बाल्यकालमै प्रशिक्षण दिनु कत्तिको महत्त्वपूर्ण छ?
बाल्यकालमै प्रशिक्षण दिनु कत्तिको महत्त्वपूर्ण छ?
फ्लोरेन्स ४० वर्ष भइसकेकी थिइन् अनि एउटा बच्चाको तिनलाई व्यग्र चाह थियो। तर गर्भवती छँदा, डाक्टरले तिनलाई बच्चा सिक्ने असमर्थतासहित जन्मन सक्ने कुरामा सजग गराए। तिनले आशा मारिनन् अनि एउटा स्वस्थ बच्चालाई जन्म दिइन्।
छोरा जन्मेको केही समयपछि नै फ्लोरेन्सले छोराको लागि पढिदिन अनि हरबखत उनीसित कुरा गर्न थालिन्। बच्चा हुर्कंदै जाँदा तिनीहरूले सँगै खेले, घुम्न गए, अंकहरू गन्न सिके अनि गीतहरू गाए। तिनी सम्झिन्छिन्: “उसलाई नुहाइदिंदा समेत हामी कुनै न कुनै खेल खेल्ने गर्थ्यौं।” यो सब प्रयास खेर गएन।
चौध वर्षको उमेरमै स्टेफेनले माएमी युनिभर्सिटीबाट विशिष्टतासहित स्नातक गरे। दुई वर्षपछि १६ वर्षको उमेरमा उनले कानुन कलेजको पढाइ सिध्याए अनि उनको जीवन वृत्तान्तअनुसार पछि गएर उनी संयुक्त राज्य अमेरिकाकै सबैभन्दा कम उमेरका वकिल बने। एक जना भूतपूर्व शिक्षिका अनि अवकाशप्राप्त गाइडेन्स काउन्सलर उनकी आमा डा. फ्लोरेन्स ब्याकसले बच्चाहरूलाई बाल्यकालमै प्रशिक्षण दिने विषयमा अध्ययन गर्न धेरै समय बिताएकी छिन्। आफ्नो छोराको भविष्य उज्ज्वल हुनुमा उनलाई कलिलो उमेरमै दिइएको ध्यान अनि उत्प्रेरणा नै थियो भन्ने कुरामा तिनी विश्वस्त छिन्।
जन्मजात गुण अथवा पछि विकास गर्ने
“जन्मजात गुण” अर्थात् जन्मँदै बच्चाले आफूसित लिएर आएको गुण र अर्को “विकास गर्ने” अर्थात् जन्मिसकेपछि बच्चाले पाउने पालनपोषण र प्रशिक्षण, यी तत्त्वहरूले बच्चाको विकासमा खेल्ने भूमिकाबारे हालैका वर्षहरूमा बाल-मनोविज्ञहरूबीच ठूलो विवाद रहँदै आएको छ। अधिकांश अनुसन्धाताहरू बच्चाहरूको विकासमा यी दुवै तत्त्वले बराबर भूमिका खेल्छन् भनी विश्वस्त छन्।
बाल-विकास विशेषज्ञ डा. फ्रेजर मस्टर्ड यसो भन्छन्: “हाम्रो अवलोकनबाट पत्ता लागेको कुरा के हो भने, बाल्यकालमा बच्चाले भोगेका अनुभवहरूले उसको मस्तिष्कको विकासलाई असर गर्छ।” त्यसरी नै प्राध्यापक सुसन ग्रीनफिल्ड यसो भन्छिन्: “उदाहरणका लागि भोइलिन बजाउनेहरूको मस्तिष्कमा बायाँ हातका औंलाहरू चलाउने क्षमता अरू मानिसहरूको तुलनामा धेरै राम्ररी विकास भएको हुन्छ भनी हामीलाई थाह छ।”
बच्चालाई कस्तो प्रशिक्षण दिने
