सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

खेलौनारहित शिशु पाठशाला

खेलौनारहित शिशु पाठशाला

खेलौनारहित शिशु पाठशाला

जर्मनीका ब्यूँझनुहोस्‌! लेखकद्वारा

एक दिन केटाकेटीहरू आफ्नो शिशु पाठशालामा प्रवेश गर्दा त्यहाँ फर्निचरबाहेक अरू केही नभएका रित्तो कोठाहरू देखे। तिनीहरूले पुतली, अरू खेलौना वा कपडाले बनाइएका जनावरहरू धुइँधुइँती खोज्न थाले तर केही भेटिएन। किताबहरू अनि विभिन्‍न आकार प्रकार बनाउन सकिने टुक्राटाक्रीहरू पनि थिएनन्‌। कागज र कैंची पनि थिएन। खेलौनाहरू सबै हटाइएका थिए अनि तीन महिनाको लागि त्यहाँ खेलौना केही हुने थिएन। किन र?

खेलौनारहित शिशु पाठशाला भनी अस्ट्रिया, जर्मनी र स्वीजरल्याण्डमा सुरु गरिएको उल्लेखनीय तथा नयाँ अभियानमा भाग लिइरहेका थुप्रै विद्यालयहरूमध्ये यो पनि एउटा हो। यो अभियानबारे सुन्दा अनौठो लाग्ला तर युरोपियन युनियनका स्वास्थ्य विशेषज्ञहरूको सल्लाहअनुसार यसको उद्देश्‍य कुनै पनि कुरामा अति निर्भर हुन नदिनु हो। हालैका वर्षहरूमा अनुसन्धाताहरूले बुझेअनुसार जीवनका प्रारम्भिक चरणहरूमै सामाजिक क्षमताहरू सिकेको खण्डमा मानिसहरू कुनै पनि कुरामा अति निर्भर हुने सम्भावना कम हुन्छ। एउटा अखबारको रिपोर्टअनुसार यसअन्तर्गत “कुराकानी गर्ने निपुणता र अरू कसैसित सजिलै कुराकानी थाल्न सक्ने क्षमता, मतभिन्‍नताहरू सुल्झाउने, आफ्नो व्यवहारको लागि जिम्मेवारी वहन गर्ने, आफ्नो लागि लक्ष्यहरू निर्धारण गर्ने, समस्यालाई बुझेर मदत पाउने अनि समाधान खोज्ने” जस्ता कुराहरू पर्छन्‌। यस कार्यक्रमका प्रवर्द्धकहरू अनुसार यस्ता क्षमताहरू सकेसम्म चाँडै सिकिहाल्नुपर्छ अनि खेलौनारहित अवस्थाले सृजनशीलता र आत्म-विश्‍वास बढाउने मौका प्रदान गर्छ।

तीन महिनाको लागि खेलौना नराख्ने कुरा राम्ररी योजना बनाएर तय गरिएको हो अनि आमाबाबु र केटाकेटी दुवैसित छलफल गरिएको थियो। सुरुमा त केही केटाकेटीहरू खेलौना नहुँदा वाल्ल पर्छन्‌। “कुनै-कुनै शिशु पाठशालामा त सुरुको चार हप्ता केटाकेटीहरू असाध्यै अलमल्लमा पर्छन्‌” अनि त्यहाँका कर्मचारीहरूलाई पनि के गरूँ कसो गरूँ हुन्छ भनी रिपोर्ट बताउँछ। तर केटाकेटीहरू परिस्थितिअनुसार घुलमिल हुन र सृजनशील हुन सिक्छन्‌। खेलौना नहुँदा केटाकेटीहरू एकअर्कासित कुरा गरेर, सल्लाह गरेर सँगै खेल्न थाल्छन्‌ अनि यसो गर्दा सामाजिक तथा भाषिक क्षमता विकास हुन्छ। पहिला खेलौनाको पछाडि “लुक्ने” केटाकेटीहरूले पनि अहिले साथी बनाउन थालेका छन्‌। आमाबाबुले पनि आफ्ना छोराछोरीमा सकारात्मक परिवर्तन देखेका छन्‌। खेल्ने बेलामा पनि केटाकेटीले राम्रो व्यवहार गरेको अनि पहिलेभन्दा बढी सृजनशील भएको कुरा तिनीहरूले बताए। (g04 9/22)