जलबिन्दु—दृष्टि चोर
जलबिन्दु—दृष्टि चोर
एक छिनको लागि यो वाक्यको अन्तिम शब्दमा एकटक लाएर हेर्नुहोस्। आफ्नो आँखा नघुमाई के तपाईंले यो पत्रिकाको माथि, तल र छेउछाउको भाग पनि देख्न सक्नुभयो? सायद देख्न सक्नुभयो होला र यो पेरिफेरल भिजन अथवा चौतर्फी दृश्य क्षमताले गर्दा हो। यो क्षमताले गर्दा तपाईंको छेउबाट कोही शङ्कास्पद व्यक्ति आएजस्तो लाग्दा चाल पाइहाल्नुहुन्छ। यसले गर्दा भुइँमा भएका सामानहरू नटेकी अनि भित्तामा ठक्कर नखाई हिंड्न सक्नुहुन्छ। अनि तपाईं गाडी हाँक्नुहुन्छ भने यो चौतर्फी दृश्यले गर्दा पैदलयात्री छेउबाट सडकमा फुत्त निस्केको चाल पाउन सक्नुहुन्छ।
तर तपाईंले यो पाना पढ्दै गर्नुहुँदा नै चालै नपाउने गरी तपाईंको चौतर्फी दृश्य बिस्तारै हराउँदै जान सक्छ। संसारभरि लगभग ६.६ करोड मानिसहरू जलबिन्दु भनिने आँखाको रोगको विभिन्न किसिमबाट पीडित छन्। त्यसमध्ये ५० लाखभन्दा बढी मानिसहरू आँखा पटक्कै नदेख्ने भएका छन् र मानिसहरू सदाको लागि अन्धा हुने यो तेस्रो प्रमुख कारण बन्न पुगेको छ। “आम जनताको लागि शैक्षिक कार्यक्रमहरू भएका विकसित देशहरूमा समेत जलबिन्दुका आधीजसो बिरामीहरूको रोग निदान हुँदैन” भनी चिकित्सा पत्रिका द लान्सेट (अङ्ग्रेजी) बताउँछ।
जलबिन्दु कसलाई हुन सक्ने खतरा हुन्छ? यो कसरी पत्ता लाग्छ अनि यसको उपचार कसरी गरिन्छ?
जलबिन्दु भनेको के हो?
सर्वप्रथम, हामीले आफ्नो आँखाबारे अलिकता बुझ्नु आवश्यक छ। अस्ट्रेलियाको ग्लकोमा फाउन्डेसन अथवा जलबिन्दु संगठनबाट प्रकाशित एउटा पुस्तिका यसो भन्छ: “आँखामा हुने चापले गर्दा आँखाले एउटा निश्चित आकार लिन्छ—आँखाका नरम तन्तुहरू गाडीको टायर वा बेलुनजस्तै ‘फुल्छन्।’ ” आँखाभित्रको सिलियरी बडी भनिने पम्पले रक्तनलीहरूबाट आँखामा अक्वीयस ह्युमर भनिने झोल पदार्थ पठाउँछ। “यो अक्वीयस झोल आँखाको भित्रसम्म पुग्छ, आँखालाई पोषण दिन्छ अनि ट्राबीक्युलर मेशवर्क भनिने छान्नेद्वारा रक्तनलीमा फर्कन्छ।”
यो मेशवर्क अर्थात् सञ्जाल कुनै कारणवश बन्द वा साँघुरो भयो भने आँखाभित्रको चाप अथवा प्रेसर बढ्छ अनि आँखाको पछिल्तिरको संवेदनशील स्नायु रेसाहरूलाई बिगार्न थाल्छ। यो अवस्थालाई ओपन-एङ्गल ग्लकोमा भनिन्छ अनि लगभग ९० प्रतिशतजसो अवस्थामा यस्तै हुनेगर्छ।
तपाईंको आँखाभित्रको चापलाई इन्ट्राओक्युलर प्रेसर (आइ ओ पी) भनिन्छ र यो घण्टैपिच्छे फरक हुन सक्छ अनि तपाईंको मुटुको धड्कन, तपाईंले पिउनुहुने झोलको मात्रा र तपाईंको शरीरको अवस्था कस्तो छ, त्यसले पनि फरक पार्छ। यी स्वाभाविक विविधताहरूले तपाईंको आँखालाई कुनै हानि पुऱ्याउँदैन। आँखाको चाप धेरै हुँदैमा मात्र जलबिन्दु हुने होइन किनभने “सामान्य” आँखाको चाप पनि व्यक्तिपिच्छे फरक हुन्छ। तैपनि जलबिन्दुको एउटा सङ्केत आँखाको प्रेसर धेरै हुनु हो।
