पूर्वाग्रहको विभिन्न रूप
पूर्वाग्रहको विभिन्न रूप
“पूर्वाग्रहलाई ढोकाबाट बाहिर फ्याँक्नुभयो भने त्यो झ्यालबाट फेरि भित्र पस्नेछ।”—फ्रेडरिक द ग्रेट, प्रसियाका राजा।
राजेश, भारतको पालियाड भन्ने गाउँमा बस्छन्। अरू दलितहरूजस्तै तिनी पनि आफ्नो परिवारको लागि पानी लिन १५ मिनेट हिंड्नुपर्छ। तिनी भन्छन्, “हाम्रो गाउँमा ठूलो जातले चलाउने धाराबाट हामी पानी लिनै पाउँदैनौं।” राजेश स्कूलमा छँदा तिनी र तिनका साथीहरूले अरू केटाकेटीहरू खेलिरहेको फुटबल छुन समेत पाउँदैनथे। तिनी भन्छन्, “त्यसको सट्टा हामी ढुङ्गा खेल्थ्यौं।”
“मानिसहरूले मलाई घृणा गर्छन् जस्तो लाग्छ तर त्यसको कारण मलाई थाह छैन,” भनी क्रिस्टिना नाउँकी एक किशोरी बताउँछिन् जो युरोपमा बस्छिन् तर वास्तवमा एसियाली मूलकी हुन्। उनी अझ यसो भन्छिन्, “एकदमै दिक्क लाग्छ। यसैकारण म प्रायसजो एक्लै बस्छु तर त्यसो गर्दा पनि केही फाइदा हुँदैन।”
पश्चिम अफ्रिकाका स्टान्ली भन्छन्, “पूर्वाग्रह भनेको के हो भनेर मैले १६ वर्षको उमेरमा पहिलो चोटि थाह पाएँ। मैले चिन्दै नचिनेका मानिसहरूले मलाई गाउँबाट निस्की भने। मेरै जातका कसै-कसैको घर जलाएर नाश गरियो। मेरो बुबाको बैंक खाता रोक्का गरियो। फलस्वरूप, हामी विरुद्ध भेदभाव गर्ने जातिलाई मैले पनि घृणा गर्न थालें।”
राजेश, क्रिस्टिना र स्टान्ली पूर्वाग्रहको सिकार भएका व्यक्तिहरू हुन् र पूर्वाग्रहको सिकार भएका तिनीहरू मात्रै होइनन्। “आज करोडौं मानिसहरूले जातिवाद, भेदभाव, विदेशीहरूप्रति घृणा र सामाजिक बहिष्कारको पीडा भोगिरहेका छन्” भनी संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनका (युनेस्को) महानिर्देशक कोइचिरो मात्सुरा बताउँछन्। “अज्ञानता र पूर्वाग्रहको कारण उत्पन्न त्यस्ता अमानवीय व्यवहारहरूले गर्दा थुप्रै देशहरूमा आन्तरिक कलह सृजना हुनुका साथै मानव दुःख धेरै बढेको छ।”
तपाईं कहिल्यै पूर्वाग्रहको सिकार हुनुभएको छैन भने यो कत्तिको पीडादायी हुन्छ भनेर तपाईंलाई कल्पना गर्न गाह्रो होला। “कोही-कोही कुनै आवाज नउठाई सहन्छन्। अरू कतिपय भने आफूप्रति गरिएको पूर्वाग्रहको बदलामा आफूले पनि झन् बढी पूर्वाग्रह राख्न थाल्छन्” भनी फेस टु फेस अगेन्स्ट प्रेजुडिस (अङ्ग्रेजी) भन्ने पुस्तक टिप्पणी गर्छ। पूर्वाग्रहले हाम्रो जीवनलाई कुन-कुन ढङ्गमा हानि पुऱ्याउँछ?
