सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंको प्रियजनको मानसिक सन्तुलन ठीक नहुँदा

तपाईंको प्रियजनको मानसिक सन्तुलन ठीक नहुँदा

तपाईंको प्रियजनको मानसिक सन्तुलन ठीक नहुँदा

शर्मा परिवारको लागि त्यस दिनको बिहानी अरू दिन जस्तै सामान्य थियो। a चार जनाको परिवार बिहान उठेपछि त्यस दिनको क्रियाकलापको लागि तयार हुन लुगा लगाउँदै थिए। दीपा आफ्नो १४ वर्षको छोरा अविनाशलाई स्कूलको बस छुट्‌ने बेला भइसक्यो भनेर सम्झाउँदै थिइन्‌। त्यसपछि कसैले पनि सोच्दै नसोचेको कुरा भयो। यसको आधा घण्टाभित्रमै अविनाशले सुत्ने कोठाको भित्ताभरि जथाभावी रङ छर्किन थाल्यो, ग्यारेजमा आगो लगाउन खोज्यो र सबैभन्दा माथिल्लो तलाको कोठामा गएर झुन्डेर आत्महत्या गर्ने कोसिस गऱ्‍यो।

दीपा र तिनको पति वसन्त आफ्नो छोरालाई के भएको होला भनेर पत्ता लगाउन आत्तिंदै तिनीहरूको छोरा अविनाशलाई लिएर जाने एम्बुलेन्सको पछि लागे। तर दुःखको कुरा, यो त सुरुवात मात्र थियो। यस्तो मानसिक अवस्था फेरि फेरि दोहोरिरह्‍यो र अविनाश मानसिक रोगको अँध्यारो संसारमा चुर्लुम्मै डुब्यो। पाँच वर्षसम्म यस्तो पीडादायी अवस्थामा हुँदा उसले थुप्रै चोटि आत्महत्या गर्ने कोसिस गऱ्‍यो, दुई चोटि गिरफ्तारमा पऱ्‍यो, सातवटा मानसिक अस्पतालमा राखियो र मानसिक स्वास्थ्यसम्बन्धी विशेषज्ञसित त कति भेट्यो कति। के भन्‍ने र कसो गर्ने भन्‍ने थाह नपाएर साथीभाइ तथा नातेदारहरू अक्सर अलमल्लमा पर्थे।

अनुमान गरिएअनुसार विश्‍वभरमा ४ जनामा १ जनालाई आफ्नो जीवनको कुनै न कुनै समयमा मानसिक रोगले सताउँछ। झसङ्‌ग पार्ने यो तथ्याङ्‌कलाई विचार गर्दा, तपाईंका आमाबाबु, बच्चा, दाजुभाइ वा दिदीबहिनी र साथी कसैलाई पनि कुनै प्रकारको दिमागी गडबडी भएको हुन सक्छ। तपाईंका प्रियजनहरूमध्ये कोही यस्तै अवस्थामा छन्‌ भने तपाईं के गर्न सक्नुहुन्छ?

लक्षणहरू चिन्‍नुहोस्‌। मानसिक सन्तुलन ठीक नभएको कुरा तुरुन्तै थाह नहुन सक्छ। यसका लक्षणहरू देखापर्दा साथीभाइ तथा परिवारका सदस्यहरूले यसलाई हर्मोनमा भएको परिवर्तन, शारीरिक बिमारी, व्यक्‍तित्वमा हुने कमजोरी वा अप्ठ्यारा परिस्थितिहरूको नतिजा भन्ठान्‍न सक्छन्‌। अविनाशकी आमाले पनि आफ्नो छोरामा केही गडबडीका चिह्नहरू देखेकी थिइन्‌ तर उसका आमाबाबुले किशोरावस्थामा हुने भावनात्मक परिवर्तन भएको होला र पछि गएर यो आफसेआफ ठीक हुन्छ होला भन्ठाने। तथापि, सुत्ने वा खाने बानीका साथै अरू व्यवहारमा अस्वाभाविक परिवर्तन आएमा यसले केही गडबडी छ भन्‍ने कुरा सङ्‌केत गरिरहेको हुन सक्छ। विशेषज्ञकहाँ लगेर जचाउँदा प्रभावकारी उपचार प्राप्त हुन र तपाईंको प्रियजनको जीवनस्तर सुध्रन सक्छ।