यो रोगको विरलै देखिने किसिमलाई अक्युट वा एङ्गल क्लोजर ग्लकोमा भनिन्छ। यसमा ओपन एङ्गल ग्लकोमाजस्तो नभई आँखामा अकस्मात् प्रेसर बढ्छ। यसो हुँदा आँखा असाध्यै दुख्छ अनि दृष्टि धमिलो हुनुका साथै बान्ता हुन्छ। यी लक्षणहरू देखिएको केही घण्टाभित्रै उपचार गरिएन भने अक्सर अन्धो हुन सक्छ। अर्को एउटा किसिम हो, सेकेन्डरी ग्लकोमा। यस किसिमको जलबिन्दु आँखामा ट्युमर, मोतिबिन्दु वा आँखामा चोटपटकले गर्दा हुन सक्छ। एउटा सानो समूहलाई भने चौथो किसिमको अर्थात् कन्जेनिटल ग्लकोमा हुने गर्छ। यस्तो अवस्था वा जन्मेको केही समयपछि देखापर्छ अनि बच्चाको आँखाको गेडी फुलेको छ र उज्यालोमा हेर्न गाह्रो मान्छ भने यसो भएको हुन सक्छ।
यसले कसरी दृष्टि “चोर्छ”
तपाईंले चालै नपाउने गरी जलबिन्दुले तपाईंको एउटा आँखाबाट ९० प्रतिशत जति दृष्टि चोर्न सक्छ। यो कसरी हुन सक्छ? हामी सबैको आँखाको पछाडिपट्टि एउटा ब्लाइन्ड स्पट हुन्छ। रेटिनामा यो स्पट वा थोप्ला हुने ठाउँमा प्रकाशप्रति संवेदनशील नहुने स्नायु रेसाहरूको सङ्गम स्थल अथवा अप्टिक नर्भ हुन्छ। तथापि, यो ब्लाइन्ट स्पट तपाईंले चाल
पाउनुहुन्न किनभने तपाईंको मस्तिष्कले बाँकी भागहरूको मदत लिएर पूरा चित्र “कोर्छ।” बुझ्न नसकिने कुरा के हो भने, मस्तिष्कको यसो गर्ने क्षमताले गर्दा जलबिन्दु यसरी चालै नपाउने गरी खतरनाक साबित हुन्छ।अस्ट्रेलियाका एक जना नाउँ चलेका आँखा विशेषज्ञ डा. इभान गोल्डबर्गले ब्यूँझनुहोस्!-लाई यसो भने: “जलबिन्दुलाई सुटुक्क भित्र छिर्ने चोर भनिन्छ किनभने यसले कुनै लक्षण देखाउँदैन। प्रायजसो देखिने जलबिन्दु बिस्तारै र एकनासले बढ्छ अनि कुनै चेतावनीमूलक लक्षण देखाउँदैन र आँखालाई मस्तिष्कसित जोड्ने स्नायुहरूलाई हानि पुऱ्याउँछ। तपाईंको आँखा रसिलो होस् या नहोस्, सुक्खा होस् या नहोस्, स्पष्टसित लेखपढ गर्न सकोस् या नसकोस्, यसको जलबिन्दुसित कुनै सम्बन्ध छैन। तपाईंको आँखामा कुनै अप्ठ्यारो महसुस नहुँदा पनि गम्भीर प्रकारको जलबिन्दु भएको हुन सक्छ।”
चोर पत्ता लगाउने
दुःखको कुरा, जलबिन्दु पत्ता लगाउने कुनै एउटा त्यस्तो जाँच छैन। आँखा विशेषज्ञले टोनोमिटर भन्ने उपकरण चलाएर तपाईंको आँखामा हुने झोलको प्रेसर नापेर परीक्षण थाल्न सक्छन्। यो उपकरण बिस्तारै घुसाएर कोर्निया वा आँखाको अघिल्लो भागलाई चेप्टो पारिन्छ। यो काम गर्न कत्तिको बल लगाउनुपर्छ भनेर नापिन्छ अनि यसो गर्दा तपाईंको आँखाको प्रेसर नाप्न सकिन्छ। आँखा विशेषज्ञले आँखालाई दिमागसित जोड्ने स्नायु तन्तुहरू बिग्रिएको छ कि छैन भनी विभिन्न उपकरण चलाएर हेर्न सक्छ अनि यसरी पनि जलबिन्दुका लक्षणहरू पत्ता लगाउन खोज्छन्। डा. गोल्डवर्ग यसो भन्छन्: “आँखाको पछाडिपट्टिका स्नायु वा रक्त कोशिकाहरू अनौठो आकारका छन् कि छैनन् भनेर हेर्छौं किनभने त्यसो भएको छ भने नसाहरू बिग्रिन थालेको सङ्केत हुन सक्छ।”