तपाईं अल्पसंख्यक समूहको व्यक्ति हुनुहुन्छ भने मानिसहरू तपाईंबाट टाढिन खोज्ने, कर्के नजर लगाउने वा तपाईंको
संस्कृतिबारे अपमानजनक टीकाटिप्पणीहरू गर्न सक्छन्। अरू कसैले गर्न नचाहने तुच्छ कामबाहेक अन्य प्रकारको जागिर पाउन साह्रै गाह्रो हुन सक्छ। उपयुक्त आवास भेट्टाउन पनि गाह्रो होला। स्कूलका सहपाठीहरूले अलग्गै छुट्ट्याएको वा तिरस्कार गरेको तपाईंका छोराछोरीले महसुस गर्लान्।अझ त्यसभन्दा पनि नराम्रो त के हुन सक्छ भने, पूर्वाग्रहले मानिसहरूलाई हिंसा वा हत्या गर्न समेत उक्साउन सक्छ। इतिहासका पानाहरू पल्टाएर हेर्ने हो भने पूर्वाग्रहले गर्दा उत्पन्न हिंसाका विभत्स उदाहरणहरू प्रशस्त छन्, जस्तै आमहत्या, जातिहत्या अनि कथित जातीय नरसंहार।
शताब्दीयौंदेखि चल्दै आएको पूर्वाग्रह
कुनै समय मसीहीहरू पूर्वाग्रहका प्रमुख तारो भए। उदाहरणका लागि, येशूको मृत्यु भएको केही समयपछि नै मसीहीहरूले क्रूर सतावटको बाढी सहनुपऱ्यो। (प्रेरित ८:३; ९:१, २; २६:१०, ११) त्यसको दुई शताब्दीपछि मसीही भनौंदाहरूले कठोर दुर्व्यवहार सामना गर्नुपऱ्यो। तेस्रो शताब्दीका लेखक टर्टुलियनले यस्तो लेखे, “कुनै रोगव्याधि फैलिने बित्तिकै यस्तो जनआवाज सुनिन्छ, ‘मसीहीहरूलाई लगेर सिंहहरूलाई खुवाऊ!’ ”
तथापि, ११ औं शताब्दीमा सुरु भएको क्रुसेडले गर्दा यहूदीहरू युरोपको अलोकप्रिय अल्पसंख्यक समूह भए। युरोप महादेशमा बुबोनिक प्लेग फैलिंदा केही वर्षभित्रै कुल जनसंख्याको चार भागको एक भाग मानिसहरू मारिए अनि यहूदीहरूलाई थुप्रै मानिसहरूले पहिल्यैदेखि घृणा गर्ने हुँदा तिनीहरूलाई नै यसको दोष लगाइयो। “यो प्लेग यहूदीहरूप्रति घृणाको एउटा बहाना भयो अनि प्लेगले गर्दा आतङ्कित मानिसहरूको घृणाको तारो फेरि यहूदीहरू नै बने” भनी जिनेट फारेल आफ्नो पुस्तक इन्भिजिबल एनमिज्-मा (अङ्ग्रेजी) लेख्छिन्।
फ्रान्सको दक्षिणी भागमा बस्ने एक जना यहूदी पुरुषलाई अचाक्ली शासना दिएपछि यहूदीहरूले इनारमा विषादी राखेको हुँदा महामारी फैलिएको हो भनेर तिनले पछि “बके।” वास्तवमा, तिनले बकेको कुरा गलत थियो तर यही जानकारी नै साँचोजस्तो गरी प्रचारप्रसार गरियो। तत्कालै स्पेन, फ्रान्स र जर्मनीका यहूदी समुदायहरू सखाप गरियो। यो प्लेग फैलिनुको खास कारण मुसाहरू हुन् भनेर चाहिं कसैले ध्यान नदिए जस्तो देखियो। अनि यो प्लेगले गर्दा अरू मानिसहरूजस्तै यहूदीहरू पनि मरिरहेको कुरा भने कमैले याद गरे!