जानकारीहरू बटुल्नुहोस्‌। मानसिक सन्तुलन ठीक नभएका व्यक्‍तिहरूसित अक्सर आफ्नो अवस्थाबारे अनुसन्धान गर्ने क्षमता सीमित हुन्छ। त्यसैले, भरपर्दा स्रोतहरूबाट तपाईंले बटुल्नुहुने जतिसक्दो नयाँ जानकारीहरूले तपाईंलाई आफ्नो प्रियजनले कस्तो अनुभव गरिरहेको छ भनेर बुझ्न मदत गर्न सक्छ। यसले तपाईंलाई अरूसित खुलेर र यस रोगबारे जानेबुझेर कुरा गर्न पनि मदत दिन सक्छ। उदाहरणका लागि, दीपाले आफ्ना सासू-ससुरालाई त्यस रोगसम्बन्धी पर्चाहरू दिइन्‌, जसले तिनीहरूलाई थप जानकारी पाउन र मदत गर्न अग्रसर हुन सहयोग गऱ्‍यो।

उपचार गराउनुहोस्‌। कुनै-कुनै मानसिक असन्तुलन लामो समयसम्म रहिरहने भए तापनि सही उपचार पाउने हो भने धेरै बिरामीहरूले मानसिक रूपले सद्दे र उत्पादनशील जीवन बिताउन सक्छन्‌। दुःखको कुरा, थुप्रै व्यक्‍तिहरूले रोगले च्यापेको वर्षौंसम्म पनि कुनै उपचार पाउँदैनन्‌। मुटुको गम्भीर बिरामीले मुटु रोग-विशेषज्ञलाई जचाउनु परेजस्तै, मानसिक रोगको लागि पनि यसको उपचार कसरी गर्ने भन्‍ने कुरा थाह भएको व्यक्‍तिको हेरचाहको आवश्‍यक पर्छ। उदाहरणको लागि, मानसिक रोगका डाक्टरहरूले यस्ता औषधीहरू सिफारिस गरिदिन सक्छन्‌, जसलाई नियमित रूपमा सेवन गर्ने हो भने भावनात्मक स्थितिलाई नियन्त्रणमा राख्न, चिन्ता कम गर्न र गलत तरिकामा सोच्ने बानी हटाउन मदत गर्न सक्छ। b

मदत खोज्न बिरामीलाई प्रोत्साहन दिनुहोस्‌। मानसिक सन्तुलन ठीक नभएकाहरूले आफूलाई मदतको खाँचो परेको कुरा महसुस नगर्न सक्छन्‌। तपाईंले बिरामीलाई कुनै खास डाक्टरलाई भेट्‌न, उपयोगी लेखहरू पढ्‌न वा यस्तै खालको असन्तुलनको सामना सफलतापूर्वक गरेको व्यक्‍तिसित कुराकानी गर्न सुझाव दिन सक्नुहुन्छ। हुनसक्छ, तपाईंको प्रियजनले तपाईंको सल्लाह नसुन्ला। तर तपाईंले हेरचाह गरिरहनुभएको व्यक्‍तिले आफैलाई वा अरू कसैलाई हानि पुऱ्‍याउने खतरा छ भने उसलाई रोक्न अघि सरिहाल्नुहोस्‌।

अरूलाई दोष नलगाउनुहोस्‌। मस्तिष्कले असामान्य ढङ्‌गमा काम गर्नुमा जीन, वरपरको परिवेश र सामाजिक तत्त्वहरूको कस्तो जटिल सम्बन्ध छ भन्‍ने कुरा वैज्ञानिकहरूले राम्ररी बुझ्न सकेका छैनन्‌। मस्तिष्कको चोटपटक, लागूपदार्थको दुर्व्यसन, वातावरणीय तनाव, जीवित प्राणीहरूमा हुने रासायनिक असन्तुलन र वंशानुगत कारणहरू जस्ता कुराहरूको संयोगले मानसिक सन्तुलन बिग्रन सक्छ। कुनै व्यक्‍तिको क्रियाकलापले गर्दा यो रोग भएको हो भन्ठानेर त्यस व्यक्‍तिलाई आरोप लगाउनु उपयुक्‍त हुँदैन। तपाईंले आफ्नो शक्‍ति मदत गर्न र प्रोत्साहन दिन चलाउनु राम्रो हुन्छ।

व्यावहारिक आशा राख्नुहोस्‌। तपाईंले बिरामीबाट उसले गर्न सक्नेभन्दा बढी आशा गर्नुभयो भने ऊ निराश हुन सक्छ। अर्कोतर्फ, बिरामीलाई बढ्‌तै बिचरा ठान्दा उसमा असहायपनको भावना उब्जिन सक्छ। त्यसकारण व्यावहारिक आशा राख्नुहोस्‌। निस्सन्देह, गलत कार्यहरूलाई सहनु हुँदैन। अरू सद्दे व्यक्‍तिहरूले जस्तै मानसिक सन्तुलन ठीक नभएका व्यक्‍तिहरूले पनि आफ्नो कामको नतिजाबाट सिक्न सक्छन्‌। हिंसात्मक व्यवहार देखाएको खण्डमा बिरामी स्वयम्‌ वा अरूको सुरक्षाको लागि कानुनी कारबाही वा केही खास प्रतिबन्धहरू आवश्‍यक पर्न सक्छ।