भिज्वल फिल्ड टेस्टिङबाट पनि जलबिन्दु पत्ता लगाउन सकिन्छ। डा. गोल्डबर्ग यसो भन्छन्: “बिरामीले खोपिल्टा परेको भाँडोमा बालिएको सेतो बत्तीलाई हेर्छन् अनि त्यस भाँडोभित्र अर्को चहकिलो बत्ती बालिएको हुन्छ। त्यो चहकिलो बत्ती देखिने बित्तिकै बिरामीले एउटा स्विच दबाउनुपर्छ।” तपाईंको भिज्वल फिल्डको बाहिरी घेरामा यो सेतो बत्तीको पर्दा देख्न सक्नुभएन भने जलबिन्दुको सङ्केत हुन सक्छ। तर यो निकै समय खाने थकाइलाग्दो प्रक्रियालाई सजिलो बनाउनको लागि नयाँ उपकरणहरू बनाइँदैछन्।
क-कसलाई यसको खतरा छ?
पल ४० वर्ष नाघिसकेका स्वस्थ पुरुष हुन्। तिनी यसो भन्छन्: “नयाँ चस्मा लिनको लागि आँखा विशेषज्ञकहाँ जँचाउन गएको थिएँ र त्यसैबेला मेरो परिवारमा कसैलाई जलबिन्दु भएको थियो कि भनेर तिनले मलाई सोधे। मैले अलि जाँचबुझ गरेर हेर्दा मेरो ठूलीआमा र मामा दुवैलाई जलबिन्दु भएको रहेछ। मलाई आँखा विशेषज्ञकहाँ जँचाउन भनियो अनि तिनले मलाई जलबिन्दु भएको निदान गरे।” डा. गोल्डबर्ग भन्छन्: “तपाईंको आमा वा बुबालाई जलबिन्दु भएको छ भने तपाईंलाई पनि जलबिन्दु हुन सक्ने खतरा तीनदेखि पाँच गुणा बढ्छ। अनि तपाईंको दाइ वा दिदीलाई जलबिन्दु भएको छ भने यसको खतरा पाँचदेखि सात गुणा बढ्छ।”
संयुक्त राज्य अमेरिकाको जलबिन्दु संस्थानका डा. केभिन ग्रिनिज अन्य खतराहरू प्रकाश पार्दै यसो भन्छन्: “तपाईंको उमेर ४५ वर्ष नाघिसक्यो र तपाईं अफ्रिकी मूलको हुनुहुन्छ वा निम्न कुराहरूमध्ये तपाईंलाई कुनै भएको छ भने हरेक वर्ष आफ्नो आँखा जँचाउनुहोस्—परिवारमा कसैलाई जलबिन्दु भएको, टाढाको कुरा त्यति राम्ररी देख्न नसक्ने समस्या, मधुमेह थियो, आँखामा पहिला कुनै चोटपटक लागेको थियो वा कोर्टिजोन/स्टेरोइड नियमित तवरमा प्रयोग गर्नुहुन्थ्यो।” तपाईंलाई यी कुनै खतराहरू छैनन् र तपाईंको उमेर ४५ वर्षभन्दा कम छ भने पनि उक्त संस्थानले जलबिन्दुको लागि प्रत्येक चार-चार वर्षमा आँखा जँचाउने सुझाव दिन्छन्। तपाईंको उमेर ४५ वर्ष नाघिसक्यो भने पनि हरेक दुई-दुई वर्षमा जँचाउनुपर्छ।
उपचार गराउनुहोस् अनि नियन्त्रणमा राख्नुहोस्
