सर्कसमा बिताएको जीवन
सर्कसमा बिताएको जीवन
जोन स्मलीको वृत्तान्तमा आधारित
“महिला तथा सज्जनवृन्द र सबै उमेरका केटाकेटीहरू, पृथ्वीकै सबैभन्दा ठूलो शोमा तपाईंहरूलाई स्वागत छ!” सर्कस हेर्न उपस्थित मानिसहरूको जमातलाई सम्बोधन गर्न सर्कस रिङमास्टले चलाउने यी शब्दहरूले जनावर, जोकर र एक्रोब्याट समावेश भएको रोमाञ्चक शोको सुरुवातलाई सङ्केत गर्छन्। तर मेरो परिवारको लागि भने यो रिङलिङ ब्रदर्स र बारनम एण्ड बेईली सर्कसमा फेरि एक चोटि काम सुरु गर्ने सङ्केत हुन्थ्यो।
मेरो जन्म सन् १९५१ मा भएको थियो। म “जुत्तामा काठको धूलो” लिएर जन्मिएको थिएँ भन्दा फरक पर्दैन। यस शब्दले सर्कसको विशाल पालमुनि बिछ्याइएका काठको धूलोलाई सङ्केत गर्छ। टुकुटुकु हिंड्न थालेदेखि नै मेरो भाइ र मैले सर्कस जीवनका केही न केही पक्षमा भाग लिन थालेका थियौं।
मेरा आमाबुबा, ह्यारी र बियाट्रीज म जन्मनुभन्दा अघि नै क्लाइड बेट्टी सर्कसमा दाखिल होइसक्नुभएको थियो। मेरी आमा गायिका हुनुहुन्थ्यो र मेक्सिकोका परम्परागत वेषभूषामा स्पेनी गीतहरू गाउनुहुन्थ्यो। संगीतकारको हैसियतमा मेरो बुबाले प्रथम विश्वयुद्धको दौडान ब्याण्डलिडर तथा सङ्गीत संयोजक जोन फिलिप सोसासँग काम गर्नुभएको थियो। पहिला सोसासँग काम गरिसक्नुभएकोले गर्दा होला सन् १९५० को दशकमा मेरो बुबालाई प्रख्यात रिङलिङ ब्रदर्स ब्याण्डमा ट्युबा बजाउन बोलाइयो।
समयको गतिसँगै हामीले विभिन्न सर्कसहरूमा काम गऱ्यौं। हामीले काम गरेको अन्तिम सर्कसचाहिं एल जी केली एण्ड मिलर ब्रदर्स सर्कस थियो र यो सर्कस पनि संयुक्त राज्य अमेरिकामा निकै प्रख्यात भएको थियो। यस सर्कसका तीनवटा विशाल पाल थिए। एउटा पालभित्र सिंह, बाघ, हात्ती, ब्वाँसो र अर्कै देशबाट झिकाइएका अन्य जनावरहरू राखिएको थियो।
दोस्रो पाललाई हामी साइड-शो अर्थात् सहायक-शो भन्ने गर्थ्यौं। यहाँ साधारणतया तरबार निल्ने, कथित अर्ध-पुरुष, अर्ध-स्त्री, बामपुड्के, अजङको मान्छे र अनौठो शारीरिक गुणहरू भएका अन्य मानिसहरू हुन्थे। अलि बेग्लै देखिने मानिसहरूसँग बस्नु हामी केटाकेटीका लागि एउटा राम्रै शिक्षा थियो। कसै-कसैले उनीहरूलाई नराम्रो नाउँले बोलाउँथे तर हाम्रो लागि त उनीहरू परिवारसरह थिए। प्रायजसो वर्षभरि नै हामी उनीहरूसँगै काम गर्थ्यौं, खान्थ्यौं र बस्थ्यौं।
तेस्रो पालचाहिं सर्कस देखाइने मुख्य पाल थियो, जुन पालमा तीनवटा रिङ थिए र त्यहाँ खेलहरू एकैसाथ प्रदर्शन गर्ने गरिन्थ्यो। साधारणतया, सबैभन्दा खतरनाक अथवा रोमाञ्चक खेलहरू बीचको रिङमा देखाइन्थ्यो।
