विपरीत यौनकार्यमा संलग्न भइसकेका थिए।” यौनकार्यमा संलग्न गराउनेहरूले अक्सर आफ्नो हैकम चलाएर धम्क्याउने गर्छन्‌। (उपदेशक ४:१) उदाहरणका लागि, बाइबलले बताएअनुसार राजा दाऊदका छोरा अम्मोन आफ्नी सौतेनी बहिनी तामारसित “प्रेममा फसे” र उनलाई छक्याएर जबरजस्ती यौनसम्बन्ध राख्न लगाए।—२ शमूएल १३:१, १०-१६.

यसको मतलब बलात्कार वा जबरजस्ती यौनसम्बन्ध रोक्नै सकिंदैन भन्‍ने होइन। खतराप्रति सजग भएर, सम्झौता गर्न लगाउन सक्ने अवस्थाहरूबाट जोगिएर अनि खतरा आइपर्दा तुरुन्तै कदम चालेर तपाईंले आफूलाई निकै हदसम्म जोगाउन सक्नुहुन्छ। d

तपाईंको मन “एक चित्तको” पार्नुहोस्‌

हामीलाई आशा छ, यहाँ दिइएका सुझावहरूले स्वच्छ रहने तपाईंको कटिबद्धतामा केही मदत पुऱ्‍याउनेछ। तर अन्ततः तपाईंको हृदयमा जे छ, तपाईंको व्यवहारमा पनि त्यही झल्कनेछ। “हृदयबाटनै . . . व्यभिचार . . . निस्कन्छन्‌” भनेर येशूले भन्‍नुभयो। (मत्ती १५:१९) त्यसैकारण यस महत्त्वपूर्ण विषयमा “दोहोरो मन[को]” (मनतातो) वा ‘कालो मनको’ (कपटी) हुने झुकावको तपाईंले प्रतिरोध गर्नै पर्छ।—भजन १२:२; ११९:११३.

तपाईंलाई आफ्नो सङ्‌कल्प कमजोर हुँदै गइरहेको वा आफ्नो हृदयमा द्वन्द भइरहेको महसुस भयो भने दाऊदले बिन्ती गरेझैं तपाईंले यसरी प्रार्थना गर्नुहोस्‌: “तपाईंको नाउँको डर राख्न मेरो मन एक चित्तको पार्नुहोस्‌।” (छड्‌के अक्षर हाम्रो, भजन ८६:११) त्यसो गर्नुभएपछि बाइबल तथा बाइबल आधारित प्रकाशनहरू अध्ययन गर्नुका साथै आफूले सिकेका कुरा व्यवहारमा उतारेर आफ्नो प्रार्थना अनुरूप चल्नुहोस्‌। (याकूब १:२२) लिडिया यसो भन्छिन्‌, “ ‘कुनै व्यभिचारी कि अशुद्ध मानिसले परमेश्‍वरको राज्यमा अधिकार पाउनेछैन’ भन्‍ने कुरालाई सधैं सम्झेर म यौन प्रलोभनहरूको प्रतिरोध गर्ने उत्प्रेरणा पाउँछु।’ ”—एफिसी ५:५.

विवाहपूर्व यौनसम्बन्ध नराख्नु सधैं सजिलो नहुन सक्छ। तर यहोवाको मदत पाएर तपाईं स्वच्छ रहन अनि आफू र अरूलाई निकै पीडा र दुःखबाट बचाउन सक्नुहुन्छ।—हितोपदेश ५:८-१२. (g04 8/22)

[फुटनोटहरू]

a नाउँहरू परिवर्तन गरिएका छन्‌।

b अगस्त ८, २००४ को अंकमा “युवा जनहरू सोध्छन्‌ . . . के विवाहपूर्व यौनसम्बन्ध राख्नु गलत हो?” भन्‍ने लेख हेर्नुहोस्‌।

c यहोवाका साक्षीहरूद्वारा प्रकाशित युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ पुस्तकको अध्याय २९ हेर्नुहोस्‌।

d यसै अनुरुपका सल्लाहहरू अगस्त २२, १९९५ (अवेक!) र जुलाई ८, २००४ का अंकहरूमा “युवा जनहरू सोध्छन्‌ . . . ” भन्‍ने शृङ्‌खला अन्तर्गत “यौन धम्की—म आफूलाई कसरी जोगाउन सक्छु?” अनि “मेरो प्रेमीले मलाई गर्ने दुर्व्यवहार, म कसरी रोक्न सक्छु?” भन्‍ने विषयहरूमा दिइएका थिए।

[पृष्ठ १७-मा भएको चित्र]

तपाईंका भावनाहरूबारे आफ्ना आमाबाबुसित कुरा गरेर तपाईंले स्वच्छ रहने मदत पाउन सक्नुहुन्छ

[पृष्ठ १८-मा भएको चित्र]

सुरक्षित समूहमा डेटिङ गर्दा सुरक्षा हुन सक्छ