पलको जलबिन्दु उपचार गर्न तिनले दिनमा एक चोटि आँखामा एउटा विशेष औषधीको झोल राख्नुपर्छ। पल भन्छन्: “यो झोलले आँखाको गेडीमा अक्वीयस झोल धेरै हुन दिंदैन।” पलले अर्को एउटा उपचार पनि गरे जसमा आँखामा हुने प्वालको नजिकै लेजर बीमद्वारा दसवटा ससाना प्वाल “खनियो।” तिनी भन्छन्: “यो लेजरले पहिलो चोटि आँखाको उपचार गराउँदा म असाध्यै डराएको अनि अत्तालिएको थिएँ र यसले गर्दा असाध्यै अप्ठ्यारो महसुस भयो। तर अर्को आँखाको उपचार गराउँदा भने के हुन्छ भनेर पहिल्यै थाह थियो। त्यसैले त्यति डर लागेन अनि मैले चाल पाउनुभन्दा अघि नै डाक्टरले प्वाल बनाउने काम सिध्याइसकेका थिए।” यो उपचारले गर्दा पलको दुवै आँखाको प्रेसर नियन्त्रणमा छ।
यसकारण पल आशावादी छन्। तिनी भन्छन्: “मेरो रेटिना अलिकता मात्र बिग्रन पुग्यो अनि अहिले पनि मेरो चौतर्फी दृष्टि यथावत भएकोमा खुसी छु। मैले दिनदिनै आँखामा झोल राख्न बिर्सिनँ भने मेरो दृष्टि राम्रै रहिरहनेछ।”
के यो “सुटुक्क छिर्ने चोरले” तपाईंको दृष्टि चोरिरहेको छ? तपाईंले जलबिन्दुको लागि कहिल्यै जँचाउनुभएको छैन अनि तपाईं खतराको समूहमा पर्नुहुन्छ भने जलबिन्दुको लागि डाक्टरलाई परीक्षण गराइहाल्नु बेस हुनेछ। डा. गोल्डबर्गले भनेझैं “समयमै र उचित उपचार गरियो भने जलबिन्दुले गर्ने हानि अक्सर रोक्न सकिन्छ।” हो, यो दृष्टि चोरलाई तपाईं रोक्न सक्नुहुन्छ! (g04 10/8)
[पृष्ठ २०-मा भएको पेटी/चित्र]
निम्न कुराहरू छन् भने तपाईंलाई जलबिन्दु हुन सक्ने खतरा बढी हुन्छ
● तपाईं अफ्रिकी मूलको हुनुहुन्छ
● तपाईंको परिवारमा कसैलाई जलबिन्दु भएको छ
● तपाईंलाई मधुमेह भएको छ
● तपाईं टाढाका कुराहरू त्यति राम्ररी देख्न सक्नुहुन्न
● कुनै-कुनै मेडिकल मलम वा दमको स्प्रेमा प्रयोग गरिने कोर्टिजोन/स्टेरोइड नियमित तवरमा चलाउने गर्नुभएको धेरै भइसक्यो
● तपाईंको आँखामा पहिला कुनै चोटपटक लागेको थियो
● तपाईंको उमेर ४५ वर्ष नाघिसक्यो
[चित्र]
नियमित तवरमा परीक्षण गराउँदा दृष्टिमा गम्भीर क्षति हुनबाट बच्न सकिन्छ
[पृष्ठ १९-मा भएको रेखाचित्र/चित्र]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
ओपन-एङ्गल ग्लकोमा
कोर्निया
आइरिस
लेन्स
रेटिना
अप्टिक डिस्क वा ब्लाइन्ड स्पट, यहाँ स्नायु रेसाहरू मिलेर अप्टिक नर्भ बन्छ
अप्टिक नर्भले मस्तिष्कसम्म स्नायु चेतना पुऱ्याउँछ
सिलियरी बडी, यहाँ झोल पदार्थ बन्छ
१ अक्वीयस ह्युमर सफा झोल पदार्थ हो र यसले लेन्स, आइरिस र कोर्नियाको भित्री भागलाई पोषण दिन्छ। यो आँखाको बाहिरी भागलाई रसिलो बनाइराख्ने आँसु भने होइन
२ ट्राबीक्युलर मेशवर्कले तरल पदार्थलाई सुकाउँछ
३ यो सञ्जाल बन्द वा साँघुरो भएको खण्डमा आँखाभित्रको प्रेसर बढ्छ
४ प्रेसर बढ्यो भने आँखाको पछाडिपट्टिका स्नायुहरूमा हानि पुग्छ जसले गर्दा जलबिन्दु वा दृष्टि कम हुन सक्छ
[पृष्ठ २५-मा भएको चित्र]
अप्टिक डिस्क
जे तपाईंले देख्नुहुन्छ
सामान्य दृष्टि
प्रारम्भिक ग्लकोमा
बढिसकेको ग्लकोमा
[स्रोत]
Photos of optic disks: Courtesy Atlas of Ophthalmology