सर्कस जीवनको एक दिन
मेरो भाइ र म सानैदेखि एक्रोब्याट गर्थ्यौं। हामी वाइल्ड वेस्ट शोको पनि सदस्य थियौं, जहाँ हामी आदिवासी अमेरिकी ठिटाहरू भएर खेल्थ्यौं। शोका सदस्य तथा चोक्टाव समुदायका एक आदिवासी अमेरिकी परिवारले हामीलाई आदिवासी नाचगान सिकाइदिए।
साधारणतया हाम्रो दिन बिहान छ बजे सुरु हुन्थ्यो। त्यतिखेर हामी अर्को सहर सर्नका लागि तयारीहरू गर्ने काम सुरु गर्थ्यौं। सबै कलाकारहरूले सर्कसको पाल भत्काउने, सामान ओसारपसार गर्ने तथा फेरि बनाउने काममा भाग लिन्थे। उदाहरणका लागि, संगीतकारको अलावा मेरो बुबाले सातवटा हात्ती बोक्ने एउटा ठूलो ट्रक पनि चलाउनुहुन्थ्यो। कहिलेकाहीं आमा, भाइ र म बुबासँगै उहाँको ट्रकमा यात्रा गर्थ्यौं।
प्रायजसो हामी हरेक दिन नै नयाँ-नयाँ ठाउँमा जाने गर्थ्यौं र दिनमा दुईवटा शो देखाउँथ्यौं। तर आइतबारको दिन दिउँसो एउटा मात्र शो हुने भएकोले साँझपख आफ्नो परिवारसित आराम गर्न पाइन्थ्यो। त्यो दिन मेरो बुबाले परिवारसँग सधैं केही न केही विशेष रमाइलो गर्नुहुन्थ्यो अर्थात् हामी कि त मिल्कसेक खान सहर जान्थ्यौं नभए साँझतिर चलचित्र हेर्न जान्थ्यौं।
सर्कसको चाँजोपाँजो मिलाउन काम धेरै गर्नुपर्थ्यो। हात्तीहरूले समेत काममा सघाउँथे। कसरी? तिनीहरूलाई तीनवटा पालका लागि लामा-लामा खम्बाहरू तान्न लगाइन्थ्यो। खम्बाको एउटा भाग पालको रिङभित्र छिराइन्थ्यो र त्यसपछि खम्बा ठाडो नहोउन्जेलसम्म एउटा हात्तीले खम्बाको अर्को भाग तान्थ्यो। सबै खम्बाहरू ठाडो भइसकेपछि र बत्तीका लागि जेनरेटरहरू जडान गरिसकेपछि अपराह्नको शोका लागि हामी तयार हुन्थ्यौं।
नयाँ-नयाँ कलाहरू सिक्दै
अपराह्न र साँझको शोबीचको समयमा सर्कसका थुप्रै केटाकेटीहरूले पल्टिन, डोरीमा हिंड्न, एकै चोटि दुई तीनवटा बल हातमा खेलाउन, पीङमा सुइँ-सुइँ मच्चिन सिक्थे। हामीलाई सिकाउने व्यक्तिहरू साधारणतया पुस्तौंदेखि सर्कस पेसामा संलग्न परिवारका पुराना सदस्यहरू थिए। पहिलो चोटि पल्टिन सिकाउने इटालेली कलाकारको मलाई अझै पनि याद आउँछ। त्यस्तै चार वर्षको उमेरदेखि मैले खेल्न सुरु गरेको थिएँ। सबैभन्दा पहिला तिनले मलाई चोटपटक लाग्नदेखि जोगाउन सुरक्षा पेटीले बाँधे; त्यसपछि मसँगसँगै दौडने क्रममा तिनले मलाई हातले मात्र समाते। अन्तमा तिनले मलाई समात्न पनि छोडे र म आफै पल्टिन सकें।