नजिक हुनुहोस्‌। कहिलेकाहीं तपाईंले भन्‍नुभएका कुराहरूको गलत अर्थ लगाएको जस्तो देखिए तापनि कुराकानी गर्नु महत्त्वपूर्ण छ। मानसिक सन्तुलन ठीक नभएको व्यक्‍तिले आशै नगरेको प्रतिक्रिया देखाउन सक्छ र उसका भावनाहरू त्यति बेलाको परिस्थितिसित नसुहाउने जस्तो देखिन सक्छ। यद्यपि, बिरामीको भनाइमा गल्ती भेट्टाउन खोज्दा यसले उसको निराशामाथि दोषी भावना पनि थपिदिनेछ। तपाईंले भन्‍नुभएको कुराले कुनै असर नगरेजस्तो देखिंदा चुपो लागेर सुन्‍नुहोस्‌। बिरामीको कुरा नकाटी उसका भावना र विचारहरूलाई स्वीकार्नुहोस्‌। शान्त रहने कोसिस गर्नुहोस्‌। तपाईंले उसको ख्याल राख्नुहुन्छ भनी सधैं देखाइरहनुभयो भने मात्र पनि तपाईं र तपाईंको प्रियजनले लाभ उठाउनुहुनेछ। अविनाशलाई पनि यस्तै भयो। केही वर्षपछि, तिनकै शब्दमा भन्‍ने हो भने “मैले मदत नचाहेको बेलामा पनि मलाई मदत गर्नेहरू[प्रति]” तिनले आफ्नो कृतज्ञता व्यक्‍त गरे।

परिवारका अरू सदस्यहरूका आवश्‍यकताहरू विचार गर्नुहोस्‌। परिवारले अप्ठ्यारो अवस्थामा परेको एक जना व्यक्‍तितर्फ मात्र आफ्नो ध्यान खिच्नुपर्दा परिवारका अरू सदस्यहरूलाई बेवास्ता गरिन सक्छ। केही समयको लागि अविनाशकी दिदी आकृतिले आफू आफ्नो भाइको “छायाको ओझेलमा परेको” महसुस गरिन्‌। आफूतर्फ अरूको ध्यान नखिचियोस्‌ भनेर तिनले आफ्ना उपलब्धिहरूबारे खुलेर बताउन छोडिन्‌। अर्कोतर्फ, तिनका आमाबुबाले भने तिनले अझ बढी गरेको र तिनको भाइले गर्न नसकेको काम पनि तिनले नै गरिदिएको चाहन्थे। बिरामीको दाजुभाइ वा दिदीबहिनीलाई वास्ता गरिएको छैन भने तिनीहरूमध्ये कतिपयले समस्याहरू खडा गरेर आफूतर्फ अरूको ध्यान खिच्न खोज्छन्‌। परिवारका सबै सदस्यहरूलाई ध्यान दिन यस्तो अवस्थामा भएका परिवारहरूलाई मदतको आवश्‍यकता पर्छ। उदाहरणका लागि, अविनाशको समस्याको कारण शर्मा परिवारले आफ्नो पूरै ध्यान यसैमा दिनुपर्दा आकृतिप्रति अझ बढी चासो देखाएर यहोवाका साक्षीहरूको स्थानीय मण्डलीका साथीहरूले तिनलाई मदत गरे।

मानसिक स्वास्थ्यको लागि फाइदाजनक हुने बानी बसाल्नुहोस्‌। मानसिक स्वास्थ्यमा सुधार ल्याउने बृहत्‌ योजनामा खाना, व्यायाम, सुताइ र सामाजिक क्रियाकलापहरूमा ध्यान दिनु समावेश हुनुपर्छ। साथीहरूको सानो समूहसित गरिने साधारण क्रियाकलापहरूमा अक्सर त्यति डरको भाव महसुस हुँदैन। साथै, मद्यले रोग चर्काउनुका साथै औषधीको प्रभावकारितामा बाधा पुऱ्‍याउन सक्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। अहिले शर्मा परिवारले सबैको लागि र विशेष गरी तिनीहरूको छोराको मानसिक स्वास्थ्यको लागि लाभकारी तालिका कायम राख्ने कोसिस गरेका छन्‌।

