सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तिनीहरू किन खतरामा परेका छन्‌?

तिनीहरू किन खतरामा परेका छन्‌?

तिनीहरू किन खतरामा परेका छन्‌?

भारतका ब्यूँझनुहोस्‌! लेखकद्वारा

शानदार बेङ्‌गाल टाइगर अर्थात्‌ पाटेबाघ, जङ्‌गली कुकुर, सारूस नाउँको सारस, प्राचीन कछुवा तथा एसियाली हात्तीहरू—लोप हुने खतरामा परेका भारतका केही जीवजन्तुहरूमध्ये यी त केही मात्र हुन्‌। जमिनमा बस्ने सबैभन्दा ठूलो स्तनपायी जन्तु हात्तीलाई विचार गर्नुहोस्‌।

हात्तीका दाह्राहरूको माग धेरै छ। हात्तीको दाह्रा सबैभन्दा बढी खपत हुने देश जापान हो र चीनमा पनि यसको माग उत्तिकै छ, जहाँ हात्तीका दाह्राबाट बनाइएका चप्स्टिकहरू अझै पनि लोकप्रिय छन्‌। हात्तीको दाह्राको मागले विशेष गरी एसियाली हात्तीमा कस्तो प्रतिकूल असर पारेको छ?

केही समयअगाडिको द टाइम्स अफ इन्डिया-मा यस्तो उल्लेख गरिएको थियो: “अफ्रिकी हात्तीहरूमा जस्तो नभई एसियाली हात्तीहरूमध्ये भाले हात्तीहरूको मात्रै दाह्रा हुन्छ र ती भाले हात्तीहरूमा पनि केहीको मात्र दाह्रा हुन्छ। त्यसैकारण सिकारीहरूले दाह्रा भएका वयस्क हात्तीहरूको नै सिकार गर्छन्‌। आधिकारिक तथ्याङ्‌कअनुसार भारतमा वर्षेनी लगभग एक सयवटा [भाले हात्ती] मारिन्छ, जसले गर्दा भाले र पोथी हात्तीको अनुपात असन्तुलित हुन पुगेको छ।” यसरी मार्नाले यी जन्तुहरूको अस्तित्व नै सङ्‌कटमा परेको छ।

खागको लागि

संसारकै जीवित दोस्रो सबैभन्दा ठूलो स्तनपायी जन्तु गैंडालाई पनि विचार गर्नुहोस्‌। भारत र नेपाल एक सिङे गैंडाको लागि आरक्षित अन्तिम क्षेत्रहरू हुन्‌। यद्यपि, भारतको उत्तरपूर्वी राज्य आसामको पोबितारा वन्यजन्तु आरक्षण केवल ३८ वर्ग किलोमिटरको छ र तुलनात्मक हिसाबले यो ठाउँ गैंडाको लागि पर्याप्त छैन। त्यसैकारण गैंडाहरू घुम्दै-डुल्दै नजिकैको खेतीपाती लगाइने ठाउँहरूमा पुग्छन्‌, जहाँ तिनीहरूलाई कि त गोली ठोकेर नभए विष खुवाएर मारिन्छ।

मान्छेले गैंडा मार्ने धूर्त तरिका पत्ता लगाएका छन्‌। पोबितारा आरक्षणको सीधा माथि हाइ-भोल्टेजका केबलहरू छन्‌। सिकारीले लामो बाँसको खम्बा प्रयोग गरेर एउटा तार यी केबलहरूमा जोड्‌छ र तार जमिनभन्दा अलिमाथि तुर्लुङ्‌ङ झुन्डिन्छ। गैंडाले तार छुनासाथ के हुन्छ भन्‍ने सन्दर्भमा वन्यजन्तुका जीव वैज्ञानिक विवेक मेनोन यसो भन्छन्‌: “बिजुलीको शक्‍तिशाली झट्‌का यसको शरीरमा लाग्नासाथ दुई चोटि स्वाँ-स्वाँ सास फेरेर यो अचम्म किसिमले एकैछिनमा डङ्‌ग्रङ्‌ङ ढल्यो . . . ढलेको त्यो विशाल जन्तु एक सेकेन्ड पनि नबित्दै मऱ्‍यो।”

दुःखको कुरा, एउटा सानो खागको लागि त्यत्रो अजङको जनावरलाई नै मारिन्छ र यो खाग पनि एक किलोभन्दा बढीको हुँदैन! व्यापारिक दृष्टिकोणले धेरै नै मूल्यवान्‌ यस खागको कारण गैंडा ठूलो खतरामा परेको छ। खाग, मान्छेको नङजस्तै रौंको मुठाले बनेको हुन्छ।

शाटोस खास्टो मन पराइएको कारण

तिब्बती मृग अर्थात्‌ चिरूले शाटोस नाउँको एक किसिमको ऊन उत्पादन गर्छ। यो ऊन यत्ति दामी हुन्छ कि यसबाट बनाइएको खास्टो चोर औंलामा लगाइने औंठीबाट छिराउन सकिन्छ। यस्तो एउटा खास्टोको मूल्य १६,००० अमेरिकी डलरसम्म पर्न सक्छ, जसले यसलाई संसारकै सबैभन्दा महँगो खास्टो बनाएको छ। तर यस्तो ऊन उत्पादन गर्ने मृगको लागि यसले कस्तो अर्थ राख्छ?