म दुर्घटनामा परेको भनेकै सर्कसको मुख्य पालको खेल मैदानमा भव्य परेड भइरहेको बेला हो। मेरो भाइ र मलाई दुईवटा बाँदर लिएर बसेको एक जना जोकरको ठ्याक्क पछाडिपट्टि अनि हात्तीहरूको बथानको चाहिं अगाडिपट्टि राखिएको थियो। यताउता हात हल्लाउँदै हिंड्दा मैले एउटा बाँदरलाई तर्साएँ कि क्या हो, त्यसले मेरो हात च्याप्प समातेर नराम्रोसँग टोकिदियो। धन्न, सङ्क्रमणचाहिं भएन तर मेरो बायाँ हातमा टोकेको दाग भने कता-कता अझै पनि देखिन्छ। त्यो घटना जङ्गली जनावरहरू जतिसुकै हिस्सी परेको र सधिएको जस्तो देखिए तापनि तिनीहरूसँग व्यवहार गर्दा सधैं सजग रहनुपर्छ भन्ने एउटा गम्भीर सम्झौटो थियो।
मैले अमूल्य पाठहरू सिकें
सर्कस जीवनले हाम्रो पारिवारिक जीवनमा दखल पुऱ्याएन। असल सिद्धान्त तथा नैतिकताबारे सिकाउन मेरा आमाबुबाले सधैं समय निकाल्नुहुन्थ्यो। आफ्नो काखमा राखेर बुबाले मलाई विभिन्न जाति अथवा पृष्ठभूमिका मानिसहरूप्रति पूर्वाग्रह राख्नु हुँदैन भनेर सम्झाउनुभएको मलाई अझै पनि याद आउँछ। त्यो मेरो लागि एउटा अमूल्य पाठ थियो किनभने म शारीरिक रूपमा मात्र फरक होइन तर फरक-फरक राष्ट्रियता भएका मानिसहरूसित पनि सँगै बस्थें।
आमाले पनि हाम्रो जीवनमा सकारात्मक प्रभाव पार्नुभयो। कहिलेकाहीं सर्कस हेर्न आउनेहरूको भीड लाग्थ्यो भने, कहिलेकाहीं चाहिं फाट्टफुट्ट मात्र हुन्थ्यो। आमा हामीलाई यसो भन्नुहुन्थ्यो: “तिमीहरू पैसाको लागि होइन, दर्शकहरूको आनन्दको लागि (उहाँ पनि सँगसँगै ताली बजाउनुहुन्थ्यो) खेल देखाऊ। चाहे सयौं मानिसहरू आऊन् वा थोरै, सधैं यथाशक्य गर।” उहाँको त्यस विचारलाई मैले जीवनभर आत्मसात् गरें। चाहे धेरै आऊन् वा थोरै, सर्कस हेर्न आउने व्यक्तिहरूप्रति हामीले व्यक्तिगत चासो देखाउनुपर्छ भन्ने उहाँको मान्यता थियो।
खेलहरू देखाउनुको अलावा मेरो भाइ र मैले शोपछि सर्कसको पालभित्रका फोहोरमैला टिपेर सरसफाइ गर्ने काममा मदत गर्नुपर्थ्यो। हाम्रो लागि त्यो एउटा राम्रो प्रशिक्षण थियो।
अप्रिलदेखि सेप्टेम्बर महिनासम्म सर्कसलाई विभिन्न ठाउँमा लगिने भएकोले अरूजस्तो हामी स्कूल जान पाएनौं। ओक्लाहोमाको ह्युगोस्थित मुख्यालयमा हामी जाडो महिना बिताउँथ्यौं। त्यस अवधिमा हामी करिब पाँच महिनाको लागि स्कूल जान्थ्यौं। अरू सर्कसका मानिसहरूले पनि ह्युगोमै जाडो महिना बिताउने भएकोले त्यहाँ एउटै परिस्थितिका केटाकेटीहरू थुप्रै हुन्थे। हाम्रो विशेष अवस्थालाई ध्यानमा राखेर सहरको स्कूलसित सम्बन्धित अधिकारीहरूले तालिका मिलाएर विशेष किसिमका प्रबन्धहरू मिलाइदिन्थे।