पूर्वाग्रहको ज्वाला एक चोटि सल्केपछि त्यो शताब्दीयौंसम्म दन्किरहन सक्छ। बीसौं शताब्दीको बीचतिर अडोल्फ हिटलरले प्रथम विश्वयुद्धमा जर्मनीको हार हुनुको दोष यहूदीहरूमाथि थोपरेर यहूदी विरोधी आगो चर्काए। दोस्रो विश्वयुद्धको अन्तमा अस्वीच यातना शिविरका नाजी कमान्डर रुडोल्फ होयसले यसरी मानिलिए: “हाम्रो सैनिक तथा धारणागत प्रशिक्षणमा यहूदीहरूबाट हामीले जर्मनीलाई जोगाउनुपर्छ भन्ने सोचाइ थियो।” “जर्मनीलाई जोगाउनुपर्छ” भन्ने सोचाइ अनुरूप होयसको नेतृत्वमा २०,००,००० मानिसहरूको हत्या गरियो र त्यसमध्ये अधिकांश यहूदीहरू थिए।
दुःखको कुरा, त्यसपछि निकै दशकहरू बितिसके तापनि अत्याचारको अन्त भने भएको छैन। उदाहरणका लागि, सन् १९९४ मा पूर्वी अफ्रिकामा हुटु र टुट्सीबीच जातीय घृणा उत्पन्न भयो र यसले गर्दा कम्तीमा पाँच लाख मानिसहरूको ज्यान गयो। टाइम पत्रिकाले यस्तो रिपोर्ट गऱ्यो, “आश्रय लिने ठाउँ कतै थिएन। थुप्रैले आश्रय लिएका चर्चहरूमा रगतको आहाल बग्न थाल्यो। . . . तिनीहरूले हात हालाहाल गरेर लडे, एकदमै व्यक्तिगत तवरमा आक्रमण गरे अनि यो अवर्णनीय थियो र यसमा देखिएको रक्तपिपासु मानसिकताबाट उम्कन सकेकाहरूको आँखामा बिचल्ली देखिन्थ्यो र तिनीहरू केही बोल्नै सकिरहेका थिएनन्।” यस विभत्स हिंसामा केटाकेटीलाई समेत बाँकी राखिएन। एक जना नागरिकले यस्तो टिप्पणी गरे, “रूवाण्डा एउटा एकदमै सानो देश हो तर हामीसित यहाँ संसारमा कतै नपाइने घृणा प्रशस्त छ।”
भूतपूर्व युगोस्लाभिया टुक्रिंदा उत्पन्न विवादले गर्दा २,००,००० भन्दा बढी मानिसहरूको ज्यान गयो। वर्षौंदेखि मिलीजुली बसिरहेका छिमेकीहरूले समेत एकअर्कालाई मार्न थाले। हजारौं महिलाहरू बलात्कृत भए अनि जातीय नरसंहार गर्ने एकदमै निष्ठुर नीतिअन्तर्गत लाखौं मानिसहरूलाई जबरजस्ती आफ्नो घरबाट निकालियो।
प्रायजसो पूर्वाग्रहले काटमारको रूप लिंदैन तर यसले मानिसहरूलाई अवश्य विभाजित बनाउँछ अनि द्वेष उत्पन्न गर्छ। विश्वव्यापीकरणको बावजुद जातिवाद र जातीय भेदभाव “संसारका प्रायजसो भागमा बढिरहेको जस्तो देखिन्छ” भनी युनेस्कोको हालैको रिपोर्टले बताउँछ।
के पूर्वाग्रहलाई हटाउन केही गर्न सकिन्छ? त्यो प्रश्नको जवाफ दिन मानिसको मन अनि हृदयमा पूर्वाग्रहले कसरी जरा गाड्छ भनेर बुझ्नु आवश्यक छ। (g04 9/8)
[पृष्ठ ५-मा भएको पेटी]
पूर्वाग्रह कसरी प्रकट हुन्छ
गर्डन डब्ल्यु. एल्पोर्टद्वारा लिखित द नेचर अफ प्रेजुडिस (अङ्ग्रेजी) नामक पुस्तकमा तिनी पूर्वाग्रहले गर्दा उत्पन्न हुने पाँच प्रकारको व्यवहार उल्लेख गर्छन्। पूर्वाग्रह राख्ने व्यक्तिले यीमध्ये एउटा वा बढी सङ्केतहरू देखाउँछ।
१. नकारात्मक टिप्पणी। आफूलाई मन नपर्ने समूहबारे उसले होच्याएर कुरा गर्छ।
२. अलग्गै छुट्ट्याउने। ऊ त्यो समूहको जोसुकैबाट पनि अलग्गै रहन्छ।
३. भेदभाव। आफूले घृणा गर्ने समूहका सदस्यहरूलाई उसले कुनै-कुनै प्रकारको जागिर, आवास वा सामाजिक सुअवसरबाट वञ्चित गराउँछ।
४. शारीरिक आक्रमण। आफूले घृणा गर्ने मानिसहरूलाई धम्क्याउने हिंसात्मक समूहको ऊ सदस्य बन्छ।
५. हत्या। हूलदङ्गा, आमहत्या वा नामेट गर्नेजस्ता कार्यक्रमहरूमा ऊ सहभागी हुन्छ।
[पृष्ठ ४-मा भएको चित्र]
बेनाको शरणार्थी शिविर, तान्जानिया, मे ११, १९९४
पानीको भाँडा लिएर एउटी आइमाई आराम गर्दै। तान्जानियामा शरण लिने ३,००,००० भन्दा बढी रूवान्डाका शरणार्थीहरूमध्ये अधिकांश हुटु थिए
[स्रोत]
Photo by Paula Bronstein/Liaison