दी इन्डियन एक्सप्रेस यसो भन्छ: “एउटा शाटोस खास्टोको लागि कम्तीमा पनि पाँचवटा चिरू मार्नुपर्ने हुन्छ।” भनिन्छ, वर्षेनी तिब्बती पठारमा लगभग २०,००० चिरूको सिकार गरिन्छ। यस जन्तुलाई खतराको सूचीमा परेका विभिन्‍न प्रजातिहरू ऐनअन्तर्गत संरक्षित गरिनुपर्छ भनिए तापनि यस्तो घटना घट्‌ने क्रम यथावतै छ। साथै, सन्‌ १९७९ मा शाटोस ऊनको किनबेचमा प्रतिबन्ध पनि लगाइएको थियो। तरैपनि, चिरूको संख्या घट्‌ने क्रम रोकिएको छैन।

छाला र हड्डीको लागि

भारतमा पाइने बाघ तथा जङ्‌गली बिरालाहरूको जीवन पनि खतरामा परेको छ। अन्यत्र पाइने क्यासपियन, जाभा र बालीजस्ता बाघका केही प्रजातिहरू लोप भइसकेको अनुमान छ। बीसौं शताब्दीको सुरु-सुरुमा लगभग ४०,००० बाघहरू भारतका जङ्‌गलहरूमा घुमफिर गर्थे। वर्षौंको दौडान तिनीहरूको संख्या घट्‌दै गएको छ। तिनीहरूको बासस्थान क्रमिक रूपमा विनाश गरिएको कारण र छाला र चिनियाँ औषधीमा उपचारको लागि प्रयोग गरिने कुनै-कुनै हड्डीहरूका लागि तिनीहरूको सिकार गरिने भएकाले नै यस्तो भएको हो।

बाघहरूको उपयुक्‍त बासस्थानको कमीले पार्ने असरको विषयमा द सिक्रेट लाइफ अफ टाइगर्स नामक पुस्तक यसो भन्छ: “बाघहरूको संख्या तब मात्र बढ्‌न सक्छ जब तिनीहरू बसोबास गर्ने जङ्‌गलहरू बढ्‌छन्‌। यसो हुन नसक्दा, खाना र इलाकाको लागि एक-आपसमा ज्यानै जाने गरी झगडा गरेर बाघहरूले आफ्नो संख्या आफै बढ्‌न दिंदैनन्‌।”

भारतीय भूमिमा पाइने जङ्‌गली बिरालाहरूको अवस्था कस्तो छ? गुजरातको जुनागढस्थित चिडियाखाना घुम्न आएका एक जना व्यक्‍तिले एउटा खाली खोर देखे। खोरको बाहिरपट्टि एसियाली चितुवाको चित्र थियो र यसमा गुजराती भाषामा यस्तो नोट लेखिएको थियो: “सन्‌ १९५० को दशकमै भारतमा यो चितुवा लोप भएको थियो।”

भविष्य कस्तो छ?

भारतका खतरामा परेका प्राणीहरूको भविष्य त्यति उज्ज्वल देखिंदैन। आफ्नो स्वार्थपूर्ति गर्न मानिसहरूले पृथ्वीको नाश गरिरहेका छन्‌ भन्‍ने कुराको प्रशस्त प्रमाण पाइन्छ। यस्तो नाश हुनुमा पृथ्वीका सानदार वन्यजन्तुको विनाश पनि पर्छन्‌। अब के होला? पवित्र बाइबलमा रेकर्ड गरिएको परमेश्‍वरको आधिकारिक वचनले यस्तो भविष्यवाणी पूरा हुने समय नजिकै छ भन्‍ने कुराको सङ्‌केत गर्छ: “जाति जातिहरू क्रोधित भए, . . . पृथ्वीका नष्टकारीहरूलाई नष्ट गर्नालाई, . . . इन्साफ गर्ने समय र तपाईंको [परमेश्‍वरको] क्रोध आएको छ।”—प्रकाश ११:१८.

पृथ्वी र यिनमा भएका अद्‌भुत वन्यजन्तुका नष्टकारीहरूलाई नाश गरिसकेपछि अवस्था कस्तो हुनेछ? त्यो साँच्चै रमाइलो समय हुनेछ! मानिसहरूले कुनै पनि प्रजातिको जनावरलाई खतरामा पार्नेछैनन्‌। यस्तो कुरा येशू ख्रीष्टले मानिसहरूलाई प्रार्थना गर्न सिकाउनुभएको परमेश्‍वरको राज्यको शासनअन्तर्गत हुनेछ।—यशैया ११:६-९; मत्ती ६:१०. (g04 10/22)

[पृष्ठ २६-मा भएको चित्र]

भारतका केही खतरामा परेका जनावरहरू

सारूस नाउँको सारस

बेङ्‌गाल टाइगर

एसियाली हात्ती

एक सिङे गैंडा

चिरू

[स्रोत]

Crane: Cortesía del Zoo de la Casa de Campo, Madrid; antelope: © Xi Zhi Nong/naturepl.com