हाम्रो जीवन नै परिवर्तन गरिदिएको त्यो दिन
सन् १९६० सेप्टेम्बर १६ को बिहान मेरो बुबा बिहानको करिब पाँच बजे उठ्नुभयो र यात्राको लागि हामीलाई तयार पार्न थाल्नुभयो। त्यसै बिहानचाहिं मेरी आमाले हात्तीहरू बोक्ने ट्रकमा हामी पनि बुबासँगै यात्रा गर्नुको सट्टा सर्कसले उपलब्ध गराउने सदाकै गाडीमा यात्रा गर्ने निर्णय गर्नुभयो।
सर्कस देखाउने ठाउँ आइपुगेपछि मेरो भाइ र म नौलो ठाउँ घुम्न निस्क्यौं। त्यति नै खेर हामीले कोही यसो भनेर चिच्च्याएको सुन्यौं: “एउटा नराम्रो दुर्घटना भएको छ। स्मली र रिङमास्टरको मृत्यु भयो।” निस्सन्देह, मेरो पहिलो प्रतिक्रिया थियो, ‘यो हुनै सक्दैन। केही गल्ती भयो होला।’ पछि मलाई थाह भयो कि आमा घटनास्थल पुगिसक्नुभएको रहेछ। बुबाले क्यालिफोर्नियाको प्लासरभील नजिकैको पडाही राजमार्गहुँदो ट्रक हाँकिरहनुभएको बेला ट्रकको ब्रेक फेल भएछ। हात्तीहरूको भारले गर्दा होला ट्रेलरको पछाडिपट्टिको भाग अघिल्तिर घुम्यो। ट्रकमा भएको पेट्रोलको ठूलो ट्याङ्की चेप्टिएर पड्किन पुग्दा विस्फोटमा परेर मेरो बुबा र बुबासँगै यात्रा गरिरहेका रिङ्मास्टरको तत्काल मृत्यु भएछ। मलाई सारा दिन छाँगाबाट खसेझैं भइरह्यो। बुबा र म असाध्यै मिल्थ्यौं। हामी साँचो मित्रहरू थियौं।
बुबालाई उहाँकै गृहनगर रिच हिल, मिसोरीमा गाडिसकेपछि हामी ओक्लाहोको ह्युगोस्थित जाडो महिना बिताउने मुख्यालय फर्क्यौं तर हाम्रो सर्कसले चाहिं सिजनभरि एकपछि अर्को ठाउँमा भ्रमण गरी नै रह्यो। त्यसैताका, हामी दाजुभाइचाहिं नियमित रूपमा स्कूल जान थाल्यौं। त्यो एउटा नौलो अनुभव भए तापनि केली मिलर शोसँग अर्को सिजनमा यात्रा गर्न हामीले उत्सुकतासाथ प्रतीक्षा गऱ्यौं। तर हाम्रो जीवनले एउटा रोमाञ्चक मोड लियो।
हामी बाइबलसित परिचित हुन्छौं
एक दिन म स्कूलबाट घर फर्किंदा मेरी आमाले मलाई हामीलाई बाइबल अध्ययन गराउन आएकी एउटी युवतीसित मेरो परिचय गराइदिनुभयो। तिनको नाउँ जिमी ब्राउन थियो र तिनी एक जना यहोवाको साक्षी थिइन्। मलाई बाइबल अध्ययन गर्न पटक्कै मन थिएन। पुनः सर्कसमा गएर पीङमा खेल्न सिक्ने वर्षौंदेखिको मेरो लक्ष्य र धोको थियो। अभ्यासको लागि भनेर भाइ र म मिलेर दुइटा रूखको बीचमा कामचलाउ पीङसमेत बनाएका थियौं। तथापि, हामी सबै जनाले बाइबल अध्ययन गर्न थाल्नुका साथै ह्युगोस्थित आठ जना मात्र साक्षी भएको पृथक् समूहका