सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

वृद्धहरूलाई हामीले कस्तो व्यवहार गर्नुपर्छ?

वृद्धहरूलाई हामीले कस्तो व्यवहार गर्नुपर्छ?

बाइबलको दृष्टिकोण

वृद्धहरूलाई हामीले कस्तो व्यवहार गर्नुपर्छ?

सन्‌ २००३ को ग्रीष्मऋतुमा युरोपमा गत ६० वर्ष यताको अधिकतम ताप-लहरीले गर्दा हजारौं मानिसको ज्यान गयो। मर्नेहरूमध्ये प्रायजसो वृद्धहरू थिए। कोही-कोही वृद्धहरूलाई घरमा एक्लै छोडेर नातेदारहरू बिदा मनाउन गएका थिए। प्राप्त प्रमाणअनुसार अरू कतिपय भने कामको बोझले लादिएका अस्पताल तथा नर्सिङ होमका कर्मचारीहरूको लापरवाह वा हेलचेक्य्राइँका सिकार भएका थिए। ले पारिज्येन भन्‍ने अखबारले रिपोर्ट गरेअनुसार पेरिसमा मात्रै ४५० वटा बेवारिसे लास पाइयो। “हामी यो कस्तो संसारमा बाँचिरहेका छौं जहाँ हामी आफ्ना बुबा, आमा, हजुरबुबा/हजुरआमालाई बिर्सन्छौं?” भनी उक्‍त अखबारले ती एक्लै अनि अलपत्र अवस्थामा मरेकाहरूको अवस्थाबारे प्रश्‍न खडा गरेको थियो।

अहिलेको संसारमा ६५ वर्ष नाघेकाहरूको जनसंख्या प्रतिमहिना ७,९५,००० को दरले पहिला कहिल्यै नभएको अनुपातमा वृद्धि भइरहेको छ र यो कारणले गर्दा पनि ती वृद्धहरूको हेरचाह गर्नु एउटा ठूलो चिन्ताको विषय बनेको छ। “विश्‍वमा वृद्धहरूको संख्या अहिले जुन अनुपातमा बढिरहेको छ, त्यस्तो पहिले कहिल्यै भएको थिएन अनि वृद्ध भइरहेकाहरूको चुनौती तथा मौकाप्रति राष्ट्रहरूले कस्तो प्रतिक्रिया देखाउनेछन्‌ भनेर हेर्नुपर्नेछ” भनी सं.रा.अ. सेन्सस ब्युरोको जनसाङ्‌ख्यिकी कार्यक्रमकी सहायक निर्देशक नान्सी गर्डनले भनिन्‌।

हाम्रो सृष्टिकर्ताले पनि वृद्धहरूको चासो राख्नुहुन्छ। साँच्चै भन्‍ने हो भने, उहाँको वचन बाइबलले तिनीहरूप्रति कस्तो व्यवहार गर्नुपर्छ भनेर निर्देशन दिन्छ।

वृद्धहरूप्रति आदर

मोशालाई दिइएको परमेश्‍वरको व्यवस्थाले वृद्धहरूलाई आदर गर्न प्रोत्साहन दियो। व्यवस्थामा यसो भनिएको थियो: “बूढ़ा-पाकाका सम्मानमा उठ र वृद्ध मानिसको आदर गर। तिमीहरूले परमेश्‍वरको भय मान।” (लेवी १९:३२) परमेश्‍वरका आज्ञाकारी उपासकहरूले (१) बूढा-पाकाप्रति आदर देखाएको र (२) परमेश्‍वरप्रति श्रद्धेय भय देखाउँदै वृद्धहरूको अगाडि ‘उठेको’ आशा गरिन्थ्यो। वृद्धहरूको एउटा आदरणीय स्थान थियो अनि तिनीहरूलाई बहुमूल्य सम्पत्ति ठान्‍नुपर्थ्यो।—हितोपदेश १६:३१; २३:२२.

आज मसीहीहरू मोशालाई दिइएको व्यवस्थाको अधीनमा नभए तापनि यसका सिद्धान्तहरूले यहोवाका सोचाइ तथा प्राथमिकताहरू प्रकट गर्छ अनि वृद्धहरूको उहाँ उच्च सम्मान गर्नुहुन्छ भन्‍ने कुरामा कुनै शङ्‌का गर्ने ठाउँ दिंदैन। प्रथम शताब्दीको मसीही मण्डलीका सदस्यहरूले यी सिद्धान्तहरू बुझेका थिए। मसीही मण्डलीको सुरुतिरका प्रमाणहरू बाइबलको पुस्तक प्रेरितमा लिपिबद्ध छन्‌। त्यतिबेला यरूशलेमका मसीहीहरूमध्ये कोही-कोही खाँचोमा परेका विधवाहरू थिए। निस्सन्देह, तिनीहरूमध्ये थुप्रै वृद्धहरू थिए। यी विधवाहरूले व्यवस्थित ढङ्‌गमा दिनहुँको भोजन प्राप्त गरून्‌ भनेर प्रेरितहरूले सात जना “नाउँ चलेका” पुरुषहरू नियुक्‍त गरे अनि प्रेरितहरूले यस्तो विशेष हेरचाह प्रदान गर्नु मण्डलीको अत्यावश्‍यक “काम” ठाने।—प्रेरित ६:१-७.

