सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

समुद्रमुनि जीवित रङ्‌गीचङ्‌गी बत्तीको प्रदर्शनी

समुद्रमुनि जीवित रङ्‌गीचङ्‌गी बत्तीको प्रदर्शनी

समुद्रमुनि जीवित रङ्‌गीचङ्‌गी बत्तीको प्रदर्शनी

पानीमुनिको चट्टानको नजिकै पौडँदा एक जना गोताखोरले कटलफिस भनिने ६० सेन्टिमिटर लामो माछा पानीमा तैरिएर आराम गरिरहेको देखे, यसको रङ पानीजस्तै हल्का नीलो भएकोले यसलाई त्यति सजिलै देख्न सकिंदैनथ्यो। जब गोताखोर नजिक गए, त्यो कटलफिसले रङ परिवर्तन गऱ्‍यो र टिलपिल चम्कने गाढा रातो रङको भयो। जब तिनी अलि पछि हटे यसको रङ फेरि पहिलेको जस्तै भयो। अक्टोपस र स्क्वीडका केही खास प्रजातिहरूले जस्तै मोलुस्का परिवारका यी अद्‌भुत जीवहरूले पनि कसरी यस्तो अचम्मले रङ परिवर्तन गर्छन्‌ होला भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ?

यसको रहस्य क्रोमाटोफोर अर्थात्‌ तिनीहरूको छालामा भएको रङ्‌गीन पदार्थयुक्‍त कोषहरू हुन्‌। स्नायुले मांसपेशीको सङ्‌कुचन गराउँछ र यी कोषहरूको साइज नियन्त्रण गर्छ, जसले गर्दा यो जन्तुले आफ्नो रङ परिवर्तन गरेर विभिन्‍न रङको बन्‍न सक्छ।

रङ परिवर्तन गर्नुको अलावा, थुप्रै प्रजातिका स्क्वीडहरूले आफ्नै प्रकाशसमेत उत्पादन गर्छन्‌, जो जूनकीरीले प्रकाश निकाल्ने तरिकासित अलिअलि मिल्दोजुल्दो छ। फोटोसाइट भनिने कोषहरू वा फोटोफोर भनिने अङ्‌गहरूमा हुने जटिल रासायनिक प्रतिक्रियाद्वारा जेलिफिस र झिंगे माछालगायत अरू थुप्रै समुद्री जीवहरूले यस्तो जैविक प्रकाश उत्पादन गर्छन्‌। आफ्नो आश्रयदातासित सहजीवन बिताउने प्रकाशयुक्‍त जीवाणुको कारण पनि यस्तो प्रकाश उत्पादन हुन सक्छ।

जटिल रासायनिक प्रतिक्रियामा प्रकाश उत्पादन गर्ने कोष र अङ्‌गहरूमा लुसिफेरिन भनिने रसायन हुन्छ, जसले कुनै खास इन्जाइमको उपस्थितिमा अक्सिजनसितको प्रतिक्रियाद्वारा नीलो र हरियो मिसिएको रङको प्रकाश उत्पादन गर्छ। साइन्टिफिक अमेरिकन भन्‍ने पत्रिकाले बताएअनुसार प्रकाश उत्पादन गर्ने केही अङ्‌गहरू “फोकस मिलाउने लेन्स, रङ छान्‍ने फिल्टर वा बत्ती बाल्ने र निभाउने स्वीचको रूपमा काम गर्ने विशेष अङ्‌ग भएको जटिल यन्त्रजस्ता हुन्छन्‌। आफ्नो छालामा फोटोफोर र क्रोमाटोफोर दुवै भएको स्क्वीडले रङ र उत्पादन गरिएको प्रकाशको मात्रा दुवै नियन्त्रण गर्न सक्छ।”

प्रकाशयुक्‍त जीवाणुहरूको मदतद्वारा चम्किने जीवहरूले यी सूक्ष्म जीवाणुहरूलाई रगतको आपूर्ति प्रशस्त मात्रामा हुने प्रकाश उत्पादन गर्ने विशेष अङ्‌गहरूमा आवास उपलब्ध गराउँछन्‌। रगतले यी सूक्ष्म जीवाणुहरूको लागि पौष्टिक आहार ओसार्छ र यसरी “बिजुलीको बिल” तिरिन्छ। (g04 9/22)

[पृष्ठ ३१-मा भएको चित्रको स्रोत]

Inset: Courtesy Jeffrey Jeffords/www.divegallery.com

© David Nicholson/Lepus/Photo Researchers, Inc.