यिनै अनुसन्धानहरूले गर्दा धेरैजसो आमाबाबुहरू आफ्ना बच्चाहरूलाई उपयुक्त ‘शिशु स्याहार केन्द्रमा’ पठाउन मरिहत्ते मात्र गर्दैनन् तर सङ्गीत र कलासम्बन्धी ज्ञान दिन पैसा बगाउँछन्। कसै-कसैको विचारमा बच्चाले सानैमा सबै कुरा सिक्यो भने ऊ हुर्केपछि सबै कामकुरा गर्न सक्षम हुन्छ। विशेष अध्यापन कार्यक्रमहरू अनि प्रि-स्कूलहरू च्याउजस्तै उम्रिरहेका छन्। अरूहरूको तुलनामा आफ्ना छोराछोरीलाई सकेसम्म धेरै सुखसुविधाहरू दिन कुनै-कुनै आमाबाबुहरू आफूले सकेजति सबै गर्न चाहन्छन्।
आफ्ना बच्चाहरूको लागि आमाबाबुहरूले गर्ने यस्ता त्याग-तपस्याहरू के साँच्चै फलदायी भएका छन्? यस्ता अवसरहरूले बच्चालाई तीनथुप्रो अवसरहरू त देलान् तर स्वच्छन्द खेलहरूबाट हासिल हुने महत्त्वपूर्ण अनुभवहरूबाट भने उसलाई वञ्चित गर्छ। शिक्षाविद्हरूको भनाइअनुसार आफूखुसी स्वच्छन्द ढङ्गमा खेलिने खेलले बच्चाको सृजनशीलतालाई जगाउँछ अनि उसको सामाजिक, मानसिक र भावनात्मक क्षमताको विकास गर्छ।
केही बाल-विकास विज्ञहरूको विश्वासमा आमाबाबुको निगरानीमा खेलिने खेलहरूले बच्चामा एउटा नयाँ किसिमको समस्या उब्जाएको छ—जसलाई अङ्ग्रेजीमा माइक्रोम्यानेज्ड चिल्ड्रेन भनिन्छ अर्थात् त्यस्ता बच्चाहरू जसको पाइलैपिच्छे हरेक क्रियाकलापहरू आमाबाबुले निर्धारण गर्छन्, यस्ता बच्चाहरू तनावग्रस्त, भावनात्मक रूपमा अस्थिर, सुत्न नसक्ने, दुखेको अनि पीडा भएको गुनासो गरिरहने हुन्छन्। एक जना मनोविज्ञको भनाइअनुसार यस्ता बच्चाहरू किशोरावस्थामा प्रवेश गर्दा अधिकांश समस्यासित जुध्न नसिकेका, “शारीरिक र भावनात्मक रूपमा थाक्ने अनि गैरसामाजिक र विद्रोही हुने गरेका छन्।”
त्यसैकारण धेरैजसो आमाबाबुहरू के गर्ने, कसो गर्ने भनी अलमल्लमा छन्। तिनीहरू आफ्ना बच्चाहरूमा अन्तर्निहित सबै क्षमताहरू पूर्णतः विकास भएको चाहन्छन्। तर आफ्ना छोराछोरीलाई एउटा गह्रौं बोझ लादिदिनु पनि तिनीहरूलाई मनासिब लाग्दैन। के सन्तुलन कायम राख्ने कुनै उपाय छ? बच्चाहरूमा विकास गर्न सक्ने के-कस्ता क्षमताहरू हुन्छन् अनि यसलाई कसरी विकास गर्न सकिन्छ? आफ्ना बच्चाहरू पछि गएर सफल हुने कुरामा आमाबाबुहरू कसरी विश्वस्त हुन सक्छन्? यसपछिका लेखहरूले यी प्रश्नहरूको जवाफ दिनेछन्। (g04 10/22)
[पृष्ठ ३-मा भएको चित्र]
बच्चाहरूको मस्तिष्क कसरी विकास हुने हो, त्यसमा बाल्यकालको अनुभवले असर गर्न सक्छ
[पृष्ठ ४-मा भएको चित्र]
खेलले सृजनशीलतालाई जगाउँछ अनि बच्चाहरूको क्षमता विकास गर्छ