प्रेरित पावलले ‘बूढा-पाकाको सम्मानमा उठ्‌ने’ सिद्धान्त मसीही मण्डलीमा पनि लागू हुन्छ भनेर देखाए। तिनले कम उमेरका जवान मसीही निरीक्षक तिमोथीलाई यसो भने: “बूढा मानिसलाई नहप्काऊ, तर तिनलाई बाबुलाई जस्तैगरी . . . आफूभन्दा ठूली स्त्रीहरूलाई आमाझैं . . . सम्झाऊ।” (१ तिमोथी ५:१, २) वृद्ध मसीहीहरूमाथि जवान तिमोथीको केही अधिकार भए तापनि बूढा मानिसलाई हेला नगर भन्‍ने सल्लाह तिनलाई दिइएको थियो। बरु, तिनले बूढा मानिसलाई बुबालाई जस्तो आदरपूर्वक व्यवहार गर्नुपर्थ्यो। अनि तिनले मण्डलीका वृद्ध बहिनीहरूलाई पनि त्यस्तै आदर देखाउनुपर्थ्यो। वास्तवमा, प्रेरित पावलले तिमोथीलाई अनि अझ विस्तृत तवरमा हेर्ने हो भने मसीही मण्डलीका सबै सदस्यहरूलाई “बूढा-पाकाका सम्मानमा उठ” भन्‍ने सल्लाह दिइरहेका थिए।

निस्सन्देह, ईश्‍वरभीरु मानिसहरू बूढा-पाकालाई मर्यादा अनि आदरपूर्वक व्यवहार गर्न कुनै नीतिनियम पर्खेर बस्दैनन्‌। बाइबलमा उल्लिखित यूसुफको उदाहरणलाई विचार गर्नुहोस्‌ जसले आफ्नो वृद्ध बुबालाई मिश्रमा ल्याउन कुनै कसर बाँकी छोडेनन्‌ अनि आफ्नो १३० वर्ष पुगेका बुबा याकूबलाई देशभरि चलेको अनिकालबाट जोगाए। दुई दशकपछि आफ्नो बुबालाई पहिलो चोटि देख्दा यूसुफ “याकूबको गलामा अङ्‌गालो हालेर उनकै गलामा धेरै बेरसम्म रोइरहे।” (उत्पत्ति ४६:२९) वृद्धहरूलाई अनुकम्पापूर्ण र गहिरो आदरका साथ व्यवहार गर्नुपर्ने नियम इस्राएलीहरूमाझ बसालिनुभन्दा धेरैअघि नै यूसुफले यस्तो व्यवहार गरेर परमेश्‍वरको दृष्टिकोण झल्काएका थिए।

आफ्नो सेवकाईको दौडान येशूले पनि वृद्धहरूप्रति चासो देखाउनुभयो। आफ्ना धार्मिक परम्पराहरूको खातिर वृद्ध आमाबाबुको बेवास्ता गर्नु ठीकै हो भन्‍ने धार्मिक नेताहरूको उहाँले कडा भर्त्सना गर्नुभयो। (मत्ती १५:३-९) येशूले पनि आफ्नी आमाको मायालुपूर्वक हेरचाह गर्नुभयो। शासनाको खम्बामा असह्‍य पीडा भोग्नुपर्दा आफ्नी वृद्ध आमाको हेरचाहको जिम्मा आफ्नो प्रिय प्रेरित यूहन्‍नालाई सुम्पनुभयो।—यूहन्‍ना १९:२६, २७.

परमेश्‍वरले आफ्ना वफादार जनहरूलाई त्याग्नुहुन्‍न

भजनहारले यस्तो प्रार्थना गरे: “बूढ़ेसकालमा मलाई नत्याग्नुहोस्‌, मेरो बल घटेको बखतमा मलाई नछोड़नुहोस्‌।” (भजन ७१:९) वृद्ध भइसकेका व्यक्‍तिहरूलाई आफू अब काम नलाग्ने भएको छु जस्तो लागे तापनि परमेश्‍वरले तिनीहरूलाई ‘त्याग्नुहुन्‍न।’ भजनहारले आफूलाई यहोवाले त्यागेको महसुस गरेनन्‌; बरु आफ्नो उमेर ढल्कँदै जाँदा आफूलाई बनाउनुहुने सृजनहारमा अझ बढी भरोसा राख्नुपर्ने आवश्‍यकता महसुस गरे। यहोवाले त्यस्ता वफादार जनहरूलाई जिन्दगीभर सहयोग दिनुभएर सँभाल्नुहुन्छ। (भजन १८:२५) अक्सर यस्तो सहयोग सँगी मसीहीहरूबाट प्राप्त हुन्छ।

यी कुराहरूलाई विचार गर्दा परमेश्‍वरलाई आदर गर्न चाहनेहरू सबैले वृद्धहरूलाई पनि आदर गर्नै पर्छ भन्‍ने कुरा स्पष्ट हुन्छ। वृद्ध व्यक्‍तिहरू हाम्रो सृष्टिकर्ताको नजरमा साँच्चै मूल्यवान्‌ छन्‌। उहाँकै स्वरूपमा बनाइएका प्राणीहरू भएको हुँदा ‘कपाल फुलिसकेका’ व्यक्‍तिहरूप्रति सधैं ईश्‍वरीय दृष्टिकोण प्रकट गरिरहन सकौं।—भजन ७१:१८. (g04 10/8)

[पृष्ठ १७-मा भएको चित्र]

मसीहीहरूले बूढा-पाकाहरूलाई आदर अनि सम्मानपूर्वक व्यवहार गर्छन्‌