सभाहरूमा उपस्थित हुन थाल्यौं। केही समयपछि मेरी आमाले सर्कस जीवनबाट अवकाश लिएर बाइबल अध्ययन गर्ने निर्णय गर्नुभयो। आँखाभरि आँसु लिई मैले उहाँको निर्णय स्वीकारें। विशेष गरी हाम्रो सर्कस परिवारका सदस्यहरू हामीलाई भेट्न आउँदा र उनीहरूसित सर्कसमा काम नगर्नुको कारण सोद्धा आफ्नो निर्णयमा अडिग रहन साह्रै गाह्रो हुन्थ्यो।
मलाई सर्कसबाहिरको जीवनबारे केही थाह थिएन। एक चोटि त मलाई बुबाले हासिल गर्नुभएका सफलताहरूलाई हामीले बेवास्ता पो गरिरहेका छौं कि जस्तो लाग्यो। तथापि चाखलाग्दो कुरा त, उहाँको मृत्युको कारणले गर्दा पनि मैले बाइबल अध्ययन गरिरहेको थिएँ किनभने मेरो लागि सबैभन्दा ठूला उत्प्रेरणाहरूमध्ये एक पुनरुत्थानको आशा थियो। यो आशा मभित्र अझै पनि सक्रिय छ। प्रतिज्ञाकृत पार्थिव प्रमोदवनमा उहाँ प्रवेश गर्नुभएपछि बुबालाई स्वागत गर्नेहरूमध्ये म पहिलो व्यक्ति हुन चाहन्छु।—प्रकाश २०:१२-१४.
एक साक्षी दम्पती, रिडरले हामीलाई यहोवाको संगठनमा एउटा ठूलो परिवार छ भन्ने कुरा बुझ्न मदत गरे। अनि त्यो
कुरा साँच्चै सत्य साबित भयो! यहोवाका साक्षीहरूको सानो समूह मण्डली भयो र त्यहाँ थुप्रै परिवारहरू मिलेर यहोवाको उपासना गर्थे। रबर्ट र कार्ल एनहार्ल्टको नाउँ पनि मैले लिनै पर्छ किनभने ती दम्पतीले मलाई उनीहरूको आध्यात्मिक छोराको रूपमा स्वीकारे। किशोरावस्थामा उनीहरूले मलाई मायालुपूर्वक तर दृढ भई सल्लाह तथा निर्देशन दिएका थिए।परिपक्व मसीहीहरूको यस्तो प्रेमले हाम्रो जीवनमा छाएको ठूलो शून्यता पुरिदियो। अनि एक जना मसीहीको हैसियतमा मेरो जीवनभर त्यो कुरा थुप्रै तरिकाहरूमा साँचो साबित भइरहेको छ। वर्षौंको दौडान म ओक्लाहोमा र टेक्सास दुवै ठाउँमा बसें अनि म गएको सबै मण्डलीमा थुप्रै मायालु मसीही भाइबहिनीहरूसित मेरो भेटघाट भयो। कोही-कोही पाका भाइहरूले मलाई बुबाले झैं निर्देशन तथा प्रोत्साहन दिनुभयो। साँच्चै उहाँहरू मेरा आध्यात्मिक बुबाहरू हुनुभयो।
फेरि यात्रा गर्दै
केही वर्षअघि मात्रै मेरी आमाको मृत्यु भयो। मृत्युसम्मै उहाँ एक गम्भीर बाइबल विद्यार्थीका साथै विश्वासी मसीही रहनुभयो। आफ्ना वफादार जनहरूलाई चिहानबाट ब्यूँताउनुहुँदा उहाँ हर्षले गद्गद हुनुहुनेछ भन्ने कुरा मलाई थाह छ। त्यस दिनको प्रतीक्षा गरुन्जेल, यहोवाको संगठनले थुप्रै तरिकामा मलाई परिवार दिएको छ भन्ने तथ्यबाट म सान्त्वना प्राप्त गर्छु।