आफ्नो ख्याल राख्नुहोस्‌। मानसिक सन्तुलन ठीक नभएकाहरूको हेरविचार गर्दा हुन सक्ने तनावले तपाईंको आफ्नै स्वास्थ्यमा खतरा पुऱ्‍याउन सक्छ। त्यसैले, तपाईंले आफ्नो शारीरिक, भावनात्मक र आध्यात्मिक आवश्‍यकताहरूमा ध्यान दिनु अत्यावश्‍यक छ। शर्मा परिवार यहोवाका साक्षीहरू हुन्‌। आफ्नो परिवारमाथि आइपरेको दुःख सहन आफ्नो विश्‍वासले तिनलाई निक्कै मदत गऱ्‍यो भनी दीपा महसुस गर्छिन्‌। तिनी यसो भन्छिन्‌: “मसीही सभाहरूले तनावबाट छुटकारा दिन्थे र त्यो समय भनेको एकछिन भने पनि चिन्ताहरूलाई पन्छाएर बढ्‌ता महत्त्वपूर्ण कुराहरू र नयाँ संसारको आशामा ध्यान केन्द्रित गर्ने समय थियो। कैयौं पटक मैले निराश हुँदै छुटकाराको लागि प्रार्थना गरें र पीडा कम गर्नको लागि सधैं नै केही न केही परिवर्तन भएकै हुन्थे। यहोवा परमेश्‍वरको मदतद्वारा मेरो मनमा शान्ति थियो, जुन हाम्रो जस्तो परिस्थितिमा अकल्पनीय थियो।”

अविनाश अहिले वयस्क भइसकेका छन्‌ र तिनीसित जीवनप्रति नयाँ दृष्टिकोण छ। तिनी यसो भन्छन्‌: “मैले भोगेका कुराहरूले गर्दा म अझ राम्रो व्यक्‍ति बन्‍न सकें जस्तो मलाई लाग्छ।” यस अनुभवले आफूलाई पनि फाइदा पुऱ्‍याएको कुरा अविनाशकी दिदी आकृति महसुस गर्छिन्‌। तिनी यसो भन्छिन्‌: “म अरूप्रति कम आलोचक भएकी छु। कसमाथि कस्तो परिस्थिति आइपर्ने हो कसैलाई पनि केही थाह छैन। यहोवा परमेश्‍वरलाई मात्र थाह छ।”

तपाईंका प्रियजनहरूमध्ये कसैको मानसिक सन्तुलन ठीक छैन भने कुरा सुन्‍न तयार कान, मदतकारी हात र खुल्ला मनले तिनलाई बाँच्न र प्रगति गर्न समेत मदत दिन सक्छ भन्‍ने कुरा कहिल्यै नबिर्सनुहोस्‌। (g04 9/8)

[फुटनोट]

a नाउँहरू परिवर्तन गरिएका छन्‌।

b सम्भाव्य लाभहरूका साथ-साथै यसका सम्भाव्य प्रतिकूल असरहरूबारे पनि विचार गर्नुपर्छ। ब्यूँझनुहोस्‌!-ले कुनै एउटा खास उपचारविधि अपनाउन सिफारिस गर्दैन। आफूले गर्ने कुनै पनि उपचार बाइबल सिद्धान्त विपरीत छैन भन्‍ने कुरामा मसीहीहरू पक्का हुनुपर्छ।

[पृष्ठ २५-मा भएको पेटी]

मानसिक असन्तुलनका केही प्रारम्भिक लक्षणहरू

तपाईंका प्रियजनहरूमध्ये कसैमा निम्न लक्षणहरूमध्ये कुनै देखिएको छ भने तिनले डाक्टर वा मानसिक स्वास्थ्यसम्बन्धी विशेषज्ञसित सम्पर्क गर्नुपर्ने हुन सक्छ:

• लामो समयसम्मको दिक्दारी वा चिढचिढाहपन

• एक्लै बस्न रुचाउने

• भावनात्मक अवस्था छिनछिनमा परिवर्तन भइरहने

• धेरै रिसाउने

• हिंसात्मक व्यवहार

• लागूपदार्थको दुर्व्यसन

• असामान्य डर, चिन्ता र फिक्री

• तौल बढ्‌छ कि भनेर असाध्यै डराउने

• खाने वा सुत्ने बानीमा आमूल परिवर्तन

• निद्रामा बारम्बार तर्सने

• ठीकसित सोच्न नसक्ने

• भ्रामक सोचाइ र मिथ्याभास

• मर्ने वा आत्महत्या गर्ने विचार

• समस्याहरू र दैनिक क्रियाकलापसित जुध्ने क्षमताको अभाव

• स्पष्टसित देखिने समस्याहरूबाट समेत भाग्ने

• थुप्रै अप्रत्यक्ष शारीरिक लक्षणहरू

[पृष्ठ २२-मा भएको चित्र]

तपाईंले भन्‍नुभएको कुराले कुनै असर नगरेजस्तो देखिंदा चुपो लागेर बिरामीको कुरा सुन्‍नुहोस्‌