परमेश्वरका जनहरूमध्येबाट मैले मेरी पत्नी एड्ना पाउँदा मलाई विशेष गरी आशिष् पाएको महसुस भयो। पूर्ण-समय बाइबल शैक्षिककार्यमा भाग लिनको लागि विवाहपछि हामीले आफ्ना कामकुरामा छाँटकाँट गऱ्यौं। गुजारा चलाउन मैले सिकारु टेलिभिजन संवाददाताको रूपमा काम गरें। त्यस क्षेत्रमा मेरो केही पनि अनुभव थिएन अथवा मैले प्रशिक्षण लिएको थिइनँ। यद्यपि, यहोवाका साक्षीहरूको मण्डलीमा बाइबल शिक्षकको रूपमा मैले प्राप्त गरेको प्रशिक्षणले मलाई यस कामको लागि दक्ष बनायो। अन्ततः म एउटा रेडियो स्टेसनमा समाचार निर्देशक भएँ। तथापि, सञ्चारजगत्मा प्रतिष्ठा कमाउने मेरो लक्ष्य पटक्कै थिएन। बरु, एड्ना र मैले बाइबल सत्यका शिक्षकहरूको हैसियतमा आवश्यकता बढी भएको ठाउँमा सेवा गर्न आफूलाई उपलब्ध गरायौं।
सन् १९८७ मा, यहोवाका साक्षीहरूका मण्डलीहरूको भ्रमण गर्न मलाई क्षेत्रीय निरीक्षक बन्न आमन्त्रित गरियो। स्वयम्सेवक परिभ्रमण प्राचीनको हैसियतमा हरेक हप्ता म विभिन्न मण्डलीको भ्रमण गर्नुका साथै आध्यात्मिक भाइबहिनीहरूलाई बाइबल शैक्षिककार्यमा प्रोत्साहन तथा प्रशिक्षण दिने गर्छु। आध्यात्मिक अर्थमा भन्ने हो भने, अहिले मेरो परिवार झनै ठूलो भएको छ। मेरी पत्नी र मेरो आफ्नै छोराछोरी नभए तापनि यहोवाको संगठनमा हामीले थुप्रै आध्यात्मिक छोराछोरीहरू पाएका छौं।
एउटा चाखलाग्दो कुरा के छ भने, यतिका धेरै वर्षपछि पनि मैले अझै सहर-सहरको भ्रमण गर्न छोडेको छैनँ। एक किसिमले सोच्दा त हाँसै उठ्छ। सर्कसको कामदेखि सर्किटको कामसम्म! सर्कसको पीङ खेलमै लागेको भए म सफल हुन्थें कि हुन्थिनँ होला भनेर म कहिलेकाहीं सोच्ने गर्छु। के मैले पल्टनबाजमा निपुणता हासिल गर्ने मेरो सानैदेखिको सपना पूरा गर्न सक्ने थिएँ होला? तथापि, यसै पृथ्वीमा प्रमोदवन ल्याउने विषयमा परमेश्वरले गर्नुभएको प्रतिज्ञाबारे सोच्दा त्यस्ता विचारहरू कता जान्छन्, कता।—प्रकाश २१:४.
हो, म “जुत्तामा काठको धूलो” लिएर जन्मेको थिएँ। तर मलाई बाइबलमा बताइएको यो कुरा सम्झाइयो: “असल कुराका शुभ समाचार ल्याउनेहरूका खुट्टा कति राम्रा!” (रोमी १०:१५) मानिसहरूलाई परमेश्वरबारे बुझ्न मदत गर्ने जुन सुअवसर पाएको छु, त्यो सर्कसको कलाकर भएर मैले प्राप्त गर्ने कुनै पनि कुराभन्दा ठूलो छ। यहोवाको आशिष्ले मेरो जीवन पूर्ण भएको छ! (g04 9/22)
[पृष्ठ १९-मा भएको चित्र]
हाम्रो सर्कस “परिवार”-कोही-कोही र आफ्नो ट्युबासँगै मेरो बुबा
[पृष्ठ २१-मा भएको चित्र]
आज, मेरी पत्नी एड्नासँग